बाह्र वर्षअघि सर्वोच्च अदालतले चार्ल्स शोभराजलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनायो। फैसलालगत्तै अदालत परिसरमै उभिएर त्यो बेला बीस-बाइस वर्षे युवतीले रिसाउँदै सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता दिइन्।
उनको भनाइ थियो- मेरा प्रेमी शोभराजलाई न्यायालयले जन्मकैद सुनाएर अन्याय गर्यो!
निकै आक्रोशित हुँदै उनले अदालत र न्यायाधीशलाई गाली गरेकी थिइन्। त्यसपछि उनलाई नै अदालतको अपहेलना मुद्दा लागेको थियो। अदालतले उनलाई ७ दिन कैद सजाय सुनायो। एक दिन थुनामा बसेपछि क्षमायाचना मागेकाले उनी छुटिन्।
सिरियल किलरका रूपमा संसारभर नै चिनिएका खुंखार अपराधी शोभराजको बचाउ गर्ने ती युवती थिइन् निहिता विश्वास।
तिनै निहिता अन्ततः शोभराजलाई कैदमुक्त गर्न सफल भएकी छन्। २०६७ सालमा सर्वोच्चको आँगनमा उभिएर बोलेयता उनले बाह्र वर्षसम्म शोभराजलाई छुटाउन निरन्तर प्रयास गरिन्।
हिजो बुधबार मात्रै सर्वोच्चले शोभराजलाई कैद मुक्त गर्न आदेश दिएको हो। ७८ वर्षीय फ्रेन्च नागरिक शोभराजलाई नेपालमा दुइटा हत्या गरेको अभियोगमा जन्मकैद सुनाइएको थियो। बीस वर्षको सजाय भए पनि एक वर्षअघि नै शोभराजलाई छोड्न अदालत राजी भएको हो।
शोभराजलाई छोड्ने आदेश दिनुअघि सर्वोच्चले वकिलहरूको बहस सुनेको थियो। उनलाई छुटाउने वकिलमध्ये निहिता एक हुन्।
निहिताले विभिन्न सञ्चारमाध्यममा शोभराज र आफ्नो सम्बन्धबारे खुलेर अन्तर्वार्ता दिँदै आएकी छन्। अन्तर्वार्तामा उनले शोभराजसँग आफ्नो इन्गेजमेन्ट पनि भइसकेको बताएकी थिइन्।
आफ्नो जन्मभन्दा धेरै समय पहिले गरेको हत्यामा जेल परेका, आफूभन्दा झन्डै ४५ वर्ष जेठा शोभराजसँग निहिताको भेट कसरी भयो? संसारका विभिन्न ठाउँमा मानिसहरूको हत्या, चोरी, ठगीजस्ता अपराधमा मुछिएका शोभराज कसरी उनका प्रेमी भए? निहिता कसरी उनकी वकिल भइन्?
यकिन नभए पनि, उनीहरूको भेटका पछाडि निहिताकै आमा कारण हुन सक्ने अनुमान गर्न सकिन्छ।
बुधबारको आदेशमा शोभराजको तर्फबाट दुई वरिष्ठ अधिवक्ताका साथै शकुन्तला थापा एवं निहिता विश्वासको बहस सुनेको अदालतले जनाएको छ। शकुन्तला थापा निहिताकी आमा हुन्।
शोभराज र निहितालाई चिन्नेजान्नेहरूका अनुसार उनीहरूको भेट जेलमै भएको हो।
शकुन्तला कहिलेदेखि शोभराजकी वकिल हुन् भन्नेबारे यकिन छैन। तर २०६७ सालमा काठमाडौं जिल्ला अदालतमा चलेको मुद्दामा सर्वोच्च अदालतले फैसला गर्दा नै उनी शोभराजकी वकिल थिइन्। फैसलापछि अदालत परिसरमा निहितासँगै शकुन्तलाले पनि न्यायाधीशबारे टिप्पणी गरेकी थिइन्। उनलाई पनि अपहेलना मुद्दा लागेको थियो।
त्यसैले शकुन्तलाकै माध्यमबाट निहिता र शोभराजको चिनजान भएको अनुमान गर्न सकिन्छ। तर शकुन्तलाले शोभराजलाई भेट्न जाँदा जेलमा छोरी निहितालाई पनि लिएर जान्थिन् भन्ने पुष्टि भएको छैन। शकुन्तलाले आफ्ना वकिल साथीहरूलाई आफूले शोभराजसँग निहिताको भेट नगराएको बताएकी थिइन्।
अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी) ले निहितासँग सन् २००८ मा (२०६५ सालतिर) एउटा भिडिओ अन्तर्वार्ता गरेको थियो। उक्त अन्तर्वार्ताको सानो अंश युट्युबमा भेटिन्छ। त्यो भिडिओ क्लिपको तलपट्टि निहितासँगको कुराकानीपछि तयार पारिएको 'स्क्रिप्ट' छ।
उक्त स्क्रिप्टमा भएको जानकारीअनुसार निहिता र शोभराजको भेट सन् २००८ को मार्चतिर भएको हो। शोभराजका फ्रेन्च वकिलको दोभाषेका रूपमा काम गर्न निहिता गएकी थिइन्। तिनै वकिलमार्फत शोभराजसँग उनको भेटघाट भएको हो।
निहिताले शोभराजबारे उक्त भिडिओमा भनेकी छन्, 'उनी आफ्ना वरिपरिका मानिसलाई एकदमै ख्याल गर्छन्। त्यसैले उनलाई अझै धेरै माया गर्न मन लाग्छ। हरेक दिन उनलाई चिन्दै र माया गर्दै गइरहेकी छु। हामीले धेरै समय भेट्यौँ र कुरा गर्यौं। तर उनले मलाई बिहेको प्रस्ताव गरेका होइनन्। कुरा गर्दागर्दै आफैं थाहा भयो कि हामी बिहे गर्ने निर्णयमा पुगिसकेका छौं भनेर। त्यसैले इन्गेजमेन्ट भने गरिहाल्यौं। हामी जतिखेरै बिहेको कुरा गर्दैनौं किनभने एकदिन गर्नु त छँदै छ। उनी छिट्टै छुट्ने छन् भन्नेमा म विश्वस्त छु। किनभने उनी हत्यारा हुन् भन्ने कुनै प्रमाण छैन।'
उक्त भिडिओमा निहिताले आफूभन्दा ४०-४५ वर्ष जेठो मानिससँग बिहे गर्न आफू खुसीखुसी राजी भएको बताएकी छन्। उमेरले केही फरक नपर्ने र शोभराज परिपक्व र सक्रिय मानिस भएको भन्दै तारिफ समेत गरेकी छन्।
उनले अरू केही सञ्चारमाध्यमहरूमा आफू बालिग भइसकेको र आफ्नो निर्णय आफैं गर्न सक्ने बताएकी थिइन्। प्रेममा उमेरले केही फरक नपार्ने उनको भनाइ थियो।
उनी विश्वस्त भएझैं अदालतले शोभराजको पक्षमा फैसला गरेन। काठमाडौं र भक्तपुर जिल्ला अदालतले शोभराजलाई सर्वस्वसहित जन्मकैद फैसला सुनाएका थिए। त्यसपछि यो मुद्दा पुनरावेदनका लागि सर्वोच्च पुग्यो। सर्वोच्चले पनि तिनै फैसला सदर गर्यो।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार शोभराज भारतीय बाबु र भियतनामी आमाका सन्तान हुन्। उनका आमाबुवाको बिहे भएको थिएन। पछि उनकी आमाले फ्रेन्च नागरिकसँग बिहे गरिन् र शोभराजले उनकै अभिभावकत्व पाएका हुन्।
शोभराज किशोर उमेरदेखि नै ससाना अपराधमा संलग्न थिए। १९ वर्षको उमेरमा लुटपाट आरोपमा उनलाई पहिलोपटक सजाय भएको थियो। जेलबाट छुटेपछि उनी आपराधिक गतिविधिमै संलग्न भए। चोरी, लुटपाट र ठगीमा सक्रिय उनी केही समयपछि फ्रान्सबाट भागेर एसियातिर आए।
भारतसहित एसियाका अन्य देशहरूमा उनले थुप्रै ठगी र लुटपाट गरे। पटकपटक पक्राउ परे पनि उनले आफ्नो अपराधको बाटो छाडेनन्। उनी पर्यटकहरूको पासपोर्ट चोरेर त्यही पहिचानमा विभिन्न ठाउँ पुग्थे र अपराध गर्थे।
द गार्डियनका अनुसार उनले सन् १९७० दशकदेखि हत्या गर्न थालेका हुन्। नेपाली, भारतीय र थाई नागरिक गरी २० जनाको हत्या गरेको देखिए पनि यो संख्या अझै धेरै हुने अनुमान छ। उनले पर्यटकहरूलाई लागुऔषध खुवाएर बेहोसीमा लुटपाट गरी हत्या गर्थे भनिन्छ।
अपराधको सिलसिलामा उनी भारतमा पनि पक्राउ परेका थिए। दुई दशक जेल सजाय भए पनि त्यहाँ उनले घुस दिएर जेलमै धेरै सुविधासहित बसेका थिए। बीचमा उनी जेलबाट भागे तर फेरि पक्राउ परे। सन् १९९७ मा जेलबाट छुटेर उनी पेरिस फर्किए।
त्यसको पाँच-छ वर्षपछि उनी नेपाल आए। नेपाल प्रहरीले उनी आएको खबर पायो र उनी बसेको होटलमै पक्राउ गर्न पुग्यो। नेपाल प्रहरीले उनलाई २८ वर्ष पुरानो हत्यामा संलग्न भएको आरोपमा खोजिरहेको थियो।
२०३२ पुस ६ गते भक्तपुरको साँगामा एक जना विदेशीको शव भेटिएको थियो। त्यसको तीन दिनपछि काठमाडौंको मनोहरामा अर्को विदेशीको शव भेटियो। मनोहरामा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जीच र साँगामा क्यानडियन नागरिक क्यारियर लरेन्टको शव फेला परेको थियो। दुवैको उस्तै तरिकाले हत्या गरिएको पाइएको थियो। प्रहरीको अनुसन्धानबाट दुवैलाई शोभराज र उनको समूहले हत्या गरेको पत्ता लाग्यो।
शोभराजलाई प्रहरीले पक्राउ गरी मुद्दा चलायो। शोभराजले त्यति बेला हत्याको समयमा आफू नेपालमै नभएको र हत्या पनि नगरेको बयान दिए। उनले अस्वीकार गरे पनि घटना भएका बेला शोभराज अर्कै विदेशी नागरिकको पासपोर्ट लिएर नेपालमा आएको लगायतका परिस्थितिजन्य प्रमाण प्रहरीसँग थिए। त्यसकारण दुवै हत्या मुद्दामा शोभराज सर्वोच्चबाट दोषी ठहरिए।
यी दुवै मुद्दामा शोभराजका तर्फबाट निहिताकी आमा शकुन्तला वकिल थिइन्।
केही वर्षयता उमेरहदका कारण आफूले कैद सजाय छुट पाउनुपर्ने भन्दै शोभराजले अदालतमा निवेदन दिन थाले। ती निवेदनमा पनि शकुन्तला नै शोभराजकी वकिल थिइन्।
आमा शकुन्तला अदालतमा शोभराजको मुद्दा लडिरहँदा निहिताले कानुन पढ्न थालेको देखिन्छ। यो बीचमा निहिताले कानुन विषयमा स्नातक सकेर वकिलको लाइसेन्स लिइन्।
पोहोर शोभराजले सर्वोच्चमा बन्दिप्रत्यक्षीकरणको रिट दिएका थिए। उनले आफूलाई मुटुरोग लागेको, कानुनले समेत दिएको कैद छुटको सुविधा पाउनुपर्ने जस्ता माग राखेर रिट दिए।
यो मुद्दामा भने शोभराजलाई छुटाउन निहिताले बुधवार वकिलका रूपमा सर्वोच्चमा बहस गरिन्।
शोभराजले मूल मुद्दाबाटै सफाइ पाउनुपर्छ भन्ने निहिताको दाबी थियो।
यसरी आफूले चिनेको १२ वर्षपछि निहिता आफैंले बहस गरेर प्रेमी शोभराजलाई छुटाउन सफल भएकी हुन्।