ज्ञानेन्द्र शाही जुम्लाबाट निर्वाचित सांसद हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेको एक वर्ष नपुग्दै प्रतिनिधि सभामा निर्वाचित भएका शाही राप्रपाका प्रवक्तासमेत हुन्। भ्रष्टाचारको विरोधका साथै लकडाउनका बेला सर्वसाधारणलाई सहयोग जुटाउन विभिन्न अभियान चलाएका शाहीको संसदीय इनिङबारे सेतोपाटीका मनोज सत्यालले गरेको कुराकानीको सम्पादित अंश:
राप्रपा प्रवेश गरेको एक वर्ष नपुग्दै सांसद बन्नुभएको छ। सांसद बन्नकै लागि राप्रपा प्रवेश गर्नुभएको हो?
म सांसद बन्न राप्रपा प्रवेश गरेको होइन। म सांसद बन्न राप्रपा प्रवेश गरेको भए राप्रपाको ५ सय ९१ मत भएको जुम्ला जाने थिइनँ होला। म १२ हजार भोट भएको काठमाडौं क्षेत्र नं २ रोज्थें अथवा ५० हजार मत भएको रुपन्देही रोज्थें होला। म सांसद बन्नका लागि या मन्त्री बन्नका लागि पार्टी रोजेको होइन, सिद्धान्त, विचार र नेतृत्व मन परेको हो।
तपाईं राप्रपा प्रवेश गर्नुअघि गणतन्त्रमा विश्वास गर्नुहुन्थ्यो?
म गणतन्त्रमा विश्वास नगर्ने वा राजतन्त्रामा विश्वास गर्छु भन्ने विषय होइन। के यो गणतन्त्र हो? कुनै व्यक्तिले भनेकै भरमा गणतन्त्र हुने वा केही व्यक्तिले भनेकै भरमा राजतन्त्र हुने हो भने यो होइन। अहिले जुन खालको शासन व्यवस्था र पद्दति छ यो पद्दति हिजो पनि मैले स्वीकारेको थिइनँ र आज पनि स्वीकारेको छैन। किनकी यसलाई केही कुरा परिवर्तन गर्न आवश्यक छ। जुन कुरा परिवर्तन गरेर साँच्चै देशको हितमा काम गर्न सकिन्छ।
तपाईंले राप्रपा रोजे पनि गणतन्त्रको विकल्प राजतन्त्र हो भन्ने ठान्नुहुन्न?
म अहिले गणतन्त्र छैन भन्छु। यो किसिमको व्यवस्थालाई गणतन्त्र भनिदैँन। गणतन्त्र अमेरिकाको जस्तो हुन्छ। राष्ट्रपति जनताबाट निर्वाचित गर्ने भन्ने हुन्छ। गणतन्त्रको अर्को महत्व के हुन्छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी भन्ने हुन्छ। यहाँ त त्यो कहीँ कतै छैन। त्यस कारणले यो गणतन्त्र होइन। यो केही नेताहरूको व्यक्तिगत र निजी स्वार्थका लागि त्यो नाम दिइहालौं न त भनेर दिएको हो। गणतन्त्रमा त जनताको स्वास्थ्य, शिक्षा र रोजगारीमा जनताको पहुँच हुन्छ। यहाँ त रोजगारी नपाएर अरूको देशमा काम गर्न बाध्य हुनु परेको छ। अदालतमा पैसा नतिरी न्याय पाइन्न। त्यसैले मैले खोजेको गणतन्त्र यो किसिमको होइन। त्यसैले यसलाई म गणतन्त्र मान्दिनँ। तमाम युवा साथीहरू यस किसिमको व्यवस्था मान्दैनन्।
राजसंस्था हुनुपर्छ?
राजसंस्था आवश्यक छ। हरेक नेपाली र देशको आवश्यकता हो।
संघीयता र धर्मनिरपेक्षताबारे तपाईं के धारणा राख्नुहुन्छ?
राष्ट्रको पनि पहिचान हुन आवश्यक छ। ८१ प्रतिशत भन्दा बढी हिन्दु धर्मालम्बी बस्छन्। वैदिक सनातन ९७ प्रतिशत छन्। अनि देशको पहिचान नै बेचेर विदेशको डलर खाएर त्यो अजेण्डा बोकिन्छ भने त्यो स्वीकार्य छैन।
धर्म निरपेक्षतामा मेरो आपत्ति छ। विमति छ।
संघीयता पूरै गलत होइन। स्थानीय तह आवश्यक छ। तर स्थानीय तह संघीयता होइन। किनकी पञ्चायत कालमा पनि बहुदलमा पनि स्थानीय तह थियो। पहिला पञ्चायत थियो अनि गाविस भयो अहिले गाउँपालिका भएको छ। नाममात्र फेरिएको छ। काम कर्तव्य त्यही नै छ।
अहिले नेपालमा दुई तहको सरकार मात्र आवश्यक छ। स्थानीय र संघीय सरकार आवश्यक छ। अहिले जुन किसिमको प्रदेश सरकार छ, यो सेतो हात्ती हो। सेत्तो हात्ती जति हुर्कायौं त्यति देश बर्बादीतर्फ जान्छ।
तपाईंले राप्रपाको ५ सय मत भएको ठाउँमा जित हात पारें भन्नुभयो। के-के गर्नुभयो जित हात पार्न?
मैले सत्य कुरा बोलें। जनतालाई कुनै सपना देखाइनँ। मैले चुनाव जितेपछि गाउँ आउँछु भनेको छु। म पाँच वर्षको कार्यकालमा प्रत्येक महिना ५ देखि ६ दिन जुम्लामा बिताउँछु।
तपाईंले निर्वाचनका बेला जुम्लाबाट गएर काठमाडौंमा बोल्ने, खुलामञ्चमा भाषण गर्न सक्ने, जुम्लाको मान्छे भनेर चिन्ने अरू कोही छ? भनेर आफूलाई नेतृत्व गर्ने व्यक्तिको रूपमा प्रस्तुत गर्नुभएको थियो। अब त मन्त्री बन्नुहुन्छ होला नि?
पार्टी सरकारमा गयो भने मेरो सबैभन्दा पहिलो प्राथमिकता मन्त्री हुने हो। किनभने म पार्टीको प्रवक्ता र सिनियर पदाधिकारी हो। र कर्णालीबाट राष्ट्रिय पार्टीको प्रवक्ता त्यो पनि ३० वर्षको उमेरमा इतिहासमा पहिलो पटक भएको छ। रेकर्ड पल्टाएर हेरे हुन्छ।
राप्रपा सरकारमा जान्छ?
अहिले हामीले सरकारमा जाने कुनै निर्णय गरेका छैनौं। सरकारमा जाने यस्तो दिन आयो भने मेरो कुरा हुन्छ। अहिले हामी सरकारमा जान्नौं। अहिले जुन किसिमको सरकार बन्छ त्यसले पद र कुर्चीको लडाइँ गर्छ। राष्ट्रको हित गर्दैन। र हामी पद र कुर्चीका लागि राजनीति गर्दैनौं। हाम्रा केही वयोवृद्ध नेताहरूले गरे होलान्। तर अहिलेको राप्रपाको जुन पुस्ता छ पद र कुर्चीको लडाइँका लागि हामी आएका होइनौं।
तपाईंलाई धेरै मान्छेले युट्युबमा देख्दै आएका थिए। तपाईंले विभिन्न अभियान चलाउनुभएको थियो। जुम्लाबाट निर्वाचन लड्न तपाईंलाई सजिलो भएन? त्यहाँका मान्छेले चिनेनन् तपाईंलाई?
चिनेनन्। कहिलेकाहीँ लाग्छ- हामी नेपाली नै हैनौं कि। राज्यले दिने सुविधा अरू सबै जिल्लाका मान्छेले पाइरहँदा समग्र कर्णाली र जुम्लाका मानिसले ४० प्रतिशत पनि भोग गर्न पाएका छैनन्। मञ्चमा भाषण गर्दा नेपाल लोडसेडिङमुक्त भयो भनेर खादा माला लगाइन्छ। तर जुम्लाका गाउँपालिकामा बत्ती पनि गएको छैन। जुम्ला नेपाल हो कि हैन? अहिले काठमाडौं आसपासका मान्छेले फोरजी चलाउँछौं। अब फाइभजीमा जाने कुरा छ। तर जुम्लाका मानिस आज पनि टुजी चलाइरहेका छन्। आज पनि टेलिकम्युनिकेशनको सम्भावना छैन। सामाजिक सञ्जालमा जनु किसिमको चर्चा परिचर्चा छ त्यो जुम्लामा छैन। ९० प्रतिशत गाउँमा मैले ‘नमस्कार म ज्ञानेन्द्र शाही’ भन्दा ‘मैले चिनिनँ’ को ज्ञानेन्द्र शाही भन्ने जवाफ पाएँ। जबकी झापा एयरपोर्टमा उत्रदाँ मलाई फूलमाला नदिने मान्छे नै थिएनन्। बाटोमा हिँडेको, साइकल चलाएको मान्छेले पनि ‘ए ज्ञानेद्रजी, हाइ के छ’ त्यस्तो छ। काठमाडौंको बानेश्वरको बाटोमा तीन चार जनाले गाडी रोकेर बधाई छ भन्नुभयो। त्यो जुम्लामा थिएन। तर पनि जुम्लामा माया गर्नुभयो।
तपाईंलाई कतिपयले इन्टरनेटमा ‘भाइरल म्यान’ भनेर चिन्छन्। कतिपयले युट्युबबाट राइज भएको व्यक्तिका रूपमा बुझ्छन्। तपाईं आफैंले यो छवि कसरी बनाउनुभयो?
तपाईंहरूको बुझाइको कमी हो। युट्युबबाट भाइरल भनेर तपाईंहरूले पनि लेख्नुभयो। म युट्युबबाट भाइरल त्यत्तिकै भएको होइन।
अहिले तपाईंहरूको अनलाइन पनि इन्टरनेटबाटै चल्ने हो। हामीले तपाईंहरूलाई सामाजिक सञ्जाल मात्रैको भन्दा तपाईंहरूलाई पनि नराम्रो लाग्छ।
तपाईंलाई यो ‘भाइरल म्यान’ शब्दले नराम्रो लाग्छ?
तपाईंहरूको अनलाइनमा मलाई पुरै डिमोरलाइज गरेर प्रिजेन्टेसन गर्ने काम भयो। तपाईंले एनसेल कर प्रकरण सुन्नुभएको छ- त्यो मैले गरेको मुद्दा हो। ६२ अर्बको मुद्दा जितेको हो। नागरिकता विधेयक संसदबाट पास गर्दा हामीले मुद्दा हालेर रोकेका छौं। धेरैभन्दा धेरै विदेशीलाई नागरिकता प्राप्त गर्नबाट रोकेका हौं। ती कामको कहीँ कतै चर्चा हुँदैन। वाइडबडी प्रकरण उजागर गर्ने काम पनि सामान्य थिएन। किनभने त्यो भित्र ज्ञान र क्षमताको कुरा थियो।
तपाईंले ती सबै कुरा सार्वजनिक गर्ने माध्यम युट्युब बनाउनुभयो?
युट्युब मात्र थिएन। टेलिभिजनहरू पनि थिए। मेरो पहिलो अन्तर्वार्ता नै स्याटेलाइट टेलिभिजनमा भएको हो। आज युट्युबको माध्यम पुग्ने भाग्यको कुरा हो। सजिलै पहुँच पुग्छ। आज दूरदराजका दाजुभाइ छन् त्यहाँ एक्सेस पुग्छ। काम गर्दागर्दै एकैछिन हेर्न सक्छन्। अहिले ठूलो टेलिभिजन चाहिन्न। त्यत्रो पैसा खर्च गर्न पर्दैन। मोबाइलमा आउँछ। युट्युब थियो, अब टिकटक आयो। बढ्दै जान्छ।
यो माध्यमबाट तपाईंले पहिचान बनाउनुभयो नि त। बहालवाला मन्त्रीलाई जहाजमा प्रश्न सोध्नुभयो। विभिन्न मन्त्रीहरूलाई प्रश्न गर्नुभयो। इन्टरनेटमा त आँशु, आक्रोश र आलोचना बिक्छ भन्छन्। तपाईंले सबै प्रयोग गर्नुभएको छ नि छैन?
के मलाई चितवनमा आक्रमण गर्दा नाटक थियो? मलाई पत्रकार सम्मेलनमा पार्टीका कार्यकर्ताले आक्रमण गरे। जो पार्टीको कार्यकर्ता थिएनन्। देख्ने आँखा र देखाउने आँखा फरक हुनु हुँदैन।
पर्यटन मन्त्रीलाई प्रश्न सोधेकोमा तपाईं खुसी हुनुहोस्। यदि त्यो प्रश्न नगरेको भए कयौं भिआइपीले प्लेन रोक्थे। हजारौं यात्रुहरूले समय अभावका कारण दु:ख पाउँथे। अहिले स्वयं प्रधानमन्त्रीले पनि प्लेन रोक्न सक्दैन। त्यो रगत नबगाई, हतियार नलचाई गरिएको क्रान्ति हो।
त्यसका लागि त जेल पनि जानुभयो?
उल्टो मलाई नै जेल हालियो। बसें एक दिन। त्यतिमात्र होइन। चामल बाँडेको नाममा पनि जेल हालियो।
तपाईंलाई यी सबै काममा साथ दिनका लागि त युट्युबको भूमिका त छ नि त।
आज करोडौं लगानी गरेका टेलिभिजन त युट्युबबाट टिक्नु परेको छ। यो तपाईंहरुको मिडिया पनि युट्युब र सामाजिक सञ्जालबाट टिक्नु परेको छ। यसलाई हामीले प्रशंसा गर्नुपर्छ। घृणा गर्नु हुँदैन। यसको गुणस्तर वृद्धि गर्नुपर्ने ठाउँ छ।
तपाईंलाई धेरैले चिनेको माध्यम त युट्युब नै हो नि । तपाईंको उदयसँग युट्युब जोडिएको छ। तपाईंले विभिन्न मन्त्रीहरूसँग कुरा गर्नुभयो। यातायात कार्यालय जानुभयो। भ्रष्टाचार विरोधी अभियन्ताका रूपमा जाँदा पनि युट्युबलाई सँगै लिएर जानुभएको छ नि छैन?
मैले लगेको होइन। उनीहरू आफैं आएका हुन्। टेलिभिजन पनि आएका छन्। युट्यबु भने पनि उनीहरू मिडियाका रूपमा दर्ता भइसकेपछि कसरी चलाउँछन् मसँग सम्बन्धित भएन।
तपाईंको ती ठाउँमा जुन चर्को शैली देखिन्थ्यो। अब पनि तपाईं त्यही शैलीमा अघि बढ्नुहुन्छ कि फेर्नुहुन्छ?
अपराध गर्नेहरूका विरूद्धमा त्यो शैली कहीँ कतै पनि गलत लाग्दैन। त्यो शैली ठीक छ र त्यो शैली अपनाउनुपर्छ भनेर अनुमोदन गर्नुभएको हो। ५९१ मत भएको ठाउँमा दाजुभाइ दिदीबहिनीहरूले माया गरेर २२ हजार मतका साथ अघि बढाउनुभयो। गठबन्धनको ३६ हजार भोट थियो। ११ हजारमा समेटिनुपर्यो। यो आवाज जुम्लाको ज्ञानेन्द्र शाहीको मात्र आवाज होइन। यो आवाज दबिएका मान्छेका आवाज हो। जो दूरदराजमा बोल्न सक्दैनन्, पहुँच राख्न सक्दैनन्। ती सबैको आवाज बोकेर बोलेको हो। त्यो दब्दैन।
तपाईंको शैली परिवर्तन गर्नुहुन्न?
तपाईंको प्रश्न सोध्ने शैली परिवर्तन हुन्छ र? मेरो पनि हुँदैन।
तर तपाईं ‘डेलिभरी’ गर्ने ठाउँमा पुग्नुभयो नि!
ठीक छ डेलिभरी गर्ने ठाउँमा डेलिभरी गरिन्छ। प्रश्न सोध्ने ठाउँमा प्रश्न सोधिन्छ।
धेरैले तपाईंलाई कति लामो दौडको घोडा हो भनेर हेरिराखेका छन्। तपाईं अब राजनीतिक करियर राप्रपामा कसरी अघि बढाउनुहुन्छ?
मैले काम गर्ने हो। पार्टीले निर्णय गर्ने हो। देशभित्र रहेका कार्यकर्ता दाजुभाइ दिदीबहिनीले सद्भाव राख्ने हो। मैले यो हुनुपर्छ भन्ने होइन। विगतमा मैले आफ्नै पार्टी पनि खोल्न सक्थें। मैले किन खोलिनँ भन्ने प्रश्न छ। तर पार्टीमाथि पार्टी थपेर दल टुक्र्याएर यसको केही फाइदा छैन। सिद्धान्त र विचार मिल्ने सबैले एकता गर्नुपर्छ। आज देश केही कारणले बर्बाद भएको छ भने भ्रष्टाचार र राम्रा मान्छे मिल्न नसक्नु पनि कारण हो। नराम्रा मान्छे मिलिहाल्ने र राम्रा मान्छे मिल्न नसक्ने पनि कारण हो। मैले नयाँ पार्टी खोलेर २-४ मान्छे जितेर संसदमा म पनि छु है भन्नुभन्दा विचार मिल्ने राम्रा मान्छे एक ठाउँमा भयौं भने परिवर्तन गर्न सक्छौं।