राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पनि राष्ट्रपतिको दौडमा प्रवेश गरेका छन्।
उनी राष्ट्रपतिको आकांक्षी रहेको र त्यसका लागि पहल गरिरहेको उनीनिकट नेताले बताए।
नेपालले सोमबार प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर आफ्नो चाहना व्यक्त गरेका थिए।
स्रोतका अनुसार उनले आफूलाई एमालेबाट समेत राष्ट्रपति बन्न प्रस्ताव आएको र त्यसका लागि समर्थन गर्न प्रचण्डलाई आग्रह गरेका थिए। जवाफमा प्रचण्डले सहमति निर्माण गरेर अघि बढ्नुपर्ने बताए।
एकीकृत समाजवादीका नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादर देउवालाई पनि भेटेर नेपाललाई राष्ट्रपति बनाउन पहल गरिदिन अनुरोध गरेका छन्।
देउवाले भने, ‘रामाचन्द्र पौडेललाई वचन दिएको छु, उसैलाई बनाउने हो’ भनेर जवाफ दिएको एकीकृत समाजवादीका एक नेताले बताए।
ती नेताका अनुसार एमालेबाट समेत राष्ट्रपतिका लागि नेपाललाई प्रस्ताव आएको छ र केही दिनअघि देखि एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले सक्रियता लिएका छन्।
ओली र नेपालबीच आइतबार महाराजगञ्जस्थित एकीकृत समाजवादीका एक नेताको घरमा भेट भएको थियो। त्यही भेट भएको भोलिपल्ट नेपालले प्रचण्डसँग आफ्नो चाहना र एमालेको प्रस्ताव राखेका हुन्।
ओलीको प्रस्तावले पुलकित बनेका माधव नेपाल यसपालि साँच्चै राष्ट्रपति बन्लान्? अहिलेको जटिल र तरल राजनीतिमा नेपालका तीन सम्भावना छन्।
पहिलो, पाँच वर्ष राष्ट्रपति बन्ने। दोस्रो, केही समयका लागि प्रधानमन्त्री बन्ने। तेस्रो, राजनीतिक तानातानमा हात लाग्यो शून्य हुने।
सबैभन्दा पहिला पहिलो सम्भावनाबारे चर्चा गरौं। नेपाललाई कांग्रेस र माओवादीले राष्ट्रपति बनाउने निर्णय गरे भने उनी सजिलै राष्ट्रपति बन्नेछन्। कांग्रेस, माओवादी र एकीकृत समाजवादी एक ठाउँ उभिए भने यी तीन दलसँग राष्ट्रपति निर्वाचित गर्न आवश्यक पर्ने मतभार पुग्छ।
यसपटकको राष्ट्रपति निर्वाचनमा संघीय र प्रदेश सांसदको गरी कूल मतभार ५२ हजार ७ सय ७ छ। राष्ट्रपति निर्वाचित हुन कुनै पनि उम्मेदवारले यो मतको बहुमत अर्थात् २६ हजार ३ सय ५४ मतभार पाउनुपर्छ।
कांग्रेससँग १६ हजार २ सय २१ मतभार छ। माओवादी केन्द्रसँग ७ हजार ६ सय ४९ मतभार छ। एकीकृत समाजवादी पार्टीसँग २ हजार ५ सय ७४ छ। यी तीन दल एकातिर उभिँदा मतभार२६ हजार ४ सय ४४ हुन्छ। अर्थात् उनीहरूले उठाएको उम्मेदवार राष्ट्रपति चुनिन सक्छन्।
तर यस्तो हुने सम्भावना भने न्यून छ। प्रधानमन्त्री चयनमै थुप्रै अवसर गुमाउनु परेको दोष कांग्रेस सभापति शेरबहादुर देउवाले पाइसकेका छन्। राष्ट्रपति कुनै पनि हालतमा गुमाउन नहुनेमा मत कांग्रेसमा बलियो छ।
‘हामीले राष्ट्रपतिमा अरूलाई समर्थन गर्ने सम्भावना छैन। पहिलो दल भएर प्रधानमन्त्री, राष्ट्रपति र सभामुखमध्ये केही पनि नपाउने भन्ने हुँदैन,’ कांग्रेसका एक नेताले सेतोपाटीसँग भने, ‘दोस्रो दलले सभामुख, तेस्रोले प्रधानमन्त्री अनि हाम्रो समर्थनमा संसदको सातौं ठूलो दलले राष्ट्रपति लिने हो भने हामी सत्ताको खेलमा किन लाग्ने!’
यसरी सबै पद अरूले लगेर आफूहरू सत्तामा भागिदार हुनुभन्दा बरू कांग्रेस प्रतिपक्षमा बस्न तयार रहने उनले बताए।
‘सत्ताका लागि चलखेल गरेको आरोप खेप्नुभन्दा हामी प्रतिपक्षमै बसेरै राम्रो गर्न सक्छौं। भोलि त्यसले हामीलाई राजनीतिक रूपमा लाभ पनि हुन्छ,’ उनले भने।
कार्यकारी प्रधानमन्त्री भइसकेको व्यक्ति राष्ट्रपतिमा जान ठीक नहुने मत पनि कांग्रेसमा बलियो छ।
राष्ट्रपतिका लागि कांग्रेसले देउवा नै अघि सार्ने सम्भावना नकार्दै उनले भने, ‘ती सब बजारका हल्ला हुन्। कार्यकारी प्रधानमन्त्री बनेको मान्छे अब राष्ट्रपति पनि बन्ने हो भने त्यसले राष्ट्रपति संस्थाको पनि हित गर्दैन। राजनीति पनि थप गिजोलिन्छ।’
माधव नेपालले अहिले राष्ट्रपतिमा आकांक्षा देखाए पनि अहिलेको शक्ति सन्तुलनको मर्म उनले बुझ्ने ती नेताले बताए।
‘एकीकृत समाजवादी एमालेमै मिसिने भए उहाँले राष्ट्रपतिको आकांक्षा राख्नु एउटा कुरा, नत्र त्यो आकांक्षाको आधार र अर्थ छैन, नेपालले त्यो बुझ्नुहुन्छ,’ ती नेताले भने।
कांग्रेसले नमान्ने हो भने नेपाल राष्ट्रपति बन्ने अर्को बाटो भनेको एमाले, माओवादी र एकीकृत समाजवादी मिलेर अरू साना दलको समर्थनमा हो।
राष्ट्रपति चुनावमा एमालेसँग १५ हजार २ सय ३३ मतभार छ। यसमा माओवादी र एकीकृत समाजवादीको मतभार जोड्ने हो भने २५ हजार ४ सय ५६ पुग्छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग २ हजार ४ सय ५० र जनता समाजवादी पार्टी (जसपा) सँग २ हजार १ सय ४५ मतभार छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग १ हजार ५ सय १ मत छ भने जनमत पार्टीसँग १ हजार २ सय ४२ मतभार छ।
यी मध्ये कुनै एक दलको समर्थन पाउनेबित्तिकै नेपाल राष्ट्रपति चुनिन सक्छन्।
तर राष्ट्रपतिका लागि कांग्रेससँग एउटा समहति निर्माण गरिसकेका प्रधानमन्त्री प्रचण्ड एमाले र एकीकृत समाजवादीसँग मिलेर नेपाललाई राष्ट्रपति बनाउन कति अग्रसर हुन्छन् भन्ने एकिन छैन।
‘राष्ट्रपतिमा भरसक कांग्रेससँगै समझदारी बनाएर जाने भन्ने हाम्रो धारणा छ,’ माओवादीका एक नेताले भने, ‘सत्ता यात्राको थोरै समयमा एमालेसँग यति धेरै खटपट र अविश्वास देखिएको छ, त्यो बिर्सिएर फेरि यही गठबन्धनबाट राष्ट्रपति चुन्ने कुरा अहिले सम्भव छैन।’
नेता नेपालले केही दिनमै एकीकृत समाजवादीलाई एमालेमा मिसाए भने उक्त दलले कांग्रेस र माओवादीलाई अलग गरेर राष्ट्रपति चुन्न सक्ने नयाँ गठबन्धन बनाउन कम्तीमा सैद्धान्तिक रूपमा सम्भव छ। कांग्रेस र माओवादी बाहेकका सबै दल एकै ठाँउमा उभिए राष्ट्रपति छान्न बहुमत पुग्ने सम्भावना छ।
तर व्यवहारिक रूपमा त्यति सजिलो छैन। किनभने त्यसका लागि अहिले सरकारबाहिर रहेका रास्वपा, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टीलाई पनि एक ठाउँ उभ्याउनु पर्छ। त्यो अहिलेका लागि असम्भव जस्तै छ।
त्यसैले नेपाललाई राष्ट्रपति बनाउन कम्तीमा कांग्रेस वा एमालेसँग माओवादी केन्द्र मिल्नै पर्छ।
नेपाल नेतृत्वको एकीकृत समाजवादी एमालेसँग नमिलोस् भन्नेमा माओवादी केन्द्र पनि संवेदनशील छ। त्यसले सरकारलाई अस्थिर मात्र बनाउँदैन भोलिको राजनीति माओवादीका लागि थप असजिलो पनि बन्नेछ। माओवादीको चाहना एकीकृत समाजवादीलाई आफैंसँग राखेर भविष्यमा समाजवादी केन्द्र बनाउने र एमालेसँग प्रतिस्पर्धा गर्ने हो।
नेपाली कांग्रेस पनि भरसक एकीकृत समाजवादी एमालेसँग नमिलोस् भन्ने चाहन्छ। दुई दल मिलेमा एमाले थप बलियो हुनेछ भन्ने कांग्रेसलाई थाहा छ।
अहिले कांग्रेस र माओवादीलाई अप्ठ्यारो परेका बेला र एमाले अध्यक्ष ओली स्वयंले आफ्नो भाउ बढाइदिएको बेला नेता नेपाल आफ्ना लागि पनि केही जोहो गर्न चाहन्छन्।
मंगलबार दाङको भालुवाङमा बोल्दै उनले भने- पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्छ। पावर सेयरिङमा भूमिका नभए अरूको निम्ति मात्रै हामी बलिदान हुने, अरूले त्यसको फाइदा उठाउने कुरा हुन सक्दैन।’
राष्ट्रपतिबारे भने आफूले केही नसोचेको उनले बताए।
‘चाहना राख्ने बेग्लै कुरा हो। मैले पनि आफूले के गर्ने भन्ने सोचेको छैन, हाम्रो पार्टीले पनि सोचेको छैन,’ उनले भने।
अहिलेको राजनीतिक परिस्थितिमा आफूले राष्ट्रपति पाउन कठिन छ भन्ने नेता नेपालले बुझेका छन्। त्यसैले उनको दृष्टि प्रधानमन्त्रीको कुर्सीमा अडेको छ। थोरै समयका लागि भए पनि उनी प्रधानमन्त्री बन्न चाहन्छन्। केही समयअघि देउवा र प्रचण्डबीच को पहिले प्रधानमन्त्री बन्ने भन्ने विवाद चलिरहेका बेला नेपालले आफूलाई पहिलो वर्ष प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए।
अहिले पनि कांग्रेस र माओवादीले उनलाई एक वर्षका लागि प्रधानमन्त्री बन्ने ‘अफर’ अघि सारेमा कुरा मिल्ने एकीकृत समाजवादीका एक नेताले बताए।
नेपाललाई पाँच वर्षका लागि राष्ट्रपति दिनुभन्दा केही समयका लागि प्रधानमन्त्री दिनु कांग्रेस र माओवादीका लागि सहज देखिन्छ।
तर को, कति समय प्रधानमन्त्री बन्ने भन्ने कांग्रेस र माओवादीबीच नै टुंगो लागेको छैन। कांग्रेस प्रचण्डलाई तीन वर्ष प्रधानमन्त्री मान्न तयार छ। तर प्रचण्डको आकांक्षा भने चार वर्ष चलाउन पाए हुन्थ्यो भन्ने छ। यो अवस्थामा नेता नेपाललाई पनि प्रधानमन्त्री दिने हो भने प्रचण्डको प्रधानमन्त्री बन्ने समय तीन वर्षभन्दा पनि कम हुन्छ।
प्रचण्ड त्यो त्याग गर्न तयार हुन्छन् वा अरू विकल्प खोज्न लाग्छन् भन्ने अहिले यकिन छैन।
माधव नेपाललाई राष्ट्रपति नदिने र प्रधानमन्त्री दिएर उनले भनेजस्तो ‘पावर सेयरिङ’ पनि नगर्ने हो भने कांग्रेस र माओवादीसँग अर्को विकल्प पनि छ।
यी दुई दलले एमाले र एकीकृत समाजवादीलाई अलग गरेर नयाँ गठबन्धन बनाउन सक्छन्।
त्यसका लागि उनीहरूसँग अहिले सत्ताबहिर रहेका रास्वपा, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी र सत्तामै बसेर पनि असन्तुष्ट रहेको सिके राउत नेतृत्वको जनमत पार्टीलाई मिलाउने विकल्प छ। राष्ट्रपति चुन्न र सरकार चलाउने बहुमत पुर्याउन यी सबै दललाई पनि मनाउनु पनि पर्दैन। यीमध्ये एउटा वा दुइटा दलको साथ नपाए पनि अरू मिलेर बहुमत पुग्छ।
कदाचित राजनीति त्यहाँ पुग्यो भने माधव नेपाललाई शून्य हात लाग्नेछ। उनी र उनको दल अब बन्ने सम्भावित गठबन्धन र सरकारबाट नै बाहिर हुनेछन्। त्यो अवस्थामा उनको दललाई एमालेमा मिसाउन ओली तयार हुन्छन् वा हुन्नन् प्रष्ट छैन।
अहिले पनि एकीकृत समाजवादीलाई ओलीकै कारण प्रचण्डले सरकारमा सहभागी गराउन नसकेका हुन्। त्यतिमात्रै होइन, जसपा र एकीकृत समाजवादीको एकताको कुरा चल्दा मात्रै पनि ओलीले जसपा अध्यक्ष उपेन्द्र यादवलाई थर्काएका थिए। उनले यादवलाई बालकोटमा बोलाएर एकीकृत समाजवादीसँगको हिमचिमकै कारण सरकारमा नल्याएको बताएका थिए।
त्यसैले राष्ट्रपति निर्वाचनको प्रयोजन सकिँदा कांग्रेस र माओवादीबाट अलग भएका नेपाललाई ओलीले रिस साँध्न सक्ने सम्भावना उत्तिकै छ। सरकारमै नभएपछि नेपाललाई आफ्ना १० सांसद जोगाउनसमेत मुस्किल पर्न सक्छ।