भोजपुरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुदन किराती ४३ वर्षका भए। नेकपा (माओवादी केन्द्र) का नेता किरातीले अहिलेसम्म तीन पटक प्रत्यक्ष निर्वाचन जितिसकेका छन्।
२०६४ मा २८* वर्षकै उमेरमा निर्वाचन जितेका किरातीले २०७० मा हारेका थिए। २०७४ र २०७९ मा उनले निर्वाचन जितेका हुन्।
१० वर्षे जनयुद्धमा भूमिगत र जेल जीवनसमेत बिताएका किरातीले यस पटक मन्त्री हुने चाहना राखेका छन्। तीन पटकसम्म निर्वाचन जितिसकेकाले मन्त्री पद आफ्नो दाबी नभइकन स्वाभाविक अधिकार भएको किरातीको भनाइ छ।
‘अहिले सांसदकै भूमिकामा रहे भने विगतको भन्दा राम्रो काम गर्न प्रयास गर्छु। कार्यकारी भूमिकामा पाए भने जनताको लागि अझै केही गर्छु,' सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै किरातीले भने,‘यो व्यवस्थामा तेस्रो पटक जितेर आउँदा पनि मन्त्री हुन बाँकी म मात्रै होला सायद। त्यसैले यो पटक त मन्त्री मेरो माग र दाबीभन्दा पनि स्वाभाविक अधिकार हो भन्ने लाग्छ।’
माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका सांसद किरातीसँग हामीले उनको तीन पटकसम्मको संसद यात्रा, उनले गरेको राजनीतिक संघर्ष र माओवादीभित्रको भद्रगोल अवस्थाबारे हामीले उनीसँग भिडिओ कुराकानी गरेका छौं।
यस कुराकानीमा मुख्य अंश:
-यस पटकको निर्वाचनमा पार्टी अध्यक्ष भोजपुर गएर जिताएर पठाउनुस् म क्षतिपूर्ति सहितको जिम्मेवारी दिन्छु भन्नुभएको थियो। अध्यक्षको भनाइलाई जनताले अनुमोदन गरेका छन्। उहाँ आफैं प्रधानमन्त्री भइसक्नुभएको छ। मलाई जनतासँग जोडिने मन्त्रालय दिइयोस् भन्ने हो। विदेश जाने र गोष्ठीमा जाने लगायतमा मेरो रूची छैन।
-जनतालाई भगवान मान्नुपर्यो, जनताको सुख दुःखमा साथ दिनुपर्यो, जनताको मन जित्नु भनेकै चुनाव जित्नु रहेछ। गठबन्धन गरेर टुरिष्ट प्रकृतिको उम्मेदवार पठाउँदैमा चुनाव जितिँदैन। मोबाइलमा पैसा ट्रान्सफर भएजस्तो भोट ट्रान्सफर हुन्छ भन्ने नसोच्दा हुन्छ।
-हुन त यो गठबन्धन राजनीतिक आधारमा भएको हो। तर पटक-पटक गठबन्धन फेरिरहँदा केही असर पर्दो रहेछ। सत्ताकै लागि यताउता गरेको हो कि भन्ने पर्ने रहेछ। अबको निर्वाचनमा अर्कै गठबन्धन बन्न पनि सक्छ। किनकी राजनीतिमा असम्भव भन्ने हुँदैन।
-मैले भन्दा कसैको चित्त दुख्न पनि सक्छ। तर त्रिपक्षीय प्रतिस्पर्धा भएको भए मैले एक्लै पनि चुनाव जित्न सक्थें।
-म पहिलो पटक २०६४ मा निर्वाचन लड्दै गर्दा सांसद हुन्छु भन्ने थिएन। गाँउको केटो सिंहदरबार आउँदा २६ वर्षकै थिएँ। त्यो बेला यहाँको सहर बुझ्दैमा गयो। यद्यपी संविधान निर्माणमा मैले जाने/बुझेको गरें।
-दोस्रो कार्यकालमा म नेपालका सफल सांसदमध्ये एक भएँ। जितेपछि गाउँ आउँदैनन् भन्ने परम्परालाई मैले तोडेको हो। म जनताको दुःखमा जहिले पनि उतै भएँ। राम्रो त के भन्ने तुलनात्मक रूपमा म सफल भएको हो।
-राजनीतिको र नुबझेको पृष्ठभूमिबाट म आएको हो। जनयुद्धमा लाग्दै गर्दा ३/४ महिना पनि नबाचिएला भन्ने थियो। मैले धेरै ठूलो सपना कहिले पनि देखेको थिइनँ। अहिले पनि मेरो ठूलो अपेक्षा छैन।
- हाम्रो पार्टीमा केही भद्रगोल छन् होला। तर हामीले यो व्यवस्था ल्याउनका लागि धेरै ठूलो योगदान गरेका छौं। हामी सुध्रिनु पर्ने धेरै छ। हिजो यो पार्टी शक्तिशाली थियो। अहिले कमजोर भएको छ। हिजोको अवस्थामा फर्काउने चुनौती हामीसँग छ। हामीले त्यसका लागि धेरै गर्नुछ।
-पार्टीको विशेष महाधिवेशन हुन्छ। त्यो महाधिवेशनले पार्टीलाई ठीक ट्रयाकमा लैजान्छ।
*यसअघि अन्यथा पर्न गएकाले सच्याइएको।