नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफूले झापा क्षेत्र नं २ बाट निर्वाचन लड्ने तयारी गरेको बताएका छन्। पार्टीले आफ्नो दाबेदारीलाई अनुमोदन गरे उम्मेदवार बन्ने र निर्वाचन जित्ने समेत उनले बताए। निर्वाचनमा उनको दाबेदारी, एमालेको तयारी र नागरिकता विधेयकलगायत विषयमा हामीले एमाले स्थायी कमिटी सदस्य खरेलसँग भिडिओ कुराकानी गरेका छौं।
तपाईंले यसपटक प्रत्यक्ष निर्वाचन लड्ने तयारी गर्नुभएको हो?
झापा क्षेत्र नम्बर २ बाट मेरो नाम सिफारिस भएको छ। त्यसको सामान्य तयारी तल भएको छ। साथीहरू समर्थक र जनताको बीचमा पुग्नेगरी गतिविधि भएका छन्। पार्टीले मलाई साथ र समर्थन दियो भने जनताले पनि साथ र समर्थन दिने अवस्था छ। सम्भव भयो र पार्टीले अनुमोदन गर्यो भने मेरो तयारी छ।
यसपटक प्रत्यक्षमै जाने सोच कसरी आयो?
म दुई पटक संविधान सभाको सदस्य भइसकेको छु। म पहिलो पटक समानुपातिकबाट गएको हो भने दोस्रो पटक राष्ट्रपतिबाट मनोनीत भएको हो। मैले दुई पटक नै संसद र संविधान सभामा अब्बल भएर काम गरेको छु। सधैंभरि त्यही बाटोबाट जाने कुरा भएन। त्यताबाट जानभन्दा अरू ठीक हुन्छ भन्ने लाग्यो। अर्को कुरा जनताबाट अनुमोदन भएर जानपर्छ भन्ने लागेको हो।
म जनताको बीचमा किसान मजदुरको बीचमा जान सक्छु कि सक्दिनँ भन्ने पनि हो। कतिपय अवस्थामा पार्टीकै साथीहरूले पनि मलाई यस्तो आशंका गरेको मैले अनुभव गरेको छु।
म एक वर्षदेखि झापामै बसेर काम गरिरहेको छु। म अहिले पार्टीको झापा इन्चार्जको रूपमा पार्टी स्थायी कमिटी सदस्यको हैसियतमा छु। स्थानीय तहको निर्वाचनमा गठबन्धनको सामना गर्दै झापामा हामीले राम्रो नतिजा निकालेका छौं।
पार्टीमा स्थायी कमिटी सदस्य भए पनि तपाईं विज्ञको रूपमा देखिनुहुन्छ नि। त्यसले पनि तपाईंलाई त्यस्तो भनिएको हो कि?
मैले बौद्धिक क्षेत्रमा रहेर काम गरेको हुनाले मलाई त्यस्तो भनिएको होला। म पहिला विद्यार्थी राजनीतिमा सक्रिय भएर काम गरेको हो। अहिले म झापामै त्यहीँको स्थानीय भएर नै काम गरिरहेको छु। म संगठनमा रहेर काम गरिरहेको छु।
मैले पार्टीको सबै तह र संगठनमा काम गरेको छु। रेडगार्डदेखि सुरू गरेर स्थायी कमिटीसम्म आइपुगेको छु। जनताको बीचमा रहेर काम गर्दा जति आनन्दले गरिरहेको छु त्यसले मलाई सन्तुष्ट भएको छ। काठमाडौं आउन पर्ने साथीहरूलाई म उतै भएपछि धेरै सजिलो भएको छ। मसँग आफ्नो पार्टीभन्दा बाहिरका साथीहरूले समेत काम लिएर आउनुहुन्छ।
म जनता र कार्यकर्ताको सहज पहुँचमा छु। मसँग विकास निर्माण र दिनानुदिन समस्या हल गर्नका लागि जनताले भन्न सकेका छन्। म जनताको पहुँचभित्र छु। अग्नि खरेल को हो, यसलाई कसरी भेट्ने योसँग कसरी आफ्ना कुरा राख्ने भन्ने समस्या छैन। पार्टीको पद पनि सार्वजनिक पद हो। त्यसैले जुन पार्टीमा आवद्ध व्यक्तिले पनि आफ्ना कुरा राख्न सक्ने अवस्था हुनुपर्छ। मैले त्यो वातावरण बनाएको छु। त्यो पाटोमा म अरू साथीभन्दा अब्बल छु कि भन्ने हो। बाँकी त जनताले हेर्ने कुरा हो।
भनेको राजनीतिको मजा प्रत्यक्ष निर्वाचनमै छ?
बिल्कुल हो। निर्वाचनको माध्यमबाट सार्वभौम सत्ताको प्रयोग हुन्छ। फलानो पार्टीलाई अनि फलानो मान्छेलाई नै उसले किन रोज्ने? यसका त केही कारणहरू हुन्छन् नि त। त्यो रोजेको मान्छेले उसले भनेको काम पनि गर्दिनुपर्छ, जुन काम हुँदैन त्यो काम हुँदैन भन्दिनुपर्छ।
मैले कतिपय नेताहरूको के देखेको छु भने मान्छेहरू समस्या लिएर आए भने त्यसलाई पन्छाइदिने या त गर्छु भनेर वास्तै नगर्दिने प्रचलन छ। यसलाई हामीले सुधार्नुपर्छ। नहुने काम हुँदैन भनेर भन्दिनुपर्छ। हामीले उचित बाटो देखाइदिनुपर्छ। कतिपय हुने कामलाई सम्बन्धित ठाउँमा भनेर हुन्छ भने भन्दिनुपर्छ। हामी सार्वजनिक पद धारण गरेका मान्छेहरू भएको ठाउँमा समस्या लिएर आउनु स्वाभाविक हो। हामीले सही बाटो देखाइदिनुपर्छ। यो काम मैले आफूले सकेको गरेको छु भन्ने हो।
झापा क्षेत्र नं २ मा त एमालेको तर्फबाट २०७४ मा निर्वाचित सांसद हुनुहुन्छ। उहाँको पनि स्वाभाविक दाबी होला?
उहाँको पनि दाबी आएको छ। पार्टी स्थायी कमिटी सदस्य देवराज घिमिरेको पनि दाबी छ। बिर्तामोड नगरपालिकाका पूर्वमेयर पनि दाबेदार हुनुहुन्छ। यी सबै दाबीका बीचमा पार्टीले निर्णय गर्ने हो। मैले मेरोमात्रै दाबी भनेको छैन। पार्टीले कसलाई उठाउँदा चुनाव जित्न सम्भव हुन्छ। त्यो निर्णय पार्टीले गर्ने हो। पार्टीले गरेको निर्णय सबैले मान्नुपर्छ।
यहाँले प्रत्यक्ष निर्वाचन लड्ने निर्णय गर्नुभएको छ, बाँकी कुरा पार्टीको भयो?
त्यो त बिल्कुल पार्टीकै हो। मैले आफ्नो कुरा भनेको छु। कार्यकर्ताहरूले आफ्ना कुराहरू भनेका छन्। ती सबै कुराहरू हेरेर पार्टीले निर्णय गर्ने हो र निर्णयको आधारमा हामी अगाडि बढ्ने हो। पार्टी प्रणालीमा व्यक्तिको निर्णय बिल्कुलै हुँदैन।
पार्टीले समानुपातिक या राष्ट्रिय सभामा जान भन्यो भने?
म त्यसमा जादिनँ र पार्टीको निर्णय पनि समानुपातिकमा नदोहोर्याउने भन्ने हो। म राष्ट्रिय सभामा किन जादिनँ भने मेरो काम गर्ने तरिका, उमेर र स्वभावले प्रतिनिधि सभामा मेरो आवश्यक छ भन्ने बुझ्छु। संसद भनेको कानुन बनाउने थलो हो भने सँगै जनताको समस्या समाधान गर्ने पनि हो।
मैले झापाको क्षेत्र नं २ सँग गाँसिएर जे-जस्ता काम गरेको छु, त्यो कुरा त्यहाँका जनताले बिर्सन्छन भन्ने लाग्दैन। त्यहाँका विद्यालय, स्वास्थ्य क्षेत्रका समस्याहरू समाधानमा समेत मैले सहयोग गरेको छु। १८ सय विद्यार्थी पढ्ने मोहन माया माध्यामिक विद्यालयले मुद्दा हारेर सर्वोच्च अदालतले ७-७ दिनमा पत्र काटेको थियो।
मैले त्यो समस्या समाधान गर्न पहल लिएको थिए। त्यो विद्यालयको अध्यक्ष कांग्रेसको महासमिति सदस्य हुनुहुँदो रहेछ। उहाँले तपाईंले कुन पार्टी भनेर सोध्नुभएन भनेर भन्नुभयो। मैले जनताका काम गर्ने सवालमा पार्टी हेरेको छैन। प्रदेश १ कै उत्कृष्ट विद्यालयको समस्या समाधान भएको छ।
डुमलाल रंगशालाको समस्या समाधान गरेर काम अघि बढ्दैछ। त्यहाँका अरू सामुदायिक विद्यालयका समस्या समाधान गरेर उत्कृष्ट बनाउन मैले धेरै काम गरेको छु। सामुदायिक विद्यालयलाई सुधारेर अब्बल बनाउन सके तल्लो तहका जनतामाथि आउँछन् भनेर मैले प्रयास गरिरहेको छु। बिर्तामोडलाई शैक्षिक र स्वास्थ्यको हब बनाउन खोजिरहेको छु।
त्यहाँ अस्पतालहरू धेरै छन्। अहिले त्यहाँका जनतालाई उपचार गर्न बाहिर जान नपर्ने अवस्था आएको छ। त्यहाँको स्वास्थ्य क्षेत्रलाई सुधार्न प्रयास गर्नुपर्छ ।बी एण्ड सी अस्पताललाई मेडिकल कलेज बनाउनुपर्छ भनेर अगाडि बढ्नुपर्ने अवस्था छ। त्यो दुर्गा प्रसाईंको मात्र कुरा होइन। झापाका जुनसुकै पार्टीका नेताहरूलाई सोधे पनि उनीहरू मेडिकल कलेजकै पक्षमा छन्।
त्यो क्षेत्रका शिक्षा र स्वास्थ्यको विषयलाई अघि बढाउन पनि प्रत्यक्ष निर्वाचनमा जान खोज्नुभएको हो?
मैले त्यो अवसर पाएँ भने यसलाई मुख्य योजना बनाएर अघि बढ्छु।
तपाईंको पार्टीको कुरा गरौं, एमालेले हामीसँग निर्वाचन लड्न सबै डराएका छन् भनिरहेको छ। तर गठबन्धनको प्रयास त गरिरहेकै छ नि?
हामीले गठबन्धन गर्न खोजेका छैनौं। हामी गठबन्धन गर्दैनौं। धेरै गरे हामीले सिटको तालमेल गर्छौं। गठबन्धन भनेर हामी गर्दैनौं।
त्यो पनि एक किसिमको गठबन्धन हो नि?
तालमेल र गठबन्धन एउटै होइन। तालमेल, आम रूपमा गठबन्धन हुँदैन। हामीले आवश्यकता र औचित्यका आधारमा तालमेल गर्ने हो। हामीसँग विशेष गरेर कांग्रेस डराएको त प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिबाटै देखिएको छ नि। उहाँले सार्वजनिक ठाउँमा र आफूभित्रका बैठकमा समेत एमालेसँग जितेर देखाउन त भनेर जसरी जवाफ दिनुभएको छ यसले कांग्रेस हामीसँग लड्ने हैसियतमा छैन भन्ने देखाउँछ। अरू पार्टीको त धेरै कुरा नगरौं।
तपाईंहरूले पनि २०७४ मा गठबन्धनको सुरूवात गराउनुभयो, डराएर गर्नुभएको हो त?
हामीले डराएर त कुनै हालतमा होइन। त्यो बेला पार्टी अध्यक्ष केपी ओलीको क्रेजले हामी डराउने स्थिति थिएन र अहिले पनि छैन। हामीले पार्टी एकताको लागि गठबन्धन गरेको हो। चुनावपछि पार्टी एकता गर्ने भनेर गरेको हो। हामीले पार्टी एकता पनि गर्यौं। त्यसको परिणाम स्वाभाविक नभए पनि काम राम्रो थियो।
तपाईंहरूले गठबन्धन गर्दा सही अरूले गर्दा गलत भन्ने हुन्छ त?
के कांग्रेसको यात्रा समाजवादको हो। उसले पुँजीवादको बाटो छोडेको हो भनेर प्रष्ट हुनुपर्छ। माओवादी र माधव नेपाल लगायतलाई पनि तपाईंहरूले पुँजीवादी व्यवस्था रोजेको हो भन्ने प्रश्न उठ्नु स्वभाविक हो।
तपाईंहरूले राजावादीसँग तालमेल र गठबन्धन गर्न हुने अनि कांग्रेसले माओवादी लगायतसँग गठबन्धन गर्न नहुने भन्ने हुन्छ?
तालमेल एकाध ठाउँमा गर्ने हो। त्यो सैद्धान्तिक कुरा हो। निर्णय भएको होइन। राजावादीसँग मात्र होइन अरू वादीसँग पनि हुनुपर्छ। हामीले स्थानीय तहको निर्वाचनमा झापाको कचनाकलनमा कांग्रेससँग तालमेल गरेको हो। त्यसैले तालमेल र गठबन्धन फरक हो। गठबन्धन गरेपछि घोषणापत्र एउटै हुनुपर्छ। हिजो हामीले एउटै घोषणा पत्र बनाएका थियौं।
चुनावपछि पार्टी एकता गर्ने भनेका थियौं। पछि हामीले एउटै पार्टी बनायौं। यद्यपि त्यो धेरै समय टिक्न सकेन। त्यसको इतिहासले मूल्यांकन गर्ला। कांग्रेसले मुलुकलाई गलत अभ्यासतर्फ लैजाँदैछ।
कांग्रेसको नेतृत्वमा संसदीय व्यवस्थालाई ध्वस्त पारिँदै छैन? ३ सय ६४ दिन एउटा पार्टीको विचार बोक्ने अनि एक दिन अर्को पार्टीमा भोट हाल्न निर्देशन दिनु भनेको मुलुकलाई एक दलीय व्यवस्थामा लैजाने षडयन्त्र हो। दलीय मान्यताको चरित्रभन्दा बाहिर लैजाने प्रयास भइरहेको छ। यो काग्रेसकै नेतृत्वमा भइरहेको छ।
नागरकितासम्बन्धी विधेयको कुरा गरौं, राष्ट्रपति विद्यादेवी भण्डारीले यो विधेयकलाई रोक्ने फेरि चर्चा चलिरहेको छ। यसलाई रोक्नपर्छ कि प्रमाणीकरण गर्नुपर्छ?
राष्ट्रपतिले यो विधेयक के गर्नुहुन्छ त्यो उहाँको कुरा हो। यसमा म धेरै भन्न चाहन्न। तर राष्ट्रपतिले जे विषय उठाएर फिर्ता पठाउनुभएको थियो। त्यस विषयमा प्रतिनिधि सभाले छलफल चलाएन। राष्ट्रिय सभाले सभाको खातिर ठीकै गर्यो भन्न सकिएला। राष्ट्रपतिले संसदलाई लेखेको प्रश्नको जवाफ गठबन्धनले बालुवाटारबाट दियो। त्यो त राम्रो भएन नि।
संसदले पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने होइन?
संसदले पठाएको विधेयक जारी गर्दिनुपर्ने हो भने संविधानमा पुनर्विचार गर्न सक्नुहुन्छ भनेर नलेखेको भए हुन्थ्यो नि त। राष्ट्रपतिले राज्यका गम्भीर मामलामा विचार गर्न सक्छ। यसलाई सच्याउन पहल गर्नु स्वाभाविक हो।
अहिले विधेयकमा भएको प्रावधान तपाईंहरूको सरकारले ल्याएको अध्यादेशमा पनि थियो, त्यतिबेला त राष्ट्रपतिले तुरून्तै प्रमाणीकरण गर्नुभयो?
अध्यादेशमा अरू केही थिएन। जन्मसिद्धका सन्तानलाई नागरकिता दिने भन्ने मात्र थियो। अध्यादेशमा वैवाहिक अंगीकृतको अनि गैरआवसीयको कुरा थिएन।
वैवाहिक अंगीकृतमा अध्यादेश नबोलेपछि त पहिलाको जस्तै वैवाहिक अंगिकृतले नागरिकता पाउने भन्ने होला नि?
यो कानुन नबनुञ्जेलसम्म त अंगीकृतले पाउँछन् भन्ने त अहिले पनि हो नि। यो कानुन जब बन्छ बनिसकेपछि बनेबमोजिम हुने हो। नबनेको अवस्थामा हिजोको जे कानुन हो, त्यहीअनुसार हुन्छ। हिजो हामीले केही गल्ती गरेका रहेछौं भने त्यसलाई राज्य व्यवस्था समितिले सच्याउन भनेको हो नि। राज्य व्यवस्था समितिले जे प्रावधान राख्यो त्यसलाई संसदमा लगेर सच्याउन पर्थ्यो नि त। हाम्रो असहमति त्यसमा हो। अंगीकृत नागरकिताको हकमा हाम्रो छिमेकमा जे प्रावधान छ त्यही गरौं भन्ने हो अरू केही होइन।
राष्ट्रपतिमाथि उठाइएको प्रश्न के हो भने त्यही विषय पहिला अध्यादेशमा जारी गरियो तर अहिले किन रोकियो?
अध्यादेशमा जारी गरेको विषय अंगीकृतको कुरा होइन। त्यसबेला जारी गरिएको विषय भनेको जन्मसिद्धका सन्तानलाई नागरकिता दिने भन्ने हो।
अंगिकृतको कुरा नगरेपछि त त्यही प्रावधानको कुरा भएन र?
त्यो त हाउसमा थियो नि त। संसदको विजिनेस त हाउसमै रहन्थ्यो।
नागरकिता ऐन २०६३ जारी भएपछि त संसदमा रहेको विजनेस भन्ने रहेन नि?
अध्यादेशमा के विषय थियो भन्ने हेर्न पर्यो नि। हाउसमा रहेको विषय हाउसमै छ। कम्तीमा जन्मसिद्धलाई नागरिकता दिउँ भनेर ल्याइएको हो। हिजो आफैंले विरोध गरेको हो। उहाँहरूले नै अदालतमा मुद्दा दिन लगाएको हो। अहिले किन साखुल्य पल्टिन परेको हो। जन्मसिद्धलाई नागरिकता दिनेबारे हाम्रो विरोध होइन। गठनबन्धनवालाहरूले हाम्रा विरूद्धमा यसलाई लैजान खोज्नुभएको छ। हामी यसलाई चिरेर जानेवाला छौं।