सत्ता गठबन्धनबीच सहमति भए पनि गृह मन्त्रालय आफूले नपाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ। रास्वपाले सरकारलाई दिएको समर्थन भने कायमै रहेको छ। गत आइतबार सरकारबाट बाहिरिने निर्णय गरेपछि रास्वपा सभापति रवि लामिछाने पत्रकार सम्मेलनमार्फत् दिएका अभिव्यक्तिको पनि अहिले चर्चा भइरहेको छ।
रास्वपाको अबको यात्रा, राष्ट्रपति निर्वाचनलगायत विषयमा केन्द्रित रहेर रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारसँग हामीले भिडिओ कुराकानी गरेका छौं:
तपाईं पहिला नागरिक आन्दोलनमा हुनुहुन्थ्यो, राष्ट्रिय स्वतन्त्र पार्टीसँग कसरी जोडिनुभयो?
मेरो राजनीतिक चेतना धेरै कारणले विकास भएको छ। मेरो सामाजिक अवस्था र धरातल जे हो त्यसले पनि मलाई राजनीतिबाट पर राख्ने कुरा भएन। मैले विद्यार्थी राजनीति गरिनँ। मौका पाएको भए गर्थें होला। औपचारिक पढाइ सकेर लेख्ने-पढ्ने गर्दै गर्दा महिला अधिकार, जातीय विभेद, नागरिक अधिकारजस्ता महत्वपूर्ण कुरा मैले कहीँ न कहीँ उठाइरहें।
पछिल्लो समय संसद विघटनको कुरालाई लिएर सचेत नागरिकको एउटा समूह बन्यो। हामीले आन्दोलनलाई अलि फराकिलो बनायौं। हाम्रोजस्तो देशमा एक खालको नागरिक आन्दोलन सधैँ चाहिन्छ भन्नेमा म थिएँ। त्यो बेला रास्वपाका सभापति रवि लामिछानेजी लगायतले एउटा अभियान गरिरहनुभएको थियो। त्यो मसँग आएको थिएन। केही साथीहरूले छलफल गरौं भन्नुभएको थियो। धेरै लामो छलफल गर्यौं। यो पुस्ताको कही न कही सकारात्मक हस्तक्षेप हुनैपर्छ भन्नेमा म थिएँ। यसैले गर्दा म पनि यो पार्टीमा जोडिन पुगेको हो।
यसै पटक सांसद बन्छु अनि रास्वपाको प्रमुख सचेतक बन्छु भन्ने लागेको थियो?
मलाई सांसदसम्म बन्छु भन्ने थियो। त्यसपछि त अरू कुरा भइहाल्ने भयो। अलिकति डर पनि थियो किनकी हाम्रो समाजले नयाँ कुरालाई सजिलै स्वीकार्दैन। तर सचेत नागरिकमा आएको एक खालको वितृष्णा अनि हामीप्रतिको आशाले गर्दा चुनाव नजिकिँदै गर्दा म सांसद बन्छु भन्ने पक्का थियो। सांसद बनिसकेपछि नेतृत्वले प्रमुख सचेतक तपाईंलाई बनाउने भनेपछि मैले त यो मौका ठानेर जिम्मेवारी लिने नै भएँ। किनकी मैले राजनीतिमा लामो यात्रा तय गरेको छु।
संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ प्रदेश सांसद बनिसक्नुभएको छ। तर संघीय संसदमा तपाईंहरू सबै नयाँ हुनुहुन्छ, संसदीय दलको प्रमुख सचेतक बनेपछि चुनौती पनि होलान् नि?
चुनौती अहिले पनि छ तर अलमलिएको छैन। मलाई राजनीति बुझ्नु थियो, यो प्रजातान्त्रिक प्रक्रिया बुझ्नु थियो। त्यस अर्थमा म खुसी छु। तर अहिले नै मूल्यांकन गर्ने बेला भइसकेको छैन। हामीले कुन-कुन ठाउँमा हस्तक्षेप गर्न सक्छौं भन्ने हो। जनताका पक्षमा, देशका पक्षमा विधेयकमा हामीले कसरी काम गर्न सक्छौं भन्ने कुराले पनि हाम्रो मूल्यांकन हुन्छ।
छोटो समयमा रास्वपा उदायो, छोटै समयमा सरकारमा पनि पुग्यो अनि छोटै समयमा बाहिरियो। हामीले हेर्दा त के हो, के होजस्तो देखिन्छ। तपाईंले हेर्दा के देखिन्छ?
मितिका हिसाबले छोटो हो। तर तयारी त हामी जहाँ थियौं ती ठाउँबाट थियो। हामी यति चाँडै सरकारमा जाउँला र यति चाँडै बाहिरिउँला भन्ने थिएन। सरकारमा सहभागी हुदा अलि बढी थिति बसाल्न सकिन्छ कि, सुशासनका पक्षमा काम गर्न सकिन्छ कि भन्ने थियो तर यस्तै-यस्तै भयो।
तपाईंहरू सरकारमा जाने बेलामा किन जाने भनेर छलफल भएन?
सुरूमा त मलाई पनि त्यस्तै लागेको थियो। तर तीन ओटा पार्टी एक ठाउँमा नआइकन सरकार नबन्ने भयो। हामीलाई सम्भावित गठबन्धन सबै तिरबाट कुरा आएकै थियो। हामीले सरकारमा जाँदैनौ भनेर मत मागेको पनि होइन। तर हामीले पाएको मत प्रतिपक्षमा रहेर जनताको आवाज उठाउने थियो। परिस्थिति यस्तो भइदियो कि हामी सरकारमा नजाँदा सरकार गठन नहुने हो कि जस्तो भयो। यो लोकतान्त्रिक प्रक्रिया अवरोध नहोस् भनेर हामीले यस्तो निर्णय गरेको हो। हामीले समर्थन फिर्ता लिएका छैनौं। हामी सत्ता गठबन्धनमै छौं।
सरकारमा सहभागी मन्त्रीहरूले कस्तो काम गरेको मूल्यांकन गर्नुभयो?
गृहलाई छोडेर हामीले २२/२३ दिन श्रम, शिक्षा र स्वास्थ्य राज्यमन्त्री भएर काम गर्यौं। शिक्षामा मन्त्री शिशिर खनालबारे राम्रो रहेको पाएँ। मन्त्रालयमा मेरो कुरा हुँदा पनि त्यस्तै पाएको थिएँ। श्रम मन्त्रीले पनि राम्रै गर्नुभएको थियो। जेहोस् केही गर्न खोजेका थियौं। राजनीति सिधा रेखामा हिँड्दो रहेनछ। किनकी सर्वोच्च अदालतको एक खाले फैसला आयो। त्यसलगत्तै गृह मन्त्रालय प्रधानमन्त्रीकहाँ जाने सामान्य भयो। हामीले पाउने कुरामा जुन ढंगले बहस हुनुपर्ने थियो त्यसरी भएन। हामीलाई गृह मन्त्रालय नदिने भनेको त गठबन्धनको बर्खिलापमा थियो।
गृह नपाएको झोंकमा सरकार छोड्दिनुभयो?
गृह नपाएको झोंकमा भन्दा पनि सम्भव नै थिएन नि। हामीले हिजो गठबन्धन गरिरहँदा शक्ति बाँडफाँटको एउटा विधि थियो। एउटा व्यक्तिमाथि केही उल्झन आए भन्दैमा सहमति मान्दिनँ भन्न त मिलेन नि। गृह होइन भन्नु राजनीतिक भएन अलि बठ्ठ्याँइ भयो। रवि लामिछाने आफैंले गृह मागेको भनेर बहस अन्यत्र मोड्न खोजियो। यसले हामीलाई नोक्सान मात्रै गर्छ भनेर हामी सरकारबाट बाहिरिएको हो।
गृहको विकल्पमा अरू छलफल भएको हो कि होइन?
त्यस्तो छलफल भएको थिएन। तर हामीले हिजोकै सहमतिअनुसार जाने भनेको हो। शक्ति बाँडफाँट गतिलोसँग भएन भने लोकतन्त्र बलियो हुँदैन भन्ने हो। हाम्रो शक्ति अनुसार हामीले यसै पनि मन्त्रालय कम पाएकै हो। तर पनि सरकार निर्माणमा सहज होस् भनेर लचिलो बनेको हो। त्यति गर्दासमेत हामीलाई पेल्न खोजेपछि हामी बाहिरिएको हो।
अब रास्वपा कसरी अघि बढ्छ?
खास राजनीति हामी गर्दैछौं। संगठन विस्तारको काम भइरहेको छ। पार्टीका महामन्त्री, सहमहामन्त्रीहरू काठमाडौंबाहिर हुनुहुन्छ। हामी संसदमा रहेका साथीहरू कसरी जनताका मुद्दा उठाउन सकिन्छ विधेयकहरू प्रभावकारी बनाउन सकिन्छ भन्नेमा लागेका छौं। अझै जनताका मुद्दा उठाउनमा केन्द्रित हुन्छौं।
सरकारलाई दिएको समर्थन कहिलेसम्म?
प्राविधिक रूपमा हामी सरकारबाट बाहिरिएको हो। तर हामी सत्ता गठबन्धनमा छौं। किनकी यो गठबन्धनको एउटा सुरूआतकर्ता हाम्रो पार्टी सभापति पनि हो। त्यसैले हामी अहिले सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा छैनौं। हामीले सरकारसँग आर्थिक नीति, अन्तर्राष्ट्रिय नीति,जनजिविका लगायतका विषयमा स्थायित्व खोजेको हो।
आइतबार सरकारबाट बाहिरिने निर्णय गरेसँगै तपाईंको पार्टी सभापतिले पत्रकार सम्मेलनमा जे भन्नुभयो त्यो स्वाभाविक लागिरहेको छ कि त्यस्तो त नभनेको भए हुन्थ्यो जस्तो लाग्छ?
त्यो स्वाभाविक त यसै पनि होइन। किनकी त्यसको परकम्पन र त्यसले निम्त्याएको बहसले त्यो स्वाभाविक यसै होइन भन्ने हो। तर त्यो स्वाभाविक होइन भन्नुको अर्थ ठ्याक्कै होइन भन्न खोजेको होइन। जब मान्छेको जीवनको एउटा भोगाइ हुन्छ, विश्वास गरिएका केही मूल्य-मान्यतामाथि एक किसिमको दरार आउँछ। त्यसपछि कोही मान्छे स्वाभाविकबाट अस्वाभाविकमा पुग्ने भयो। त्यसले हामीलाई गम्भीर बनाएको छ। त्यसले केही कुरा सतहमा ल्याइदिएको छ। त्यसको राम्रो/नराम्रो त्यसको दूरगामी असर के होला भन्ने हो। लोकतन्त्रमा मिडिया, राजनीतिक पार्टी फरक बाटोमा हिँडेर अघि बढ्न सक्छन् भन्ने मलाई लाग्दैन। मिडियाले राजनीतिलाई जसरी बुझ्नुपर्छ अनि राजनीतिले मिडियालई जसरी बुझ्नुपर्छ त्यो नभएको हो कि भन्ने मलाई डर लागेको छ।
चौथो ठूलो पार्टीको सभापतिजस्तो व्यक्ति अलि जिम्मेवार बन्न नसकेको जस्तो लागेन?
कतिपय हाम्रा व्यक्तिग शैली र प्रवृत्ति हुन सक्छन्। त्यो मैले गलत अर्थमा भनेको छैन। उहाँको लामो कालखण्ड हेर्यो भने उहाँको प्रतिरोधी आवाज नै हो। त्यसले नै उहाँलाई राजनीतिमा स्थापित गर्यो। राजनीति पनि एउटा प्रतिरोधी हो तर सधैं यस्तो हुँदैन। त्यो राजनीतिक प्रक्रियामा गएपछि प्रतिरोधी अरू नै हुन्छ। आफूले समस्याको समाधान गर्नुपर्ने हुन्छ। यसको बहुआयमिक पक्ष छ। कसैले यसलाई राम्रो भनेका छन्, कसैले गलत भनेका छन्। हामीले यी सबै विषयलाई एक ठाउँमा राखेर संश्लेषण गर्यौं भने राम्रो हुन्छजस्तो लाग्छ।
राष्ट्रपतिको निर्वाचन नजिकिँदै छ, तपाईंहरूले उम्मेदवार बनाउने हो कि?
हामी आजको दिनसम्म सत्ता गठबन्धनमै छौं। हामी सहमतिको यात्रामै छौं। तर त्यस्तो नभएर अन्यत्रै मोडिन्छ अनि हिजो जे भएको थियो त्यो भएन भने हामी निरपेक्ष बस्न मिल्दैन। यही गठबन्धन कायम रह्यो भने हामी यसमै हो।
अहिले स्वतन्त्र उमेदवारको पनि बेलाबखत चर्चा चलेको छ। तपाईंको पार्टीमा पनि यस्तै बहस छ। यदि यो गठबन्धन भत्कियो भने तपाईहरू कता लाग्नुहुन्छ?
अहिलेसम्मका राष्ट्रपतिहरू विवादबाट बाहिर रहने देखिएन। राष्ट्रपति अझै सभामुखसमेत अलि स्वतन्त्र भए हुन्थ्यो भन्ने हो।राजनीति बुझेको तर राजनीति नगर्ने, अप्ठ्यारा बुझेको व्यक्ति भयो भने राम्रो हुन्छ भन्ने हो। हाम्रो गणतन्त्र राष्ट्रपतिमाथि प्रश्न नउठ्ने खालको हुनपर्छ भन्ने हो। राजनीतिक व्यक्ति तर ऊ सम्मानित छ भने साह्रै राम्रो हो। त्यस्तो सम्भव भएन भने कोही त्यस्तो व्यक्ति जसले सबैलाई समेट्न सक्छ भने त्यस्तो व्यक्ति बन्दा धेरै राम्रो हुन्छ।