आठ दलले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउने निर्णय भएको छ।
शुक्रबार बालुवाटारमा जारी बैठकले उक्त निर्णय गरेको एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले बताए।
‘आज राष्ट्रपतिको मात्र कुरा भयो। कांग्रेसको उम्मेदवारलाई सघाउन हामी ८ दल सहमत भयौं,’ उनले भने।
राष्ट्रपतिमा आफूहरूको पनि दाबी भएता पनि संसदको ठूलो दल कांग्रेसलाई समर्थन गरेको उनले बताए।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले जनताको चाहना अनुसार अघि बढ्नु पर्ने बताउँदै नयाँ राजनीतिक यात्रा सुरू भएको बताएका थिए।
‘प्रधानमन्त्रीले नयाँ राजनीतिक यात्रा सुरू भएको छ। हामीले जनताको चाहना अनुसार अघि बढौं भन्नुभयो। हामी सत्ता समीकरणको बेलामा थप छलफल गरेर जाऊँ भनेर अपिल गर्नुभयो’, उपमहासचिव ज्वालाले भने।
राष्ट्रपति उम्मेदवार को भन्नेबारे कांग्रेस आफैंले छलफल गर्ने उनले बताए।
‘व्यक्ति को भन्नेबारे कांग्रेसले छलफल गर्ला। त्यो उसैको कुरा हो’, उनले भने।
उम्मेदवार तय गर्नका लागि भोलि बिहान कांग्रेस बैठक बस्दैछ।
माओवादी उपमहासचिव जनार्दन शर्माले राष्ट्रपतिबारे निर्णय भए पनि प्रधानमन्त्रीको कार्यकालबारे तीन नेताले छलफल गरेर टुंगो लगाउने बताए। उनले उपराष्ट्रपति जसपाले पाउने सहमति भएको समेत बताए।
‘जसपाले पाउने एक खालको सहमति भएको छ। प्रधानमन्त्रीको कार्यकालबारे तीन नेता (पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपाल) बसेर टुंगो लगाउनुहुन्छ’, उनले भने।
यस्तै, जसपा कार्यकारी सदस्य राजेन्द्र श्रेष्ठले कार्यदल बनाएर थप शक्ति बाँडफाँटबारे पछि छलफल गर्ने बताए।
‘आज राष्ट्रपतिको बारेमा मात्र कुरा भयो। अब उपराष्ट्रपति, प्रधानमन्त्रीको कार्यकाल, कार्यकालको बाँडफाँटलगायत विषयमा पछि कार्यदल बनाएर छलफल गर्नेछौं’, उनले भने।
बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबीच छलफल भएको थियो।
शनिबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने तालिका छ।