ललितपुर महानगरपालिकाले आफ्नो स्थापनाको १०४ औं स्थापना दिवस मनाएको छ।
उक्त अवसर पारेर महानगरले ‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान गर्न सुरू गरेको छ।
सो स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ धातु मूर्तिकार राजकुमार शाक्य, वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थ, प्राज्ञ कालु कुमाले र ललितपुर महानगरपालिकाका पूर्वप्रमुख बुद्धिराज बज्राचार्यलाई सो पुरस्कारबाट सम्मान गरे।
महानगरभित्रको कला, साहित्य र संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिलाई जनही एक लाख नगदसहित सो पुरस्कारबाट सम्मान गरिएको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताए।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताए।
प्रधानमन्त्री देउवाले नागरिक नजिकको सरकार भएकाले पनि स्थानीय तहको कामकारबाही नागरिकप्रति नै जवाफदेही हुनुपर्ने प्रष्टाए।