अहिले दैलेखबाट मध्यपहाडी लोकमार्ग हुँदै पोखरासम्म सवारीसाधन चल्छन्।
सार्वजनिक यातायात त चलिसकेका छैनन् तर कसैले रिजर्भ लैजान लिन चाहेमा नेपालगञ्जतिर गएर पूर्वपश्चिम राजमार्ग प्रयोग गर्नु पर्दैन।
दैलेख, जाजरकोट, रुकुमपश्चिम, रुकुमपूर्व, बाग्लुङ, पाल्पा हुँदै पोखरासम्म गाडी चल्छ। पूर्व–पश्चिम राजमार्ग हुँदै बुटवलबाट पोखरासम्मको दूरीभन्दा दैलेखबाट मध्यपहाडी लोकमार्ग हुँदै पोखरासम्मको दूरी निकै कम छ।
यसो भए पनि दैलेखबाट पोखरा जाने सवारीसाधनले मध्यपहाडी लोकमार्ग पूरा प्रयोग गर्न पाएका भने छैनन्।
किनभने जाजरकोटको छेडागाड नगरपालिकामा पर्ने मन्ता भिरमा बाटो बन्न सकेको छैन। जाजरकोट–रुकुम जोड्ने भेरी नदीको पुल पनि बनेको छैन।
यी कारणले केही किलोमिटरका लागि मध्यपहाडी लोकमार्ग छोड्नु पर्छ।
अहिले दैलेखबाट जाजरकोटको बडावनसम्म मध्यपहाडी लोकमार्ग हुँदै जाने सवारीसाधन जान्छन्। त्यसपछि मध्यपहाडी लोकमार्ग छोडेर छिन्चु–जाजरकोट सडकखण्डको छेडा बजार पुग्नुपर्छ।
यसपछि छिन्चु–जाजरकोट सडक मार्गको खलंगा बजार हुँदै रुकुम पश्चिममा पर्ने मध्यपहाडी लोकमार्ग पुगिन्छ।
मन्ता भिरमा बाटो र भेरीमा पुल बनेको भए दैलेखबाट पोखरा जाने गाडीले मध्यपहाडी लोकमार्ग छोड्नुपर्ने थिएन।
मध्यपहाडी लोकमार्ग आयोजना निर्देशनालय, दैलेखका सूचना अधिकारी इन्जिनियर देवेन्द्र भट्टराईका अनुसार मन्ता भिर र भेरी नदी अवरोधका रूपमा रहेका छन्।
दैलेख–पोखरा चल्ने सवारीसाधनलाई मात्र होइन, जाजरकोटमा पर्ने मन्ता भिर अछाम–रुकुम खण्डका लागि पनि अवरोधका रूपमा रहेको छ।
मध्यपहाडी लोकमार्गको आयोजना कार्यालयले अछामको चौखुट्टेबाट रुकुमपूर्वको पातीहाल्नसम्मको ४४० किलोमिटर सडक हेर्छ। यस खण्डमा ८० प्रतिशत काम पूरा भएको जनाइएको छ।
अहिलेसम्म ३९० किलोमिटर सडक पक्की भएको छ। मन्ता भिरमा सडक खोल्न नसक्दा र जाजरकोट–रुकुम जोड्ने पुल नबन्दा अड्किएको खण्डसहित ५० किलोमिटर सडक पिच हुन बाँकी छ।
आयोजना निर्देशनालय दैलेखका सूचना अधिकारी भट्टराईका अनुसार यस खण्डमा अहिले पाँच वटा पुल निर्माणाधीन छन्। केही पुल बनिसके।
मध्यपहाडी लोकमार्गको अछाम–रुकुम खण्ड निर्माण सुरु हुँदा नै मन्ता भिर खोल्ने ठेक्का भएको थियो। उक्त ठेक्का भएको १२ वर्ष भयो तर अझै पनि सडकको ट्र्याक पूर्णरूपमा खुल्न सकेको छैन।
‘प्रतिकूल चट्टान भएकाले काट्नै गाह्रो भयो। काटिसकेपछि पनि सडकको संरचना नै नबन्ने देखियो,’ भट्टराईले भने, ‘सम्झौता गरेको निर्माण कम्पनीले काम गर्न नसक्ने भनेर छोड्यो। अब नयाँ प्रक्रिया सुरु गर्ने कि भन्ने कुरा छ। भिर खोलेरै समाधन निकाल्नुपर्ने हुन्छ।’
उनका अनुसार अब लागत बढाएर काम गर्ने योजना छ। यसको लागि मन्त्रालयमा फाइल पनि पेश गरिएको छ। तालुकवाला मन्त्रालयले स्वीकृत गरेपछि काम अघि बढ्छ।
कर्णाली प्रदेशमा मध्यपहाडीको अवरोध बनेको मन्ता भिरमा विस्फोटक पदार्थको सहायताले भए पनि ट्र्याक खोल्ने निर्देशनालयको निष्कर्ष छ।
जाजरकोटको छेडागाड नगरपालिकामा पर्ने मन्ता भिरमा पाँच सय मिटर सडक पर्छ। भिरको दुवैतर्फ पनि करिब पाँच सय मिटर सडक बन्न नसकेको भट्टराईले बताए।
‘बाटो अन्तबाट मोडेर लैजाने विकल्प पनि तत्काललाई छैन। यसो गर्दा लागत धेरै बढ्छ,’ उनले भने, ‘मन्ता भिरकै कारणले निर्धारित अवधिमा सडक पूरा गर्न समस्या भइहालेको छैन तर दैलेख–पोखरा चल्ने गाडी घुम्नुपर्ने भएको छ।’
जाजरकोटको थलह–कुदु खण्डको बीचमा पर्ने मन्ता भिरमा सडक निर्माणको ठेक्का ‘सिंह एन्ड बदर्स निर्माण सेवा’ ले लिएको छ।
निर्माण कम्पनीले ठेक्का सम्झौता भएको लागतभित्र चट्टानी भिर खोल्न नसक्ने भनेर आयोजना कार्यालयलाई जानकारी गराएको थियो।
सोही अनुसार कार्यालयले मन्त्रालयमा सिफारिस गरेको मध्यपहाडी राजमार्गको जाजरकोट खण्ड हेर्ने इन्जिनियर होमनाथ पौडेलले बताए।
‘अब यसको डिजाइन र लागत केही फरक हुने हो। मन्त्रालयलाई पठाएको यो योजना स्वीकृत भयो भने जसरी पनि काम हुन्छ,’ उनले भने।
मध्यपहाडी लोकमार्गको अछाम–रुकुम ४४० किलोमिटर खण्डमा पर्ने भेरी नदीको पुल बनाउन अर्को ठेक्का गर्नुपर्ने भएको छ। ‘वाइपी कन्स्ट्रक्सन’ ले १२६ मिटर लामो पुल बनाउन १० वर्षअघि १४ करोड रुपैयाँमा ठेक्का लिएको थियो तर काम भएन।
पुल नबनाएपछि आयोजना निर्देशनालयले गत मंसिरमा ठेक्का सम्झौता रद्द गरी ठेकेदार कम्पनीलाई क्षतिपूर्ति र जरिजाना बापत आठ करोड रुपैयाँ तिराउने निर्णय गरेको छ।
उक्त कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस पनि गरेको छ।
मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय दैलेखका अनुसार वाइपी कन्स्ट्रक्सन’ दुई वटा खम्बामात्रै बनाएको छ।
इन्जिनियर पौडेलका अनुसार पुलको निर्माणका लागि नयाँ ठेक्का गर्ने प्रक्रियामा तत्कालै सुरु गर्ने भनिएको थियो। निर्माण अदालतमा मुद्दा दायर गरेपछि नयाँ ठेक्का प्रक्रिया अलमलमा परेको छ।
पहाडै पहाड बन्ने राजमार्ग नै मध्यपहाडी राजमार्ग हो। संघीय सरकारले यसलाई पुष्पलाल मार्ग नामकरण गरेको छ।
नेपाल सरकारले आन्तरिक स्रोतबाटै खर्च व्यहोर्ने गरी २०६४/६५ मा सुरु भएको यो राजमार्गलाई २०६९/७० बाट ‘राष्ट्रिय गौरवको आयोजना’ मा समावेश गरिएको थियो।
बैतडीको झुलाघाटबाट पाँचथरको चियोभन्ज्याङ जोड्ने यो राजमार्गभित्र २६ जिल्लाका २१५ बस्ती पर्छन्। यसको लम्बाइ एक हजार ८७९ किलोमिटर रहेको छ। यो खण्डमा १० वटा नयाँ सहर निर्माणको पनि परिकल्पना गरिएको छ।
यसमध्ये कर्णाली प्रदेशमा दैलेखको राकम बजार र रुकुम पश्चिमको चौरजहारी नगरपालिका पर्छन्।