झापाको अर्जुनधारा नगरपालिकाका पूर्व मेयर हरिकुमार रानाले एमाले परित्याग गरेका छन् ।
नेकपा एमाले परित्याग गरेपछि आईतबार नेकपा माओवादी केन्द्रको हँसिया हथौडा चुनाव चिन्ह लिएर मनोनयन दर्ता गर्ने भएका छन्। ‘मेरो उम्मेदवारी झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि हो, म माओवादीबाट उम्मेदवार हुन्छु,’ उनले सेतोपाटीसँग भने ।
राना ५ दलीय गठबन्धनबाट उम्मेदवार बन्ने पक्का भएको नेकपा माओवादी केन्द्र झापाका एक नेताले बताए।
यसअघि त्यस निर्वाचन क्षेत्रमा गठबन्धनले माओवादी नेतृ धर्मशीला चापागाईंलाई उम्मेदवारी बनाउने निर्णय गरेको थियो। यस विषयमा माओवादी नेतृ चापागाईंको आधिकारीक धारणा भने आएको छैन। राना नेकपा एमालेको प्रदेश कमिटी सदस्य हुन्।
नेकपा एमालेको असन्तुष्ट समुहको आग्रहमा पाँच दलीय गठबन्धनले रानालाई झापा निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारका लागि स्वीकार गरेको हो ।
नेकपा एमालेले भने झापा २ मा पार्टीका स्थायी कमिटी सदस्य अग्नि खरेललाई अघि सारेको थियो। तर पार्टीभित्र असन्तुष्टि बढेपछि उनलाई झापा क्षेत्र नम्बर १ मा पठाएर २ नम्बर क्षेत्रमा पार्टीका प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेको नाम अन्तिममा टुंगो लगाएको थियो।