चितवनको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उमेश श्रेष्ठ र नेकपा एमालेका कृष्णभक्त पोखरेलबीच प्रतिष्पर्धा हुने भएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि श्रेष्ठ सत्ता गठबन्धनबाट उम्मेदवार बनेका हुन्।
एमालेका उम्मेदवार पोखरेल २०७० र २०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए। पोखरेलले गत निर्वाचनमा नेपाली कांग्रेसका शेषनाथ अधिकारीलाई पराजित गरेका थिए। पोखरेलले ४४ हजार ६७० र अधिकारीले २७ हजार ३१४ मत ल्याएका थिए।
सत्ता गठबन्धनका उम्मेदवार श्रेष्ठ पहिलोपटक निर्वाचन लड्दैछन्। स्वास्थ्य राज्यमन्त्री समेत रहेका श्रेष्ठले चितवनमा पर्यटन तथा स्वास्थ्य क्षेत्रमा लगानी गरेका छन्। पोखरेल भने चितवनमा स्थानीय तहसम्मै भिजेका नेता हुन्। उनले नेकपा एमाले चितवनको नेतृत्व गरिसकेका छन्।
क्षेत्र नम्बर २ मा इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिकाका १० वटा वडाहरु पर्छन्। यहाँ अहिले १ लाख २४ हजार २१४ जना मतदाता छन्।
स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा सत्ता गठबन्धनबाट वडाध्यक्षका उम्मेदवारहरुले ३५ हजार ३९४ मत ल्याएका थिए। एमालेका वडाध्यक्षका उम्मेदवारले ३५ हजार ५ सय ४३ मत ल्याएका थिए। गठबन्धन एक ठाउँमा हुँदा पनि एमालेका वडाध्यक्षका उम्मेदवारहरुले पाएको मत १४९ बढी छ ।
यो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राप्रपाका रविन अधिकारी पनि उठ्ने चर्चा छ। क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेश सभा क मा एमालेबाट कृष्ण सिलवाल र खमा देवी ज्ञवालीलाई उम्मेदवार बनाउने तय गरिसकेको छ। गठबन्धनबाट क्षेत्र ‘क’मा माओवादी केन्द्रका घनश्याम दाहाल उम्मेदवार बन्दैछन्। कांग्रेसको भागमा परेको ‘ख’मा उत्तम जोशीले उम्मेद्वारी दिँदैछन्।