पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ताविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ।
आफ्नै साझेदारको सम्पत्ति हडप्न षड्यन्त्र गरेको आरोप लागेका गुप्ताविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो।
नेकपा माओवादीमा आबद्ध गुप्ता गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।
गुप्तामाथि आफूसँगै साझेदारीमा व्यापार गर्दै आएका दुई जना भारतीय नागरिकलाई झूटो लागुऔषध मुद्दामा फसाएर व्यापारको एक करोड बढी मुनाफा हडप्ने षड्यन्त्र गरेको आरोप लागेको छ।
साझेदारी व्यापारको एक करोड बढी रकम हडप्ने उद्देश्यले प्रहरीको मिलेमतोमा दुई भारतीयलाई योजनाबद्ध रूपमा लागुऔषध मुद्दामा फसाएको आरोपमा उनलाई पक्राउ पुर्जी जारी भएको हो।
भारतको मोतिहारी जिल्ला चिरइया थाना ग्रामका रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानले गुप्तासँगै मिलेर सुनवलको भुमहीमा कवाड व्यवसाय सञ्चालन गरेका थिए।
गत असार २२ गते जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट गुप्ता र पासवानलाई पक्राउ गरेको थियो।
उनीहरूसँग डाइजेपाम, फेनारगन लगायतका लागुऔषध बरामद भएको प्रहरीको दाबी थियो।
लागुऔषधसहित पक्राउ परेका भनिएका गुप्ता र पासवान दुई महिनादेखि प्रहरी हिरासतमा रहे पनि छानबिनका क्रममा घटना विवरण नै बनावटी भएको र उनीहरूलाई फसाउन गाउँपालिका अध्यक्ष गुप्ताले षड्यन्त्र गरेको पाइएको प्रहरी उच्च स्रोतले बताएको छ।
अनुसन्धानको क्रममा पक्राउ परेकाहरू निर्दोष देखिएपछि प्रहरीले गाउँपालिका अध्यक्ष गुप्ता, उनका सहयोगी धोबी र अर्का युवक विवेक पाण्डेलाई लागुऔषध मुद्दामा सजायको मागदाबी लिई अनुसन्धान प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालयले जनाएको छ।
गुप्ताकै योजनामा भारतीय नागरिकलाई नक्कली मुद्दा चलाउन खोजेको पुष्टि भएपछि उनलाई पक्राउ पुर्जी जारी गरिएको सरकारी वकिल कार्यालयका एक अधिकृतले जानकारी दिए।
सो घटनामा पक्राउ परेका गुप्ताका सहयोगी पूर्व नगर प्रहरी रघुनाथ धोबीको बयान र अन्य प्रमाणका आधारमा उनको संलग्नता देखिएको ती अधिकृतले बताए। आफूविरूद्ध प्रमाण जुट्दै गएपछि गुप्ता फरार छन्।
थुनामा रहनुभन्दा अघि गुप्ता र पासवानले अध्यक्ष गुप्तासँग कवाड सामानको कारोबार गर्दै आएका थिए। तर, नाफाको २० प्रतिशत रामा गुप्तालाई दिने सहमतिलाई बेवास्ता गरेका गुप्ताले एक करोड ३३ लाख रुपैयाँ हडप्न लागुऔषध मुद्दामा फसाउन खोजेको प्रहरी स्रोतले जनाएको छ।
लागुऔषधको झूटो मुद्दामा पक्राउ गरिएका गुप्ता र पासवान निर्दोष रहेको र तत्काल रिहा गर्न भन्दै उनीहरूका परिवारसहित नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नवलपरासीले आन्दोलन समेत गरेका थिए।
गुप्ताका परिवार, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले भदौ ११ गते परासीमा पत्रकार सम्मेलन गरी गाउँपालिका अध्यक्ष गुप्ताले षड्यन्त्रपूर्वक फसाउन खोजेको भन्दै उनीहरूलाई तत्काल रिहा गर्न र गाउँपालिका अध्यक्षमाथि छानबिन गर्न माग गरेका थिए।
त्यसपछि प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरीले गहिरो छानबिन सुरू गरेको थियो। कवाड व्यवसायी रामा गुप्ताका साला सन्जय शाहले गाउँपालिका अध्यक्षको निर्देशनमा उनका सहयोगी नगरप्रहरी रघुनाथ धोवीले असार २२ गते रामग्राम नगरपालिका १७ पिपरहियामा चिया पसलभित्र बोलाएर आफैंले ल्याएको लागुऔषध मोटरसाइकलमा राखिदिएर प्रहरीलाई बोलाएर भिनाजुलाई पक्राउ गराएको दाबी गरे।
उनले गाउँपालिका अध्यक्ष गुप्तासँग रामाले १२ वर्षदेखि कवाडको कारोबार गर्दै आएको र पाउनुपर्ने रकम दिन आलटाल गर्दै आई सोही रकम हडप्न फसाउन खोजेको दाबी गरे।
जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धिरेन्द्र यादवले पद र पैसाको आडमा गाउँपालिका अध्यक्षले तिर्नुपर्ने मोटो रकम नतिरेर उम्किन भारतीय नागरिकलाई नै फसाउन खोजेको बताए।
उनले गाउँपालिका अध्यक्ष गुप्तालाई पक्राउ गरी कारबाही गर्न माग गरे।
यो पनि: गाउँपालिका अध्यक्षको 'सूराकी'ले निर्दोष व्यक्ति लागुऔषध मुद्दामा ४८ दिनदेखि हिरासतमा