नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरूङले नेपाली कांग्रेसको जालले अहिलेको सत्ता गठबन्धन नभत्किने दाबी गरेका छन्।
सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै गुरूङले एमालेकै उम्मेदवार राष्ट्रपतिमा विजयी हुने बताए।
एमालेले पार्टीका एक जना पदाधिकारीलाई राष्ट्रपति उम्मेदवार बनाउने बताए।
अहिलेको सत्ता गठबन्धन, राष्ट्रपति निर्वाचन र प्रदेश सरकार सञ्चालनलगायत विषयमा गुरूङसँगसेतोपाटीका सन्जिब बगालेले गरेको कुराकानीको सम्पादित अंश:
एमाले र माओवादीको वर्तमान गठबन्धन बनाउन तपाईं सक्रिय हुनुहुन्थ्यो। राष्ट्रपतिको निर्वाचन आउँदै गर्दा यो गठबन्धन भत्किन्छ भन्ने संशय बढिरहेको छ नि?
वर्तमान गठबन्धन भत्किन्छ भनेर अहिले कांग्रेसले हल्ला गरिरहेको छ। यो कांग्रेसले संसदमा फालेको जाल हो। यसकै कारण संशय पैदा भइरहेको छ। प्रधानमन्त्रीज्यूले अहिले नै यो गठबन्धन तोडियो भन्ने स्थिति छैन, उहाँ गठबन्धन छोडेर जानु पनि हुँदैन। यो गठबन्धन साझा न्यूनतम कार्यक्रम अनुसार अघि बढ्छ। गठबन्धन पाँच वर्षसम्म नै टिकाउनेमा हामी दृढ छौं। एमाले गठबन्धन टिकाउन धेरै नै दृढ छ। मन्त्रालय बाँडफाँटदेखि अन्य विषयमा कुनै अहंकार देखाएको छैन। ११ वटा मन्त्रालय पाउनु पर्नेमा सात-आठमा नै चित्त बुझाएको छौ|। एमालेको ध्यान मुलुकको हितका लागि गठबन्धन टिकाउनेमै छ। मुलुकको समृद्धि र सुशासनका लागि बनेको गठबन्धन दीर्घकालीन हुन्छ। प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउँदादेखि सभामुखको निर्वाचनसम्म पनि संशय बढिरहेको थियो। एमाले र माओवादी बीचको सहमति तोडिँदैन। राष्ट्रपति एमाले नै पाउँछ।
हावा नै नचलिकन त पात हल्लिएन होला नि। केही नभई त पक्कै यस्तो संशय बढेन होला?
कांग्रेसले प्रधानमन्त्रीलाई समर्थन गरेपछि आशंका गर्ने ठाउँ मिल्यो। प्रधानमन्त्रीले सबै पार्टीसँग भोट माग्नु त स्वाभाविक हो। कांग्रेसको भोट नआउँदा बहुमत नपुग्ने स्थिति थिएन। हामीले १ सय ६९ जनाको सही भएको समर्थन राष्ट्रपतिलाई बुझाएका हौं। यस्तै, एकीकृत समाजवादीले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने भनिराखेको अवस्थामा करिब १ सय ८० सांसदको समर्थन जुट्ने स्थिति थियो। कांग्रेसको मतको जरूरी नै थिएन। प्रधानमन्त्रीलाई मत नपुगेर कांग्रेसले समर्थन गरेको हो र! कांग्रेसले अचानक भोट हाल्ने निर्णय गरेको हो। कांग्रेसले संशयको लागि नै जाल फ्याँकेको हो। कांग्रेसको कदमले केही पनि नभईकन माओवादीलाई पक्कै मत दिएन भन्ने संशय भएको हो।
तपाईका अध्यक्षले भनेजस्तै ढोक्सा थापेको हो त?
कांग्रेसले थ्री सी अर्थात् कन्स्पिरेसी, कन्फुजन र कन्फ्लिक्टका लागि चालेको कदम हो। वर्तमान गठबन्धनलाई तास्ने वा कमजोर बनाउने अभियान कांग्रेसले प्रारम्भ गरेकाले संशय पैदा भएको छ। यसले एमाले र माओवादीबीच भएको कुनै पनि सहमति तल-माथि हुँदैन। राष्ट्रपति एमाले नै पाउँछ।
तपाईंले स्थानीय तहको निर्वाचनदेखि नै वाम गठबन्धनको वकालत र पहल गर्दै आउनुभएको थियो। अहिले कम्तीमा सत्ता लागि पनि वाम गठबन्धन बनेको छ यो कहिलेसम्म टिक्छ?
एमालेका मान्छेलाई प्रधानमन्त्री बनाउन वा केपी ओलीलाई फेरि प्रधानमन्त्री बनाउन वर्तमान गठबन्धन बनेको होइन। शेरबहादुर देउवाको नेतृत्वमा वा पुँजीवादपन्थी पार्टीको नेतृत्वमा वामपन्थी पार्टीहरू संलग्न हुनु अप्राकृतिक थियो। यो अप्राकृतिक परिस्थितिबाट उनीहरूलाई फर्काउनुपर्छ भन्ने एमालेको उद्देश्य थियो। अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद मुर्दावाद भन्ने कम्युनिष्ट पार्टीहरू एमसिसी र एसपिपीमा सकारात्मक भए। नागरिकता विधेयक पनि उनीहरूले नै भनेजसरी ल्याउने काममा कम्युनिष्ट शक्ति पनि लागे। राष्ट्रियताको मुद्दामा देशभक्त शक्तिहरू विभाजन हुनु हुँदैन। यसले हाम्रो स्वाधीनतामा असर पुग्छ र पुगिरहेको छ भन्ने ठानेर कांग्रेसको नेतृत्वमा बनेको गठबन्धन तोडेर देशभक्त वामपन्थी शक्तिहरूको गठबन्धन बन्नुपर्छ भनेर लागि पर्यौं।
यो गठबन्धन पाँच वर्षपछिको चुनावसम्मै लैजान तपाईंहरूले प्रधानमन्त्री र सभामुख आलोपालो गर्ने सहमति गर्नुभएको हो?
एमाले र माओवादीबीच प्रधानमन्त्री र सभामुख आलोपालो गर्ने सहमति छ। हामीले पहिले पनि गठबन्धन २० वर्ष जान्छ भनेका थियौं। तर गठबन्धन टिक्ने भन्ने कुरा आचरण र व्यवहारले पनि गर्छ। सिद्धान्त र सहमति निर्माण गरेपछि त्यसलाई कार्यान्वयन गर्ने विषयमा आचरण र दृष्टिकोणको पनि भूमिका हुन्छ। हाम्रो सहकार्य दीर्घकालीन नै होस् भन्ने चाहना छ। यो कार्यकालभित्र कम्युनिष्ट समाजवादी शक्ति र लोकतान्त्रिक गणतन्त्रवादी शक्ति र देशभक्त शक्ति एक भएर राजनीतिक स्थायित्व स्थापनाका लागि लाग्नुपर्छ भन्ने छ। राजनीतिक स्थितरताबिना समाजवादको आधार तय हुन सक्दैन भनेर नै हामी यसमा लागिपरका छौं। वर्तमान गठबन्धनलाई भत्काउन विभिन्न शक्ति लागिरहेका छन् तर पूर्णका कार्यकाल यसलाई कायम राख्ने र वामपन्थी एकता र सहकार्यलाई वृहत्तर बनाउने अभियानमा हामी छौं। लचकता अपनाएर र विश्वास जितेर गठबन्धन जोगाउने पक्षमा हामी छौं।
यो अभियानमा माधव नेपाललाई एकाकार बनाउने हो कि होइन?
माधव नेपालहरूसँग त पार्टी एकता नै हुनसक्छ। उहाँहरू र हामीबीच त नेता र नाम मात्रै फरक हो। कार्यदिशा एउटै छ। बरू माओवादीसँग हाम्रो दृष्टिकोण र विचार फरक थियो। माओवादीसँग मतभिन्नता त मिल्यो भने एकीकृत समाजवादी उही त हो नि। एमालेका मान्छेहरू गएर बनाएको पार्टी त हो।
चुनावयता तपाईं एकीकृत समाजवादीका नेताहरूसँग संवादमा हुनुहुन्छ। उहाँहरूको मनस्थिति के पाउनुभयो?
चुनावयता म उहाँहरूसँग निरन्तर संवादमा छु। उहाँहरू शेरबहादुर देउवा नेतृत्वको गठबन्धन नटुट्नेमा विश्वस्त हुनुहुन्थ्यो। कांग्रेको नेतृत्वलाई स्वीकार गर्ने मनस्थितिमा समाजवादीको नेतृत्व थियो। भित्रभित्रै विकास भइरहेको राजनीतिक परिस्थितिलाई उहाँहरूले आँकलन गर्नै सक्नुभएन। समाजवादीसँग पहिले कार्यगत एकता हुन्छ। हाम्रो प्रयत्न समाजवादीलाई वर्तमान गठबन्धनमा सामेल गराउने नै हुन्छ। उहाँहरूलाई किन बाहिर राख्ने। हामी धेरै अघि बढ्दा तत्कालै आउन समस्या भएकाले उहाँहरू अहिले बाहिरै रहनुभएको हो।
प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादी पनि समावेश हुनसक्छ?
उहाँहरूलाई सरकारमा सहभागी गराउने कोशिश हाम्रो हुनेछ।
तर तपाईंको पार्टी अध्यक्षले समाजवादी र जसापबीचको एकतालाई लिएर आपत्ति नै जनाएको अवस्था पनि छ नि?
आजको दिनमा कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको एउटा मोर्चा छ। यो अवस्थामा जसपाका अध्यक्षलाई एकीकृत समाजवादीसँगको एकता प्रक्रियाबारे हाम्रा अध्यक्षले कुरा राख्नु त स्वाभाविक नै हो नि। तर भोलिका दिनमा उहाँहरू मिलेर वर्तमान गठबन्धनमा आउनुभयो भएन त झनै गज्जब हुन्छ। दुईटासँग सहमति गर्ने ठाउँमा एउटैसँग गर्दा भयो। जसपासँग एकता हुँदा एमालेसँग पनि एकता हुनसक्ने भयो। तर जसपा र एकीकृत समाजवादी एकै हुन्छ जस्तो मलाईचाहिँ लाग्दैन। एकता हुनुचाहिँ राम्रो हो।
राष्ट्रपतिको निर्वाचन आउँदैछ, एमालेबाट उम्मेदवार को होला?
राष्ट्रपतिको निर्वाचनमा अहिले पार्टीभित्र कुनै छलफल भएको छैन। सम्भावित भनेर सुवासचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, ईश्वर पोखरेलको हल्ला चलिरहेको छ। यस्तै यस्तै सेरोफेरोबाट होला। अध्यक्षले के सोच्नुभएको छ भन्ने अनुमान कसैले पनि गर्न सकेको छैन।
भिडिओ:
सभामुखमा पनि त अनुमान नगरेकै व्यक्ति आउनुभयो नि होइन?
सभामुखमा त हामीले त अनुमान गरेका थियौं। देवराज घिमिरेलाई अध्यक्षले बनाउन सक्नुहुन्छ भन्ने अनुमान हामीले गरेका थियौं।
तपाईं त पार्टीको पदाधिकारी पनि। तपाईंहरूले नै अनुमान गर्न नसक्ने भनेपछि पार्टीमा छलफलको अभ्यास हुन छोडेको हो?
यसपकट हामी धेरै प्रचारबाजीमा लागेनौं। हामीले यो गठबन्धन बनाउँदा पनि हल्ला गरेनौं। त्यसैले सभामुख र राष्ट्रपतिबारे पनि प्रचाररबाजी वा हल्ला गरेनौं। राष्ट्रको अभिभावक र संविधानको रक्षकबारे किन धेरै हल्ला गर्नुपर्यो। कांग्रेसमा रामचन्द्र पौडेल र कृष्ण सिटौलाको हल्ला भएजस्तै हाम्रो पनि विभिन्न नाममा हल्ला भएकै छ त। चुनावको मिति तय भएपछि छलफल होला नि।
अर्को विषय, प्रदेशमा सरकारहरू गठन भइसकेका छन्। तर धेरै मुख्यमन्त्रीहरू केन्द्रमा आइरहेका छन, मन्त्रिपरिषद विस्तारका लागि। यसलाई तपाईं के भन्नुहुन्छ?
अब हाम्रो अहिलेको पार्टीहरूको परिचालन जसरी हुन्छ, मन्त्री, मुख्यमन्त्रीको चयन जसरी भइरहेको छ त्यसको कारणले त्यस्तो भएको हो। चार जना त हाम्रै मुख्यमन्त्री बनेका छन्। माओवादी र जसपाले के गरेका छन थाहा छैन। तर हाम्रा चार नेताले पार्टी अध्यक्ष र नेताहरूसँग समन्वयय गरेर जान खोज्नुभएको छ।
तर एउटा मुख्यमन्त्रीले म पार्टीको अध्यक्षलाई नभनीकन मन्त्री चयन गर्न सक्छु भन्न सक्नु पर्ने होइन?
त्यस्तो भन्न सक्नुपर्थ्यो। किनभने अध्यक्ष र पार्टी केन्द्रको सरोकार रहन्छ। कस्तो बनाउने भनेर चासो रहन सक्छ। तर केन्द्रले स्वायत्त ढंगले चल्न दिनुपर्छ। तुलनात्मक रूपले राम्रा मान्छे बनाऊ भन्न सक्नुपर्थ्यो। किनकि जो बने पनि हाम्रै मान्छे हुन्। तर त्यहीँबाट केही गर्न नसकेको स्थितिमा समेत त्यस्तो गरेको हुनसक्छ।
संघीयताको अभ्यास हामीले कसरी गर्छौ भन्ने पनि हो। संघीयतामा एउटाले अर्कोको अधिकारलाई हस्तक्षेप गर्नु हुँदैन। संघ र प्रदेश सरकारले एकले अर्कालाई हस्तक्षेप नगर्ने भन्ने हुन्छ।
हाम्रो संविधानले पनि प्रदेशलाई स्वायत्त अधिकार दिएको छ। यसलाई हाम्रो परम्परागत मानसिकताले असर पारेको हुनसक्छ।त्यसैले दोस्रो कार्यकालमा जानसाथ सबै मिल्छ भन्ने होइन।
तपाईंकै पार्टीभित्र पनि संघीयता किन भनेर प्रश्न आउन थालेका छन्। संघीयताको विरोध गर्नेहरू सरकारमै छन्। यस्तो अवस्थामा संघीयतालाई टिकाउन कठिन हुनेजस्तो देखिएन?
लोकतन्त्रमा म संघीयतालाई मान्दिनँ भन्न त पाइयो। हाम्रै पार्टीका केन्द्रीय सदस्यहरूले समेत भन्नुभएको छ। तर नैतिक रूपमा त्यस्तो भन्न पाइँदैन। अब संघीयता मान्दैनौं भन्ने संघीयताको विरोधमा हो। जसले संघीयताको विरोध गर्छ ऊ संविधान विरोधी हो।राप्रपाले पनि संघीयताको विरोध गर्न नैतिक रूपमा मिल्दैन किनकी उसले संघीयताको फल खाइरहने अनि यो बोट चाहिँदैन भन्न नैतिक रूपमा मिल्छ र ? सुन्तला खाइरहने सुन्तलाको बोटमा आगो लगाउन मिल्छ!
तपाईं मुख्यमन्त्री पनि हुनुभयो। संघीय सरकारले प्रदेश सरकारलाई कहाँनेर अप्ठेरो पार्ने रहेछ?
सबैभन्दा पहिला संविधानले बनाएको सूची गलत छ। साझा सूची धेरै लामो छ। जहाँ साझा सूची लामो छ, त्यहाँ विभिन्न तहका सरकारहरूको विवाद धेरै हुन्छ। संघीयतलाई स्वतन्त्र ढंगले चल्न दिने हो भने साझा अधिकारको सूची थोरै र एकल अधिकारको सूची लामो हुनुपर्छ।
भिडिओ: