मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि इलाम घर भएका प्रेमप्रसाद आचार्यले आफ्नै शरीरमा आगो लगाए। केहीबेरमा प्रहरीले उनको शरीरमा लागेको आगो निभायो र उपचारका लागि कीर्तिपुर अस्पताल पुर्यायो।
शरीरका अधिकांश भाग जलेकाले आचार्यको अवस्था गम्भीर थियो। त्यसैले उनलाई तत्कालै सघन उपचार कक्ष (आइसियू) मा राखेर उपचार सुरू गरियो।
यो घटनाले केहीबेरमै सामाजिक सञ्जालमा तरंग आयो। घटनाबारे स्वास्थ्य राज्यमन्त्री डाक्टर तोसिमा कार्कीले पनि थाहा पाइन्। जलेर घाइते भएका आचार्यलाई भेट्न उनी कीर्तिपुर अस्पतालको नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर पुगिन्।
राति भएकाले अस्पतालको प्रशासन बन्द थियो। त्यसपछि उनी सोझै बिरामी भएको आइसियू कक्षमा छिरिन्। उनी त्यहाँ एक्लै गइनन्, उनीसँगै एक हुल क्यामरा बोकेका मानिसहरू पनि छिरे।
अस्पतालहरूमा आइसियूलाई अति संवदेनशील क्षेत्र मानिन्छ। त्यही भएर त्यहाँ बिरामी भेट्नका लागि निश्चित समय तोकिन्छ। त्यसमाथि क्यामरा बोकेर छिर्ने र भिडिओ खिच्ने कुरालाई भरसक प्रतिबन्ध गराइन्छ। खिच्नै परे अस्पताल प्रशासन र स्वयं बिरामी पक्षको अनुमति लिनुपर्ने हुन्छ। आफैं पनि चिकित्सक रहेकी राज्यमन्त्री कार्कीले त्यतिबेला यी सबै मर्यादा भुलिन्।
उनको उक्त कदमको अहिले आलोचना भइरहेको छ।
पहिलो कुरा, राज्यमन्त्री कार्कीले बिरामी आचार्यलाई भेट्न अस्पताल प्रशासनसँग कुनै अनुमति लिएकी छैनन्। अस्पतालकी मेडिकल डाइरेक्टर डाक्टर निजिना ताम्राकारले सेतोपाटीसँग भनिन्, ‘उहाँहरूले अनुमति लिनुभएको पाइएको छैन। उहाँ साँझ ७ बजेपछि आउनुभएको छ। त्यतिबेला हाम्रो प्रशासन खुला हुँदैन। फेरि राज्यमन्त्री आउनु हुँदा सुरक्षागार्डले रोक्ने कुरा पनि भएन। सायद उहाँ आफैं पनि चिकित्सक भएकाले भिजिट गर्नुभएको होला।’
दोस्रो, अहिले जुन राज्यमन्त्रीले आइसियूमा बिरामीलाई भेटेको भिडिओहरू बाहिर आएका छन्, ती भिडिओ पनि बिनाअनुमति खिचिएको पाइएको छ। उक्त भिडिओ कसले कसरी खिच्यो भन्नेबारे अस्पताल आफैं जानकार छैन।
अस्तपालको प्रशासनको अनुमतिबिना कसैलाई पनि भिडिओ खिच्ने अनुमति नभएको भन्दै डाइरेक्टर ताम्राकारले भनिन्, ‘कसले भिडिओ खिचेर पोस्ट गर्यो भन्ने कुरा हामीलाई पनि थाहा भएन। त्यसरी हामी अनुमति दिँदैनौं। कम्तीमा प्रशासनसँग अनुमति लिएर मात्र गर्नुपर्ने हो। त्यसले समस्या दियो।’
अस्पतालका बर्न युनिटका सर्जरी विभागका प्रमुख डाक्टर सुरेन्द्र बस्नेतले पनि आफूहरूलाई भिडिओ कसले खिच्यो भन्ने थाहा नभएको बताए। उनले अस्पतालहरूमा बिनाअनुमति त्यस्ता उपकरण लान नपाइने भन्दै झन् आइसियूको हकमा त अनुमतिबिना लानै नपाइने जनाए।
त्यसमाथि बर्न केसलाई भने धेरै संवेदनशील मानिन्छ। त्यसैले अस्पतालभित्र पनि बर्नका बिरामीहरूलाई हेर्ने छुट्टै युनिट हुन्छ। चिकित्सकहरूका अनुसार बर्न केसका बिरामीहरूलाई बाहिर संक्रमणहरूबाट जोगाउन निकै चुनौतिपूर्ण हुन्छ। त्यसैले पनि यस्ता केसका बिरामीहरूलाई बाहिरी सम्पर्कबाट सकभर टाढा नै राख्ने गरिन्छ।
नेपालमा अधिकांश बर्नका बिरामीहरूको मृत्यु नै संक्रमणका कारण हुने उल्लेख गर्दै डाक्टर बस्नेतले भने, ‘बर्नको पुरानो केस हो भने फरक पर्दैन किनभने त्यस बेलासम्म उहाँहरूमा संक्रमण भइसकेको हुन्छ तर जो मान्छेलाई अहिले बर्न भयो र तुरून्त अस्पताल लगियो भने ती बिरामीलाई संक्रमणबाट सक्दो जोगाउनुपर्छ। र त्यसका लागि एउटा भनेको भिजिटर कन्ट्रोल नै हो।’
तर यो घटनालाई संक्रमणसँग जोड्न नहुने उनी बताउँछन्। यो केसमा बिरामीको शरीर ८० प्रतिशत जलेका कारण अवस्था निकै नै गम्भीर रहेको र मृत्युको प्रमुख कारण नै त्यही रहेको उनले बताए। तर पनि यस्ता बिरामीलाई कुन बेलामा भेट्न जान हुने वा नहुने भन्ने कुरा ख्याल गर्नुपर्ने उनको भनाइ छ।
अर्को कुरा राज्यमन्त्री कार्कीले बिरामीको गोपनियतालाई पनि यहाँ ख्याल गरेको पाइएको छैन। किनभने आइसियूमा रहेका बिरामीहरूको भिडिओ खिच्नलाई अस्पताल प्रशासनको अनुमति त लिनै पर्छ सँगसँगै बिरामी पक्षको पनि अनुमति लिनुपर्ने हुन्छ। तर उनले सो कुराको प्रवाह नगरी बिरामीसँगको सबै कुराकानी भिडिओमार्फत् बाहिर सार्वजनिक गरिन्।
योसँगै सुरक्षा प्रोटोकलको कुरामा पनि उनले न्यूनतम मापदण्ड मात्र पालना गरेको देखिएको छ। भिडिओमा देखिएअनुसार उनले मास्क, गाउन त लगाएकी छन् तर बिरामीलाई नाङ्गो हातले चलाएकी छन्। उनले ह्यान्ड स्यानिटाइज गरे पनि पञ्जा लगाउनु न्यूनतम सुरक्षा प्रोटोकलभित्र पर्छ।
राज्यमन्त्री कार्कीको यो व्यवहारलाई लिएर चिकित्सा क्षेत्रका मानिसहरूले नै आलोचना गरिरहेका छन्। कतिपयले राज्यमन्त्री कार्कीले पब्लिसिटीका लागि चिकित्सकीय मर्यादा भुलेर उक्त गतिविधि गरेको बताएका छन्।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रोफेसर पारसकुमार पोखरेलले राज्यमन्त्री कार्कीले यस्तो कुरामा मिडियावाजी गर्न नहुने बताए।
‘यति संवेदनशील कुरामा उहाँले मिडियावाजी नगर्नुभएको भए हुन्थ्यो। बिरामी भेटेर बाहिर निस्केर आफ्नो धारणा दिनुभएको भए राम्रो हुन्थ्यो,’ सेतोपाटीसँगको कुराकानीमा उनले भने, ‘तर मन्त्रीज्यूले किन त्यो गर्नुभयो? भर्खरको हुनुहुन्छ, डाइनामिक हुनुहुन्छ त्यही भएर केही गर्नुहुन्छ भन्ने हाम्रो अपेक्षा हो तर जुन किसिमले उहाँले गर्नुभयो त्यो चित्तबुझ्दो भएन।’
राज्यमन्त्री कार्कीले भने यो घटनालाई लिएर कुनै प्रतिक्रिया दिन चाहेकी छैनन्। सेतोपाटीले बुधबारदेखि उनीसँग प्रतिक्रिया लिन बारम्बार सम्पर्क गर्न खोज्दा उनको फोन उठेको छैन।