राष्ट्रपति निर्वाचनमा निलम्बित सांसदले मतदान गर्न पाउने कि नपाउने भन्नेमा अन्यौलता देखिएको छ।
स्पष्ट कानुनी व्यवस्था नभएका कारण निलम्बनमा रहेका सांसदहरूले राष्ट्रपति चयनका लागि हुने निर्वाचनमा भाग लिन पाउने वा नपाउने भन्ने प्रश्न खडा भएको हो।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानुनले संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्यलाई मतदाता रहने व्यवस्था गरेको छ।
संघीय संसदका ३३४ सांसद (प्रतिनिधि सभा २७५+राष्ट्रिय सभा ५९) मध्ये हाल एक स्थान रिक्त छ।
चितवन–२ बाट निर्वाचित रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले बदर गरिदिएपछि हाल ३३३ सांसद छन्। जसमध्ये नेपाली कांग्रेसका टेकबहादुर गुरूङ निलम्बित छन्। तर उनले सांसद पदको शपथ ग्रहण गरेका छन्। भ्रष्टाचार आरोप लागेका गुरूङ सांसद पदबाट निलम्बित छन्।
नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरी राष्ट्रपतिबाट माफी पाएर जेलबाट छुटेका छन्। तर प्रतिनिधि सभा बैठकमा उनी पक्राउ परेको आधिकारिक सूचना सुनाइएको छ। यस्तोमा चौधरीले राष्ट्रपति निर्वाचनमा मत दिन पाउने/ नपाउनेमा कानुनले केही स्पष्ट व्यवस्था गरेको छैन।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको नियमावलीमा भने राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली टुंगो लगाउन संघीय संसद सचिवालय र सात वटै प्रदेश सभा सचिवालयबाट पदमा बहाल रहेको सांसदहरूको सूची निर्वाचन आयोगले मगाउने व्यवस्था गरेको छ।
यसरी मगाइएको सूचीबाट मतदाता नामावली तयार पारेर निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालयमा पठाउनेछ।
प्रतिनिधि सभा नियमावलीले 'पदमा बहाल रहेको' सांसदहरूको सूची मागाउने भनेको अवस्थामा निलम्बित सांसदलाई पदमा बहाल रहेको मान्ने कि नमान्ने भन्ने प्रश्न समेत उठेको छ। तर आयोगले यस विषयमा कुनै निर्णय गरेको छैन।
'प्रतिनिधि सभाको एक पद रिक्त छ', निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सेतोपाटीसँग भने, 'अन्य दुई जनामध्ये एक जना निलम्बित छन्। अर्का एक सांसदबारे बैठकमा पक्राउ परेको सूचना सुनाइएको छ। ती दुईबारे आयोगले निर्णय गर्छ। त्यसपछि निर्वाचन अधिकृतको कार्यालयले मतदाताको अन्तिम नामावली प्रकाशित गर्छ।'
आयोग अहिलेसम्म निलम्बित सांसद टेकबहादुर गुरूङलाई मतदान गर्न दिने कि निदिने भन्नेमा टुंगोमा पुगेको छैन।
'निलम्बित भएकाले कुनै पनि काम गर्न नपाउने भएकाले मत पनि हाल्न पाउँदैन कि भन्ने दृष्टिले आयोगले हेरिराखेको छ', शर्माले सेतोपाटीसँग भने, 'तर थुनिएका वा विदेश गएका वा बिरामी भएकाहरू मत हाल्न आउँदैनन् भन्ने कल्पना गर्न भएन। भोलिसम्म हामी मतदाता नामावली टुंगो गर्छौं। अहिलेसम्म आधिकारिक निर्णय भएको छैन।'