करिब डेढ दशक शिक्षण पेशामा बिताइसकेपछि स्थायी शिक्षकमा नाम निकाल्दा संगीता पराजुलीको खुसीको सीमा थिएन। भरतपुर र हेटौंडामा दिएको शिक्षक सेवा आयोगको परीक्षामा उत्तीर्ण भएसँगै उनका लागि निम्नमाध्यामिक तहको स्थायी शिक्षक बन्ने ढोका खुलेको थियो।
२०६५ सालदेखि भरतपुर महानगरपालिका–२७ मेघौलीस्थित जानकी माविमा राहत दरबन्दीमा प्राथमिक तहका विद्यार्थीलाई पढाउँदै आएकी पूर्ण दृष्टिविहीन महिला हुन् संगीता पराजुली। एक तह माथिको दरबन्दीमा स्थायी हुनु उनका लागि ठूलो उपलब्धी थियो।
संगीताले स्थायीमा नाम निकाल्नेमध्ये अपाङ्गता भएका महिलाहरूले सुरुआतमा आफूले पढाउने विद्यालय रोज्न पाउने व्यवस्थाबारे सुनेकी थिइन्। भरतपुर आसपासकै कुनै विद्यालयमा स्थायी नियुक्ति पाउने आशा उनलाई थियो। तर बुझ्दै जाँदा त्यो व्यवस्था हटिसकेको रहेछ।
‘चितवनमै नियुक्ति नपाए के भो त? म जुनसुकै स्थानमा पुगेर पनि काम गर्न सक्छु भन्ने आँट त छँदैथियो,’ संगीताले भनिन्, ‘अवसर पाए जुनसुकै काम गर्न सक्छु भन्ने अझै पनि लाग्छ।’
मेरिट सूची अनुसार उनको नियुक्ति रामेछाप जिल्लामा हुने भयो। परीक्षा उत्तीर्ण भएको करिब डेढ महिनापछि उनी श्रीमानलाई पनि लिएर रामेछापको सदरमुकाम मन्थली पुगिन्। माघ २३ गते शिक्षा विकास तथा समन्वय ईकाई रामेछापले नेपाली विषय शिक्षकको नियुक्तिपत्र दिएर पदस्थापनका लागि खाँडादेवी गाउँपालिकाको कार्यालयमा पठाइदियो।
गाउँपालिकाको शिक्षा शाखाले उनलाई तीनखुरीस्थित मानेडाँडा माध्यामिक विद्यालयमा पदस्थापन गर्नेगरी पत्र लेखिदियो।
‘पत्र बुझेपछि सदरमुकाम मन्थलीबाट बोलेरो गाडी चढेर विद्यालय जाँदै थिएँ, हेडसरको फोन आयो। उहाँले अहिले नआउनु, म पहिले बैठक राखेर वातावरण मिलाउँछु त्यसपछि आउनु भन्नुभयो,’ संगीताले भनिन्, ‘गाडी चढिसकेका हामी ओर्लिएर घर फर्कियौं।’
त्यसदिन मन्थली छाडेर चितवन फर्किएकी संगीताले उक्त विद्यालय जान प्रयास गरेको गर्यै छन्, तर सकेकी छैनन्। यसको एक मात्र कारण हो, उनको अपाङ्गता।
‘ठूलो संघर्ष गरेर पढें। वर्षौंदेखि पढाइरहेकी छु। प्रतिष्पर्धाबाट उत्तीर्ण भएर स्थायी पनि भएँ तर त्यहाँका मान्छेले स्वीकार गरेनन् भनेर मलाई अहिलेसम्म हाजिर गर्न पनि दिइएको छैन,’ संगीता भन्छिन्, ‘शिक्षक सेवा आयोगमा लडेर उत्तीर्ण भएर गएको मान्छेलाई हाजिर गर्नै नदिएर मेरो अधिकार हनन् गरियो।’
जिल्लाको शिक्षा क्षेत्र हेर्ने शिक्षा विकास तथा समन्वय ईकाई रामेछापमा पुगेपछि संगीताले सदरमुकाम आसपासका विद्यालयमा नियुक्ति दिन माग गरेकी थिइन्। उक्त कार्यालयले उनलाई नेपाली विषयको शिक्षक दरबन्दी खाली भएको ठाउँ चाहिने भनेर विकट गाउँपालिका पठाइदियो। त्यो स्वीकार गरेर उनी गाउँपालिकाले तोकेको विद्यालय पुगेर सेवा गर्न तयार भइन्।
तर उनलाई विद्यालय, व्यवस्थापन समिति, वडा, कसैले स्वीकार गरेन।
खाँडादेवी गाउँपालिकाका प्रवक्ता पुस्करकुमार कार्कीले अपाङले सक्दैन भनेर विद्यालय व्यवस्थापन समिति र वडाले गाउँपालिकामै फिर्ता पठाएपछि दृष्टिविहीन शिक्षकलाई पदस्थापन गर्न नसकिएको बताए।
‘आँखा नदेख्ने महिलालाई यती विकट ठाउँमा पठाउनु जिल्ला शिक्षा समन्वय ईकाईको गल्ती हो। उपल्लो तहबाट पत्र आइसकेपछि गाउँ शिक्षा ईकाईले खाली दरबन्दी भएको ठाउँमा पदस्थापन गर्नै पर्छ, त्यही अनुसार पत्र लेखेर पठाएको हो तर त्यहाँको समाजले स्वीकार गरेन,’ प्रवक्ता कार्कीले भने, ‘यी शिक्षिका हामीलाई आवश्यक छैन भनेर गाउँलेले हस्ताक्षर गरेर पठाएपछि गाउँपालिकाले केही गर्न सक्ने अवस्था रहेन।’
शिक्षक सेवा आयोगको परीक्षमा उत्तीर्ण भएर आएको व्यक्तिलाई हाजिर हुन नदिँदा उनको मौलिक अधिकार हनन् भएकोप्रति गाउँपालिका दुःखी भएको भन्दै उनले यस विषयमा आयोग र जिल्ला शिक्षा समन्वय समिति जिम्मेवार बन्नुपर्ने बताए।
‘अपाङ्गता भएका व्यक्तिलाई विद्यालय रोज्ने पहिलो अवसर दिएको भए सबैले छाडेको भीर, पहरो, पाखो, भित्तोमा रहेको विद्यालयमा पुग्नुपर्ने बाध्यता रहँदैनथ्यो,’ उनले भने, ‘स्थानीयले ठाउँ अनुसारको शिक्षक चाहियो भनेका छन्। उहाँलाई सुगम क्षेत्रमा पठाउँदा नै राम्रो हुन्छ।’
विद्यालय रहेको खाँडादेवी गाउँपालिकाको वडा नम्बर ९ का वडाध्यक्ष अकलबहादुर भण्डारीले स्थानीयबासीले हुँदै हुँदैन भनेपछि वडाले बाध्य भएर दृष्टिविहीन शिक्षिकलाई अस्वीकार गरेको बताए। उक्त गाउँमा धेरै अभिभावक तामाङ समुदायको रहेको, व्यवस्थापन समितिका अध्यक्ष पनि सोही समुदायको रहेको र सबैले उहाँको आवश्यकता छैन भनेपछि वडाले त्यहीअनुसार निर्णय गरेको उनले बताए।
‘म बिरामी भएर काठमाडौं गएको थिएँ। ज्येष्ठ सदस्य कार्यवहाक वडाध्यक्ष हुनुहुन्थ्यो। गाउँले उहाँको आवश्यकता विद्यालयमा छैन हाजिरका लागि सिफारिस नगर्ने निर्णय गर्नुपर्यो भनेछन्, वडाले त्यहीअनुसार निर्णयरगर्यो,’ भण्डारीले भने, ‘दरबन्दी खाली पनि छ, स्थायी शिक्षक आउनुभएको पनि छ तर उहाँलाई राख्नुपर्छ भन्यो भने म नै गाउँलेबाट तिरस्कार हुनुपर्छ।’
उनले गाउँले हस्ताक्षर लिएर आएपछि त्यसभन्दा बाहिरको निर्णय गर्न नसकिने बताए।
विद्यालयमा प्रधानाध्यापक राजन बुढाथोकीले व्यवस्थापन समितिले निर्णय गरेपछि त्यसलाई मोइनोट गर्ने काममात्र आफ्नो रहेको बताए। अपाङ्गता भएकी शिक्षिकालाई हाजिर नगराउने निर्णय समितिले गरेपछि सदस्य–सचिवको हैसियतमा आफूले माइनोट गरेको उनले बताए। समितिले निर्णय गर्दा आफूले शिक्षिकाको बारेमा बोल्ने अवसर पनि नपाएको दाबी प्रअ बुढाथोकीले गरे।
‘उहाँलाई यहाँ आएर जागिर खाने अधिकार छ तर उहाँ र गाउँको अवस्थाका कारण सुगम क्षेत्रका विद्यालयमा पदस्थापन गरे हुन्थ्यो भनेर मैले पनि प्रयास गरें तर सकिनँ,’ उनले भने, ‘व्यवस्थापन समिति हाजिर गरिस् भने खबरदार भन्छ म कसरी हाजिर गराउँ।’ उनले विद्यालय व्यवस्थापन समितिले हाजिर गराउ भन्यो भने तुरुन्तै बोलाएर हाजिर गराउने बताए।
खाँडादेवी गाउँपालिकाको शिक्षा प्रशासन शाखाका शिक्षा अधिकृत मिनबहादुर थापाले जिल्ला शिक्षा ईकाईले नियुक्ति दिएर गाउँपालिकाले पदस्थापनगरी पठाइसकेपछि सम्बन्धित विद्यालयले फिर्ता गर्न नमिल्ने बताए।
‘हामीले पदस्थापनगरी हाजिर गरेर जानकारी गराउनु भनेर पत्र पठाएका छौं। विद्यालयले त्यसलाई आधार मानेर हाजिर गराउनुपर्छ,’ थापाले भने, ‘तर उताबाट स्थानीय सरोकारवालाहरुको हस्ताक्षरसहितको पत्र पो आयो। विद्यालय अपांगमैत्री छैन, अपांगमैत्री शौचालय छैन भनेर पत्र आएको छ।’
शिक्षा विकास समन्वय ईकाई रामेछापका प्रमुख भरत भट्टराईले नियुक्ति दिएर पदस्थापनका लागि पठाएका शिक्षकलाई विद्यालयले हाजिर नगराएको जानकारी पाएको बताए। ‘हाम्रो काम दरबन्दी खाली भएको पालिकामा विषयअनुसारको शिक्षक नियुक्त गरेर पठाउने हो। त्यहीअनुसार खाँडादेवी गाउँपालिकामा नेपाली शिक्षक संगीता पराजुलीलाई पठाइएको हो,’ भट्टराईले भने, ‘पालिकाले तीनखुरीको विद्यालयमा पदस्थापन गरेछ तर शिक्षक पत्र लिएर पुग्न नपाउँदै विद्यालयले हाजिर हुन नदिने निर्णय गरेछ।’
उनले यस विषयमा विद्यालयको पत्र आफूलाई नआएको बताए। विद्यालय र वडाले गाउँपालिकालाई संबोधन गरेर पत्र लेखेको जानकारी पाएको उनले बताए। हाजिर नगराउने हो भने विद्यालयले शिक्षकको पत्र बुझेपछि सोही शिक्षकको नाममा हाजिर नगराउने पत्र लेखेर पठाउनुपर्ने भट्टराईले बताए।
‘त्यसरी पत्र आयो भने हामी पालिका र विद्यालयलाई पत्र लेखेर हाजिर गराउन निर्देशन दिन्छौं। त्यसपछि पालिकाले एक्सन लियो भने विद्यालय हाजिर गर्न बाध्य हुन सक्छ,’ भट्टराईले भने, ‘त्यसो गर्दा पनि भएन भने अदालत गएर अन्तरिम आदेश लिएर आउनुको विकल्प देख्दिनँ।’
विगतमा जिल्ला शिक्षा कार्यालयलाई शिक्षक नियुक्ति र पदस्थापनको अधिकार भएको, विद्यालयले हाजिर नगराउँदा अन्यत्र पदस्थापन गरेर भनेपनि तलब खुवाउन सक्ने अवस्था भएपनि अहिले अधिकार कम रहेको भट्टराईले बताए।
३६ वर्षीया संगीता २०६० सालमा नारायणी नमूना मावि भरतपुरबाट एसएलसी परीक्षा उत्तीर्ण भएकी थिइन्। उनले प्लस टू र स्नातक तहको पढाई सप्तगण्डकी बहुमुखी क्याम्पसबाट पुरा गरिन्। क्याम्पस पढ्दैगर्दा उनको भरतपुर–२७ मघौली घर भएका न्यूनदृष्टिविहीन गणेश महतोसँग विवाह भयो।
अहिले उनीहरु भरतपुर–२६ चनौलीमा बस्छन्। गणेश ज्योतीनगरस्थित युवा माध्यामिक विद्यालयमामा प्राथमिक तहमा पढाउँछन्। उनीहरुका जेठा छोरा अहिले युवा माविबाट एसईई परीक्षाको तयारी गर्दैछन्। कान्छा छोरा जानकी माविमा कक्षा ५ मा पढ्छन्।
‘शिक्षक सेवा आयोगको परीक्षमा पास भएपछि पहिले पढाउँदै आएको विद्यालय जान छाडेकी थिएँ। नियुक्ति पाइसकेपछि पनि विद्यालयले हाजिर नगराएपछि आजबाट पुरानै विद्यालय जान थालेकी छु,’ संगीताले भनिन्, ‘नयाँ ठाउँमा दृष्टिविहीन भनेर सबैले हेपेका छन्। गाउँपालिकाका अध्यक्षलेसमेत यहाँ गाह्रो हुन्छ, चितवननै जानु भनेर मेरो योग्यताको अवमुल्यन गरे। पुरानो विद्यालयमा सबैले चिनेका छन्। सबैले माया, सहयोग गर्नुहुन्छ।’