नेकपा माओवादी केन्द्रले सांसद रेखा शर्मा, सुदन किराती र अमनलाल मोदीलाई मन्त्री बनाउने भएको छ।
शर्मा सञ्चार मन्त्री, किराती संस्कृति पर्यटन मन्त्री र मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने भएका छन्।
शर्माले दाङ क्षेत्र नम्बर २ बाट चुनाव जितेकी हुन्। उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई हराएकी थिइन्। यसअघि उनी दुई पटक समानुपातिक तर्फबाट सांसद बनेकी थिइन्।
शर्मा २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री थिइन्। उनी माओवादीभित्र संसदीय गतिविधिमा समेत अब्बल मानिन्छिन्।
माओवादीले जनयुद्ध गर्दा सक्रिय रूपमा सहभागी भएकी शर्मा माओवादी संसदीय राजनीतिमा आएपछि प्रमुख सचेतकसमेत भइसकेकी छिन्।
साथै पर्यटन मन्त्री बन्न लागेका किराती भोजपुरबाट चुनाव जितेका हुन्। उनले प्रदेश १ का मुख्यमन्त्री भइसकेका एमाले नेता शेरधन राईलाई हराएका हुन्। किरातीले भोजपुरबाट तेस्रो पटक सांसद जितेका थिए।
किराती माओवादी जनयुद्धमा सहभागी थिए भने झण्डै १ वर्ष जेल पनि परेका थिए।
संघीय मामिला मन्त्री हुन लागेका मोदी मोरङ ५ बाट चुनाव जितेका थिए। उनी २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। २०७० सालको निर्वाचनमा उनी समानुपातिक सांसद बनेका थिए। माओवादी जनयुद्धकै समयमा उनी माओवादी मोरङको विद्यार्थी संगठन अध्यक्षसमेत थिए।
यसअघि माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भइसकेका छन् भने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक योजना तथा यातायात मन्त्री भइसकेका छन्।
माओवादीले क-कसलाई मन्त्री बनाउने भन्नेबारे आज बिहान बालुवाटामार पदाधिकारी बैठक गरी छलफल गरेको थियो।