अन्तर्वार्ता
नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग सेतोपाटीले संसदीय दलको निर्वाचन लड्नुअघि कुराकानी गरेको थियो। त्यति बेला उनी दलको नेता निर्वाचित हुने आत्मविश्वासका साथ खडा थिए।
गगन दलको नेतामा पराजित भए। यसबीच कांग्रेसले मुखैमा आएको सत्ता पनि गुमायो।
संसदीय दलको चुनाव र नेकपा माओवादी केन्द्रसँग भएको गठबन्धन टुटेर सत्ता विमुख हुनु परेको स्थितिबारे गगन थापासँग सेतोपाटीका मनोज सत्यालले कुराकानी गरेका छन्।
अघिल्लो अन्तर्वार्ताकै निरन्तरताका रूपमा गरिएको कुराकानीको सम्पादित अंशः
तपाईंले संसदीय दलको निर्वाचनअघि जित्ने 'कन्फिडेन्स' देखाउनुभएको थियो। तर संसदीय दलको नेतामा शेरबहादुर देउवाले ६४ मत ल्याउँदा तपाईंले २५ मत ल्याउनुभयो। कांग्रेस महाधिवेशनपछि बनेको शेखर कोइराला र गगन थापाको समूहमा ३२ जना सांसद थिए। तपाईंलाई कसले भोट दिएन र किन दिएन?
कसले मत दिएन भन्दा त थाहा छैन नै भन्नुपर्यो। तर पार्टीको अधिवेशन र संसदीय दलको उम्मेदवार बन्ने बेलामा कसले कसका लागि पहलकदमी लियो भन्ने प्रस्ट देखियो। हाम्रो समूहमा ३० जना थियौं। महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेल जोडिएपछि ३२ जना भयौं।
हामी ३२ जना छँदैछौं, थप ७-८ मत सजिलै पाउन सक्छु भन्ने मेरो अपेक्षा भयो। मेरो सम्बन्धका हिसाबले पनि संसदमा ३९ देखि ४० जना हाराहारीको समर्थन छ। त्यो भनेको सभापति देउवासँग 'नेक टू नेक' भयो। त्यसैले जित्ने सम्भावना छ भन्ने लाग्ने नै भयो। त्यसअनुसार प्रयत्न पनि गरेँ। मलाई अर्को समूहका चार जना साथीले मत दिएको देखिन्छ। यसरी हेर्दा आफ्नै समूहका ११ जना साथीले मत नदिएको देखिन्छ। तर फेरि संसदमा यसो साथीहरू हेरेर मनमनै जोड्दा ४० पुग्दो रहेछ!
त्यसैले मैले के सोचेँ भने यो पार्टीभित्रको चुनाव हो। मेरा प्रस्तावक र समर्थक नेताहरूलाई धन्यवाद दिने हो। साथीहरूमध्ये जोसुकैले पनि मत हालेको हुन सक्छ भन्ने अनुमान र अपेक्षा गर्ने हो। बाँकी साथीहरूलाई आफ्नो बनाउन प्रयास गर्ने हो। यसमै अब धेरै अड्किन भने चाहँदिनँ।
तपाईंले मत किन दिएनन् भन्ने कारण पत्ता लगाउनुभयो? उनीहरूलाई मन्त्री बन्ने चाहना वा हामीभन्दा जुनियरलाई किन नेता मान्ने भन्ने थियो कि? तपाईंले कसरी हेर्नुभएको छ?
वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी सभापतिको प्रस्तावक बस्नुभयो। आफू प्रस्तावक बसेको उम्मेदवारलाई जिताउनुपर्छ भन्ने भएर होला, थप मेहनत पनि गर्नुभयो। शशांक कोइरालाले पनि 'म त मन्त्री हुने हो, शेरबहादुर देउवालाई नै समर्थन गर्ने' भनेर खुलेरै भन्नुभयो। लाग्नुभयो। त्यसले पनि केही न केही प्रभाव पार्ने नै भयो।
कतिपय साथीहरूलाई भने निर्वाचनको परिणाम जेसुकै होस्, 'फाइट' गर्नुपर्छ, लडिएन भने पार्टीभित्र फरक मत छ भन्ने पनि हुँदैन भन्ने लागेको थियो। तर परिणाम हाम्रो पक्षमा नआउँदा यो तर्कमा सहमत हुनेले पार्टीभित्रै दण्डित हुनुपर्छ कि भन्ने पनि लाग्यो। जो जता उभिए पनि पार्टी नेतृत्वले 'फेयर' व्यवहार गर्छ भन्ने भएन र 'फियर' अर्थात् डर भयो। मन्त्री बन्ने अवसर गुम्ने मात्र होइन, अतिरिक्त अप्ठ्यारा पनि आइपर्न सक्छन् भन्ने पनि सोच्नुभयो होला।
तर यी सबै कुरामा म अल्झिन्नँ। नोटसम्म गरेर विश्लेषण गर्ने र अगाडि बढ्ने हो।
संसदीय दलको निर्वाचनअघिको परिदृश्य हेर्दा, नबोले पनि शेखर कोइराला पनि चुनाव लड्ने तयारीमा हुनुहुन्थ्यो। अन्तिममा तपाईं र शेखर कोइरालाबीच समझदारी भयो। आगामी महाधिवेशनपछिको निर्वाचनको सभापति शेखर कोइरालालाई दिने निर्णय लिएर यो चुनाव लड्नुभयो। तपाईंले हार्ने चुनाव रोजेर सभापति 'गुमाउनु' भयो भन्ने विश्लेषण पनि छ नि!
मैले अब के हुन्छ, के होला भनेर कहिल्यै पनि आफ्नाबारेमा एकदमै हिसाबकिताब गरेर निर्णय गरेको छैन। मेरो ब्रह्मले देखेका आधारमा यो बेलामा यो गर्नु ठीक भनेर निर्णय गर्दै आएको हुँ।
म शेखर कोइरालासँग कृतज्ञ छु। उहाँलाई कति साथीले 'तपाईं आफैं लड्नू, प्रस्तावक नबसिदिनुहोस्' भनेर दबाब दिनुभयो। तर शेखरले कांग्रेसको परिवर्तनको वेगलाई म बुझ्छु, सम्मान गर्छु भन्नुभयो। त्यसो हुँदा पार्टीभित्र स्थायित्वको निरन्तरतालाई हामीले पनि सम्मान गर्नुपर्छ भनेर हामीले भन्यौं।
संसदीय दलको निर्वाचनमा जो मेरा प्रस्तावक, समर्थकहरू हुनुहुन्छ, उहाँप्रति म कृतज्ञ छु। भोलिका दिनमा जहाँनेर मद्दत गर्ने हो त्यो ठाउँमा म चुक्नु हुँदैन। तर अहिले नयाँ सन्दर्भ आएको छ। अब महाधिवेशनमा म के बन्ने वा अर्को के बन्ने भन्ने विषय नै गौण भएको जस्तो लागेको छ।
मैले एकदमै ठूलो संकट आएर बर्बादै भयो भन्न खोजेको चाहिँ होइन। तर यो अवस्थामा प्रत्येकले आआफ्नो निजी कुरा छाडेर कांग्रेस पुनर्निर्माण र जरैबाट फेरि उकास्नेबारे सोचेन भने पार्टीलाई यो अप्ठ्यारो संकटबाट बाहिर निकाल्न गाह्रो हुन्छ।
त्यसैले अगाडिको यात्रामा शेखर कोइरालालाई नेता मानेर, विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई सँगसँगै लिएर जाने कुराका लागि म खुला छु। पार्टी पुनर्निर्माण, शुद्धीकरण र पार्टीको आत्मा खोज्ने कुरामा सबैको साथ र सहयोग होस्, कुरा यत्ति हो!
संसदीय दलको चुनावबारे अन्तिम प्रश्न- तपाईंले फेरि पनि संसदीय दलको चुनाव लड्ने कुरा गर्नुभयो। पाँच वर्ष पछाडिको कुरा गर्नुभएको हो कि यही पाँच वर्षे कार्यकालभित्र दलको चुनाव हुन्छ र तपाईं फेरि लड्नुहुन्छ?
मैले यो पाँच वर्षको कार्यकालभित्रकै कुरा गरेको।
मेरो अनुमान भनौं वा मलाई लाग्ने कुरा के भने- कांग्रेस वा अर्को कुनै पार्टीका मतदाताहरूले दलको नेता चयन गर्न पाए भने बहुसंख्यकले पार्टी नेतृत्व बदलियोस् भन्ने नै चाहना राख्छन् तर नेतृत्व बदलिँदैन।
नेतृत्व दुई तरिकाबाट आउँछ। एउटा महाधिवेशनबाट पार्टीको नेतृत्व आउँछ। अर्को संसदीय चुनावबाट संसदको नेतृत्व आउँछ। तर त्यो दुवै नेतृत्व बदलिँदैन। यसले राजनीतिक दल र जनताबीचको सम्बन्ध टुटेको छ भन्ने देखाउँछ। पार्टीभित्र जनताको इच्छाको प्रतिनिधित्व छैन भन्ने हुन्छ।
त्यसैले हामीले प्रयास गरेका हौं। पार्टी अधिवेशनमा प्रयास गर्यौं, सकेनौं। अर्को अधिवेशनमा पनि प्रयास गर्छौं। संसदीय नेतृत्वभित्र पनि प्रयास गर्यौं। एकपटक परास्त भएपछि फेरि प्रयास गर्ने ठाउँ हाम्रो विधिविधानले दिएको छ। कांग्रेसको संसदीय फाँटको नेतृत्व बदलियोस् भन्ने जनताको चाहना छ भन्ने मलाई लाग्यो र मैले प्रयास गरेँ। म पुग्न सकिनँ तर पुर्याउने प्रयास निरन्तर गरिराख्छु। किन नयाँ नेतृत्व आउनुपर्छ भनेर साथीहरूलाई भनिरहन्छु। मैले पाएको २५ मतलाई ५० पुर्याउने कोशिस लगातार गरिरहन्छु। जुनदिन ५० हुन्छ, त्यो दिन ल अब नेतृत्व बदलौं भनेर अगाडि बढ्ने हो।
संसदीय निर्वाचन परिणामले कुनै दललाई बहुमत दिएन। यसले दलहरू बीचको गठबन्धन हेरफेर हुनसक्ने भयो भनेपछि यो पाँच वर्षभित्र तपाईं फेरि संसदीय दलको नेता बनेर फेरि प्रधानमन्त्री बन्न सकिन्छ कि भन्ने कोशिस पनि हुन्छ?
कांग्रेस आज सबभन्दा ठूलो दल छ। त्यसैले हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर पार्टीले नै कुनै बेला सोच्ने, हेर्ने वा प्रयत्न गर्ने कुरा स्वाभाविक हो।
तर मैले सोचिराखेको कुरा के भने, प्रतिपक्षमा होस् वा सरकारमा, कांग्रेस जहाँनिर देखिए पनि पार्टीको नेतृत्व नयाँ खोजिएको छ। र, कांग्रेसलाई मत हाल्ने मान्छेले नै खोजेका छन्। नयाँ नेतृत्व भयो भने नयाँ मतदाता थपिन्छन्। त्यसैले जे सुकै होस्, हामीले नेतृत्व बदल्ने कोशिस गर्नुपर्छ।
अब सरकारको कुरा गरौं, नेपाली कांग्रेस गठबन्धन गरेर चुनावमा गयो तर त्यसअनुसार सरकार बनेन। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमालेसँग गठबन्धन गरेर सरकारको नेतृत्व लिनुभयो। तपाईं निर्वाचनअघि गठबन्धन गर्नुहुन्न भन्ने पक्षमा हुनुहुन्थ्यो। तैपनि गठबन्धन गरेरै गइसकेपछि त्योअनुसार सरकार किन बनेन?
चुनावअघि गठबन्धन गर्नु हुँदैन भन्नुको कारण त्यसले मतदाताको छनौटलाई कमजोर बनाउँछ, उसले मत हाल्ने कुरालाई संकुचित बनाउँछ।
कांग्रेसलाई यसले रणनीतिक रूपमा पनि फाइदा गर्दैन। किनकी हामीले कम्युनिस्ट पार्टीसँग गठबन्धन गरेका थियौं। कुनै पनि बेला, कुनै पनि नाममा, कुनै पनि बैठकबाट कम्युनिस्ट, कम्युनिस्ट एक हुनुपर्छ भन्ने कुरा आउन सजिलो थियो।
अर्को, हामीसँग निर्वाचनअघिको गठबन्धन थेग्ने संस्कृति र नेतृत्व छैन। त्यसकारण नगरौं भनेका हौं। तर त्यो बेला हप्कीदप्की भयो, सकियो। पार्टीमा मत बनाउने कोशिस गर्ने हो, नभएपछि पार्टीको मत मान्नुपर्छ।
गठबन्धन गर्ने नै निर्णय भएपछि मैले अर्को कुरा राखेँ– पहिला सिटको भागबन्डा नगरौं, गठबन्धनले पाँच वर्ष सरकार बनायो भने के गर्छ भन्ने कुरामा काम गरौं। अलिदिन गन्थन, बहस र वादविवाद गरौं र लिखत लिएर जनतामा जाऔं। त्यसो भयो भने जनतासँग गठबन्धन जोडिन्छ। केका लागि भन्ने कुरा हुन्छ। त्यसले हामीलाई चुनावपछि कार्यक्रमले पनि बाँधिराख्छ, खाली सिटको बाँँडफाँट मात्र हुँदैन।
मैले यसो भन्दा नेताहरूले एकदमै राम्रो कुरा भन्नुभयो। एउटा समिति पनि बन्यो तर खासै काम भएन। नेतृत्व नै तयार नभएपछि कामै भएन अनि गठबन्धन सिट संख्याको कुरामा मात्र सीमित भयो। जनतासँग जोडिएन।
त्यसपछि पनि मैले लगातार कुराहरू राखिरहेँ– चुनावअघिको यस्तो गठबन्धनमा नेताहरूबीच लेनदेन र आलोपालोको कुरा हुन्छ भने यसलाई खुला र पारदर्शी गर्नुहोस् नभए त्यसले डुबाउँछ। पहिला केपी ओली र प्रचण्डबीचको समस्या पनि त्यही हो। सुशील कोइराला र केपी ओलीबीचको समस्या पनि त्यही थियो। यी सबै कुरा खुला र पारदर्शी नहुँदा हामीलाई केही पनि थाहा हुँदैन। एक नेताले एउटा कुरा भन्छ, अर्कोले अर्को।
कांग्रेस, माओवादी, समाजवादी एक ठाउँ भएर निर्वाचन लडेका छन्। निर्वाचनपछि यी कुनै पनि दलले एमालेसँग वार्ता गर्न मिल्छ? समानान्तर वार्ता यसले गर्यो, उसले गर्यो भन्न मिल्छ? यो अधर्म हो। कसैले गर्न मिल्दैन। चुनावअघि नै गठबन्धन गरिसकेकाले कुरा मिलेन भनेर उठ्न पाउने सुविधा कोहीसँग हुँदैन। चुनावपछिको गठबन्धन भए भन्न पाइन्थ्यो।
प्रचण्डलाई गोर्खामा कांग्रेसका मतदाताले मत दिए। म काठमाडौंको सांसदलाई माओवादी र समाजवादीले मत दिए। हामीले ती मतदातालाई हिजो 'हामी त एउटै हौं' भन्यौं। अहिले 'आलोपालोमा हाम्रो कुरा मिलेन' भन्यौं।
अहिले वरिष्ठ नेता रामचन्द्र पौडेल 'हामीले बोलेका कुरा पूरा गरेनौं' भनिराख्नुभएको छ। कति नेताले 'एमालेले हामीलाई दिन्छु भनेको थियो, दिएन, धोका दियो' भनिराख्नुभएको छ। एकअर्काले धोका दिएको, पाएको कुरा आइरहेको छ। बन्द कोठाभित्र भएका कुरा हामीले अनुमानसम्म लगाउने भयौं। हामी खुला र पारदर्शी भएनौं।
सरकार गठनका विषयमा शेरबहादुर देउवाले म पहिला प्रधानमन्त्री हुन्छु भन्नुभयो। तपाईं त्यसलाई कसरी हेर्नुहुन्छ? कांग्रेस सबभन्दा ठूलो पार्टी हो। त्यस हिसाबले दाबी गर्नु स्वाभाविक थियो वा गठबन्धन जोगाउने शर्तमा दाबी छाड्नुपर्थ्यो?
पार्टी बैठकमा हामीले कांग्रेस सबभन्दा ठूलो दल भएकाले हाम्रो नेतृत्वमा सरकार बनाउने भन्यौं। अरू पार्टीले पनि दाबी प्रस्तुत गरे। यो कुरा मैले अनुमान लगाएको हुँ किनभने म बैठकमा थिइनँ। हामीले सुने-पढेअनुसार अरूले पनि दाबी गरेपछि आआफ्नो पार्टीमा फर्केर छलफल गर्ने कुरा भयो।
कांग्रेसले दाबी छाड्दै छाडेन, के गर्ने भनेर माओवादीले छलफल गर्यो होला।
कांग्रेसले पनि हामी ठूलो पार्टी हौं, तर माओवादीले मानेन भनेर छलफल गर्थ्यो होला। के गर्थ्यो भन्ने थाहा छैन मलाई। तर फराकिलो छलफल र बहस भएको भए, पार्टीले संस्थागत ढंगले काम गरेको भए ठीक ठाउँमा उभ्याउँथ्यो होला।
पछि हामीले सरकार गठनको कुरा गर्यौं, त्यति बेला राष्ट्रपतिको विषय पार्टीमा उठेकै थिएन। तर हामीले राष्ट्रपति र सभामुखको कुरा पनि सँगसँगै छलफलमा आएको भन्ने सुन्यौं। प्रधानमन्त्री पाउँदै गर्दा राष्ट्रपतिका विषयमा पार्टीमा केही छलफलै भएको थिएन।
'प्रधानमन्त्री पाउने भयौं तर राष्ट्रपति छाड्नुपर्ने भयो, के गर्ने' भनेर छलफल गरेको भए एउटा कुरा हुन्थ्यो होला। वा 'राष्ट्रपति र सभामुख पाउने भयौं, प्रधानमन्त्री छाड्नुपर्ने भयो के गर्ने' भनेर छलफल गर्न सकिन्थ्यो। भएन।
बीचमा धेरै घटनाक्रम विकास भए। त्यसबारे कार्यसम्पादन समिति वा पदाधिकारी वा पार्टीका केही नेता साथीहरू बसेर छलफल गर्ने कुरा हुन्थ्यो होला। तर पार्टीका केही नेताले आफूहरू बसे पुगिहाल्छ भन्ने ठान्नुभयो होला!
गठबन्धन टुट्दा घाटा त कांग्रेसलाई नै भयो!
२०७४ सालमा एमाले र माओवादी मिसिएर एउटा ठूलो पार्टी बन्यो। हामी हार्यौं। त्यो बेला पनि ठूलो पीडा, रिस र आक्रोश भयो। तर दुई पार्टी मिलेकाले हामी हार्यौं, कतिपय ठाउँमा थोरै मतले मात्र हारेका छौं, भोटको प्रतिशत पनि खास घटेन, बरू बढ्यो भन्ने भयो।
यसपटक भने कांग्रेस आफ्नै तागतमा लड्नुपर्छ भन्ने थियो। महाधिवेशनताका जिल्लाहरूमा जाँदा पनि कुनै हालतमा गठबन्धन गर्नु हुँदैन भन्ने कुरा उठेको थियो। यस्तोमा हामीले गठबन्धनको विकल्प छैन भन्दै कांग्रेसलाई ९० सिटको सेरोफेरोमा चुनाव लडायौं र जित्यौं। तर हाम्रो ६ देखि ७ लाख मत घट्यो।
यी सबै चरण पार गरेर यहाँसम्म आइसकेपछि अब वैकल्पिक गठबन्धन बन्ने कुराले हामीले धोका पाएजस्तो, हामी छलिएको जस्तो भयो। हिजो गठबन्धन नगरौं भन्नेहरू चुनावमा कोही कलमको त कोही हँसिया र हतौडाको झन्डा बोकेर हिँड्नुभयो। अहिले उहाँहरूलाई पीडा र छटपटी भएको देख्छु। यो घाटा ठूलो कुरा हो।
राजनीतिक दल त कहिले सरकारमा रहन्छ, कहिले रहन्न। तर पार्टीका साथीहरूलाई कसरी सम्हाल्ने? कसरी फर्काउने?
हिजो गठबन्धनमा सहयोग नगर्नेलाई कारबाही गर्ने भन्यौं, यसविरूद्ध बोल्नेले हप्की खाए। अब हामीले के भन्ने? के गर्ने? ठूलो अलमल छ। यसलाई सम्हाल्नुपर्छ।
यो धोका खानुमा जस-अपजस सभापतिको हो कि होइन?
केही दिनभित्र पार्टीको बैठक छ। के भएको हो भन्ने कुरा हामी पहिला सभापतिको मुखबाट सुन्न चाहन्छौं। अहिले त सञ्चार माध्यमबाट मात्र थाहा पाएको हो।
संसदीय दलको चुनाव सकिनेबित्तिकै पार्टी सभापतिलाई फोन गरेर मैले बधाइ दिएको थिएँ।
'दाइ (देउवा) लाई मेरो सम्पूर्ण सहयोग रहन्छ, तपाईंले कहिले बोलाएर अब कसरी अगाडि बढ्ने कुरा गर्नुपर्छ' भनेँ। उहाँले 'ठीक छ, ठीक छ म बोलाइहाल्छु' भन्नुभयो।
पार्टीको महामन्त्रीको हिसाबले, संसदीय समितिको सदस्यका हिसाबले, उहाँसँग प्रतिस्पर्धा गरेको हिसाबले मलाई ती कुराहरूमा सहभागी गराइनुपर्थ्यो र उहाँले सहजतापूर्वक लिनुपर्थ्यो। त्यो भएन। अब यसको पनि निर्मम समीक्षा हुन्छ नि! अब बैठकमा त गठबन्धन गर्ने भनेको बेलादेखिको कुरा छलफल गर्नुपर्छ।
'गठबन्धन नगरे पार्टी सकिन्छ, डुब्छ, यो गठबन्धन १५ वर्ष चल्छ' भनेको, एक जनाले 'यसविरूद्ध बोल्लास्, खबरदार' भन्दै हप्की खाएको सम्झिन्छु अहिले। अब ती व्यक्ति, प्रवृत्ति र घटनाबारे मात्र होइन, कांग्रेसले किन र कसरी यस्तो सोच्यो भन्ने विषयमा बैठकभित्र र बाहिर पनि निर्मम समीक्षा हुन्छ।
तपाईंले पोखरा गएका बेला आफूलाई अपमानित महसुस भएको पनि भन्नुभयो। कांग्रेसकै देउवा पक्षका सांसदले भने हामीले सांसदहरूलाई बाहिर नजान भनेर मेसेज नै पठाएको थियौं भन्नुहुन्छ। बाहिर जान पनि मिल्दैन थियो भन्ने छ। महामन्त्रीका रूपमा तपाईंले पनि नेताहरू भेट्ने र कुरा गर्ने गरेको भए हुन्थ्यो। तपाईं किन कुराकानी पनि नगरी बाहिरबाहिर बस्नुभएको?
(हाँसो।)
आफूलाई सही कुरा बोल्ने हिम्मत भएन भने मान्छेले यस्तैयस्तै कुरा गर्छ। हामीले भन्यौं नि, भनेनौं होला त!
सभापतिले 'पार्टीको बैठक राखेर निर्णय भोलि सुनाउँछु' भन्नुभन्दा पछाडिको न कुरा हो। त्यसभन्दा अघि त नेताहरू भेट्ने, फोन गर्ने, भन्ने, विकल्पहरूबारे छलफल गर्ने काम भइरहेकै हो नि।
सभापतिसँग कुरा गर्नु र बैठकमा भन्नु त फरक हो। बैठक भन्ने कुरा सचिवबिना हुँदैन।
अर्को कुरा, म पनि चौथो पटक सांसद भएको हुँ, कहाँ जान हुन्छ, कहाँ हुँदैन भन्ने कुरा थाहा छ। पोखरा जानुअघि मैले खाली कागज जस्तोमा हस्ताक्षर गरेको थिएँ। खासमा खाली कागजमा गर्न हुँदैन र गरे पनि बैठकपछि मात्र गर्छु भनेर नगरी बसेको थिएँ। मन नभए पनि गरेर कार्यक्रममा गएको थिएँ
अहिले आएर यस्तो भन्नु रकमी कुरा गर्नु हो।
फेरि बैठक बस्ने भनेपछि पार्टीका वरिष्ठ नेता वा आफूलाई वरिष्ठ ठान्ने नेताहरूले त्यो दिन 'यो बैठकजस्तो भएन, पार्टीका महामन्त्रीहरू खोइ' भन्नु पर्दैन?
मैले सबै थेगेको छु भन्नेले सभापतिलाई कम्तीमा कार्यसम्पादन र संसदीय समिति बैठक बस्नुपर्छ भन्नु पर्दैन?
उल्टो बाहिरबाहिर हावादारी कुरा गर्ने?
निर्वाचनअघि गठबन्धन गर्न हुँदैन भन्ने तपाईंको एजेन्डा आज आएर सही सावित भयो। कांग्रेस अब पनि शेरबहादुर देउवाको नेतृत्वमा भविष्य खोज्न सक्दैन। अबको चुनाव तपाईंको काँधमा आयो। तपाईंलाई अबको नेतृत्व मेरो काँधमा आयो भनेर खुसी लागेको होला नि!
यसलाई यसरी बुझौं।
कसैले मोटरसाइकल लिएर दौडिन लागेका बेला 'छिटो नकुदा, दुर्घटनामा पर्लास्' भनियो। बेलुका दुर्घटनामा परेर अस्पताल जाँदा 'मैले तलाईं भनेकै थिएँ नि!' सम्म भनिन्छ। खुसी त भइँदैन नि! मेरो भविष्यवाणी मिल्यो भनेर दंग परिँदैन।
त्यस्तै हो। म त गठबन्धन नै नगरेको भए खुसी हुन्थेँ।
मेरो मनमा यतिखेर यही कुरा मात्र छ- कांग्रेसले ६ देखि ७ लाख मतदाता गुमाएको छ। यसलाई फर्काउनुपर्छ। पार्टीसँग धेरे मान्छे रिसाएका छन्, आक्रोश छ। त्यसलाई कम गर्नुपर्ने छ। पार्टीले सुन्दर भविष्य दिन्छ भन्नेमा विश्वास दिलाउनुपर्ने छ। आकर्षित गर्नुपर्ने छ। तर यो सबै कहाँबाट सुरू गर्ने होला! हामी क-कसलाई देख्दा मान्छेले त्यो कुरामा विश्वास गर्लान् वा कसलाई नदेख्दा विश्वास गर्लान् भन्ने भाष्य बनाउनुपर्ने छ। नजिकका साथीभाइलाई पनि 'मलाई विश्वास गर्नुस्, मलाई यतिखेर भविष्यमा कांग्रेसको नेतृत्वमा को आउँछ भन्ने कुरा अर्थहीन लागिराखेको छ र पार्टीलाई फेरि कसरी बनाउने र कांग्रेस नै हो भनेर विश्वास दिलाउने कुरा मात्र दिमागमा छ' भनेर विश्वास दिलाउनु छ।
कांग्रेसको महाधिवेशन अब ३ वर्षपछि हुन्छ, नभए ४ वर्षपछि हुन्छ। हाम्रो परीक्षा अर्को चुनावमा हुन्छ। भनेपछि पार्टी बनाउन हामीसँग यही दुईदेखि तीन वर्ष छ। यही समयमा गुमेका ६/७ लाख मतदाता फर्काउनु पर्यो, यसका लागि १५ लाख मान्छे जोड्नुपर्छ। यो असम्भव छैन।
कांग्रेस पहिले पनि ३८ देखि ३९ प्रतिशतको पार्टी थियो। म र धेरैलाई, कांग्रेस नेताको नाम मात्रले कांग्रेस बनायो।
पार्टीलाई फेरि त्यस्तो कसरी बनाउने होला, मान्छे कसरी थप्ने होला, म यतिखेर यही मात्र सोचिराखेको छु।
अब पार्टीको नेतृत्व मैले सम्हाल्नुपर्छ भन्ने जिम्मेवारी छ तपाईंलाई?
नेतृत्व भन्दै गर्दा मैले सभापति वा कुनै पदसँग जोडेर पटक्कै हेरिराखेको छैन।
पार्टीको केन्द्रीय समिति बैठक सकिएपछि म देशभरि गएर कुरा सुन्ने हो। भुइँतहमा बसेर काम गरिराखेका कांग्रेसलाई भेटेर उनीहरूको कुरा सुन्न चाहन्छु। नयाँ पुस्ताका साथीहरूलाई भेट्न चाहन्छु।
जो हामीजस्तै कांग्रेस बन्नुपर्थ्यो, तर बनेनन्, उनीहरूलाई सोध्न चाहन्छु- तिमीहरू किन कांग्रेस बनेनौ? के गर्यो भने बन्छौ? भोट हाल्छौ? हामीले कहाँ के बदलौं?
आफ्नो कुरा सुनाउने होइन, सुन्ने हो। त्यो काम मैले गर्नुपर्छ। अरूले पनि गर्नुपर्छ तर यतिखेर चाहिँ मैले गर्नुपर्छ। अब यो कामलाई कसैले नेतृत्व लिएको भन्छ भने म खुसी हुनेछु। कसैले महामन्त्रीको काम हो भन्छ, त्यो पनि ठीक छ।
जे भने पनि मैले यतिखेर देशभर घुमेर निराश भएका साथीहरूलाई भेट्ने हो। साथीहरूलाई हारेको, ठगिएको, छलिएको जस्तो महसुस भएको छ। त्यो त मैले सम्हाल्न सकुँला। कांग्रेससँगको भरोसा खोज्ने बाटोमा पार्टीलाई लगाउन सकियो भने यो निराशा, सरकारभन्दा बाहिर बसेर काम गर्ने कुरा सामान्य भइहाले।
हाम्रो ठाउँ कहीँ गएको छैन। कुरा त कांग्रेसको शुद्धीकरण र सुदृढीकरणको हो।
प्रचण्ड एमालेसँग मिल्न सक्नुहुन्छ भन्ने त कांग्रेसलाई चुनावअघि नै थाहा थियो। उहाँको व्यक्तित्वलाई शेरबहादुर देउवाले चिन्न नसकेको हो? उहाँले प्रधानमन्त्रीको पहिलो कार्यकाल प्रचण्डलाई दिन सक्नु हुन्न थियो?
मैले प्रचण्डसँग मन्त्री भएर काम गरेँ। उहाँ सरल, मन्त्रीहरूको कुरा सुन्ने र केही काम गर्न खोज्ने खालको लाग्यो मलाई। मैले सार्वजनिक रूपमा पनि यो कुरा भनेको छु।
त्यसैले व्यक्तिसँगको अनुभवले भन्दा पनि, एमाले र माओवादी जसरी २०७४ मा रातारात एक ठाउँ उभिए, त्यो अनुभवले चुनावअघि वा पछि, आज, भरे वा भोलि, कुनै पनि बेला ती पार्टी सँगै हुन सक्छन् भन्ने कुरा अनुमान लाउनु 'पोलिटिकल कमनसेन्स' हो। त्यसका आधारमा पनि अनुमान लाउन सक्नुपर्थ्यो।
नेतृत्वले 'चुनावअघि उहाँ (माओवादी) लाई मिलाएनौं भने एमालेसँग मिलिहाल्छ नि' भन्दा मैले 'निर्वाचनपछि चाहिँ माओवादी एमालेसँग मिल्दैन भन्ने ग्यारेन्टी गर्नु हुन्छ' भनेर सोधेको थिएँ।
निर्वाचनअघि सिट नदिए एमालेसँग मिल्न सक्छ भन्ने नेताले पछि पनि मिल्न सक्छ भनेर नसोच्नु भनेको हुस्सु हुनु हो।
पार्टीको कुरा गरौं, कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। केही केन्द्रीय सदस्यहरूले सभापतिको राजीनामा र दलको नेताको परिवर्तन गर्ने एजेन्डा उठाउने कुरा गरिराख्नुभएको छ। यी विषय एजेन्डा बन्छन् कि बन्दैनन्?
बैठकका तीन एजेन्डा छन्; निर्वाचनको समीक्षा, समसामयिक राजनीतिको विषयमा र विविध संगठनका विषयमा छलफल।
बैठकभन्दा पहिला पनि छलफल होला। समूहहरूमा, पदाधिकारीमा छलफल होला र कुन दिशामा जान्छ भन्न सकिएला। पार्टीले तय गरेको एजेन्डा चाहिँ समसामयिक राजनीति भयो। यो भनेपछि चुनावबारे निर्मम र गम्भीर समीक्षा हुन्छ।
पार्टी सभापतिको विषयमा वा गठबन्धनको नेतृत्वको निरन्तरताको विषयमा पनि छलफल हुन्छ?
समसामयिक राजनीतिको विषयमा छलफल भनेपछि जसलाई जे जोड कोण लागेको छ, त्यसमा खुला बहस हुन्छ। सबैले आआफ्नो विचार राख्नुहुन्छ। हामी कहाँ चुक्यौं भनेर आत्मसमीक्षा गर्ने गरी छलफल गर्यौं भने त्यसले हामीलाई ठीक बाटोमा लैजान्छ।
मलाई गठबन्धन गर्ने बेलाको छलफल याद छ- संख्या पुगिहाल्छ भनेर हामी गठबन्धन ठीक हो कि बेठीक भन्ने पक्ष र यसको सम्भावनातिर गएन। सिधै झम्टिइयो। कसैले गठबन्धनबारे प्रश्न गरे 'विरोधी, एक्लै जितेर देखा' भन्ने कुरा आयो। त्यो बैठकमा भिन्नभिन्न विचार आउन सकेन। पार्टीभित्र गठबन्धनको पक्षमा यस्तो प्रचण्ड जनमत छ भन्ने कुरा स्थापित गर्ने कुरा मात्र भयो। खुला छलफल भएन।
अब त्यस्तो नहोस् भन्ने मेरो चाहना हो। खुला छलफल गरौं। कसको मनमा के छ, किन यस्तो भयो भन्ने साथीहरूले अनुभव सुनाउनुहुन्छ होला। त्यसरी गर्नु नै उचित हुन्छ।
कांग्रेसमा गगन थापाले महामन्त्रीका रूपमा विधानमा भएको काम गर्दैन भन्ने आरोप छ। महाधिवेशनको एक वर्षभित्र नीति अधिवेशन गर्नुपर्ने व्यवस्था छ। तपाईंले महाधिवेशनपछि हामी विधानभन्दा एक इन्च दाँयाबाँया जाँदैनौं भन्नुभयो। तर गर्नुपर्ने काममा तपाईंको ध्यान छैन भन्छन् नि!
यस्तो कुरा पार्टीको केन्द्रीय समितिभित्र हुन्थे। अलि अगाडि पार्टीको बैठकमा साथीहरूले पनि कुरा राख्नुभयो। अनि मैले विधानबाट टिपेर लिखित रूपमा ल्याएर साथीहरूलाई बाँडे।
कांग्रेसको विधानले भन्छ- पार्टी सभापतिले नचाहँदासम्म केन्द्रीय सदस्य, महामन्त्रीदेखि उपसभापति, जोकोहीले जे भने पनि बैठक समेत गर्न सक्दैन। पार्टी सभापतिले नचाहेसम्म केही हुँदैन।
कि त विद्रोह गर्नुपर्यो। 'पार्टी सभापतिले बैठक राख्नुभएन, महामन्त्रीका रूपमा तपाईंले बैठक बोलाइदिनुपर्यो' भन्नुपर्यो। 'नीति अधिवेशन गर्नुभएन, महामन्त्रीले चिठी काटेर काठमाडौंको बानेश्वरमा नीति अधिवेशन हुन्छ' भन्नुपर्यो।
नभए त हामीले कांग्रेसको हरेक बैठकमा यो विषयलाई एजेन्डा बनाएका छौं। प्रत्येक बैठकबाट पारित गरेका छौं। नीति अधिवेशन कसरी गर्ने भनेर छलफल पनि गरेका छौं। सभापतिसँग अनौपचारिक छलफलमा पनि कुरा हुन्छ। पर्सिको बैठकमा पनि यो कुरा हाम्रो एजेन्डा बन्छ।
तर पार्टीको विधानको कुरा हामीले पटक्कै बुझेनौं। विधानले महामन्त्रीलाई बैठकमा एजेन्डा प्रस्तुत गर्ने अधिकार दिएको छ तर त्यो एजेन्डा पनि सभापतिले नै भनेको हो। सभापतिकै एजेन्डा महामन्त्रीमार्फत् प्रस्तुत गर्ने हो। त्यसैले त पार्टीको मुख्य नेतृत्व नबदली धेरै कुरा हुँदैन भनेर अधिवेशनबाट बदल्ने कोशिश गरेको हो।
पार्टीको अपेक्षा महामन्त्रीहरूमा हुनु स्वाभाविक हो। आम कार्यकर्ताहरूले 'सभापतिलाई मनाएर पनि गर न, नतिजा चाहिएको छ' भन्नुहुन्छ जुन अपेक्षा गलत होइन। तर दिनरात सभापतिको नजिक हुने केन्द्रीय सदस्य साथीहरूले भनेको पटक्कै सुहाउँदैन।
'तपाईंले पार्टीको विभाग बनाउनुभयो' भनेर सोध्छन्। विभाग बनाउने त के, विभागको नामसम्म पनि सभापतिबाहेक अरूले प्रस्ताव गर्न पाउँदैन।
बैठकले एकपटक निर्णय गरेर सभापतिले गर्ने भनेका यी सबै काम महामन्त्री गगन थापालाई जिम्मा दिएको भन्नुस् न, एक हप्ताभित्र सबै टुङ्ग्याउन सक्छु। मैले मात्र होइन, जसले पनि सक्छ। तर जबसम्म सभापतिले गर्नु हुन्न, हामीले चाहेर हुँदैन। विधानको व्यवस्थै त्यही हो।
तपाईंले पार्टीमा क्रियाशील सदस्यताको समस्या सधैं उठाउनुभयो। अहिले क्रियाशील सदस्यता खुला गरियो तर वितरण भएन।
यो काम महामन्त्रीको हो। तर यो काममा केही प्राविधिक समस्या भयो। हामीले क्रियाशील सदस्यता वितरणको सबै तयारी सकिसक्यौं, अब सुरू हुन्छ। निर्वाचनअघि जिल्लाका साथीहरूले 'अहिले वितरण गर्न थालियो भने तलको माइन्ड-सेट अधिवेशनउन्मुख भएकाले ध्यान निर्वाचनभन्दा अर्को अधिवेशनमा जान्छ' भन्नुभयो। अहिले रोकिदिनुहोस् भन्नुभयो। हामीलाई पनि ठीकै लाग्यो।
सदस्यता व्यवस्थापन, निर्वाचन प्रणालीभित्र बहसको काम महामन्त्रीकै जिम्माको काम हो, हामी गर्छौं। हाल स्थगन मात्र गरेका हौं।
कांग्रेस प्रतिपक्षी भइहाल्यो। सबभन्दा ठूलो पार्टी प्रतिपक्षको भूमिकामा रहने भएपछि प्रतिपक्षीको भूमिका र गगन थापाको भूमिका के हुन्छ?
मलाई यसपालि कांग्रेसको नेतृत्वमा, नभए पनि गठबन्धनको सरकार बन्छ भन्ने थियो। त्यसो हुँदा म सत्तापक्षको सांसद हुने थिएँ। त्यसैले मेरा केही योजना थिए। सरकारलाई संसदप्रति उत्तरदायी बनाउन एमाले, नयाँ पार्टीका सांसदसँग मिलेर काम गर्छु भन्ने थियो।
अब प्रतिपक्षमा भए पनि यसमा काम गर्ने हो। केन्द्र र सातै प्रदेशमा कांग्रेस प्रतिपक्षमा भएकाले सशक्त प्रतिपक्ष बन्ने हो। जनताले प्रतिपक्षी हाम्रो पक्षमा उभिएको छ भन्ने बनाउने हो।
अनि अर्को, कांग्रेस पार्टीको जरासम्म पुगेर र स्थानीय सरकारमा काम गर्ने मन छ। स्थानीय निर्वाचनलगत्तै संसदीय निर्वाचनले छोपेकाले काम गर्न पाइएको छैन। कांग्रेसबाट निर्वाचित स्थानीय सरकारसँग संस्थागत ढंगले काम गर्ने मन छ। उनीहरूले डेलिभरी गर्न सक्ने गरी काम गर्न चाहना छ।
यसरी काम गर्न मन छ, मानिसहरूलाई संघ र प्रदेशमा कांग्रेसको सरकार नभएको महसुस होस्।
जस्तै संघमा सरकारले कुनै निर्णय गर्यो भने हामी समाचार बनाउँछौं नि, त्यस्ता सयौं काम स्थानीय सरकारले गरेर उदाहरण बनाउन सकियोस्। शिक्षा र स्वास्थ्यमा काम गर्न कसैले रोक्न सक्दैन। कस्तो काम गर्न चाहेको, त्यहाँ देखाउन सकिन्छ।
तर कांग्रेस सांसदहरू प्रतिपक्षमा भएपछि 'म्यारिज खेलेर' बस्छन् र निर्वाचन भएपछि मात्र चलायमान हुन्छन् भन्ने छ। प्रतिपक्षीका रूपमा कांग्रेसले काम गर्दैन भन्ने छवि छ। कांग्रेसलाई चलायमान बनाउन त चुनौती नै होला।
यसपटक नयाँ र एकदम तगडा साथीहरू आउनुभएको छ। कतिपय अनुभव भएका साथीहरू जसलाई हामीले अघिल्लोपटक मिस गरेका थियौं, उहाँहरू पनि आउनुभएको छ।
त्यस्तै यसपालि हामीले निर्मम समीक्षा गर्ने भनेका छौं। अब पनि हामीले अहिले जे भइरहेको, जस्ताको तस्तैको अवस्थाम रहेर पार्टी रातारात नयाँ बन्छ भन्ने ठान्यौं भने त्योभन्दा कारूणिक आशवाद अरू केही हुँदैन। केके बदल्न सकिन्छ मलाई थाहा छैन, तर जेजे सकिन्छ बदल्ने हो। नबदली हाम्रोअगाडि नयाँ क्षितिज उघ्रिँदैन।
तर मलाई के विश्वास छ भने, जति साथी आउनुभएको छ, हाम्रो अनुभव जोडेर एउटा राम्रो टिम बनाएर संसदमा काम गर्न सकिन्छ। हामी गर्छौं।