सत्तारूढ गठबन्धनमा रहेको जनता समाजवादी पार्टी मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै सरकारमा सहभागी नहुने भएको छ।
जसपामा अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनका शीर्ष नेताहरूले आफ्नो पार्टीको कुरा नै नसुनेर उपेक्षा गरेको आरोप लगाएका छन्।
मंगलबार बिहान सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै यादवले सत्ता गठबन्धनका अरू दलले एकलौटी निर्णय गर्न खोजेको समेत बताए।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका पाँच दलका शीर्ष नेताहरूको बैठक बसेको थियो। झन्डै पाँच घन्टा चलेको बैठकले मन्त्रालय भागबन्डा टुंग्याएको थियो।
‘हिजोको बैठकमा हाम्रा कुरा सुन्नै खोजिएन। उहाँहरूले दिएअनुसार मात्रै हामीले लिन पर्ने कुरा आयो। त्यसपछि हामी सरकारमा नगएको हो,’ यादवले भने,‘हाम्रा कुरा यी हुन् भनेर हामीले भन्नसमेत पाएनौं। न न्यूनतम साझा कार्यक्रममा हाम्रा कुरा सुन्ने काम भयो। न त मन्त्रिपरिषद विस्तारमै हामीसँग छलफल भयो।’
तपाईंहरूले उपराष्ट्रपति माग्नुभएको हो भन्ने प्रश्नमा उनले त्यसलाई अस्वीकार गरेनन् तर त्यसबारे छलफल हुन नपाएको बताए।
तपाईंहरूको अडान के हो त भन्ने अर्को प्रश्नमा समेत उनले आफूहरूको अडान भन्ने भन्दा पनि कुनै कुरै नसुनिएको मात्र बताए।
‘अहिले सरकारमा जाने हाम्रो समझदारी हुन सकेन,’ यादवले भने।
तत्काल सरकारलाई समर्थन गरिरहने भए पनि भावी दिनमा के हुन्छ भन्ने कुरा अहिले भन्न नसकिने उनले बताए।
‘अहिले सरकारलाई दिएको समर्थन कायमै छ। आजको दिनसम्म हामीले समर्थन दिएका छौं,’ उनले भने,‘भोलिको कुरा हामीले अहिले भन्न सक्दैनौं।’
प्रतिनिधि सभामा जसपाका १२ सांसद छन्। अध्यक्ष यादव भने सप्तरी-२ बाट पराजित भएका थिए।