अन्तर्वार्ता
नेपाली कांग्रेस प्रतिनिधि सभामा ८९ सांसदसहित सबैभन्दा ठूलो दल हो। गठबन्धनमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरे पनि पहिलो कार्यकाल सभापति शेरबहादुर देउवा नै फेरि प्रधानमन्त्री हुन खोज्दा कांग्रेस प्रतिपक्षमा पुगेको छ।
कांग्रेसले आफूलाई पहिलो कार्यकाल प्रधानमन्त्री नदिने देखेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' कांग्रेससँगको सहकार्य तोड्दै नेकपा एमालेसहित सात दलको समर्थन जुटाएर प्रधानमन्त्री बनेका छन्।
नयाँ गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बनेसँगै कांग्रेस केन्द्रदेखि सातै प्रदेशमा प्रमुख प्रतिपक्षी भूमिकामा पुगेको छ। माओवादीलाई प्रधानमन्त्री छाडेर राष्ट्रपतिलगायत पद लिएर जानुपर्नेमा नेतृत्वबाट गल्ती भएको भन्दै कांग्रेसभित्र असन्तुष्टिका आवाज सुनिन थालेका छन्।
यसै सन्दर्भमा सेतोपाटीका प्रशन्न पोखरेलले कांग्रेसका नेता रामचन्द्र पौडेलसँग गठबन्धन किन टुट्यो, मुखैमा आएको सत्ता किन फुत्कियो र अब कांग्रेस कसरी अघि बढ्छ भन्नेबारे गरेको कुराकानीको सम्पादित अंश-
देउवाले ३ वर्ष र प्रचण्डले २ वर्ष प्रधानमन्त्री हुने सहमति कांग्रेस-माओवादीबीच भएको तर यो सहमति कांग्रेसले तोड्यो भन्ने आरोप छ, के हो?
यसबारे धेरै कुरा आइसकेका छन्, यो विषयमा कुनै सहमति भएको थिएन। हामीहरू बीचको छलफलमा देउवाले ३ वर्ष र प्रचण्डले २ वर्ष प्रधानमन्त्री लिने भन्ने विषयमा सहमति भइसकेको थिएन। योबाहेक धेरै कुरा मलाई भन्नु छैन।
सभापति एक्लै अघि बढेको र पार्टीभित्र सरसल्लाह नगरेको आरोप छ, सल्लाह हुँदैनथ्यो?
हामीले सभापतिजीलाई राम्रैसँग सल्लाह दिएका थियौं। म र केही साथीहरू, पूर्णबहादुर खड्काजी, कृष्णप्रसाद सिटौलाजीले त यो गठबन्धन कसैगरी पनि टुट्न दिन हुँदैन भन्यौं। प्रचण्डलाई फुत्किन दिन पनि हुँदैन, जसरी हुन्छ गठबन्धन बचाएर मात्रै अगाडि बढ्नुपर्छ भनेर सल्लाह दिएका थियौं। सभापतिजीलाई हामीले अरूको आशमा कतै पनि नलाग्नुहोला भनेका थियौं।
अरूको आश भन्नाले?
गठबन्धन टुट्न दिन हुँदैन। अरूको आशमा कतै नलाग्नुहोला, त्यसले बिग्रिन्छ। सुशीलजी (सुशील कोइराला) कै अवस्था होला भनेर सम्झाएको थिएँ।
यो पनि पढ्नुहोस्ः देउवाले प्रचण्डलाई धोका दिए, ओलीले देउवालाई
तपाईं राष्ट्रपति हुने कुरा थियो, माओवादी पनि मानेको थियो रे, हो?
त्यो त प्रधानमन्त्री उनीहरू (माओवादी) ले पाएपछि स्वाभाविक रूपमा राष्ट्रपति कांग्रेसले पाउने कुरा भइहाल्थ्यो। कांग्रेसले राष्ट्रपति उम्मेदवार जसलाई अघि सार्थ्यो, उसले जित्ने थियो। तर गठबन्धनभित्र राष्ट्रपति पद बार्गेनिङको विषय नै थिएन। त्यहाँ बार्गेनिङको विषय-प्रधानमन्त्री पद मात्रै हो।
प्रधानमन्त्री को हुने भन्नेमा मात्रै बार्गेनिङ?
प्रधानमन्त्रीमा पहिलो कार्यकाल, २ वर्ष कसले लिने भन्नेमा छलफल भएको थियो। पहिला को प्रधानमन्त्री हुने, पछि को बस्ने भन्नेमा मात्रै हामीहरूबीच कुराकानी भइरहेको थियो। कांग्रेस र माओवादी दुवैले पहिलो कार्यकाल दाबी गरेका हुन्।
कांग्रेस ठूलो पार्टी पनि भयो तर सबैतिर सत्ता फुत्कियो नि!
मैले त बालुवाटारमा चलिरहेकै बैठकमै सभापति शेरबहादुर देउवालाई प्रष्ट कुरा राखेको हुँ- गठबन्धन टुट्यो भने हाम्रो सबैथोक गुम्छ भनेर। मैले यो कुरा प्रचण्ड बालुवाटार छाडेर बाहिर ननिस्किँदै भनिसकेको थिएँ। केहीबेरमा यो कुरा मैले मिडियालाई पनि भनिदिएँ, तत्कालै समाचार पनि आएका थिए।
सबै कुरा हाम्रो गुम्ने भयो भनेर म बालुवाटारबाट त्यस दिन निस्केको हुँ। गठबन्धन भत्किँदा हाम्रा सबै कुरा बिग्रिन्छन्, कांग्रेसको बिल्लीबाठ हुन्छ भनेर भनेको हुँ। यो गठबन्धन टुट्नेबित्तिकै सबैभन्दा मार कांग्रेसलाई हुन्छ भनेको हो। यत्रो दु:ख गरेर आएको बहुमतलाई असर पर्छ भनेकै हो। अरू कसैको पनि आश्वासनको भर नपरौं, अर्काको भरमा पर्दा कसरी सुशीलजीका पालामा बिग्रियो, त्यसरी नै बिग्रिन्छ भनेको हो।
बाहिरी चलखेलबाट सचेत रहनुपर्छ भन्ने कुरा गर्नुभएको हो?
तपाईंभित्र बढी आशक्ति भयो भने त्यसले तपाईंलाई कमजोर बनाउँछ। अरूका कुराहरूमा लागेर ठूला आशासहित तपाईं त्यसैमा झुम्मिनु हुन्छ। धेरै आशक्तिले बर्बाद गर्छ। यो कुरा त शास्त्रले पनि भनेको छ।
गठबन्धन टुट्नु र पार्टी केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्षमा पुग्नुको जिम्मेवारी कसले लिन्छ?
यसबारे पार्टीमा छलफल हुनुपर्छ। कांग्रेस यसरी चलेर हुँदैन, प्रजातान्त्रिक तरिकाबाट चल्नुपर्यो नि! कांग्रेस प्रजातान्त्रिक तरिकाबाट चलेन भने कांग्रेस रहँदैन। अनि यस्तै हालत हुन्छ।
कसमा भर पर्दा सबै गुम्यो जस्तो लाग्छ?
यसमा हामी सबै जिम्मेवार छौं। हेर्नुस्, मैले त सभापति शेरबहादुरजीको प्रवृत्ति र कार्यशैलीसँग पहिलेदेखि नै असहमति राख्दै आएको हो। तर सबैले उहाँलाई नै दोहोर्याई-दोहोर्याई सभापति बनाएपछि, फेरि संसदीय दल नेता बनाउने टुंगोमा पुगेपछि मैले यिनैलाई (देउवा) सुधार गरेर, विश्वासमा लिएर राम्रो काम गराउन सकिन्छ कि भन्ने आशाले सहयोग गरेको हो। देउवाका कार्यशैली सुधारेर राम्रो काम गराउन सकिन्छ कि भनेर मैले पनि विश्वास गरेको हो, मेरो विश्वासलाई पनि धोका भयो।
देउवाले सभापति र संसदीय दल नेता दुवै पदबाट राजीनामा दिनुपर्छ भनेर नेताहरूले भनिरहेका छन्, यसमा तपाईंको कुरा के हो?
बाहिर-बाहिर कुरा गरेर मात्र हुँदैन। यी विषय पार्टीमा छलफल हुनुपर्यो। उहाँ (देउवा) ले पनि आफ्ना कुरा राख्नुहोला। उहाँले पनि यो कारणले यस्तो भयो भन्नुहोला। उहाँलाई पनि भन्ने ठाउँ पाउनुपर्यो, त्यसैले पार्टीभित्र यो विषयमा छलफल हुनुपर्छ भनेको हुँ।
एमालेसँग कांग्रेसले मिलेर नयाँ सरकार बनाउने कुरा पनि भएको थियो र?
मुख्य शक्ति कांग्रेस र एमाले नै हुन्। यिनीहरू नै मुख्य प्रतिस्पर्धी हुन्। कांग्रेसले एमालेका कुरामा भर पर्नु भनेको मुर्खता हो। एमाले पनि कांग्रेसका मीठा कुरामा भर पर्यो भने त्यो मुर्खता हो। किनभने यी दुई प्रतिस्पर्धी हुन्। कांग्रेस र एमाले फरक मोर्चामा छन्, उनीहरूले आफ्नो-आफ्नो राजनीति सम्हाल्नुपर्थ्यो। आफ्नो मोर्चामा सम्हालिएर बसेनन् भने अहिलेकै जस्तो हालत हुन्छ।
अब कांग्रेस कसरी अघि बढ्छ? तपाईंले त रूपान्तरणका कुरा पनि उठाउनुभएको थियो।
कांग्रेस रूपान्तरणका लागि सामूहिक प्रयत्न गरौं भनेर मैले पहिलेदेखि नै भनिरहेको छु। तर यहाँ पुस्तान्तरणका कुरा ल्याएर रूपान्तरणलाई छायामा पारियो। पुस्तान्तरणजस्तो गैरराजनीतिक कुरा गरेर रूपान्तरणलाई ओझेलमा पार्ने काम भयो, उमेरलाई देखाएर दोष लगाउन थालियो। पुराना नेतामा पनि कसले जीवनभर दु:ख गरेको छ हेर्नुपर्यो, मूल्यांकन गर्नुपर्यो। जीवनभर गरेका कामको मूल्यांकन हुन नदिई पुस्तान्तरण भनेपछि त केही विवेक नै भएन। यो पुस्तान्तरणको मूल्यांकनविहीन र अविवेकी नाराले कांग्रेसलाई खाइदियो।
अन्तिममा, पछिल्लो परिस्थितिबारे सभापति देउवाले तपाईंसँग केही कुरा गर्नुभएको छ?
त्यस दिन (पुस १० गते) म बालुवाटारबाट निस्केपछि केही कुरा भएको छैन। उहाँले मलाई बोलाउनुभएको पनि छैन। मलाई पनि सभापतिजीकहाँ जाने जाँगर छैन। उहाँले मसँग केही कुरा पनि गर्नुभएको छैन।