२०४८ को जेठ दोस्रो साता तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सरकारी निवास छोड्न पर्ने भयो। गिरिजाप्रसाद कोइराला नयाँ प्रधानमन्त्री बनेपछि उनी बालुवाटारबाट बाहिरिन लागेका थिए। बालुवाटार छोड्ने अघिल्लो दिन भट्टराईले तत्कालीन मुख्यसचिव दामोदर गौतमलाई बोलाए र आफू बस्ने कुपण्डोलस्थित घरको धारामा पानी आउने बनाइदिन आग्रह गरे।
‘आफ्नो कार्यकालमा किसुनजीले मलाई एउटै मात्र व्यक्तिगत काम लगाउनुभयो। दामोदरबाबु, म भोलिदेखि यो निवास छोड्दैछु। मेरो घरको धारामा पानी आउने बनाइदिनुस है,’ त्यो बेलाको प्रसंगबारे गौतमले सेतोपाटीसँग भने, ‘उहाँको सादगीपनको जति प्रशंसा गरे पनि कम हुन्छ। म एउटा ट्यांका लिएर आएको हो। एउटा ट्यांका लिएरै फर्किनुपर्छ भन्नेमा धेरै सतर्क हुनुहुन्थ्यो। उहाँ त एक किसिमको जोगी नै हो।’
किसुनजीको नाम लिएर दबाब दिनेहरू खासै नव्यहोरेको उनले बताए। आफ्नो ट्यांकामा कसैले केही राख्दिन्छन् कि भन्नेमा किसुनजी सधैँ सचेत रहन्थे।
२०१९ सालमा सरकारी सेवामा प्रवेश गरेका दामोदर गौतम २०४० सालमा तत्कालीन श्री ५ को सरकारको सचिव भएका थिए। २०४७ माघमा मुख्यसचिव भएका गौतमले २०४९ माघमा अवकाश पाए। गौतमले सचिव र मुख्यसचिव हुँदा प्रधानमन्त्रीहरू सूर्यबहादुर थापा, तुलसी गिरी, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासँग काम गरे। छोटो समय लोकेन्द्रबहादुर चन्दसँग पनि काम गरे। उनी मुख्यसचिव हुँदा भट्टराई र कोइराला प्रधानमन्त्री थिए भने अरू प्रधानमन्त्री हुँदा उनी सचिव थिए।
फरक-फरक प्रधानमन्त्रीसँग गौतमका अनुभव पनि फरक नै छन्।
२०४६ को परिवर्तनपछि र २०४८ का जननिर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग गौतमले झन्डै डेढ वर्ष काम गरे।
गौतमका नजरमा कोइरालालाई निर्णय चाहिन्थ्यो, उनी डिटेलमा भने जान्थेनन्। सतही पनि थिएनन्। कोइरालाले दबाब दिन्थेनन् तर आफ्नै संयन्त्रबाट काम भने गराउँथे।
‘अहिले सरकारको स्तरबाट काम नभए पनि ठेकेदारको स्तरबाट भएको छ कि छैन? हो, त्यस्तै उहाँले खै कसरी गराउनुहुन्थ्यो, गराउनुहुन्थ्यो। राजनीतिक तहबाट हुने काम मात्रै गराउनुहुन्थ्यो,’ उनले भने,‘उहाँको राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय स्तरको व्यक्तित्व थियो। उहाँसँगै भारत भ्रमणमा गएको बेला मैले उहाँले पाएको सम्मान देखेको थिएँ। विशेष गरेर समाजवादीहरूमाझ उहाँ लोकप्रिय हुनुहुन्थ्यो।’
गिरिजाप्रसाद कोइरालाले बाहिरबाटै आफ्नो आवश्यकता पूरा गर्ने र सरकारी संयन्त्र प्रयोग नगर्नेसमेत उनले बताए।
आफू सचिव रहेका बेला काम गरेका प्रधानमन्त्रीमध्ये गौतमले मरिचमान सिंहलाई सबैभन्दा धेरै सम्झिन्छन्। मरिचमानको सरलता र कसैलाई नबिझाउने स्वभावले गौतम अझै प्रभावित छन्।
‘मरिचमानले प्रधानमन्त्री छोडेपछि धुम्बाराही गएर जग्गा लिनुभयो। त्यो बेलामा त्यो ठाउँमा बिरलै मान्छे बसेका थिए। उहाँले त्यहाँ जग्गा लिएर गाईसमेत पाल्नुभएको थियो,’ उनले भने,‘प्रधानमन्त्री छोडेको भोलिपल्टदेखि नै छोराको मोटरसाइकलको पछाडि बसेर यात्रा गर्नुहुन्थ्यो। उहाँले त झनै दबाब दिने भन्ने त रहँदै रहेन।'
आफूले काम गरेका प्रधानमन्त्रीमध्ये सबैभन्दा ‘रहस्यमयी’ लाग्ने उनलाई सूर्यबहादुर थापा हो। थापाले के गर्छन् के गर्दैनन् भन्ने थापा स्वयंलाई मात्र थाहा हुन्थ्यो।
'उहाँ कहिले कालो टीका लगाउनुहन्थ्यो, कहिले राजाको झण्डा बोकेर हिँड्नुहुन्थ्यो। उहाँलाई प्रधानमन्त्री दिएको भए अरू ६ महिना राजाको नाममा शासन गर्दिनुहुन्थ्यो भन्नेहरू त्यो बेलामा पनि थिए,’ उनले भने,‘जे गर्दा हुन्छ त्यो उहाँले गर्नुहुन्थ्यो। सूर्यबहादुरले नचिनेका कर्मचारी कमै थिए होलान्। तर उहाँलाई बुझ्न कठिन थियो। सूर्यबहादुरको कुरा बुझ्न सूर्यबहादुर नै हुनपर्थ्यो।’
पञ्चायतमा दरबारले भन्दा पनि दरबारसँग नजिक रहेकाहरूले धेरै दबाब दिन खोजेको गौतमको अनुभव छ। दरबारको केही स्वार्थ भए पनि सचिवभन्दा मुनिकालाई थाहा नहुनेसमेत उनले बताए। यद्यपी राजाको शासनकालमा केही अनिश्चितता भने भइरहने उनले बताए। हुकुमी शासनमा केही अनिश्चितता हुनु स्वभाविक रहेको उनको भनाइ छ।
‘सचिव, मुख्य सचिव बनाउने बेलामा दरबारको केही चाहना हुन्थ्यो। सचिवमा धेरै चासो हुन्थेन। मुख्य सचिव बनाउने बेलामा भने दरबार अलि सचेत हुन्थ्यो,’ उनले भने,‘उसले अलिकति गतिलो र सन्तुलन राख्ने मान्छे चाहन्थ्यो। दरबारको इज्जत राख्ने खोज्थ्यो। राम्राभन्दा पनि हाम्रा खोज्ने पनि थियो। यद्यपी लोकसेवा पास गरेर आएका हुनाले धेरै समस्या हुन्थेन।’
उनका अनुसार अलि-अलि पक्षपात हुन्थ्यो तर धेरै समस्या पर्थेन। मुख्यसचिवमा दरबारको स्वार्थ हुनुको पछाडि सिंहदरबार र राजदरबारको राम्रो सम्बन्ध होस् भन्ने हो।
बहुदल नआएको भए तपाई मुख्यसचिव हुनुहुन्थ्यो भन्ने प्रश्नमा उनले आफू मुख्यसचिव नहुन पनि सक्थें कि भन्ने आशंका व्यक्त गरे।
‘मलाई दरबारले धेरै उपेक्षा पनि गरेको थिएन। तर धेरै विश्वास पनि गर्थेन होला। म यसको जवाफ पूर्ण रूपमा दिन सक्दिनँ,’ उनले भने,‘तर बहुदलले धेरै परिवर्तन गर्यो। त्यो परिवर्तन मेरो पक्षमा पनि थियो। किनकी म त बहुदल आएपछि मुख्यसचिव भएको हो।’
गौतमका अनुसार पञ्चायतमा रूचाइएको र नरूचाइएको आधारमा बढुवा हुन्थ्यो। तर अहिले त्यस्तो हुन गाह्रो छ। कसैलाई चित्त बुझेन भने अदालत गएर न्याय पाइन्छ भन्ने छ। अर्को कुरा चेतनाको स्तर धेरै माथि गएको छ। मानिसले आफ्नो अधिकार खोज्न जानेको छ। मिडियाले यस्ता विषयलाई बाहिर ल्याएर पनि उजागर गर्छ।
उनलाई पञ्चायतको बेलामा हुनेजस्तो हस्तक्षेप अहिले कम हुन्छ जस्तो लाग्छ। पञ्चायतमा दरबारसँगको सम्बन्ध देखाएर अघि बढ्नेहरू केही थिए। दरबार देखाएर हैकम चलाउन खोज्थे र गरेका पनि थिए।
उनी भन्छन्- अहिले त त्यस्तो छैन। धेरै मान्छे अहिलेको अवस्था खत्तम छ भन्छन् तर मलाई त्यस्तो लाग्दैन। अहिलेको जस्तो अभिव्यक्ति स्वतन्त्रता, सबल पत्रकारिता र जनताको राय सुन्ने कुरा पहिला थिएन।
बहुदल आएपछि प्रशासन सुधार आयोग बन्यो। तर त्यसले खासै काम गरेन। जसले गर्दा प्रशासन क्षेत्रका समस्या समाधान गर्न नसकिएको उनको दाबी छ। आयोग बने पनि तिनले काम गर्नुभन्दा पहिला नै समस्या सेलाइसकेको हुने गौतमले बताए। त्यो बेलामा धेरै कर्माचारी निकालिए। जसले धेरै नोक्सान पनि भयो। तत्कालीन सरकारको अबुझपनले यस्तो समस्या आएको गौतमको विश्लेषण छ।
‘१९४७ मा भारत स्वतन्त्र हुँदा कुनै कर्मचारी फेरिएन तर नेपालमा हरेक सरकार परिवर्तन हुँदा कर्मचारी फेरिन्छन्। जुन हानिकारक छ,’ उनले भने,‘कर्मचारी संयन्त्रलाई भ्रष्ट भनिन्छ। यो राजनीतिक नेतृत्वले चलाउन नसकेर हो। कर्चारीतन्त्र ट्रयाकमा हिँड्न मन पराउँछ। त्यो जिम्मेवारी राजनीतिक नेतृत्वको हो।’
राजनीतिक नेतृत्व जति सफा र पारदर्शी हुन्छ उति कर्मचारीलाई ट्रयाकमा हिँडाउन सजिलो हुन्छ। तीसौं वर्ष जागिर खान्छु भनेर लोकसेवा पास गरेर आएकाले कर्मचारीहरू धेरै बाठा हुनेसमेत उनको बुझाइ छ।