१३ वर्षको उमेरमै एमालेनिकट अनेरास्ववियुको राजनीति सुरू गरेकी नविना लामा २०७२ मा उक्त संगठनकी निर्वाचित अध्यक्ष बनिन्। त्यसको दुई वर्षमा उनी प्रतिनिधि सभाकी सांसद बनिन्। २०७५ वैशाखमा आफ्ना राजनीतिक पूर्वसहकर्मी प्रवीणकुमार श्रेष्ठसँग उनी विवाह बन्धनमा बाँधिइन्।
बिहे गरेसँगै उनको जिम्मेवारी पनि थपियो। विद्यार्थी राजनीतिमा सडक तताउँदै आएकी नवीना सदनमा पुगेसँगै भूमिका पनि फरक हुने नै भयो। बिहे गरेपछि उनी बुहारीको भूमिकामा पनि रहने नै भइन्। २०७७ भदौमा आमा बनेपछि उनको जिम्मेवारी अझै थपियो।
‘नेपाली समाजमा छोरी मान्छेहरूलाई अलिकति गाह्रो छ। समाजको चलनअनुसार मैले ढिलो नै बिहे गरे। बिहे गर्दा सांसद पनि थिएँ। यही कार्यकालमा मेरो बच्चा जन्मियो,’ उनले भनिन्, ‘संसदको पहिलो कार्यकाल मेरो लागि सुखद रह्यो। यो समयमा राम्रा कानुन पनि बने। यो कार्यकालमा धेरै उचारचढाव पनि भए।’
बिहेपछि उनले घर परिवारको सहयोग राम्रो पाइन्। श्रीमान् प्रवीणकुमार श्रेष्ठले उनलाई दरिलो साथ दिए। घरका अन्य सदस्यले पनि उत्तिकै सहयोग गरे। तैपनि राजनीतिमा सक्रिय महिलालाई बच्चा हुर्काउनु केही न केही अप्ठेरो भइहाल्ने उनको अनुभव छ।
‘राजनीतिमा एकदमै स्वतन्त्रता चाहिन्छ। त्यसमा पनि म त विद्यार्थी कालदेखि नै सक्रिय भएर हिँडेको हो। यस बीचको अनुभवले म हिजोजस्तो स्वतन्त्र छैन भन्ने देखायो,’ उनले भनिन्, ‘बुहारी भइसकेपछि आधारभूत कुरा स्वीकार्नै पर्छ। राजनीतिक रूपमा जिम्मेवारी भए पनि मानसिक रूपमा पूर्ण स्वतन्त्र भइँदैन। आमा भएपछि मातृत्वको छुट्टै भावनात्मक सम्बन्ध पनि हुन्छ।’
कतिपय अवस्थामा राजनीति, समाजभन्दा पनि परिवार र बच्चा हेर्नु पर्ने रहेछ। त्यसैले उनले नयाँ-नयाँ अनुभवसमेत भोग्न पाइन्।
नवीनाको पेटमा बच्चा हुँदा कोरोना भाइरसको महामारी थियो। त्यस्तो बेलामा धेरै हिँड्न मिलेन। कतिपय अवस्थामा संसदकै महत्वपूर्ण बैठकसमेत छुटाइन्। बच्चा जन्मिएपछि अझै होसियारी अपनाउनु पर्यो। बच्चा जन्मिएको ९ महिनादेखि नै उनले छोरालाई घर परिवारको जिम्मा लगाएर हिँडेकी थिइन्। १० घन्टासम्म पनि उनी बाहिरै हिँड्नुपर्थ्यो। यस्तो बेलामा घर परिवारको साथ नभएको भए राजनीतिलाई अघि बढाउन असम्भव हुने उनले बताइन्।
‘मेरो श्रीमानले पूर्ण रूपमा सहयोग गर्नुभयो। बिहे नहुँदा पनि हाम्रो सम्बन्ध थियो। उहाँले मलाई र मैले उहाँलाई चिनेका थियौं। मेरो राजनीति उहाँले बुझेको कारणले सहज भयो,’ उनले थपिन,‘उहाँले आफूले सक्ने सहयोग गर्नुभएको छ। म त्यसमा गर्व गर्छु। हिजोको जुन खालको उतारचढाव राजनीतिक मोडहरू थिए, त्यसमा जुन ढंगले साथ पाएको थिएँ, त्यो अहिलेसम्म बदलिएको छैन र बदलिँदैन भन्नेमा म विश्वस्त छु।’
अरू सांसदले जस्तो उनले संसदमा बिहानदेखि बेलुकासम्म समय दिन पाएकी छैनन्। उनले यसलाई बाध्यता भन्दा पनि अवसरको रूपमा लिएका छन्। राजनीतिका महत्वपूर्ण मोडहरू भोलि पनि आउन सक्ने आत्मविश्वासका साथ उनले छोरालाई दिने समयमा कमी आउन दिइनन्।
छोरा दुई वर्ष पुग्दासमेत उनले एकदिन पनि सिंहदरबार र बानेश्वर लिएर गएकी छैनन्। भीडभाडमा बच्चालाई नलैजाउ भनेर उनले नलगेकी हुन्। धेरै समय बाहिर बस्नुपर्यो भने छोरासँग भिडिओ कुराकानी गर्छिन्। भर्खरै तोते बोली बोल्न सुरू गरेका छोरासँग कुरा गर्दाको आनन्दजस्तो अरू उनलाई लाग्दैन।
आफू जोगिएर छोरालाई समेत जोगाउने चुनौतीका कारणले उनले छोरालाई नलगेकी हुन्। कतिपय सांसदहरूले छोरालाई संसदमा ल्याउन भन्छन् तर उनले लगेकी छैनन्। २०७८ मंसिरमा एमालेको दसौं महाधिवेशन भयो। त्यो महाधिवेशनमा उनले छोरालाई पनि चितवन लगेकी थिइन्। सँगै नवीनाका श्रीमान् र सासु पनि गएका थिए। दिनभरि महाधिवेशनमा व्यस्त भएकी नवीना साँझ मात्रै होटलमा छोरा हेर्न पुग्थिन्।
उनलाई पार्टीले सक्रिय भूमिका दिएको छैन। विद्यार्थी राजनीतिमा जस्तो जिल्ला घुम्न पाउँदिनन्।
‘कम्युनिष्ट पार्टीमा बाहिर जान आफ्नो इच्छाले मात्रै हुँदैन। तलबाट बोलाउनु पर्छ। हिजो अखिलमा देशभरि घुमेको हो। तर अहिले त्यस्तो छैन,’ उनले भनिन्,‘कि त पार्टीका नेताहरूले लिएर जाने भन्ने हुन्छ। त्यस्तो अवसर पनि मलाई अहिलेसम्म जुरेको छैन। म उपत्याकामै सीमित छु र काभ्रेसम्म जान्छु। '
उनी यो कार्यकाल समानुपातिक सांसद भइन्। अब उनलाई प्रत्यक्ष निर्वाचन लड्ने इच्छा छ। राजनीतिमा सधैँ सांसद हुनुपर्छ भन्ने छैन तर समानुपातिक र प्रत्यक्ष सांसदमा नीति निर्माण तहमै विभेद देखिएकाले उनलाई चुनाव लड्ने हुटहुटी भएको हो।
‘हाम्रो संविधान लेपनि जनसंख्याको आधारमा महिला र पुरूषलाई समान ढंगले टिकट दिने भनेको छ। मैले प्रत्यक्ष निर्वाचनको अनुभव लिएको छैन। हिजो आन्तरिक निर्वाचन अखिलमा भयो,’ उनले भनिन्,‘म काभ्रे-१ बाट निर्वाचन लड्न मानसिक रूपमा तयार छु। पार्टीले कसरी मूल्यांकन गर्छ, त्यो अलग कुरा हो। तर महिला र पुरूष सांसदमा विभेद भएको कारणले हामी नेता नै बन्ने हो भने प्रत्यक्षमै जानुपर्छ भन्ने लागेको छ।’
नवीनालाई उनका श्रीमान् प्रवीणले विगतदेखिनै अहिलेसम्म साथ दिँदै आएका छन्। विद्यार्थी राजनीतिकै क्रममा दुई जनाको भेट भएको हो। प्रवीण अहिले आफ्नै व्यवसायमा लागेका छन्। सांसद नवीनासँग बिहे गर्दा उनलाई आफ्नी प्रेमिकासँग बिहे गरेको भन्दा भिन्न केही लागेन।
‘बिहे गर्दा सांसद भन्ने भन्दा पनि जीवन संगिनी र नयाँ सम्बन्ध विस्तार हुन्छ भन्ने हो। अरू नयाँ त केही लागेन। विद्यार्थी राजनीतिदेखि नै म सँगै छु,’ प्रवीणले भने,‘पहिला पनि सहयोग गरिरहेको हो अहिले पनि कायम छ। बिहे त प्रेमिल जोडीको भइहाल्छ नि!’
भिडिओ: