नेकपा (एकीकृत समाजावादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकता सम्भव नभएको बताएका छन्।
बुधबार सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै नेता खनालले विचार मिल्नेसँग एकता स्वाभाविक भए पनि तत्काल कसैसँग एकता नगर्ने बताए।
पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरिएका चर्चाबारे आफू जानकार नरहेको खनालले बताए। उनले आफ्नो पार्टी आलु र गोलभेडाजस्तो नभएको समेत बताए। खनालसँग गरिएको कुराकानीको सम्पादित अंश:
एमालेसँग पार्टी एकता र राष्ट्रपतिमा माधव नेपालको चर्चा आइरहेको छ नि, केही तयारी छ?
मलाई त अहिलेसम्म केही थाहा छैन। को नेताले कसलाई भेट्यो, कहाँ कसले कुरा गर्यो, कसले कसलाई के प्रस्ताव गर्यो त्यसबारे केही थाहा छैन। पार्टी भनेको आलु र गोलभेडाजस्तो होइन। यो बजारमा राखिएको स्कुस जस्तो पनि होइन। यो कसैले बेचबिखन र पद प्राप्ति गर्न सक्दैन। यो एउटा नीति, विधि, सिद्धान्त निष्ठा भएको पार्टी हो। त्यसकारणले कसैसँग कुरा गर्न पर्यो भने स्वाभाविक रूपले एउटा औपचारिक धरातलमा बसेर कुरा गर्नुपर्छ। अहिलेसम्म त्यस्तो मलाई केही थाहा छैन। कतै केही भएको छ, मलाई बताउन बाँकी भए बेग्लै कुरा हो। तर अहिलेसम्म मैले जानकारी पाएको छैन।
पदको बार्गेनिङ गरेर एमालेसँग एकता हुँदैन भन्न खोज्नुभएको हो?
बिल्कुलै होइन। एकता गर्ने भए संस्थागत र नीतिगत रूपले हुनुपर्छ।
तपाईंलाई पनि राष्ट्रपतिको प्रस्ताव आएको छ भन्छन्, हो?
मलाई त्यो कुरा थाहा छैन। बजारको हल्लाहरूको कुरा बेग्लै हो। तर मसँग त्यस्तो औपचारिक रूपले प्रस्ताव कसैले ल्याएको छैन।
एमालेसँग एकता गर्न तत्काल सम्भावना छ कि छैन?
अहिले तत्काल कसैसँग पनि हाम्रो एकता सम्भव छैन। अब विचारमा, राजनीतिमा र सिद्धान्तमा सबै कुरामा मिल्यो भने भविष्यमा एकताको कुरा हुन पनि सक्छ। तर अहिले तत्काल कुनै त्यस्तो सम्भावना देख्दिनँ।
त्यसो भने अब चुनावअघिको गठबन्धन ब्युँतिन लागेको हो?
प्रधानमन्त्रीजीको तयारी त्यस्तै देखिन्छ।
राष्ट्रिय सहमति खोजेर राष्ट्रपति चयन गर्ने चर्चा छ, के भन्नुहुन्छ?
राष्ट्रिय सहमतिका साथ राष्ट्रपतिको चुनाव गरे सबैभन्दा राम्रो हो। राष्ट्रिय सहमतिको लागि योग्य, क्षमतावान्, प्रतिभावान् व्यक्तिलाई साझा रूपमा अगाडि सार्न सके सबैभन्दा राम्रो हो। त्यस्तो हुन सकेन भने बहुमतले पनि हुन नसक्ने भन्ने हुँदैन।कानुनले दिएकै छ।
अहिलेको सत्ता गठबन्धन अघि बढ्न सक्छ कि सक्दैन, तपाईंलाई के लाग्छ?
म वामपन्थी एकताको पक्षधर हो। अहिले पनि वामपन्थीहरूको सिट संख्या १ सय ३६/३७ छ। त्यो भनेको बहुमत हो। वामपन्थीमा भएको अदुरदर्शिता, विचलन वामपन्थी भड्काउले गर्दा उनीहरू एकताबद्ध हुन सकेका छैनन्। उनीहरू एकताबद्ध भए भने धेरै काम गर्न सक्ने सम्भावना अहिले पनि छ।
अन्तिममा, तपाईंहरूका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी ओलीसँगको भेटबारे केही कुरा गर्नुभयो त?
मसँग कुनै छलफल भएको छैन। उहाँहरूको भेट भएको भनेर मिडियाबाट सुनेको छु। तर साँच्चै भेट भएको हो कि होइन?भएको भए के कुराकानी भयो भनेर जानकारी छैन।