समीक्षा बाँस्कोटा विवेकशील साझा पार्टीकी नवनिर्वाचित अध्यक्ष हुन्। विवेकशील साझा पार्टीबाट गत वैशाखमा काठमाडौै महानगरपालिकाको मेयर उम्मेदवार बनेकी बाँस्कोटाले पार्टीका दुई संयोजक रवीन्द्र मिश्र र मिलन पाण्डेको झगडाको बीचमा पार्टीको नेतृत्व सम्हालेकी थिइन्।
उक्त पार्टीको हालै भएको पहिलो राष्ट्रिय महाधिवेशनले बाँस्कोटालाई पाँच वर्षका लागि अध्यक्ष चुनेको छ। विवेकशील साझाकी नवनिर्वाचित अध्यक्ष बाँस्कोटासँग सेतोपाटीका मनोज सत्यालले गरेको कुराकानीको सम्पादित अंश:
विवेकशील साझा पार्टीको महाधिवेशनबाट तपाईं अध्यक्ष निर्वाचित हुनुभएको छ। तर मान्छेहरूले त तपाईंको पार्टीलाई बिर्सिसके। एक हिसाबले भन्ने हो भने पार्टी ‘कोमा’मा पुगिसकेको छ। कसरी ब्युँताएर महाधिवेशनसम्म पुग्नुभयो?
हो, यो पार्टी कोमामा पुगिसकेको थियो। अझ भेन्टिलेटरमा पुगिसकेको थियो भने पनि हुन्छ। गत साउनमा जब म नेतृत्वमा आएँ, त्यतिबेला यो पार्टी कता जान्छ, के हुन्छ? अझ चुनावको मुखमा केही समूह बाहिरिँदै गर्दा यो पार्टी सकियो भन्ने ‘मेसेज’ गएको थियो। त्यतिबेला मैले दुई वटा वाचा गरेकी थिएँ: हामी चुनावमा जान्छौं र फागुन २ गतेअघि महाधिवेशन गर्छौं।
त्यसका लागि निष्क्रिय भएका र चित्त दुखाएर बसेका सबै साथीहरूलाई फर्काउने प्रयास गर्छौं र एकचोटि फेरि जगाउने प्रयास गर्छौं। चुनावमा जाँदा अलिकति साथीहरूलाई आशा जाग्यो। हैन, यो पार्टी फेरि उठ्छ कि भनेर। सोचेअनुरूप भोट आउँदैन भन्ने हामीलाई थाहा थियो। तर चुनावी प्रक्रियामा हामीलाई केही साथीलाई जोड्ने प्रयास गर्यौँ। त्यसलगत्तै बन्दीपुरमा भेला गर्यौं।पुसको जाडोमा भेला गर्दा पनि धेरै साथीहरू उत्साह प्रदान गर्न आउनुभयो। सबैको माग के थियो भने जत्रो, जस्तो भए पनि महाधिवेशन गरौं। महाधिवेशनले नेतृत्व फिल्टर गर्छ र कार्ययोजना पास गर्छ। त्यसले हामी कहाँ रहेछौं भन्ने धरातल पनि देखाउँछ भन्ने कुरा भएपछि हामीले महाधिवेशन घोषणा गर्यौं। त्यसले कयौं छुट्टिएर बसेका र राजीनामा दिएका साथीहरू फिर्ता आउने बहाना बन्यो। निष्क्रिय भएका साथीहरूलाई पनि ल्याउने बहाना बन्यो। अनि महाधिवेशनले आफैंमा ‘आम सर्वसाधारणमा फेरि विवेकशील साझा उठ्न लाग्यो कि क्या हो’ के हुँदैछ भन्ने कुरा भयो। महाधिवेशनको हलमा नआउँदासम्म कस्तो हुन्छ भन्ने थाहा थिएन। तर त्यसको सुरूआत र अन्त्य राम्रो भयो। त्यसले नयाँ टिम र नेतृत्वलाई उत्साह प्रदान गरेको छ। हामी फेरि आशा देखाउने सत्प्रयास गर्दैछौं।
विवेकशील र साझा पार्टी जब एकता भयो त्यतिबेला दुई वटा संयोजक हुनुहुन्थ्यो। रवीन्द्र मिश्र छाडेर जानुभयो। अजेण्डा मिलेन भनेर मिलन पाण्डे ‘साइड’ लाग्नुभयो। दुई वटा नेतृत्व नै बाहिर गएको बेला पार्टी जोगाउन कति कठिन हुँदो रहेछ? मिलनजीलाई फर्काउनका लागि रञ्जु दर्शनालाई फर्काउन के गर्नुभयो?
यो बीचमा हामी धेरै वार्तामा बसेकै हो। रवीन्द्रजीको राजीनामापछि पनि हामी बसेकै हौं। निर्वाचनमा दल दर्ता गर्ने बेला ‘भ्याकुम’ चिर्नका लागि म नेतृत्वमा आएँ। त्यसपछि हामीले उहाँहरूलाई फर्काउने प्रयास गर्यौं। हिजोको दिनमा भएका गल्ती -कमजोरीलाई सुधार्दै जाने प्रतिबद्धता, विचारहरूलाई खारेज गरेपछि उहाँहरूलाई पनि अपनत्व हुने ठाउँ बनाइदियौं। महाधिवेशन भनेपछि नेतृत्व छानिएर जाने ठाउँ बनाइदियौं। यो सबै गरिसकेपछि साथीहरूलाई फेरि आऊ, यहाँ काम गरौं। हिजो दुई वटा कित्तामा उभिएका साथीहरूलाई फेरि विश्वासमा काम गराउन त अप्ठेरो थियो। तर हामीले लिएको लक्ष्य के हो? हाम्रो लक्ष्य एक-अर्कासँग लड्ने त थिएन। हामीले लिएको लक्ष्य त वैकल्पिक राजनीति स्थापना गर्ने, डेलिभरीमा आधारित राजनीति गर्ने र समाधानउन्मुख राजनीति गर्ने हो भने हामी एक-अर्कासँग लडेर कहीँ पुगिँदैन। यो निर्वाचनले पनि हामीलाई यथार्थ धरातल देखाइदियो र त्यो धरातल देखाइदिएपछि अलिकति ‘सेल्फ रिफ्लेक्ट’ पनि सबैमा भयो। हामी सबै राजनीति गर्ने हो भने एक ठाउँमा उभिनुपर्छ, होइन भने राजनीति गर्न छाड्नुपर्छ भनेर लक्ष्यलाई प्रधान राखेर हामी एक ठाउँमा उभिराखेका छौं।
विगतमा साझा र विवकेशीलमा धर्मको विषयमा, राजतन्त्रको विषयमा जनमत संग्रह गर्नुपर्नेलगायत विषयमा मतभिन्नता थियो। अब तपाईंहरूको बीचमा सैद्धान्तिक मतभिन्नता छ कि छैन?
सैद्धान्तिक रूपमा हामी एकै ठाउँमा आइसकेका छौं। जतिबेला हामीले विचारभन्दा माथि देश भन्ने विचार खारेज गर्यौं। मतभिन्नता सक्किसकेको हो। पार्टीले हिजो स्थापनाकालमा बोकेको मर्म ‘व्यवस्था हैन अवस्था परिवर्तन’ गर्ने, सुशासनका मुद्दा, भष्टाचारका मुद्दा, डेलिभरीका मुद्दामा हामी काम गर्नुपर्छ भनेर एक ठाउँमा आइसकेपछि खासै सैद्धान्तिक विमति छैन। हामीले अब यो पार्टीलाई सैद्धान्तिक विमतिबाट, जार्गनबाट फिल्डमा पुर्याएर काम कसरी गर्ने, रिजल्ट कसरी निकाल्ने, नागरिकलाई फेरि आशा कसरी जगाउने र हामीलाई समाधानमुखी राजनीति भनेको के हो भनेर बुझाउनु महत्वपूर्ण हुन्छ। हाम्रो काम गर्ने शैली फरक होला, सोच्ने शैली फरक होला तर सैद्धान्तिक रूपमा महाधिवेशनले नै पारित गरेर हामी यहाँनेर उभिने भनेपछि दुई मत भएन।
तपाईंहरूका लागि वैकल्पिक राजनीति गर्ने मैदान छ? मधेशमा सिके राउतको पार्टी आयो, पहाड र सहरी क्षेत्रमा रवि लामिछानेको नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी आयो। तपाईंहरूका लागि त अब मैदान नै बाँकी छैन। विवेकशील साझा पार्टी त क्लब मात्रै भयो भन्ने आरोप छ नि?
वैकल्पिक राजनीति र अहिलेको मत क्रान्तिको बिउ रोपेको विवेकशील साझाले नै हो। तर कहिलेकाहीँ रोपेको बिउबाट फल नफल्न पनि सक्छ। भएको त्यत्ति नै हो। २०६९ सालदेखिको विवेकशील साझाको जगमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको हो। त्यो जगलाई बिर्सियो भने हामीले वैकल्पिक राजनीतिको वकालत गर्न मिल्दैन। फाउन्डेसन हुँदाहुँदै पनि हामी दह्रो हुन नसकेको स्वीकार्नुपर्छ। जब चुनावका बेला विवेकशील साझा टुटफुटमा गयो। त्यो मतलाई बटुल्ने बेला विवेकशील साझा दह्रो थिएन। भर्खर खोलेको पार्टीलाई नयाँ वैकल्पिक शक्ति बन्नसक्छ भनेर नागरिकले विश्वास गरेर दिनुभएको हो। भन्नुको अर्थ अझै मैदान उर्बर हुने अवस्थामा छ। तर त्यहाँ को स्थापित हुने भन्ने लडाइँ अझै बाँकी छ। किनभने २०७४ मा विवेकशील साझा पार्टीले पाएको मत र आज रास्वपाको पाएको मत त्यही नै हो। नागरिकहरूलाई एउटा अर्को शक्तिको आधारमा हालेको हो। भोलि उहाँहरूको कार्यशैली कस्तो हुन्छ, सैद्धान्तिक रूपमा उहाँहरूले के-के गर्नुहुन्छ। अहिलेको हकमा कुरा गर्ने हो भने नागरिकले म्यान्डेट एउटा दिएको थियो। उहाँहरूको कार्य अर्को भयो। सबै कुराले गर्दै जाँदा र धैर्यताका साथ एउटा कोर्स पूरा गरेर अर्को कोर्समा प्रवेश गरेको पार्टीलाई उहाँहरूले फेरि विश्वास गर्नसक्नुहुन्छ। ग्राउण्ड त अझै धेरै मजबुद् र नागरिकले त्यो एउटा ठाँउ खोजिराखेको छ- दह्रो वैकल्पिक शक्तिको। विवेकशील साझाले त्यो शक्तिको नेतृत्व गर्छ भन्नेमा म विश्वस्त छु।
वैकल्पिक शक्तिको रूपमा तपाईंहरू कसरी फरक हुनुहुन्छ? राष्ट्रिय स्वतन्त्र पार्टीदेखि सिके राउतको जनमत पार्टी सम्मले आफूलाई वैकल्पिक दाबी गरेका छन्?
वैकल्पिक राजनीतिलाई हामीले एकदमै पवित्र पनि बनाउनु हुँदैन। तर हामीले हेर्ने कुरा के हो भने जब कोही इमानका ठूला-ठूला कुरा गर्नुहुन्छ र तपाईं पदमा पुगेका बेला इमान बिर्सनुहुन्छ भने तपाईंले छुट्याउने हो। हाम्रो कार्यशैली के हो? बोली र व्यवहारमा एउटै हुन्छ कि हुँदैन। नागरिकका मुद्दामा कहाँ केन्द्रित हुन्छौं। या त व्यक्ति केन्द्रित राजनीति गर्छौं या पदको मोह गर्छौं। यी कुराले हामी वैकल्पिक हौं कि होइनौं भन्ने छुट्याउँछ। धेरै रेखाङ्कन छ। जुन उदाउँदै गरेको शक्तिको तपाईंले कुरा गर्नुभयो र विवेकशील साझा पार्टीको कुरा गर्नुभयो। त्यही बोली र व्यवहारमा होला, हामीले भन्ने कुरा हामीले पद पाउँदा के गर्यौं भन्ने एउटा उदाहरण हुनसक्छ। वैकल्पिक शक्ति हाँक्छु भन्ने व्यक्तिले पद पाउँदा वा नपाउँदा सत्तामा हुँदा वा नहुदाँ इमान गुमाउनु भएन। त्यो आधारभूत कुरा हो।
तपाईंहरूको जनमत स्थानीय र संसदीय चुनावमा खोसिएको छ। तपाईंहरूलाई त वैकल्पिक शक्तिको रूपमा आफैंलाई पुष्टि गर्नुपर्ने चुनौती देखियो नि?
म जनमत खोसिएको रूपमा लिन्नँ। हामीले बसाएको जगमा नयाँ दल स्थापित हुँदा नागरिकहरूले उहाँहरूलाई पत्याउनु भएको हो। यो सुखद पक्ष हो। हिजो २०७४ सालमा २ लाख १२ हजार मत आज गुणात्मक रूपमा वृद्धि भएको छ। र त्यो मत २०८४ सालको निर्वाचनमा गुणात्मक रूपमा वृद्धि हुने सम्भावना छ। त्यो सम्भावनालाई अवसर बनाउनु विवेकशील साझाको चुनौती हो। हाम्रो मत कसले लग्यो भन्ने भन्दा पनि नागरिकले मत क्रान्ति गर्नेवाला छन्। हामी ठिक ठाउँमा बस्नुपर्यो। नागरिकले मत क्रान्ति गर्नेछन्।
तपाईंहरूले मतदाता आकर्षण गर्नुपर्यो। कतिपय हिजो पार्टीमा भएकाहरू नयाँ पार्टीमा गएका छन्। कतिपयले चुनाव नै जितेका छन्। उनीहरूलाई पार्टीमा फर्काउनु पनि तपाईंहरूलाई चुनौती छ। तपाईंहरूसँग अजेण्डा छन् उनीहरूलाई पार्टीमा फर्काउने?
मैले कहिलेकाहीँ भन्ने गरेकी छु- विवेकशील साझा एमआइटी र हार्वर्ड बन्न सक्छ। फर्कन चाहनुहुन्छ भने फर्काउने हो। होइन भने त्यो दलमा गएर विवेकशील साझाको मूल्य मान्यता स्थापित गर्नुहुन्छ भने त्यो पनि राम्रो हो। अहिले साँच्चै भन्नुहुन्छ भने धेरै दलमा विवेकशील साझाले बनाएका नेता हुनुहुन्छ। त्यसलाई हामीले सुखद पक्षको रूपमा लिनुपर्छ। हामीले कार्यान्वयन गरेका मोडलहरू लागू गर्दै हुनुहुन्छ। हामीले पेश गरेका आन्दोलनका मोडलहरू, हामीले बोलिराखेका मुद्दाहरू उहाँहरूको प्राथमिकीकरणमा परेको छ। यो सुखद पक्ष हो। यद्यपी फेरि त्यो दलमा पनि केही निराशाजक क्रियाकलाप भए भने ओगट्ने फोरम हाम्रो पनि हो। हामीले उठाएका मुद्दा अर्कोले बोल्नुभन्दा जो व्यक्तिले त्यो मुद्दा उठाएर वकालत गर्छ, त्यो पक्का फोरम हो। त्यस हिसाबले उहाँहरू आउन सक्नुहुन्छ।
तपाईं पार्टीको नेतृत्वमा आउनुभयो। तपाईं कुन अजेण्डा उठाएर राजनीति गर्नुहुन्छ?
हामी आत्मनिर्भर दीगो अर्थतन्त्रका लागि चार खम्बाको अजेण्डा अघि बढाउँछौं। ती चार खम्बा प्रविधि, कृषि, जलविद्युत र पर्यटन हुन्। अबको राजनीति समाधानउन्मुख हुनुपर्छ। हामीलाई थाहा छ लाखौं नागरिक विदेशमा जानुभएको छ। दैनिक १८ सयभन्दा बढी नागरिक विदेश जानुहुन्छ। उहाँहरूलाई नेपाल ल्याउनु छ। अब यो समस्याको समाधान कसले दिने त। कसरीको जवाफ कसले दिने? उहाँहरूलाई कसरी नेपालमा व्यवस्थापन गर्न सकिन्छ? कसरी प्रेमप्रसाद आचार्यहरू जस्ताले व्यवसाय गर्दागर्दै विभिन्न मापदण्डले पिल्साएर आत्मदाह गर्न बाध्य बनाइन्छ। कसरी उखु किसानहरू रूनु पर्दैन। कसरी रुबी खानहरूले न्यायका लागि कयौं दिन आन्दोलन गर्नु पर्दैन? अब हाम्रो राजनीति यतातिर केन्द्रित हुन्छ। समस्या हामी सबैलाई थाहा छ। समस्यामा अब ठूला-ठूला छन् भनेर भाषण गरेर भएन कसरी समाधानमुखी भएर जान सक्छौं। त्यसका लागि नीतिगत पत्रहरू तयार गर्न हामी गर्छौं। पर्यटनमा यो हो, कृषिमा यो हो, प्रविधिमा काम गर्न सकिन्छ। कयौं नेपालीहरू प्रविधिको क्षेत्रमा विदेशमा काम गरिरहेका छन्। नेपालीमा कसरी काम दिने? हामी यस्ता विषयमा अध्यययन गरेर समाधान दिनेगरी राजनीति गर्छौं।
अनि तपाईंले भनेका यी अजेण्डाहरूमा नेतृत्व गर्न सक्ने मान्छे तपाईंका पार्टीमा छन् त?
हामीले पाँच वर्षमा पार्टी थौरै व्यक्तिको वरिपरि घुमायौं। त्यो हाम्रो गल्ती हो। सामूहिक नेतृत्वमा हाम्रो ध्यान गएन। तर अब व्यक्तिगत नेतृत्व फेल भएकाले हामी सामूहिक नेतृत्वमा अघि बढ्छौं। अहिले पनि हाम्रो पार्टीमा पर्यटनमा पिएचडी गर्दै गरेका, अर्थतन्त्रमा पिएचडी गरेका, कृषिमा अध्ययन गर्दै गरेका र मिडियामा काम गरेका विज्ञहरू हुनुहुन्छ। उहाँहरूको सम्भावना र उहाँहरूको विज्ञतामा चर्चा गरेका रहेनछौं। हामी अब उहाँहरूले जानेका कुरा बाहिर ल्याउने र नागरिकलाई सरल भाषामा बुझाउने राजनीति गर्छौं।
केही अभियान पनि चलाउनुहुन्छ?
हामी भ्रष्टाचारविरूद्ध अभियान चलाउँछौं। विगतमा पनि हामीले ठूला माछा समाऊ भनेर अभियान चलाएका थियौं। शिक्षा र स्वास्थ्यमा पनि हामी अभियान चलाउँछौं। सरकारसँग अहिले सामुदायिक विद्यालयहरू मर्ज गरेर कसरी काम गर्ने भन्ने कुनै योजना छैन। हामीले गर्ने भनेको देखिने गरी यो काम गर्छौं। बाहिर बसेर राम्रो नीति बनाएर काम गर्छौं। त्यसलाई सरकारले स्वीकार मात्र गरे पनि हाम्रो पार्टीको जित हुन्छ। अहिले सोसल मिडिया र डिजिटल मिडियामा पनि नागरिकका आवाज उठाउँछौं।
अहिले वैकल्पिक राजनीति गर्ने भनेर धेरै दल आएका छन्। उनीहरूसँग मिलेर जाने सम्भावना छ?
विवेकशील नामको एउटै ब्रान्ड बनाएर हामी जानेछौं। त्यो हिसाबले सहकार्य र एकीकरण गरेर जाने कुरा हुन्छ। त्यस्तै अन्य राजनीतिक दल छन्। वैकल्पिक राजनीतिको अजेण्डा मिल्ने दलसँग एकीकरण, ध्रुवीकरण र सहकार्यमा हामी जोड दिन्छौं। किनभने हामी मात्र भएर पुग्दैन। त्यस्तै चुनावमा धेरै स्वतन्त्र उम्मेदवारहरू उठ्नुभएको छ। उहाँहरूलाई पनि हामी यो अभियानमा ल्याएर काम गर्छौं। लौरो अभियान मात्र होइन संघीय चुनावमा ९ सय मानिसले स्वतन्त्र उम्मेदवारी दिनुभयो। उहाँहरूलाई पनि राजनीतिमा लाग्ने हुटहुटी छ नि त। त्यसैले हामी उहाँहरूलाई राजनीति गर्ने ‘प्लेटफर्म’ दिन्छौं।
विवेकशील साझालाई पाँच वर्षपछि कहाँ देख्नुहुन्छ?
विवेकशील साझालाई म पाँच वर्षपछि कयौं पालिकाका मेयर र वडाहरूमा प्रतिनिधित्वमा देख्छु। अहिले फेटा गाउँपालिकामा मात्र छ। पाँच वर्षपछि सुसंस्कृत राजनीतिका लागि हामी संसदमा हुन्छौं भन्नेमा विश्वस्त छु।
फेरि टुटफुट हुने हो कि? पार्टीमा कुरा मिलेको छ कि छैन?
लक्ष्य एउटा भयो भने कुरा नमिल्ने कुरा छैन। लक्ष्यलाई प्रधान राखेर, देशलाई बीचमा राखेर पार्टीलाई मध्यनजर गर्दै अघि बढ्यो भने व्यक्ति भनेको केही पनि कुरा होइन। एक व्यक्तिको प्रयासले कहीँ पनि पुगिँदैन। सहकार्यमा हामी बलियो छौं र अगाडि पनि बलियो भएर उभिन्छौं।
तपाईं विगतमा रवीन्द्र मिश्रसँग नजिक हुनुहुन्थ्यो, कतै पार्टी लगेर राप्रपामा मिसाउने त हैन?
राप्रपामा जाने भए पहिला नै विवेकशील साझा गइसक्थ्यो होला। मानिसहरूलाई कस्तो लाग्छ भने कोही व्यक्तिसँग नजिक रहेर काम गर्यो भने त्यही व्यक्तिसँग सँगसँगै लागेर जान्छ। मान्छेको एउटा नैतिक धरातल हुन्छ। त्यसको एउटा अन्तिम लाइन हुन्छ।कहाँसम्म सहयोग गर्ने र कहाँबाट छुट्टिने भन्ने हुन्छ। हिजोको दिनमा मैले रवीन्द्र मिश्रलाई सहयोग गरेकै हो। आजको दिनमा म रवीन्द्र मिश्रभन्दा बाहिर बसेर यही विवेकशील साझालाई उठाउने प्रयास गर्दैछु। मेरो अन्तिम बिन्दु भनेको पार्टी भित्र उहाँँले काम गर्दासम्म मैले संस्था बनाउन सहयोग गरें। तर जब उहाँ राप्रपा जानुभयो, म त्यहाँबाट छुट्टिएँ। मेरो अजेण्डा मिल्ने दल त्यो थिएन। मेरो अजेण्डा मिल्ने दल त्यही हो। त्यसैले यो प्रश्न जायज छैन।
तपाईंहरूको पार्टी धर्मबारे के सोच्छ? नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्ने ठान्छ कि धर्म निरपेक्ष हुनुपर्छ भन्ने ठान्छ?
हामीले लिएको अडान के हो भने संविधानमा लेखिएको कुरा स्वीकारेर, गणतन्त्र मानेर हामी समाधान उन्मुख राजनीति गर्ने हो। कहीँ त्रुटी छन् भने समाधान गर्दै जाने हो। राष्ट्र के हुनुपर्छ भनेर लाग्यौं भने हामी सैद्धान्तिक रूपमा फस्छौं। हामीमा प्रष्टता आइसकेको छ। हामी संविधान मान्छौं। त्यसैले संविधानमा लेखिएका कुरा मान्छौं। विधिको शासन मान्छौं। विधिको शासनमा केही कमजोरी भए संशोधन गर्न सकिन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले यसपटक प्रदेशमा चुनाव लडेन। तपाईंहरू संघीयताबारे के सोच्नुहुन्छ?
हाम्रो त्यसमा धेरै छलफल भएको छैन। हिजोको दिनमा संविधान मान्छौं भनेकाले अहिले त्यसलाई मानेर अघि बढ्नुपर्ने हुन्छ। तर त्यहाँ भएका कमी-कमजोरीलाई कसरी सम्बोधन गर्ने, राज्यको शक्तिलाई कसरी बलियो बनाउने भन्ने कुरामा केन्द्रित हुनुपर्छ। दस्तावेजमा हामी सुझाव संकलन गरिरहेका छौं। हामी नीति सम्मेलन गरेर प्रष्टता ल्याउने छौं। हामी संविधान मान्छौं र त्यहाँ भएका कमी-कमजोरीलाई सुदृढीकरण गरेर जाने हो। हातमा घाउ भयो भने काटेर फाल्ने होइन। उपचार गर्ने हो। कहीँ समस्या छ भने उपचार गर्नुपर्छ।
गत निर्वाचनमा मुख्य राजनीतिक दलहरूले नै धेरै मत पाए। नयाँ राजनीतिक दलले पनि मत ल्यायो। सँगसँगै पुरानो राजनीतिक पार्टी राप्रपाले पनि मत पाएको देखिन्छ। यी राजनीतिक दलहरूको बीचमा विवेकशील साझालाई कहाँनेर देख्नुहुन्छ? तपाईंहरूका लागि कहाँ ठाउँ छ?
राष्ट्रिय स्वतन्त्र पार्टीले जुन मत पायो त्यो विवेकशील साझाको मत हो। त्यो नै हो विवेकशील साझाको जग भन्ने लाग्छ। राप्रपा एउटा पुरातन शक्ति हो। यस्तो शक्ति हरेक देशमा हुन्छ। उसको आफ्नै मत होला। तर राष्ट्रिय स्वतन्त्र पार्टीले जुन मत पायो। नागरिकले जसरी मत क्रान्ति गरे, विवेकशील साझा या वैकल्पिक राजनीति गर्ने दलहरूको मत त्यहाँनेर छ।
आगामी निर्वाचनमा त्यो मतलाई आफूतिर आकर्षित गर्न सक्नुहुन्छ?
हामीले प्रयास गर्ने हो। हाम्रो प्रयास त्यो मत मात्र होइन बढाएर आफ्नोतिर ल्याउने प्रयास गर्ने हो। गफ गरेर त्यो मत आउनेवाला छैन। काम गरेर त्यो मत हामीतिर आउँछ भन्नेमा विश्वस्त छु।
अन्त्यमा, तपाईंले कहिलेसम्म राजनीति गर्ने सोच्नुभएको छ?
पार्टीलाई ठिक दिशा दिँदासम्म म यसमा सक्रिय राजनीतिमा हुन्छु। हाम्रो विधानमा एक पद दुई कार्यकाल भनेर लेखिएको छ। सधैँभरि यही पदमा बस्नुपर्छ भन्ने छैन। अहिले मैले पाएको म्याण्डेट पाँच वर्षको हो। यो म्याण्डेटमा मैले गर्न सक्ने काम गरेर देखाउँछु। म राजनीति सुदृढीकरण गर्ने अभियानमै हुन्छु।