शंकर पोखरेल नेकपा (एमाले)का महासचिव हुन्। गठबन्धन गरेर चुनावमा गएको नेपाली कांग्रेसलाई सत्ता विमुख बनाउन महासचिव पोखरेल एमालेबाट क्रियाशील थिए र सफल पनि भए।
पछिल्लो राजनीतिक घटनाक्रममा एमालेले कांग्रेसलाई धोका दिएको, एकीकृत समाजवादी र एमालेबीच एकता हुन लागेको चर्चालगायत विषयमा सेतोपाटीका मनोज सत्यालले पोखरेलसँग गरेको कुराकानीको सम्पादित अंश:
निर्वाचनपछि पनि एमाले र माओवादीबीच गठबन्धनको छनकसम्म बाहिर देखिएन। अचानक कसरी अहिलेको सरकार र गठबन्धन बन्यो?
पाँचदलीय गठबन्धन एमालेविरूद्ध घेराबन्दी र मोर्चाबन्दीको प्रक्रियाबाट अघि बढेको थियो। त्यसलाई असफललाई पार्नु एमालेको कर्तव्य हुन्थ्यो। आफूविरूद्धको मोर्चाबन्दी तोड्ने कुरा एमालेका लागि आवश्यक थियो। चुनावअघि पनि हामीले प्रयास गरेका थियौं। त्यही प्रयासस्वरूप जसपासँग चुनावी तालमेल गर्न सफल भयौं।
हामीले कांग्रेसलाई पनि आग्रह गरेका थियौं। नेपालको राजनीतिमा निर्भर रहने शक्तिहरू हावी हुने जुनप्रकारको राजनीति छ, त्यसलाई बाहिर निकाल्ने हो भने प्रमुख राजनीतिक शक्तिहरू स्वस्थ्य प्रतिस्पर्धा गरौं। एमाले र कांग्रेस हाराहारीकै शक्तिको रूपमा रहेका छन्। परिणाम स्वभाविक रूपमा १९/२० होला तर दुई वटाकै पक्षमा आउँछ। अहिले गठबन्धन बनाएर जे प्राप्त गर्नुहुन्छ त्यो एक्लै लडेर पनि प्राप्त गर्न सक्नुहुन्छ। कि तपाईंहरू पहिलो हुनुहोला कि हामी होउँला। तर दलहरूको आश्रयमा पोजिसन प्राप्त गर्ने प्रवृति अन्त्य गर्नुपर्छ। नेपाली राजनीतिलाई करेक्सन गर्ने कुरा गर्दा कांग्रेस तयार भएन। सरकारका कारणले पनि होला ऊ गठबन्धनबाटै अघि बढ्ने मान्यतामा रह्यो।
चुनावपछि स्वाभाविक रूपमा हामीले गठबन्धन नभत्काइकन अनुकूलता प्राप्त हुँदैन भन्ने विश्लेषण गरेका थियौं। त्यसलाई बाहिर ल्याउँदा भित्री-बाहिरी इन्ट्रेस्टहरू हाबी हुने थिए भन्ने बुझ्न सकिन्छ। सरकार निर्माणका लागि बाहिरी शक्तिको क्रियाशिलता पनि देखेकै थियौं। हामीले स्वाभाविक रूपमा पाँच दलीय गठबन्धनभित्र इन्ट्रेस्टहरूको कन्फिल्क्ट हुन्छ भन्ने बुझेकै थियौं। त्यसैले कांग्रेसलाई पनि आफ्नो तर्फबाट भनेका थियौं- तपाईंहरू आफ्नो नेतृत्वमा सरकार बनाउन चाहनुहुन्छ भने गठबन्धनबाट बाहिर निस्कँदा एमाले सहयोग गर्न तयार छ।
माओवादीलाई पनि त्यही कुरा गरेका थियौं- तपाईंहरू गठबन्धनबाट निस्कनुहुन्छ भने तपाईंहरूको नेतृत्वमा सरकार बनाउन सहयोग गर्न तयार छौं। तर हामीले बाहिर बोलेनौं। बाहिर बोलेको भए यिनीहरू के गर्दैछन् भन्ने कुराको छनक हुन्थ्यो होला। स्वाभाविक रूपमा एमालेविरूद्धको मोर्चाबन्दी कस्सिने कुरा हुन्थ्यो। त्यसअर्थमा यसलाई हामीले आन्तरिक विषयका रूपमा राख्यौं। हामीले के भन्यौं भने जनादेश हामीलाई छैन। त्यस अर्थमा सत्ताको खेलमा छैनौं भन्ने कुरा बाहिर ल्यायौं।जुनदिन गठबन्धन तोडिन्छ त्यो दिन हाम्रो भूमिका के रहन्छ भन्ने हामी तय गर्छौं भन्यौं। र यो सबै कामको नेतृत्व पार्टी अध्यक्षकै नेतृत्वमा गर्यौं। मुख्य भूमिका पार्टी अध्यक्षकै हो।
तपाईंहरूले कांग्रेसलाई धोका दिनुभयो। यो माओवादीलाई हामी कसैगरी स्वीकार गर्दैनौं भन्नुभयो। केपी ओलीले फोन गरेर हामी आउँछौं भन्नुभयो तर अन्तिममा माओवादीलाई साथ दिनुभयो नि?
त्यस्तो होइन। शेरबहादुरजीलाई कतिसम्म भनिएको थियो भने- कतै तपाईंहरू संविधानको धरा ७६ को ३ अन्तर्गतको सरकारको मुडमा त हुनुहुन्न! त्यसो भयो भने तपाईंहरूलाई सहयोग गर्न गाह्रो हुन्छ है भन्ने कुरा गरिएको थियो। त्यसअर्थमा हामीले ढाँट्यौं भन्न मिल्दैन। राजनीतिमा आफ्नो रणनीति कसरी प्रस्तुत गर्ने भन्ने एउटा कुरा हो। तर जे भन्छौं सही कुरा नै गर्छौं। हामीले भनेका थियौं- ७६ को ३ अन्तर्गतको सरकार हामीलाई स्वीकार्य हुँदैन है। देउवाजीको रूची सकेसम्म प्रचण्डलाई गलाउने नगले ७६ को ३ अन्तर्गत गइहाल्छ भन्ने रहेछ। त्यो त स्पष्ट देखियो। उहाँहरूको रणनीति के थियो भन्ने कुरा लुकेको छैन। दिउँसो १२ बजेसम्म उहाँहरू छलफलमै हुनुहुन्थ्यो। एमालेसँग आउन त उहाँहरूले प्रस्ताव त पठाउनु भएन। हामीले जसलाई पठायौं- तपाईंहरूको नेतृत्वमा आउन एमालेको साथ चाहिने हो भने तपाईंहरूले आफ्नो ठोस प्रस्ताव पठाउनुहोस् भन्दा उहाँहरू त्यसलाई सुन्न तयार हुनुभएन।
तपाईंले तेस्रो शक्तिलाई नेतृत्व दिन हुन्न भनेको कुरा व्यवहारमा कार्यान्वयन गर्न नसकिने रहेछ, हैन?
अहिलेको चुनावको जनादेश नै हाम्रो नीतिको विपक्षमा आयो। हामी बलियो राष्ट्रिय शक्ति, राजनीतिक स्थायीत्व राजनीतिक ध्रुवीकरणको पक्षमा छौं। नेपालमा धेरै राजनीतिक दलको आवश्यकता छैन। यो त हाम्रो घोषित नीति हो। तर परिणाम के आयो भन्ने कुरालाई नजरअन्दाज गर्न मिल्दैन। परिणाम जे आयो त्यसका आधारमा राज्य सञ्चालनको बाटोतर्फ लैजानुपर्छ। पाँच वर्ष त हामी अभिशप्त छौं। यो हङ पार्लियमेन्ट ब्यहोर्नका निम्ति। त्यसभित्र पनि राष्ट्रलाई धेरै क्षति नहोस् भन्ने बाटो त खोज्नुपर्छ।
त्यो खोज्ने क्रममा शेरबहादुर देउवा नेतृत्वको सरकार सफल भैदिएको भए जेसुकै होस् भन्न सकिन्थ्यो। त्यो सरकार कस्तो थियो भन्ने सन्दर्भमा एउटा उदाहरण काफी छ। त्यो सरकार हट्नेबित्तिकै सेयर बजारमा कुनै नीतिगत सुधारबिना नै सुधार भयो। अर्थात् विगतको सरकार कति बेठिक रहेछ भन्ने दृष्टान्त त त्यही हो। नयाँ सरकार आउनेबित्तिकै लगानीकर्ताहरूले राहतको अनुभूति गरे। सेयर बजारको सुधार भनेको त्यही हो नि।
हामीले जे गर्यौं त्यो मुलुकको हितमा गर्यौं भन्ने ठान्नुपर्छ। मुलुकको आवश्यकताका दृष्टिकोणले भन्ने हो भने हामीले जे चाहेका थियौं त्यो कुरा प्राप्त गर्न सकेनौं।
अहिले एमाले र माओवादी कुनै ‘ग्लु’ले मिलेका त हैनन्?
चुनाव परिणामपछि नेपालको राजनीतिसामू ३ विकल्प छन् भनेर मैले भनेको थिएँ। एउटा, मुलुकमा राजनीतिक अस्थिरता सिर्जना गर्न चाहने तत्वहरू हाबी हुँदै गएका छन् त्यसलाई सामना गर्ने हो भने प्रमुख दलहरू मिल्नुपर्छ। तर त्यसका लागि कांग्रेस तयार भएन। कांग्रेस तयार नभएको हो। धोका दिएको भन्ने गलत प्रचार हो। कांग्रेस तयार नभएपछि स्वाभाविक रूपमा हामी दोस्रो विकल्पतर्फ जानैपर्थ्यो। दोस्रो विकल्प, विचारका आधारमा ध्रुवीकरणको प्रयास भनेका थियौं। त्यो भनेको माओवादी र एमाले जोडिने कुरा नै थियो। तेस्रो, गठबन्धनको निरन्तरता नै थियो। गठबन्धनको निरन्तरता हाम्रो रूचीको कुरा होइन। त्यो बाध्यताको कुरा थियो। गठबन्धन एकै ठाउँमा रहँदासम्म उसकै सरकार बन्थ्यो। किनकी १३६ सिट गठबन्धनले ल्याएकै थियो। दुई-तीन सिट खोज्ने कुरा कुनै गाह्रो कुरा थिएन। गठबन्धन निरन्तर रहेको थियो।
विकल्प दुई तीन वटा छन् भने पछि त्यति पनि नबुझ्ने कांग्रेस हुन्छ!
एमाले र माओवादीलाई चीनले मिलाइदियो कि भन्ने पनि चर्चा छ नि!
कसैले मिलायो भने त्यो देउवाजीले मिलाउनुभयो। किन बाहिर खोज्नुहुन्छ? प्रचण्डजी गठबन्धन निरन्तर कायम राख्ने पक्षमा हुनुहुन्थ्यो। हाम्रो बुझाइ के थियो भने नेपाली कांग्रेस जब पहिलो दल बन्यो उसले नेतृत्व छाड्दैन भन्ने बुझाइ थियो। कांग्रेस बलियो भएको बेला उसमा अहंकार पैदा हुन्छ। त्यसअर्थमा प्रचण्डलाई नेतृत्व दिँदैन भन्ने थाहा थियो। त्यो कुनै लुकेको चिज हो र! उहाँहरूले प्रचण्डलाई प्रधानमन्त्री दिन मान्नुभएन। राष्ट्रपति र प्रधानमन्त्री दुबै कांग्रेसलाई चाहिन्छ भन्न थालेको सूचना हामीसँग थियो। त्यसैले पोजिसन कसले लियो र कसले मिलाइदियो भन्ने सन्दर्भमा मिलाउने तत्व- देउवाजी नै हो। देउवाजीले नै प्रचण्डजीलाई पठाइदिनुभयो। नयाँ समिकरण बनाइदिने सुत्रधार परोक्ष रूपमा देउवाजी हो। भूमिकाका हिसाबले एमालेलाई गठबन्धन भत्काउनु थियो। भत्कायो। देउवाजीलाई पहिलो दल भएको हिसाबले नेतृत्वको चाहना राख्नुभयो।
अब सत्ता साझेदारीको कुरा गरौं, एमाले र माओवादीबीचको समझदारी के हो? साढे २ वर्षपछि सरकार परिवर्तन हुने हो?
प्रचण्डजी आफैंले प्रस्ताव गर्नु भएको विषय हो। अढाई वर्ष भन्ने कुरा भएन। आधा आधा अवधि भनेको हुनाले तपाईंले अढाई वर्ष भन्ने विश्लेषण गर्नुभयो। आधा कार्यकालको कुरा उहाँ आफैंले राख्नुभयो। हाम्रो अध्यक्षले ठिक छ भन्नुभयो। त्यसोगर्दा स्वाभाविक रूपमा राष्ट्रपति र सभामुख एमालेको हुने कुरा भयो। त्यसमा प्रचण्डजीको कुरा के थियो भने, प्रधानमन्त्री चेन्ज गर्दा सभामुख के गर्ने भन्ने कुरा थियो। हामीले छलफल गरौं जे गर्दा उचित हुन्छ त्यही गरौं भनेका छौं। उहाँको प्रस्ताव सभामुख पनि आधा-आधा गर्नुपर्छ भन्ने थियो।
त्यो प्रस्ताव तपाईंहरूले मान्नुभयो?
एक प्रकारले हामी छलफल गरौं भनेकै छौं।
एमालेले राष्ट्रपति र सभामुखका लागि पार्टीभित्र यी-यी व्यक्ति हुन सक्छन् भनेर कुनै फिगरआउट गरेको छ?
हामी छलफलको प्रक्रियामा प्रवेश गरेका छैनौं। जबसम्म निर्वाचन कार्यतालिका प्रकाशित हुन्न अहिले नै को उम्मेदवार हुने भन्ने कुरा हुन्छ र!
कस्ता व्यक्तिलाई बनाउने भन्ने छ?
बाहिर चर्चामा आएजस्तो गैरराजनीतिक व्यक्ति भन्नेमा हामी छैनौं। नेपालको डेमोक्रेटिक मुभमेन्टमा योगदान गरेका, दु:ख पाएका, एक प्रकारले समाजमा स्थापति, राष्ट्रको अविभावकको रूपमा भूमिका खेल्न सक्ने मान्छेहरू मध्येबाट गर्छौं। गैरराजनीतिक भन्ने हाम्रो अजेन्डा छैन।
नेपालमा मधेशी मूलबाट राष्ट्रपति हुनुभयो, महिला हुनुभयो। एमालेले अब अर्को कुनै विषय हेरेको छ कि?
एमाले भित्र विभिन्न विशेषताका नेता साथीहरू हुनुहुन्छ। उहाँहरू मध्येबाट कुनै एक जनालाई गर्ने कुरा हो। अहिले हामी त्यो विषयमा प्रवेश गरेका छैनौं। प्रवेश नगरेको हुनाले यो वा त्यो भन्ने कुरा भएन।
एमाले र माओवादीको सहकार्यबारे निर्वाचन अघिको अन्तर्वार्तामा मैले तपाईंलाई निर्वाचनपछि सहकार्य हुन सक्छ कि सक्दैन भनेर सोधेको थिएँ। तपाईंले कार्ल मार्क्सलाई उद्दरण गर्दै भन्नुभएको थियो- दुई दल मिल्ने कुरा एक पटक नाटकको रूपमा र एक पटक प्रहसनको रूपमा हुन्छ। अहिलेको मिलन त तपाईंले भनेकै हिसाबले प्रसहन भएन?
मैले पार्टी एकताको सन्दर्भमा कुरा गरेको थिएँ। अहिले हामी पार्टी एकताको रूपमा सहकार्यमा छैनौं। कतिपयले वामपन्थी एकता इत्यादि भन्ने ढंगले कुरा गरिराखेका छन्। हामीले अहिलेको सरकारलाई अजेन्डा आधारित सरकार भनेका छौं। साझा न्यूनतम कार्यक्रममा आधारित सर्वदलीय सरकार हुनेछ। सर्वदलीयभन्दा कांग्रेसलगायत केही पार्टी बाहिर छन्। तर जति सरकारमा छन् ती पार्टीका साझा न्यूनतम कार्यक्रममा आधारित कार्यक्रम हुनेछ। यो वामपन्थी सरकार पनि होइन। दक्षिणपन्थी सरकार पनि होइन। यो एक प्रकारले भन्ने हो भने नेपालमा रहेका केही गरौँ भन्ने हुटहुटी भएकाहरूको सरकार हो। प्रचण्डजीले पनि पछिल्लो समय ‘दुई पटक प्रधानमन्त्री भैसकें, काम देखाउन पाइनँ भन्नुभएको छ। काम देखाउने चाहना छ भन्नुभएको छ।’ अरू बाँकी नयाँ छन्। एमाले त देश बनाउने पार्टी हो। त्यस अर्थमा अहिले बनेको समिकरण देश बनाउने हुटहुटीसँग जोडिएको छ। विचारधाराका हिसाबले भिन्न-भिन्न विचारधाराका छन्। तर देश बनेन, बनाउनुपर्छ भन्ने हुटहुटीसँग जोडिएको छ। त्यसअर्थमा यसलाई सही दिशामा लैजानेतर्फ एमाले छ।
जनताले कसरी बुझ्दा रहेछन् भने निर्वाचन अघिसम्म आरोप-प्रत्यारोप गर्ने। एकअर्कालाई लाञ्छना लगाउने एमाले र माओवादीका नेताहरू निर्वाचनपछि त केही भन्दै नभनी मिले। कुनै सैद्धान्तिक कुरा मिल्नु पनि नपर्ने। एकाएक मिल्दो रहेछ नि। सत्ताको कुरामा त मिल्दो रहेछ नि!
छलफल त हुन्छ। न्यूनतम साझा कार्यक्रम तय गर्दा पनि कुन नीतिका आधारमा जाने भन्ने बहस हुँदैन र? हुन्छ त। त्यहाँ जोड र कोणमा अन्तर हुन्छ। तर सहकार्य गर्दा सहकार्यकै कुरा प्रधान हुन्छ। विमतिको कुरा आन्तरिक हुन्छ। जब बहसको विषय विमति हुन्छ, बाहिर सार्वजनिक हुन थाल्छ त्यहाँ सहकार्य हुँदैन। त्यतिबेला अन्तरविरोधका विषय बहसका विषय बन्छन्।अहिले पनि अन्तरविरोधहरू छन्। ती आन्तरिक हुन्छन्। बाहिर हामी मेलमिलापको कुरा गर्छौं। त्यो कुरा राजनीतिमा आवश्यक कुरा हो। मिल्दा पनि बाहिर बहस गर्न थाल्यो भने त्यो राम्रो कुरा भएन।
तर हिजो प्रचण्ड र माधव नेपाल एक ठाउँमा हुँदा लगाएका आरोपका कागजात सचिवालयको बैठकमा छन्। पार्टीबाट निकालेको कुरा छन्। सबै नै भुलिँदो रहेछ हैन मिल्ने बेलामा?
होइन। हामीले भनेका छौं इतिहासका प्रश्नमा अल्झेर अघि बढ्न सकिँदैन। भविष्यको प्रश्नमा मिलेर अघि बढ्नुपर्छ। विगतमा हामीले एक-अर्काप्रति जे-जति आरोप लगायौं ती कुरा हल भएर हामी मिलेका होइनौं। ती थाती छन्, यथावत् छन्। प्रचण्डजीले लगाएको १९ बुँदे अभियोगपत्र फिर्ता लिनु भएको छैन। हामीले दिएको प्रतिउत्तर हामीले फिर्ता लिएको छैन। अब कसरी अघि बढ्ने भन्ने कुरा न्यूनतम साझा कार्यक्रमबाट निर्देशित हुनेछ। इतिहासका प्रश्न दुबैका लागि शिक्षा हुन्। त्यसलाई बोकेर अघि बढ्न हुँदैन भन्ने हाम्रो मान्यता हो।
यो पटकको निर्वाचनमा सहरी जिल्लाहरूमा माओवादीलाई खासै कांग्रेसबाट मत ट्रान्सफर भएन। पहाडी जिल्लाहरूमा भयो। अब माओवादी केन्द्र एमालेको बीचमा कालान्तरमा पार्टी एकता भएर जान सकिन्छ भन्ने सोचेर तपाईंहरू सरकारमा बस्नु भएको हो कि त्यो छलफल भएको छैन?
छलफल आन्तरिक रूपमा कति भयो भन्ने एटा पक्ष हो। प्रचण्ड १२ बजेसम्म गठबन्धन कायम राख्ने पक्षमा हुनुहुन्थ्यो। १२ बजेतिर खाना खान निस्कुनभयो। सवा १ बजेतिर बालकोट आइपुग्नुभयो। साढे ४ बजे उहाँहरू सबैलाई शितल निवास पठायौं भनेपछि कति छलफल भयो होला!
छलफल त त्योभन्दा अघि भयो होला नि?
छलफल त हामीले कांग्रेससँग पनि गरेका थियौं। माओवादीसँग पनि गरेका थियौं। अन्य पार्टीसँग पनि गरेका थियौं। अनौपचारिक छलफलको कुरा अलग हो। तर विषयमा केन्द्रीत भएर छलफल गर्न हामीसँग कति नै समय थियो र यो सबै विषयमा हामी छलफल गरौं। अहिले मुलुकलाई धारा ७६ को उपधारा २ अनुसारको सरकार चाहिएको छ। नेपाली कांग्रेस उपधारा ३ अनुसारको सरकारका लागि अग्रसर देखियो। उपधारा २ अनुसारका सरकार बनाउनुपर्छ भन्ने दलहरू बसेर सरकार बनाएका हौं।
एकीकृत समाजवादी पार्टी जसमा पूर्वएमालेकै नेता र कार्यकर्ता छन्। तपाईंहरूले उहाँहरूलाई सरकार निर्माणमा समावेश गर्नुभएन। इतिहासलाई बिर्सनु भएको त रहेनछ नि?
उहाँहरूलाई हामीले वर्तमानमा उहाँहरूले खेलेको भूमिकाका आधारमा हेर्ने हो। खासगरी गठबन्धन भत्काउनका निमित्त उहाँहरूको सहयोग प्राप्त हुन्छ कि भनेर हामीले अनुरोध गरेका थियौं। गठबन्धन भत्काउने सन्दर्भमा सत्तामा भएका दलहरूसँग संवाद अनौपचारिक रूपमा गरेका थियौं। त्यो एकीकृत समाजवादीसँग पनि गरेका थियौं। तर उहाँहरूमा कुनै प्रकारको सकारात्मकता पाएनौं। उहाँहरूको भूमिका पूर्णत: नकारात्मक रह्यो। त्यसकारण परिणाम जसले निकालेको छ उनीहरूको बीचकै सहकार्य हुन्छ। जसको भूमिका नकारात्मक रह्यो त्यसलाई त्यो प्रक्रियाका सन्दर्भमा सकारात्मक रूपमा हेर्न सकिँदैन। त्यसकारण हामीले भनेका छौं, ‘तपाईंहरू यो चक्रमा छुट्नुभयो। तपाईंहरूले कतिपय यस्ता परिघटना देखा पर्छन् त्यसमा आफ्नो भूमिका के हुने भन्ने तय गर्न नसक्दाखेरि छुटिन्छ। तपाईंहरू छुट्नुभयो। हाम्रा कारणले छुटेको होइन। आफ्नै कारणले छुटेको हो। त्यसअर्थमा घटना र परिस्थितिलाई नजिकबाट नियाल्ने कुरा राजनीतिक नेतृत्वको कर्तव्य हो। त्यसमा तपाईंहरू चुक्नुभयो। त्यसकारणले असफल पनि हुनुभयो’ भन्ने कुरा गरेका छौं। भोलिका दिनको कुरा आफ्नो ठाउँमा छ। आजका लागि उहाँहरूको भूमिका नयाँ गठबन्धन निर्माणका लागि नकारात्मक भएकाले उहाँहरू बाहिर हुनुहुन्छ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति दिएर एकता गर्ने र एमाले सबैभन्दा ठूलो पार्टी बन्ने गरी छलफल चलिराखेको हो?
अहिले हामीलाई त्यो कुरामा कुनै रूची छैन। जसले नकरात्मक भूमिका खेल्यो उसलाई नै सम्मान गर्ने तहमा अहिलेको राजनीति पुगेको छ भन्ने मलाई लाग्दैन। कुनै बिन्दुमा उहाँले राष्ट्रिय राजनीतिको अहम् मुद्दामा सकारात्मक भूमिका खेल्नुभएछ भने एउटा पक्ष हो। अहिले लगातार नकारात्मक भूमिका खेलेका बेलामा राष्ट्रको सबैभन्दा सम्मानित पदमा पुर्याउने कुरा नीतिगत रूपमा पनि त्रुटिपूर्ण हुन्छ। त्यो हामीले सोचेका छैनौं। त्यसका लागि उहाँहरू हकदार होइन र उहाँहरूले त्यो अपेक्षा पनि राख्नुभएको छ भन्ने म ठान्दिनँ। उहिले उहाँहरूको भूमिका नयाँ गठबन्धन बनाउने विषयमा रत्तिभर पनि सकारात्मक रहेन। त्यसअर्थमा यो प्रक्रियामा उहाँहरू जोडिन खोज्ने खालका कुरा उहाँहरूका लागि पनि उपयुक्त होइन। हामीले पनि नकारात्मक भूमिका खेल्नेलाई पुरस्कृत गर्ने कुरा सोच्ने कुरा पनि उपयुक्त होइन। अहिले सरकारका लागि खाँचो पनि छैन। जति सरकारमा सामेल भएका दल छन् उनीहरूको स्ट्रेन्थ नै पर्याप्त छ सरकार गठनका लागि भनेपछि खाँचो पनि छैन र उहाँहरूको भूमिका सकारात्मक पनि रहेन। त्यो कुरा उहाँहरू आफैंले महसुस गर्नुपर्छ। भोलिका दिनमा सरकारलाई सकारात्मक रूपले साथ दिन थाल्नुभयो, मुलुकको स्थायित्वका लागि काम गर्न थाल्नुभयो भने हामी उहाँहरूको भूमिकाको समीक्षा गर्छौं नि।
कतै यो केपी शर्मा ओली र माधव नेपालको इगोको लडाइँ पो भयो कि! प्रचण्डसँग तपाईंहरूको सुलह भयो। माधव नेपाल र पूर्वएमालेका नेता र कार्यकर्तासँग मिल्न गाह्रै रहेछ!
त्यसो होइन। प्रचण्डको भूमिका गठबन्धन भत्काउने कुरामा निर्णायक रह्यो। हामीलाई गठबन्धन भत्काउनु थियो। जसले निर्णायक भूमिका खेल्यो ऊसँग सहकार्य त भइहाल्छ नि। यद्यपी त्यो काम माधव नेपालजीले गरेको भए उहासँग पनि सहकार्य हुन्थ्यो। हामीले त अनुरोध नै गरेका थियौं त। तपाईं गठबन्धनको विपक्षमा खडा हुनुहोस् तपाईंहरूलाई ‘रिक्गनाइज’ गर्ने कुरामा हाम्रो कुनै आपत्ति छैन भनेर खबर पठाएका थियौं त। तर उहाँहरूको भूमिका सकारात्मक रहेन। व्यक्तिको भूमिका वा संस्थाको भूमिका उसले खेल्ने भूमिकामा भरपर्छ भन्ने बुझ्नुपर्यो नि।
अब प्रदेशको कुरा गरौं। प्रदेश सभाका बैठकहरू बस्न थालेका छन्। प्रदेश सरकार निर्माणमा तपाईंहरूको छलफल अघि बढेको छ कि छैन? कसले कति वटा प्रदेश नेतृत्व गर्ने भन्नेमा?
सामान्यत: हामी केन्द्रीय सरकारको विश्वासको मत लिएर अरू विषयमा प्रवेश गर्ने भन्ने प्रधानमन्त्रीको चाहना रह्यो। हामीले त्यसलाई उचित नै ठानेका छौं। २६ गते विश्वासको मत लिने विषय टुङ्गिएपछि हामी अरू सबै विषय बाहिर ल्याउँछौं र अघि बढ्छौं।
राप्रपा र नागरिक उन्मुक्ति पार्टीलाई पनि प्रदेशहरूमा मुख्यमन्त्री दिन सकिन्छ? त्यसरी उहाँहरूले प्रस्ताव गर्नुभएको छ?
अहिले हामी कसले मुख्यमन्त्री प्राप्त गर्ने, कहाँ प्राप्त गर्ने विषयमा प्रवेश गरकेा छैनौं।
मतका हिसाबले उहाँहरू पनि निर्णायक देखिनुहुन्छ!
स्वाभाविक रूपमा सरकारमा रहेका राजनीतिक दलहरू जो प्रदेश सभाभित्र छन् उनीहरूले प्रदेश सरकारमा भूमिका पाउनुपर्छ भन्नेमा सिद्धान्त: हामी सहमत छौं। तयार छौं। कहीँ निर्णायक नहुनेबित्तिकै उसलाई छाडेर हिँड्नुपर्छ भन्ने पनि ठान्दैनौं। निर्णायक नभएको हुनाले उसले जतिसुकै अनुचित भए पनि बार्गेनिङ गर्नुपर्छ भन्ने ठान्नु पनि हुँदैन। औचित्यका आधारमा सहकार्यलाई दीगो बनाउने र पाँच वर्ष कार्यकालका लागि परिस्थितिसँग तादम्यता मिलाएर हिँड्नुपर्ने बाध्यता छ। त्यसका लागि सरकारमा रहेका दलहरू मिलेर नै सरकार बनाउँछौं। राष्ट्रिय स्वत्नत्र पार्टी प्रदेशमा छैन। उसको सहभागिता सम्भव भएन। तर पनि उसलाई कुन पनि रूपमा जोड्न सकिन्छ कि जोड्ने कोशिस गर्छौं। तर एउटा पक्ष के हो भने सरकार निर्माणको प्रक्रिया जनप्रतिनिधिमा आधारित हुनुपर्छ भन्ने पक्षमा हुनुपर्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई कसरी हेर्नुभएको छ?
कुनै पनि पार्टीको उदयलाई दुई प्रकारले हेर्नुपर्छ। स्थिर रूपमा अघि बढ्न सक्छ कि सक्दैन भन्ने कुरा उसको भूमिकामा भरपर्छ। स्वत्नत्र पार्टी जसरी आयो दुईवटा विषयसँग जोडिएको छ भन्ने मलाई लाग्छ। एउटा, राजनीतिमा धर्मको विषयमा चासो र सरोकार जति बढ्दै गयो त्यसले जनमतलाई ध्रुवीकरण गर्ने प्रयास गर्यो। शहरिया मध्यम वर्गमा नयाँ प्रवृत्ति देखापर्यो। एकथरी वैदिक सनातन धर्मप्रति रूची राख्नेहरूको झुकाव राप्रपाप्रति बढेर गएको देखियो। जति-जति वैदिक सनातन धर्मप्रति राजनीतिप्रतिको लगाव वृद्धि भएको छ। त्यसको काउन्टर पार्टको रूपमा पश्चिमा संस्कृतिको प्रभावमा रहेकाहरू स्वतन्त्र पार्टीतर्फ केन्द्रित भएको देखियो। अर्कोतर्फ रवि लामिछानेले टेलिभिजन कार्यक्रमको प्रस्तुतकर्ताको रूपमा जस्ता सामाजिक मुद्दा जसरी उठाउनुभयो। त्यसले एउटा जमात उहाँप्रति आकर्षित भयो। एक प्रकारले राष्ट्रका समस्या तथा बेथितिप्रतिको जनआक्रोशको रूपमा स्वतन्त्र पार्टीप्रतिको आकर्षण बढेको देखियो। यो चिजले त्यो पार्टीलाई अचानक बाहिर ल्याइदियो।
राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई ‘राइटिस्ट’ पार्टी भन्छ। तर उसले मत वामपन्थी झुकावका मतदाताको प्राप्त गरेको छ। वामपन्थी झुकावको भोट प्राप्त गर्नेले ‘राइटिस्ट’ विचार बोकेर लामो समय हिँड्न सक्छ कि सक्दैन भन्दा सक्दैन। उसको भोट बैंकको जे आधार छ त्योसँग पार्टीको चरित्र मिलेन भने त्यो भोट बैंक आफ्नै मान्यतातर्फ फर्कन्छ। उसले अहिले सामान्यत: भन्ने हो भने बलियो पार्टीलाई कमजोर पार्ने अन्तर्राष्ट्रिय मिसनबाट नेपाली जनमत प्रभाव भएको छ। त्यस अर्थमा एउटा कारण मात्र भन्न मिल्दैन। धर्मराजनीतिको प्रयोग पनि काउन्टरपार्टको रूपमा जोडियो। सामाजिक मुद्दा जोडियो र राष्ट्रिय पार्टीलाई बलियो हुन नदिने अस्थिरताको जुन खेलाडी छ्न् भित्री-बाहिरी त्यसको प्रभाव परेको छ भन्ने लाग्छ।
एकनाथ ढकाल जो परिवार दलमा हुनुहुन्छ, होली वाइन प्रकरणबाट विवादित हुनुहुन्छ। तपाईंहरूले उहाँलाई सांसद बनाउनुभयो। बरू धर्मको राजनीति त तपाईंहरूले पो गर्नुभएको हो कि! तपाईंहरूले पो एउटा भोट बैंकलाई आकर्षित गर्न खोजेको हो कि भनेर पो चर्चा भैराखेको छ त!
त्यो हामीले पाँच वर्षअघि गरेको सहमतिको कार्यान्वयन मात्र हो। माधव नेपाल पार्टीको महत्वपूर्ण नेता भएको बेला पार्टीसँग परिवार दललाई जोड्ने काम गर्नुभयो। त्यतिबेला समानुपातिकतर्फ परिवार दलले एमालेलाई साथ दिने र उहाँलाई समानुपातिक सूचीमा राख्ने भनियो। राखियो पनि। त्यो २०७४ को निर्वाचनको कुरा हो। तर उहाँ पर्न सफल हुनु भएन। उहाँको दाबी के रह्यो भने हामीले ठूलो सहयोग गर्यौं तर पार्टीले त्यसअनुसारको सम्मान गरेन भनेर बारम्बार गुनासो गर्ने स्थिति बन्यो। त्यो गुनासोलाई हामीले अन्त्य गरिदिएका हौं। पार्टीमा एकपटक सहमति गरेपछि त्यसलाई पालना नगर्ने कुरा उचित हुँदैन भनेर पालना गरेको हो।
तपाईंहरूले धार्मिक भोट बैंक तानेको त हो नि?
त्यस्तो होइन। हाम्रो पार्टी धर्म व्यक्तिको आस्था र विश्वासको कुरा हो र राजनीति धर्मबाट अलग हुनुपर्छ भन्ने मान्यतामा विश्वास राख्छ। त्यस अर्थमा राजनीतिमा कसैलाई धार्मिक मुद्दाका आधारमा तान्न खोज्दैनौं। त्यो जरूरी पनि छैन। परिवार दल आफैँमा राजनीतिक पार्टीको रूपमा नेपाली राजनीतिमा प्रवेश भएको र समानुपातिकतर्फ सहयोग गर्ने कमिटमेन्ट गरेको र समानुपातिकतर्फ जोड्दा प्रत्यक्षमा फाइदा हुन्छ भनेर त्यो काम गरेका हौं।
स्वतन्त्र पार्टीको कुरा गर्दा तपाईंले पश्चिमाको प्रभावको कुरा गर्नुभयो। तर नेपालका राजनीतिक दलप्रतिको वितृष्णा, तपाईंहरूले सुशासन दिन नसक्नुलगायत कारण त्यो पार्टीप्रति आकर्षण बढेको रूपमा लिनुहुन्न? वा आरोपका लागि विदेशीसँग भन्दियो, धर्मसँग जोडेपछि त मानिसहरूले प्रश्न गर्ने भएनन् भनेर हो?
मैले सामाजिक मुद्दाको कुरा गरे|। तपाईंले अघि भनेकै कुरा बिर्सनुभयो जस्तो लाग्यो। रेकर्ड फेरि रिप्ले गर्दा भइहाल्छ। मैले के भनेको भने राजनीति धर्ममा प्रवेश गर्दा त्यसको काउन्टर लाभ स्वतन्त्र पार्टीले प्राप्त गर्यो। टेलिभिजन एंकरको रूपमा उहाँले सामाजिक मुद्दा उठाउनुभयो त्यसको फाइदा प्राप्त गर्यो। तेस्रो कुरा नेपालको राष्ट्रिय पार्टीलाई बलियो हुन नदिने खेल छ त्यसको असर त्यहाँ पर्यो।
तपाईंले जसरी पश्चिमा प्रभावको कुरा गर्नुभयो। त्यसको मतलब स्वतन्त्र पार्टीलाई कुनै विदेशी शक्तिले प्रयोग गर्यो तपाईंहरूको विरूद्ध, तपाईंहरूलाई कमजोर पार्नका निम्ति?
म त्यो पनि भन्दिनँ। नेपालमा बलियो शक्ति निर्माण गर्न नदिने खेल छ भनेपछि कसकाविरूद्ध कसलाई प्रयोग गर्यो भन्ने कुरा नगरौं न। राजनीतिलाई धमिलो बनाउने काम किन गर्ने? हामीले नेपालका मामिलामा नेपालीहरू आफैं सक्षम छन् भन्ने खालको एउटा आत्मविश्वास पैदा गरौं। जे भएको छ त्यसलाई बुझौं र जोगिनपुर्छ भन्ने ठानौं। नेपालमा बलियो राष्ट्रिय शक्ति बन्न नदिने खेल छ भन्ने बुझ्ने कुरा मनमा राखौं। आफैं निर्णय गर्न सुरू गरौं।
तपाईंले राजनीति धमिलो पार्ने कुरा गर्नुभयो। स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री बन्नुभयो। जबकी उहाँको नागरिकता र पासपोर्टका विषयमा सार्वजनिक रूपमा प्रश्न उठेका थिए। तपाईंहरूले उहाँलाई भन्नुभएन- यो स्वार्थ बाझिने विषय हो?
उहाँ मन्त्रिपरिषदमा जाने भैसकेपछि जहाँ पनि स्वार्थ बाझिन्छ। हामीले प्रश्न उठ्नेबित्तिकै अभियुक्त ठान्नुभएन। प्रश्न उठेको मान्छे सबै दोषी हुन्छन् भन्ने हुँदैन। उहाँ के हो भन्ने कुरा त स्वतन्त्र निकाय छन् उनीहरूले आफ्नो हिसाबले विश्लेषण गर्लान्। गृहमा हुदाँ स्वार्थ बाझिएको हुने अनि क्याबिनेटमा हुदाँ स्वार्थ बाझिएको नहुने हुन्छ र!
जुन निकायले छानबिन गरिराखेको छ। त्यसकै नेतृत्व गर्न मिल्छ?
मुद्दा अदालतमा पनि परेको छ। त्यस अर्थमा निकायहरूले आफ्नो हिसाबले काम गर्छन् भन्नेमा विश्वास गरौं। सरकारमै भएकामाथि पनि छानविन भएर अभियोग प्रमाणित भएर कारबाही भएका पनि छन्। लामिछानेजी त्यसबाट अलग हुन पाउनुहुन्छ भनेर हामीले नेगोसिएशन गरेको होइन। प्रश्न उठ्नेबित्तिकै दोषी करार नगरौं। त्यसलाई उहाँले सफाइ दिने मौका पाउनुपर्छ। सफाइ पाउनुभयो भने सक्कियो। पाउनुभएन भने कानूनअनुसार हुन्छ।
तपाईंहरू अहिलेको गठबन्धनमा सबैभन्दा ठूलो दल हुनुहुन्छ। भनेपछि जिम्मेवारी बाँडफाँटमा पनि कतिपय कुरामा तपाईंहरूले अडान लिनुहुन्छ भन्ने अपेक्षा हुन्छ नि?
३२ सिटकोले प्रधानमन्त्री पाएपछि हामी प्रधानमन्त्री छाड्नेले गृहमन्त्रीमा दाबी गर्ने कुरा भएन। २० सिटको दलले गृहमन्त्री माग्दा अन्यथा ठानेनौं। एमालेले गठबन्धन जो मुलुकका लागि अभिशाप भएको थियो त्यसलाई तोड्ने कुरा मुख्य बनाएका थियौं। त्यसअर्थमा पदीय भागबन्डामा उदार बन्नुपर्छ भन्ने नीति अख्तियार गरेका छौं।। त्यही नीतिअन्तर्गत सहज मान्यौं। फेरि काम गर्छु भनेर देखाउन खोज्नेलाई गृह मन्त्रालय किन भने सबैभन्दा ज्यादा सामाजिक विषय उठाउने ठाउँ हो। गरेर देखाउनुभयो भने त मुलुकलाई लाभ नै हुन्छ त। केही गर्छु भन्नेलाई काम गर्न दिनुपर्छ भन्ने मान्यताअन्तर्गत हामीले उहाँले खोजेको ठाउँ दिएका छौं। अरूले पनि खोजेका ठाउँ पाउँछन् भन्ने अर्थमा लिनुपर्छ।
अन्त्यमा एमाले र माओवादी पार्टी एकता नै गरिसकेका दल हुन्। आगामी ५ वर्षपछि पनि केपी ओली र प्रचण्ड नै शक्तिमा रहेर पार्टी अघि बढ्छ?, तपाईं के देख्नुहुन्छ?
राजनीतिक पार्टी भनेको के हो भने निरन्तरत गतिशील प्रवाहमा अगाडि बढ्छ। हिजो जो थिए आज तिनीहरू छैनन्। आज जो छन् भोलि तिनीहरू हुने छैनन्। त्यो अमुक व्यक्तिमा मात्र केन्द्रीत गरेर तपाईंले प्रश्न गर्नुभएको छ भने त्यसको उत्तर अहिले नखोजौं। पार्टीका हिसाबले भन्ने हो भने जो आज छन् भोलि नरहन सक्छन्। त्यसमा पार्टी अध्यक्षका हिसाबले सोध्नुभएको छ भने पनि बुझ्दा भयो। अन्य पदमा भएकाहरू पनि नरहन सक्छन्। पार्टी आन्दोलन भनेको गतिशील कुरा हो। पाँच वर्ष पछाडि के हुन्छ भन्ने कुरा समयलाई छाडिदिउँ न।
सैद्धान्तिक रूपमा जे आज छ त्यो भोलि बदलिन्छ। निषेधको निषेधसम्बन्धी अवधारणालाई नेपालमा अलिक यान्त्रिक ढंगले बुझ्ने प्रयास गरियो। परिवर्तनका प्रक्रिया तीन पक्ष हुन्छन्। एउटा, पतनशील पक्ष। अर्को, सापेक्षित स्थिर पक्ष र तेस्रो विकासमान पक्ष। पतनशील छुट्छ। स्थिर पक्ष रहन्छ। तर त्यसमा केही नयाँ थपिन्छ। जसलाई हामीले गतिशील भन्छौं। आज जो स्थिर भनिएको छ त्यो भोलि पतनशील पक्षमा रूपान्तरण हुन्छ। आज जो गतिशील भनिएको छ त्यो भोलिका लागि स्थिर पक्ष हुन्छ र फेरि नयाँ रहन्छ। त्यो संस्थाहरू नै जीवन्त हुन्छ। तर कुनै पनि संस्थाहरूमा यो चक्र पूरा हुन सकेन भने ती संस्थाहरू विगतको हाम्रो टंकप्रसाद आचार्यको प्रजा परिषद जस्तै हुन्छ। जसले यो प्रवाह बुझ्न सक्दैन त्यो बिलाएर जान्छ। त्यस अर्थमा राजनीतिक दलहरूको जीवन्तता तीन वटा प्रवृतिलाई सही ढंगले सम्बोधन गर्ने कुरा भित्रै हुन्छ। केहीलाई निरन्तरता दिनुपर्ने हुन्छ केही समयका लागि। केहीलाई बिदा गर्नुपर्ने हुन्छ। केही नयाँ खोजेर ल्याउनु पर्ने हुन्छ। त्यही भएर हामी एक तिहाइको कुरा गर्छौं। नयाँ सिक्नेहरू एक तिहाइ आऊन्। काम गर्न सक्ने एक तिहाइ हुन् र अनुभवीहरू एक तिहाइ हुनुपर्छ। यो ढाँचाबाट हामी आन्दोलनको विकासको कुरा गर्छौं।
मेरो प्रश्न तपाईंहरू कहिले नेतृत्वमा आउने भनेर हो?
सबै नेतृत्वमै छौं। नेतृत्वभन्दा बाहिर छैनौँ त।
अहिले सत्ताको आलोपालोको समझदारी छ। यसपछि केपी शर्मा ओली आउनुहुन्छ। त्यसपछि पनि प्रचण्डको आकांक्षा सकिएको रहेनछ भने उहाँको व्यवस्थापन गर्नुपर्ला। उहाँलाई राष्ट्रपतिमा व्यवस्थापन गर्नुभयो भने एउटा सिनारियो होला। हैन सत्तामा निरन्तरता चाहनुभयो भने अर्को सिनारियो बन्ला। त्यो हिसाबले राजनीतिमा कतै पुस्तान्तरण रोकिने हो कि?
त्यस्तो हुँदैन। त्यस्तो भयो भने राजनीतिक दलहरू कमजोर भएर जान्छन्। राजनीतिक पार्टीको जीवन गतिशिलतामै हुन्छ। त्यसलाई रोक्नुभयो भने त्यो राजनीतिक पार्टीले औचित्य गुमाउन थाल्छ। त्यसअर्थमा त्यस्तो गल्ती राजनीतिक दलहरूले गर्दैनन्।
तर कसको समय कतिबेला पुग्यो भन्ने कुरा त राजनीतिक आन्दोलनले आफैं मूल्याङ्कन गर्छ। हामीले बाहिरबाट यसको समय पुग्यो भनेर घोषणा गरेर हुँदैन रहेछ। अस्ति एउटा सन्दर्भ आएको थियो- देउवाजी असफल भएपछि अब कांग्रेसभित्र देउवा कमजोर भए भन्ने तरंग पैदा भयो। तर जब प्रदेशको चुनाव आउन थाल्यो। त्यसपछि देउवाइतरका अझ कमजोर भएर गए। राजनीति त सोझो बाटो हिँड्दो रहेनछ नि त।
बाहिरका सतही विश्लेषणले सत्यतालाई बोध गर्दैनन्। सत्यता भनेको पार्टीको आन्तरिक जीवनबाट प्रकट हुन्छ। बाहिरको माहौलले सबै कुरा निर्धारण गर्दैन। आन्तरिक जीवनलाई प्रभावित गर्ने सामर्थ्य उसले राख्नुपर्छ। पार्टी भनेको त्यही हो। यद्यपी समाजसँग तादम्यता भयो भने त्यो अझ जीवन्त हुन्छ। तर पार्टी भित्रको आन्तरिक संरचनालाई उसलाई प्रभावित गर्ने सामर्थ्य राख्नुपर्छ। नेतृत्वका सन्दर्भमा।
नेतृत्व विकासका दुई वटा प्रक्रिया हुन्छ। एउटा विद्रोहको बाटोबाट। अर्को विकासको बाटोबाट। तपाईं रिभोलुसन वा इभोलुसन भन्नुस्। आखिर प्रक्रिया दुनियाँमा हुने त्यही हो। आज नेपालका राजनीतिक दलभित्र विद्रोहको प्रक्रियाबाट नेतृत्व निर्माण गर्ने अवस्था कम छ भन्ने लाग्छ। इभोलुसनको प्रक्रियाबाट नेतृत्व निर्माणको प्रक्रियामा प्रवेश गरेका छौं। नेपालको राजनीतिभित्र आन्दोलनहरूले आफैं नेतृत्व विकास गरे। त्यो चिज सम्भव छ कि छैन भन्दा गाह्रो छ।
नयाँ पार्टी आयो भने नयाँ नेतृत्व लिएर आएका छन्। स्थापित पार्टीहरूले भने इभोलुसनबाटै नेतृत्व निर्माण गर्छन्।