अमेरिकामा यही नोभेम्बर ८ मा हुन लागेको मध्यकालीन निर्वाचनमा डेमोक्र्याटले हार्ने प्रक्षेपण सार्वजनिक भइरहेका छन्। सत्तारूढ पार्टीले हार व्यहोर्ने ट्रेन्ड रहेको अमेरिकामा यो चुनावबाट रिपब्लिकनले बहुमत ल्याउने सर्वेक्षणहरूको दाबी छ।
डेमोक्र्याटबाट बाराक ओबामा अमेरिकाको राष्ट्रपति भइसकेका छन् भने अहिले जो बाइडेन पनि त्यसै पार्टीबाट राष्ट्रपति छन्। एकै पार्टीका यी दुई जनाको राजनीतिक सम्बन्ध सुमधुर नरहेको टिप्पणी भइरहन्छ। यिनको जोडीलाई राजनीतिक रूपमा असुहाउँदो पनि भनिन्छ। यी दुईको संयुक्त सभा निकै दुर्लभ मानिन्छ। तर चुनावी प्रक्षेपणहरूमा पार्टीलाई संकट पर्ने संकेत देखापरेसँगै दुई जना सँगसँगै उभिन थालेका छन्।
चुनावी सभालाई सम्बोधन गर्न बाइडेन जहाँ जहाँ पुग्छन्, ओबामा सँगै हुन्छन्। त्यस्ता सभामा ओबामाको न्यानो स्वागत हुने गरेको छ।
शनिबार ओबामा र बाइडेनले फिलाडेल्फियाको सभामा संयुक्त सम्बोधन गरे। राजनीतिक संकटको समयमा एकसाथ उभिएर एकता प्रदर्शन गर्नुपर्ने सन्देश उनीहरूले दिन खोजेका थिए।
गड्गडाहड ताली र संगीतबीच समर्थकहरूले उनीहरूको स्वागत गरे। मञ्चमा पुगेर ओबामा र बाइडेनले पेन्सिलभेनियाका गर्भनर उम्मेदवार जोस स्यापिरो र सिनेटका उम्मेदवार जोन फेटरम्यानसँग हात मिलाए। सभालाई पहिले सम्बोधन गरेका बाइडेनले ओबामाको विरासतको बखान गरे।
'ओबामा अमेरिकाका महान र ऐतिहासिक राष्ट्रपति हुन्। उनी मेरा साथी हुन् भन्न पाउँदा मलाई गर्व छ,' बाइडेनले भने।
नम्र र वाककलामा माहिर हवाइका ओबामा र कामदार वर्गको वकालत गर्ने डेलावेयरका बाइडेन फरक पुस्ताका नेता हुन्। उनीहरूले प्रतिनिधित्व गर्ने समुदाय पनि फरक छ र दुवैको मानसिकता भिन्न छ। यही कारण ह्वाइट हाउसमा उनीहरूबीच बेलाबखत तनावको स्थिति आउँथ्यो। समान लक्ष्यलाई विपरीत तरिकाबाट सम्बोधनको प्रयत्न हुने गर्थ्यो।
उनीहरूको सम्बन्धको आयाम अहिले परिवर्तन भएको छ। आफ्नो नेतृत्व सही प्रमाणित गर्न बाइडेनले ओबामाको सहायता लिइरहेका छन्। बहालवाला राष्ट्रपतिको हैसियतमा उनको नेतृत्वको प्रशंसा हुनुपर्ने ओबामाले बताइरहेका छन्।
शनिबार चुनावी सभामा ओबामाले भनेका छन्, ‘सु:खद सन्देश के छ भने ह्वाइहाउसमा अहिले उत्कृष्ट राष्ट्रपति छन्।'
जब-जब विपक्षीहरूप्रति टिप्पणी गर्नुपर्छ, बाराक मुलुकको भविष्यप्रति चिन्तित हुन आग्रह गर्दै कडा लवजमा प्रस्तुत हुन्छन्। कपटको सहायतमा रिपलब्लिकनले उथलपुथल ल्याउन खोजेको टिप्पणी गर्छन्। रिपब्लिकनले मुलुकको भविष्य गहिरो संकटतर्फ धकेल्ने उनको आक्षेप हुन्छ।
बाइडेन चुनावी सभामा पनि अनुशासित सिनेटरझैँ प्रस्तुत हुन्छन्। उनको भाषणले मानिसलाई समान्यतया आकर्षित गर्दैन। शनिबारको सम्बोधनमा भने बाइडेन सदाकोभन्दा पृथक सुनिए। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लिकनप्रति उनले आगो ओकले।
बाइडेनले निर्वाचनलाई दुई भिन्न एजेन्डाबीच लडाइँको संज्ञा दिएका छन्। उग्र वा शान्त चरित्रमध्ये एक रोज्न उनको आग्रह छ।
‘रिपलब्कन सत्तामा आए हामीले अवलम्बन गरेका सुरक्षा कार्यक्रम फिर्ता गर्न सक्छन्। उग्र वा शान्त चरित्रमध्ये के रोज्ने तपाईँहरूको छनौटमा छ,' उनले सभामा भनेका छन्।
चुनावी सभामा उनले ओबामाको कार्यकालका कानुनी उपलब्धिको पनि चर्चा गरे।
‘रिपब्लिकनले ओबामा केयर हटाउने कोसिस जारी राखे पनि म यसलाई सम्भव हुन दिने छैन,' बाइडेनले भने।
ओबामा केयर भन्नाले ओबामाको कार्यकालमा लागू भएको स्वास्थ्य बिमा कार्यक्रम हो। यो कार्यक्रम सैद्धान्तिक र आर्थिक हिसाबले गलत रहेको भन्दै रिपब्लिकनले खारेजीको प्रयत्न गरेको थियो। यो कानुन खारेजीका लागि रिपब्लिकनले पटक-पटक प्रस्ताव लगे पनि असफल हुँदै आएको छ।
आफ्नो सम्बोधनमा दुवै जनाले रिपब्लिकनले जित्न नहुने बताउँदै आएका छन्।
‘यस्तो चुनावी सभामा म नउभिएको धेरै भयो। सभामा सम्बोधनका निम्ति मैले अभ्यास पनि गरेको छैन। म आक्रोशित पनि हुन सक्छु,' ओबामाले भनेका छन्।
ओबामाले भाषणमा पुराना शब्दावलीको प्रयोग भने गरिरहे। एस वी क्यान, फार्यड अप, रेडी टू गो उनले बारम्बार प्रयोग गरेका शब्द हुन्। रिपब्लिकनलाई एकपछि अर्को प्रहार गरेपछि मतदातालाई उनले सोधे, ‘के अब तपाईँहरू तात्तिनुभयो?'
भिडले हुटिङ गर्न थालेपछि ओबामाले भने, ‘उत्साहित मात्रै नहुनुहोस्, मतदान गर्नुस्।'
रिपब्लिकनले कंग्रेसमा बहुमत ल्याए उनीहरूले बाइडेनलाई महाअभियोग लगाउने ओबामाले बताएका छन्। ‘किन र के लागि भन्नेमा उनीहरू स्वयं नै निश्चित छैनन् तर उनीहरूले बाइडेनलाई महाअभियोग लगाउने छन्,' उनले भने।
चुनावी सम्बोधनमा विभिन्न राज्य पुगेका ओबामाले रिपब्लिकनका उम्मेदवारप्रति धेरै व्यंग्य गरेका थिए। जर्जियाबाट रिपब्लिकनका सिनेट उम्मेदवार हर्सल वाल्करलाई उनले भनेका छन्, ‘यिनका निम्ति सिनेटरको ब्याच नै सुहाउँदैन। बच्चाले र चोर पुलिस खेलेजस्तो देखिन्छ।'
एरिजोना पुगेर उनले रिपब्लिकनबाट सिनेटका लागि उम्मेदवार रहेका ब्लेक मास्टरलाई पनि व्यंग्य कसे र भने, ‘प्रयोगशालाबाट अभावग्रस्त रिपब्लिकनको नेता बनाउन खोजियो भने त्यो ठ्याक्कै ब्लेकजस्तै बन्छ।'
आरोप लगाउने विषयमा बाइडेन पनि कम देखिएनन्। उनले ट्रम्पलाई बेकामे रिपब्लिकन भनिदिए। रिपब्लिकनले सामाजिक सुरक्षा र मेडिकेयरलाई लोप बनाउने उनले बताए।
‘रिपब्लिकनले जनतालाई यति अपमान गर्नेछ, तपाईँहरू विश्वास नै गर्नुहुने छैन,' उनको भनाइ थियो।
बाइडेन र बाराकको चुनावी सम्बोधनबारे ‘द लङ अलायन्स' का लेखक ग्याब्रियल डेबेनेदेतीले टिप्पणी गरेका छन्। उनको नजरमा बाराक निश्चिन्त भएर रिपब्लिकनप्रति आक्रोश ओकलिरहेका छन् भने बाइडेन आगामी दिनमा सौदा गर्नुपर्ने स्थिति आउन सक्ने भन्दै सतर्क छन्।
‘निसन्देह बाइडेन र बाराक एकै टोलीमा छन् तर उनीहरूको सम्बोधनको शैली फरक छ। रिपब्लिकनसँग आक्रोशितहरूलाई डेमोक्र्याटतर्फ आकर्षित गर्ने किसिमिले मानवीय कुरा जोड्दै ओबामाले सम्बोधन गर्छन्। आफ्नो सम्बोधनका कारण बाराकले अब भोग्नुपर्ने केही कुरा छैन। यता वास्तविकतासँग दिनदिनै समाना गर्नुपर्ने कारणले बाइडेन मज्जाले खुल्न सकेका छैनन्,' उनले भने।
राजनीतिक रूपमा अमिल्दा जोडीको फिलाडेल्फियामा मिलन भए पनि वाककलामा बाइडेनले बाराकलाई भेट्ने छैनन्। दुई जनाको तुलना हुँदा डेमोक्र्याटका समर्थकले बाराकलाई मिस गर्नेछन्।
सर्वेक्षणअनुसार डेमोक्र्याटको सम्भावना ५४ प्रतिशत रहेको एरिजोना, जर्जिया, नेभडा, मिचिगन, विस्कोन्सिनमा बाराक पुगेका छन्। यता बाइडेन न्यू मेक्सिको, क्यालिफोर्निया, न्यूयोर्क, मेरिल्यान्ड र फ्लोरिडामा छन्। सर्वेक्षणले यहाँ डेमोक्र्याटको सम्भावना ४५ प्रतिशत रहेको प्रक्षेपण गरिरहेका छन्।
फिलाडेल्फियामा बाराक र बाइडेनको संयुक्त सम्बोधन दुर्लभ अपवाद थियो। यहीँ जन्मिएका कारण बाइडेनले विशेष महशुस गर्छन्। जन्म सहरमा पार्टीको पक्षमा साथ पाउन ओबामाको सहयोग लिनुपरेको भन्दै डेबेनेदेतीले भनेका छन्, ‘ह्वाइट हाउसमा ओबाको छायाबाट समेत तर्कने बाइडेनका लागि उनैसँगको निर्भरता अलि तीतो नै हुनसक्छ। ओबामाले बाइडेनका हरेक गतिविधिमा सहयोग गरेकाले यो विषय उनका निम्ति नौलो पक्कै छैन। संवेदनशील बाराकले त्यसै ऐतिहासिक छवि बनाएका होइनन्।'
सन् २०१० मा ओबामाकै पालामा भएको मध्यकालीन निर्वाचनमा पनि रिपब्लिकनले बहुमत ल्याएको थियो। मतदाताले बाइडेनको नेतृत्व नरूचाएर रिपलब्किनलाई बहुमत दिए उनको बाँकी दुई वर्ष थप कठिन हुने पक्का छ।
त्यसैले ओबामाले डेमोक्र्याटलाई बहुमत दिलाउन अपिल गरेका छन्। ‘मेरो कार्यकालमा भएको निर्वाचनमा हार व्यहोर्दा कति कठिन भयो मलाई थाहा छ। यो निर्वाचन मजाक होइन,' उनले भनेका छन्।
(न्यूयोर्क टाइम्समा प्रकाशित सामग्रीको भावानुवाद)