परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्तिम समयमा रोकिदिएका छन्।
मन्त्री पौड्यालकी सञ्चार संयोजक यशोदा अधिकारीका अनुसार ६ बजेको फ्लाइटमा उनी जेनेभाका लागि जाने तयारी थियो।
दिउँसो साढे तीन बजेतिर प्रधानमन्त्री कार्यालयबाट फोन आएपछि उनको भ्रमण रोकिएको हो।
‘मलाई बिहान प्रधानमन्त्रीज्यूले फोन गरेर तपाईं कहिले जेनेभा जाँदै हुनुहुन्छ भनेर सोध्नुभएको थियो। मैले आज जाँदैछु भनेकी थिएँ। उहाँले खबर गर्छु भन्नुभएको थियो,’ भ्रमण रोकिएपछि सेतोपाटीसँग कुरा गर्दै मन्त्री पौड्यालले भनिन्,‘दिउँसो साढे ३ बजेतिर म विमानस्थल जाने तयारीमा रहेका बेला मुख्यसचिवको मन्त्रालयमा फोन आयो, परराष्ट्र मन्त्री नजानुहोला भनियो।’
आफूलाई अपमानित गर्ने गरी फोन आएपछि विमानस्थल नगएको पौड्यालले बताइन्।
यसअघि बिहान ११ बजे पत्रकार सम्मेलन गरेर मन्त्री पौड्यालले आफू जेनेभा जान लागेको जानकारी दिएकी थिइन्।
आफ्नो भ्रमण अन्तिम समयमा किन रोकिएको भन्नेबारे आफूलाई कुनै जानकारी नदिइएको पौड्यालले बताइन्।
परराष्ट्र मन्त्री विमला राई पौड्याल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा भाग लिन जेनेभा जान लागेकी थिइन्।
बैठकमा नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्री पौड्यालले बताएकी थिइन्। सदस्य राष्ट्रको हैसियतले यस क्षेत्रमा आफूले गरेको प्रगतिबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन र बहुपक्षीय तथा द्वीपक्षीय छलफलको माध्यम अन्य मुलुकसँगको सम्बन्धलाई अझै बलियो बनाउने अवसरमा रूपमा पनि सो बैठकलाई उपयोग गरिने मन्त्री पौड्यालले पत्रकार सम्मेलनमा भनेकी थिइन्।
‘हाम्रो उपस्थिति अत्यन्तै महत्वपूर्ण हुनेछ। हामीले यस क्षेत्रमा राम्रो काम पनि गरेका छौं। हामीले राम्रो तयारी गरेका छौं। विशेष गरेर मानव अधिकारको क्षेत्रमा नेपाललाई राम्रै मानिन्छ। हामी मानव अधिकारको क्षेत्रमा राम्रो प्रगति गरेको देश भित्रै पर्छौं,’ मन्त्री पौड्यालले भनेकी थिइन्,‘त्यो कामलाई हामीले विश्वसामु चिनाउनुपर्ने हुन्छ। देखाउनु पर्छ। त्यसका निम्ति पनि हाम्रो उपस्थिति जरूरी छ। र, हामी त्यहाँ गएर राम्रो अभ्यास पनि दर्शाउँछौं। द्वीपक्षीय र बहुपक्षीय सम्बन्ध विस्तारको विषयमा पनि छलफल हुन्छ।’
मन्त्री पौड्याल सोही बैठकमा भाग लिएर कतारको दोहामा हुने अतिकम विकसित राष्ट्रहरूको सम्मेलनमा सहभागी हुने कार्यक्रम थियो।