उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले फेरि सरकारमा सहभागी हुनुअघि अहिलेको सत्ता गठबन्धन कसिलो हुनुपर्ने धारणा राखेको छ।
प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा आइतबार भएको बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि सरकारमा ल्याउनुपर्ने धारणा राखेका थिए।
जवाफमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकारमा फेरि सहभागी हुनुअघि गठबन्धनको दिशा र नेकपा (एमाले) र माओवादी केन्द्रबीच देखिएको शंकाको वातावरण समाधान हुनुपर्ने बताए।
'सबै विषय समष्टिगत रूपमा हेर्नुपर्यो। अहिले तपाईंहरूको बीचमा विश्वासको वातावरण बन्नुपर्यो। राष्ट्रपति निर्वाचनलाई लिएर भएको चर्चा/परिचर्चा सबै चिज फाइनल भएपछि, उपनिर्वाचन फाइलन भएपछि अनि पो सरकारमा सहभागी हुने नहुने कुरा आउँछ त भनें', लामिछानेले सेतोपाटीसँग भने, 'अहिले त सरकारमा सहभागी हुने विषय हाम्रो मुद्दा होइन। भर्खर निस्किएका छौं।'
बैठकमा लामिछानेले चितवन क्षेत्र नं २ मा उपनिर्वाचन छिटो गराउन आग्रह गरेका थिए। जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगसँग आफूले कुराकानी गरेको र चाँडोभन्दा चाँडो निर्वाचन गराउन भनेको जवाफ दिएका थिए।
लामिछानले सरकारमा सहभागी हुन आएको प्रस्तावबारे भने पहिला गठबन्धनको दिशा स्षष्ट हुनुपर्ने धारणा राखेका थिए।
'सरकारमा सहभागी हुने प्रस्ताव आएको थियो। तर त्यसै सहभागी हुने कुरा होइन। गठबन्धनको दिशा कुन हुन्छ? न्यूनतम साझा कार्यक्रम छन्, तिनको अवस्था के छ? सुरूआतमा जुन 'स्पिरिट' थियो। त्यो देखिएको छैन', लामिछानले भने, 'राष्ट्रपति निर्वाचनमा मतान्तर देखिएको छ। ठ्याक्कै एकै ठाउँमा उभिन सकेको हो कि हैन जस्तो भएको छ। अलिकति 'ग्याप' जस्तो भएको हुनाले सबै कुरालाई मध्यनजर गरेर सही दिशामा आउने अवस्था भयो भने सल्लाह गर्न सकिएला।'
लामिछानेका अनुसार बैठकमा गठबन्धनको विषयमा छलफल समेत भएको थियो।
'सम्पूर्ण रूपमा यो गठबन्धन केका लागि बनेको थियो। के-के प्रतिवद्धतामा बनेको थियो। र अहिले किन यसमा प्रश्न आएको छ। किन फरक कुरा आएका छन्? त्यसमा 'रिभ्यू' गरी हेरौँ। अनि कति सहज रूपमा जान सक्छ? 'डेलिभरी' गर्न सकिन्छ भन्यो भने जाने हो', लामिछानेले भने, 'अहिले यहाँ त ठूलो विकास आयोजनाबारे छलफल भएको छैन। कुनै एउटा नीति अथवा विधेयकमा छलफल भएको छैन। यहाँ त चाहे गृह वा राष्ट्रपति निर्वाचनको कुरा भैराखेको होला। असमझदारी छ भने एकै ठाउँ आउनुपर्यो। यी सबै चिज पहिला हुन् अनि हामी सरकारमा जाने/नजाने निर्णय गरौंला। त्यो ठूलो कुरा होइन। के थाहा अझै खराब स्थिति भयो भने समर्थन फिर्ता नै पो लिनुपर्ने हुन्छ कि! भन्न सकिँदैन।'
लामिछानेले सत्ता साझेदार दुई दल एमाले र माओवादी केन्द्रबीच विश्वासको समस्या देखिएको पनि बैठकमा बताएका थिए।
'दुई नेताका बीचमा अलिकति विश्वासको समस्या हो कि जस्तो देखिएको छ', लामिछानेले भने, 'उसले उसलाई शंका गर्ने, उसले उसलाई शंका गर्ने पुराना कुराहरूले गर्दा जस्तो भएको छ। तर त्यसभन्दा बाहेक केही छैन। बैठकमा कुराकानी र छलफल खुलस्त छन्। केही पनि छैन।'