स्थानीय तह निर्वाचनको परिणामले मधेस प्रदेशको पाँच वर्षअघि संसदीय चुनावमा देखिएको राजनीतिक समिकरण उथलपुथल भएको छ।
२०७४ को संघीय निर्वाचनमा मधेसका ३२ निर्वाचन क्षेत्रमध्ये धेरैमा मधेस केन्द्रित दलको दबदबा थियो। तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) मिलेर झन्डै ६० प्रतिशत ठाउँ जितेका थिए। उनीहरूले ३२ मध्ये १९ क्षेत्रमा जित हात पारेका थिए। उनीहरूको गठबन्धनले राष्ट्रिय दलहरू कमजोर बनेका थिए। मधेसको परम्परागत शक्ति नेपाली कांग्रेस ६ स्थानमा खुम्चिएको थियो। दुई ठूला कम्युनिष्ट पार्टीहरू एमाले र नेकपा माओवादी केन्द्रले चुनावी गठबन्धन गर्दासमेत एमालेले २ र माओवादी केन्द्रले ५ स्थानमा मात्र चुनाव जित्न सकेका थिए।
पाँच वर्षपछि आउने मंसिरमा फेरि चुनाव हुँदैछ। केन्द्रमा राजनीतिक दलहरूबीच भएका गठबन्धन र गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा वडा तहको मत परिणामलाई आधार मान्ने हो मधेसमा पाँच वर्षअघि जितेका उम्मेदवारलाई फेरि दोहोरिन केहीलाई झन् सहज भएको छ भने केहीलाई निकै मुस्किल देखिएको छ।
स्थानीय तह चुनाव र संघीय चुनावमा उम्मेदवारको प्रभाव र एजेन्डाका कारण मत केही तलमाथि हुनु स्वभाविक भए पनि वडा तहको मतले कुन क्षेत्रमा कुन दलका उम्मेदवारलाई सजिलो/अप्ठेरो के हुन सक्छ भन्ने संकेत भने गर्छ।
गत स्थानीय चुनावमा वडाध्यक्ष उम्मेदवारहरूले पाएको मतको आधारमा हामीले संसदीय चुनावका लागि कुन क्षेत्रमा कुन नेताको अवस्था कस्तो छ भनेर विश्लेषण गरेका छौं।
स्थानीय चुनावको मतलाई आधार मान्दा चुनावमा सबैभन्दा जोखिममा लोकतान्त्रिक समाजवादी (लोसपा)का नेताहरू छन्।
२०७४ मा लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए। उनको क्षेत्रमा अहिले जनता समाजवादी पार्टी(जसपा)बलियो देखिएको छ। उक्त क्षेत्रमा पर्ने स्थानीय तहका वडाहरूमा उसले १४ हजार ३ सय ५७ मत ल्याएको छ। लोसपाले १२ हजार ७ सय ३५ मत ल्याएको छ। ५ दलीय सत्ता गठबन्धनमा जसपा रहेकाले लोसपा यो क्षेत्रमा अझै कमजोर बन्न सक्छ। नेपाली कांग्रेसले ९ हजार ४३ मत ल्याएको छ। एमालेको १० हजार ८ सय २० मत छ। नेकपा (माओवादी केन्द्र)ले ५ हजार १ सय ९५ मत छ।
नेकपा (एकीकृत समाजवादी) ले २ हजार ५ सय ७० मत ल्याएको छ। जनमत पार्टीले २ हजार ६ सय ६३ र राप्रपाले ६ सय १८ मत ल्याएको छ। यो क्षेत्रमा ठाकुरले निर्वाचन जित्नका लागि सत्ता गठबन्धनकै सहारा लिनुपर्छ। सत्ता गठबन्धनमा आउन लोसपाले प्रयास गरे पनि जसपा अध्यक्ष उपेन्द्र यादव सहमत नहुँदा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णय लिन सकेका छैनन्। स्रोतका अनुसार यादवलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि साथ दिएका छन्। लोसपाले एमाले, जनमत पार्टी र राप्रसँग तालमेल गर्यो भनेपनि ठाकुरका लागि जित निकाल्न कठिन छ। यो क्षेत्रमा जनमत पार्टीका महासचिव चन्दन सिंहले उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्।
लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो चुनावका लागि झन् धेरै जोखिममा छन्। २०७४ को निर्वाचनमा महतोले धनुषा ३ बाट ३० हजार ७ सय ५० मत ल्याएका थिए। उनले कांग्रेसका तत्कालीन उपसभापति विमलेन्द्र निधिलाई हराएका थिए। निधिले २७ हजार ८ सय ४८ मत ल्याएका थिए। स्थानीय तहको निर्वाचनमा लोसपाले यो क्षेत्रमा पर्ने स्थानीय तहका वडाहरूबाट ८ हजार ७ सय ६३ मत मात्रै पाएको छ। जबकी नेपाली कांग्रेसले २२ हजार ४ सय २८ मत पाएको छ। एमालेले १७ हजार ९६, जसपाले ८ हजार २ सय ३८, एकीकृत समाजवादीले ३ हजार ७ सय २५,जनमत पार्टीले २ हजार ४ सय ९१,माओवादी केन्द्रले ६ सय ६६ र राप्रपाले ५ सय १ मत ल्याएका छन्। सत्ता गठबन्धनसँग सहकार्य भए पनि महतोले यो क्षेत्र पाउन कठिन छ। किनकी यो क्षेत्र कांग्रेस नेत निधिको परम्परागत ठाउँ हो।
लोसपाका अर्का नेता अनिल झालाई पनि रौतहट क्षेत्र नं १ मा जित्न निकै कठिन हुने देखिएको छ। यो क्षेत्रमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनाव उठ्ने तयारी गरेका छन्। स्थानीय चुनावको मतअनुसार यो क्षेत्रमा नेकपा एकीकृत समाजवादी सबैभन्दा ठूलो पार्टी बनेको छ। वडा तहमा उसले १९ हजार ६ सय ९८ मत ल्याएको छ। नेपाली कांग्रेसले १६ हजार ९ सय २८, लोसपाले १२ हजार ६२, जसपाले ८ हजार २ सय ४१, माओवादी केन्द्रले ८ हजार १ सय १९, एमालेले ७ हजार ३ सय ८५ मत ल्याएका छन्। सत्ता गठबन्धनले यो क्षेत्रमा माधव नेपाललाई उम्मेदवार बनाउने निश्चित जस्तै छ। स्थानीय चुनावको मतलाई आधार मान्ने हो भने पनि माधव नेपालका लागि यो क्षेत्रमा सुरक्षित छ।
नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृका यादवलाई धनुषा क्षेत्र नं १मा गठबन्धनबिना चुनाव जित्न कठिन छ। २०७४ सालमा यादवले यो क्षेत्रबाट एमालेको समर्थनमा फराकिलो अन्तरले चुनाव जितेका थिए।
गत स्थानीय चुनावमा यो क्षेत्रमा माओवादी केन्द्र तेस्रो बनेको छ। स्थानीय तहको मत परिणाम अनुसार नेपाली कांग्रेसले १३ हजार ५ सय ४४ र एमालेले १२ हजार २ सय १३ मत पाएका छन्। माओवादी केन्द्रले ८ हजार ४ सय ९३ मत मात्रै पाएको छ। लोसपाले ६ हजार ३ सय ७८ र जसपाले ५ हजार ३ सय ११ मत ल्याएका छन्। राप्रपाले ३ हजार ६ सय २७, जनमत पार्टीले २ हजार ८ सय ९२ र एकीकृत समाजवादीले २ हजार ४ सय ८४ मत पाएका छन्।
एमालेका सचिव रघुवीर महासेठलाई पनि निर्वाचन जित्न सजिलो छैन। उनले गत निर्वाचनमा वाम गठबन्धनको तर्फबाट धनुषा ४ बाट निर्वाचन जितेका थिए। वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने यो क्षेत्रमा कांग्रेस अगाडि छ। उसले २५ हजार १ सय ९५ मत ल्याएको छ। एमालेले २३ हजार ६ सय ३०, जसपाले ८ हजार ३ सय ७८, एकीकृत समाजवादीको ८ हजार १ सय ६४, माओवादी केन्द्रको ४ हजार ४ सय ३४, लोसपाले २ हजार १ सय ८४, जनमत पार्टीले १ हजार ९ सय ५० र राप्रपाले ५ सय १४ मत पाएका छन्।
जनमत पार्टीका अध्यक्ष सिके राउतले सप्तरी-२ बाट निर्वाचन लड्ने घोषणा गरेका छन्। उनलाई यो क्षेत्र सजिलो छैन। यो क्षेत्रबाट २०७४ को निर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए। उनी यो क्षेत्रका स्वभाविक दाबेदार हुन्। स्थानीय तहको मत परिणाम अनुसार पनि जसपा यो क्षेत्रमा पहिलो दल हो। सप्तरी क्षेत्र नं २ मा जसपाले सबैभन्दा धेरै मत पाएको छ। उसले १४हजार ४ सय ३ मत ल्याएको छ। दोस्रोमा रहेको नेपाली कांग्रेसले १० हजार ८ सय ७ मत पाएको छ। तेस्रोमा रहेको लोसपाले १० हजार ४ सय ३५ मत ल्याउँदा माओवादी केन्द्रको ९ हजार ५ सय ३४ मत छ। एमालेले यो क्षेत्रमा ५ हजार ९ सय ५१ मत मात्रै पाएको छ।
यही क्षेत्रमा चुनाव लड्ने घोषणा गरेका राउतको पार्टीले स्थानीय निर्वाचनमा वडा तहमा ४ हजार ५ सय ४२ मत मात्रै पाएको छ। यो क्षेत्रमा एकीकृत समाजावादीको २ हजार ४ सय ८ मत छ।
लोसपा नेता शरतसिंह भण्डारीको क्षेत्रमा उनको पार्टीले सबैभन्दा धेरै मत पाएको छ। त्यो क्षेत्रमा सत्तारूढ दलको अलग्गै गठबन्धन बन्यो भने उनलाई अफ्ठ्यारो पर्छ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहको क्षेत्रमा एमालेको धेरै मत छ। सत्ता गठबन्धनको मत एक भएको अवस्थामा भने उनलाई केही अफ्ठेरो हुन सक्छ।
सुरक्षित देखिएका केन्द्रीय नेता
जसपाका अध्यक्ष उपेन्द्र यादव आफ्नो क्षेत्रमा सुरक्षित छन्। उनलाई हराउन अरू दलहरू एक ठाउँमा उभिनुपर्छ। जुन सम्भावना अहिलेको अवस्थामा छैन। कांग्रेस, माओवादी केन्द्रसहितको मत थपिँदा उनी थप बलिया हुन्छन्। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि पनि आफ्नो क्षेत्रमा बलियो देखिन्छन्। गठबन्धनको समेत मत जोड्दा उनलाई थप सहज हुने निश्चित छ।
महोत्तरी क्षेत्र नं १ बाट लागातर तीन निर्वाचन जितेका माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेल अहिले पनि बलिया छन्। स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रले यो क्षेत्रमा सबैभन्दा धेरै मत ल्याएको छ। महोत्तरी क्षेत्र नं १ मा माओवादी केन्द्र अगाडि छ। उसले १५ हजार ८ सय ८८ मत ल्याएको छ भने नेपाली काग्रेसले १३ हजार १ सय ४६ मत ल्याएको छ। नेकपा एमालेले ८ हजार ३४ र जसपाले ७ हजार २ सय ३४ मत ल्याएको छ। लोसपाले ७ हजार ६९, एकीकृत समाजवादीको १ हजार ५ सय ८ छ।
रौतहट क्षेत्र नं १ बाट उम्मेदवारी दिने तयारीमा रहेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि आफ्नो क्षेत्रमा बलिया छन्। त्यहाँ उनको पार्टी सबैभन्दा अगाडि छ। त्यसमाथि गठबन्धनको समेत मत जोडिँदा उनलाई थप सहज हुन्छ।
वन तथा वातावरण मन्त्री प्रदीप यादवले गत निर्वाचनमा पर्सा क्षेत्र नं १मा जितेका थिए। उनको पार्टीले यो क्षेत्रमा स्थानीय तहमा समेत धेरै मत ल्याएको छ। पर्सा क्षेत्र नं १ मा जसपाले १५ हजार ७ सय ६ मत ल्याउँदा एमालेले १३ हजार ३ सय ३५ ल्याएको छ। तेस्रोमा रहेको कांग्रेसले १२ हजार ९ सय २ र माओवादी केन्द्रले ३ हजार ७ सय ४६ मत ल्याएको छ। लोसपाले २ हजार ८६ मत ल्याएको छ भने एकीकृत समाजवादीले १ हजार ६ सय ३ मत ल्याएको छ।