उपराष्ट्रपतिमा निर्वाचित रामसहाय प्रसाद यादव १५ वर्षदेखि शंखमूलको एउटा घरमा भाडामा बसिरहेका छन्।
२०६४ मा संविधानसभाको सभासद बनेर काठमाडौं आएपछि उनी शंखमूलको जुन घरमा डेरा बसेका थिए, अहिले पनि त्यही घरमा बस्छन्। उनी बस्न थाल्दा उक्त फ्ल्याटको भाडा ७ हजार रूपैयाँ थियो। अहिले २२ हजार पुगेको उनी बताउँछन्।
चार कोठाको फ्ल्याटमा यादव आफ्ना दुई छोरा र छोरीसँग बस्छन्। उनको कोठा अत्यन्तै सामान्य छ। त्यहाँ खाटधरि छैन। उनी र कान्छा छोरा भुइँमै सुत्छन्। उनका छोराछोरी काठमाडौंमा पढ्दै छन्। श्रीमती चम्पादेवी यादव भने कलैयामा बस्छिन्। उनी प्राय: काठमाडौं आउँदिनन्। २०७४ को निर्वाचनपछि यादव नौ महिना वनमन्त्री हुँदा उनी एकचोटि मात्र काठमाडौं आएकी थिइन्।
'मेरी श्रीमती गाई-भैंसी पालेर बस्न रमाउँछिन्,' ५२ वर्षीय यादव भन्छन्, 'पहिलो संविधानसभा विघटन भएपछि म पनि गाई-भैंसी पाल्न गाउँ गएँ। हामी किसान परिवारबाट आएकाले किसानी काम छाड्न नसकिने रहेछ। अहिले सानो घर बनाउन लागेकाले हामीसँग एउटा गाई मात्रै छ।'
जनता समाजवादी पार्टी (जसपा) का यादव स्वच्छ छवि भएको इमानदार नेताका रूपमा चिनिन्छन्। कुनै किसिमको तामझाम नगरी 'लो' प्रोफाइलमा बस्ने उनको बानी छ। यादवसँग आफ्नो निजी सवारी साधन पनि छैन। उनी संसद भवन बानेश्वरदेखि पार्टी कार्यालय बालकुमारी लगायत सबै ठाउँ पैदलै पुग्छन्। हतार भएको बेला सार्वजनिक यातायात चढ्छन्।
यादवलाई नजिकबाट चिनेका जसपा नेता मोहम्मद इस्तियाक राई उनलाई 'राजनीतिका गौप्राणी' भन्छन्।
'उहाँलाई पार्टीमा सबैले भद्र, शालीन र इमानदार छविको नेता भनेर चिन्छन्। हामी त उहाँलाई गौप्राणी नै भन्छौं,' उनले भने, 'उहाँ पार्टी र पार्टीको सोचभन्दा बाहिर नजाने नेता हो। थुप्रै आरोह-अवरोह र संकटमा पनि पार्टीमै रहनुभयो। पार्टीले जित्दा होस् वा हार्दा, उहाँको स्वभावमा कुनै परिवर्तन आएन।'
उनले अगाडि भने, 'अहिलेको राजनीतिमा यति सरल व्यक्ति पाउन कठिन छ। यस्ता व्यक्ति हम्मेसी राजनीतिमा आउँदा पनि आउँदैनन्, आए पनि टिक्दैनन् र टिके पनि सफल हुँदैनन्। तर उहाँले सबै मानक तोड्नुभयो। उहाँको शालीनता, इमानदारी र कार्यशैलीको पार्टीले राम्रो मूल्यांकन गरेको छ। यसले कार्यकर्ताहरूमा उत्साह बढेको म ठान्छु। सोझो मान्छेको पनि राजनीतिमा उचित मूल्यांकन हुँदो रहेछ भन्ने सन्देश गएको छ।'
मंसिर ४ को आमनिर्वाचनमा बारा-२ बाट निर्वाचित यादव मुलुकका तेस्रो उपराष्ट्रपति हुन्। उनको राजनीतिक यात्रा त्यति लामो छैन। उनले सक्रिय राजनीति सुरू गरेको २०६४ फागुनबाट हो। त्यसअघि शिक्षण पेसामा थिए। २०४८ देखि शिक्षणमा लागेका यादवले बाराको सदरमुकाम कलैयास्थित पद्मदेवी कन्या माविमा साढे १७ वर्ष पढाए।
शिक्षण गरिरहेकै बेला २०४८ देखि उनले नेपाल सद्भावना पार्टीमा रहेर काम गरेका थिए। सुरूआतमा उनी सद्भावना पार्टीको शिक्षक संगठनमा आबद्ध थिए। पछि २०५९ मा तत्कालीन मधेसी जनअधिकार फोरमसँग पनि जोडिए।
त्यति बेला अरू पार्टीमा रहेकाहरू पनि फोरममा जोडिन पाउन प्रावधान रहेकाले आफू दुवैतिर आबद्ध भएको यादव बताउँछन्।
यही क्रममा २०६० फागुनमा उनी मधेसी जनअधिकार फोरम नेपालको केन्द्रीय सदस्य तथा बारा संयोजक भए।
२०६२/६३ को जनआन्दोलनमा सक्रिय यादवले आन्दोलनपछि सद्भावना पार्टी छाडे र फोरममा मात्र आबद्ध भई राजनीतिक यात्रा अघि बढाए। त्यति बेला उनले शिक्षण पेसा पूर्ण रूपमा छाडेका थिएनन्।
पहिलो र दोस्रो मधेस आन्दोलनलाई रामसहायको राजनीतिक करिअरको 'टर्निङ प्वाइन्ट' मानिन्छ।
उनले २०६३ माघको पहिलो मधेस आन्दोलन र २०६४ फागुनको दोस्रो मधेस आन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए। त्यस क्रममा मधेसमा भएका विरोध प्रदर्शनहरूमा सहभागी हुँदा उनी थुप्रैपटक गिरफ्तार भए।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सूचीबाट सांसद बन्ने भएपछि उनले शिक्षण पेसाबाट राजीनामा दिए। यहाँबाट पहिलो संविधानसभाको सभासदका रूपमा यादवको पूर्णकालीन राजनीतिक यात्रा सुरू भयो।
दोस्रो संविधानसभामा भने उनी सभासद बन्न सकेनन्। उनको नाम पार्टीको समानुपातिक सूचीमा थियो, तर पार्टीले उनलाई सभासद बनाएन। २०७४ को निर्वाचनमा पनि उनलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले समानुपातिक सूचीमा बस्न भनेका थिए। तर रामसहायले अस्वीकार गरे।
रामसहाय सामान्य आर्थिक पृष्ठभूमिका हुन्। २०७४ मा पहिलोपटक प्रत्यक्ष निर्वाचन लड्ने तयारी गर्दा धेरैले उनलाई 'खर्च कहाँबाट ल्याउँछ' भन्दै टिप्पणी गरेका थिए।
'पार्टी अध्यक्षले समेत एक जना सांसद भए पनि तपाईंलाई बनाउँछु, समानुपातिकमा बस्नुस् भन्नुभएको थियो,' यादवले भने, 'मलाई मुख्यमन्त्री बन्ने गरी प्रदेश निर्वाचन लड्ने प्रस्तावसमेत गरिएको थियो। तर मैले संघमै आउँछु भनेपछि अध्यक्षले जहाँबाट चुनाव उठे पनि मेरो सहयोग रहन्छ भन्नुभयो।'
उनले २०७४ र २०७९ मा बारा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिए र दुवैचोटि विजयी भए।
आफू बारा क्षेत्र नम्बर १ को बासिन्दा भए पनि २ नम्बरबाट निर्वाचन लडेका रामसहाय 'धेरैले आफूलाई नदेखिकन, नाम सुनेको भरमा भोट दिएको' बताउँछन्।
रामसहायले आफ्नो राजनीतिक जीवनमा उपेन्द्र यादवको साथ कहिल्यै छाडेनन्।
२०५९ मा मधेसी जनअधिकार फोरममा आबद्ध हुँदादेखि अहिलेसम्म उनी उपेन्द्र यादव निकट छन्। यसबीच फोरममा पटक-पटक टुटफुट आए पनि उनी सधैं उपेन्द्रसँगै उभिए।
पहिलो संविधानसभा चुनावअघि मधेसी जनअधिकार फोरम दर्ता हुँदा २५ जनाको केन्द्रीय कमिटी थियो। त्यसपछि यो पार्टीको नाम संघीय समाजवादी फोरम, समाजवादी पार्टी हुँदै अहिले जनता समाजवादी पार्टी छ। जतिचोटि एकता र जतिचोटि विभाजन भए पनि उपेन्द्र यादवले पार्टीको नेतृत्व छाडेका छैनन् भने रामसहायले उपेन्द्रको साथ छाडेका छैनन्।
यसबीच २०६५ मा उपेन्द्रले रामसहायलाई पार्टीको महासचिव बनाएका थिए। उनी १२ वर्ष महासचिव रहे।
पछि तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जनता समाजवादी पार्टी गठन भएपछि दुई अध्यक्ष मात्र रहने प्रावधान राखियो। त्यसयता रामसहाय पार्टीको कार्यकारिणी सदस्य छन्।
फोरम दर्ता हुँदाका २५ केन्द्रीय सदस्यमध्ये अहिले जसपामा चार जना मात्रै छन्- उपेन्द्र यादव, रामसहाय यादव, मोहम्मद इस्तियाक राई र रामविलास यादव।
कुनै बेला उपेन्द्र यादवसँग निकट तर अहिले माओवादी केन्द्रमा आबद्ध रामकुमार शर्मा भने रामसहाय उपराष्ट्रपतिका लागि योग्य व्यक्ति भए पनि अहिलेको परिस्थितिमा उनलाई उपराष्ट्रपति बनाइनुको राजनीतिक कारण अर्कै रहेको बताउँछन्।
'रामसहायजीको स्वभाव सरल छ। उहाँ आँखामा राखे पनि नबिझाउने व्यक्ति हो। त्यही भएर उपेन्द्रजीको नजिक हुनुभयो,' उनले भने, 'उहाँ उपराष्ट्रपतिका लागि योग्य व्यक्ति पनि हो। तर अहिलेको परिस्थितिमा उपेन्द्रजीलाई सांसद बन्नुपरेकाले उहाँलाई उपराष्ट्रपति बनाइएको हो भन्ने हामीले भुल्नु हुँदैन।'
पछिल्लो आमनिर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट पराजित उपेन्द्र यादव जसरी पनि संसदमा आउन चाहन्छन्। त्यसकै लागि निर्वाचन क्षेत्र खाली गर्न रामसहायलाई उपराष्ट्रपति बनाइएको आरोप छ। रामसहाय उपराष्ट्रपति भएपछि बारा २ मा उपनिर्वाचन हुन्छ, जसमा उपेन्द्र उम्मेदवार बन्न चाहन्छन्।
यही रणनीतिमा पछिसम्मको बाटो हेरेर उपेन्द्रले रामसहायलाई संसदीय दलको नेता बनाएको भनाइ छ। जबकि पार्टीका संघीय परिषद अध्यक्ष अशोक राई संसदीय दलको नेता बन्न चाहन्थे। राईलाई दलको नेता बनाएपछि हटाउन अप्ठ्यारो हुन्छ भनेर नै उपेन्द्रले रामसहायलाई बनाएको आकलन गरिन्छ।
जसपा नेता तथा सांसद प्रदीप यादव भने यो आरोप अस्वीकार गर्छन्। उपेन्द्र यादवसँग मात्र जोडेर रामसहायको राजनीतिक योगदानलाई ओझेलमा पार्न नहुने उनको भनाइ छ।
'रामसहायजी इमानदार र स्वच्छ छवि भएका नेता हुनुहुन्छ। हामीले एउटा परिपक्व व्यक्तिलाई उपराष्ट्रपति पदमा पठाएका हौं,' उनले भने, 'बारा २ मा हुने उपनिर्वाचनमा पार्टी अध्यक्षलाई उम्मेदवार बन्न दबाब आउनु स्वाभाविक हो। त्यो मान्ने-नमान्ने उहाँको कुरा हो।'
मधेसी जनअधिकार फोरमका संस्थापक नेता जेपी गुप्ता भने रामसहायलाई इमानदार र स्वच्छ छविको नेता मान्न तयार छैनन्।
'विवेक भएको मान्छे जायज र नाजायज कुरामा बोल्छ, चाहे त्यो कसैका लागि प्रिय होस् वा अप्रिय। जसले कहिले पनि उपेन्द्र यादवको मनसायबाहेक अरू कुरा बोलेन, उसलाई कसरी राम्रो भन्ने?' गुप्ताले भने, 'उनी उपेन्द्र यादवका एस-म्यान हुन्। उपेन्द्रले चाहेको कुरा प्रश्न नगरी पूरा गर्ने भएकाले उनले यो अवसर पाएका हुन्।'
उपेन्द्र यादवकै लागि उपराष्ट्रपति भएर रामसहायले आफ्नो राजनीतिक भविष्य दाउमा लगाएको पनि गुप्ताको मूल्यांकन छ।
'एउटा प्रत्यक्ष निर्वाचित सांसदलाई त्यहाँ पठाउनुपर्ने कुनै कारण थिएन। उपेन्द्र यादवले आफू संसदमा जान सुरक्षित सिट देखेर उनलाई त्यहाँ पठाएका हुन्,' गुप्ताले भने, 'उनको ठाउँमा अरू सांसद भइदिएको भए तयार हुन्थेनन्।'
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी