जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरू समाजवादी मोर्चा बनाउने पक्षमा नरहेको बताएका छन्।
सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै जसपा अध्यक्ष यादवले आफ्नो पार्टी नै समाजावादी भएकाले नयाँ बनाउने भनिएको मोर्चामा आफूहरूको सहभागिता नहुने बताए।
'हामी त आफैं समाजवादी केन्द्र हो। हाम्रो पार्टी नै समाजवादी पार्टी हो। समाजवादी पार्टी हुँदाहुँदै अर्को पार्टी बनाउनेतर्फ हाम्रो सहभागिता, भागेदारिता हुँदैन,' उनले भने,'जुन चर्चामा छ, बन्छ कि बन्दैन, कसले बनाउँदैछ त्यो पनि थाहा छैन। जुन हावामा आइरहेको छ, नेकपा समाजवादी केन्द्र भनेर। हामी कम्युनिष्ट होइनौं। नेकपाको ब्राकेटमा समाजवादी केन्द्र राखेर त्यसले समाजवादीहरूलाई आकर्षित गर्न सक्दैन।'
उनले अहिलेकै सत्ता गठबन्धनलाई प्राथमिकता दिनुपर्ने बताए। कहीँकतै गठबन्धनमा रहेका दलहरूबीच समेत तालमेल हुनसक्ने उनको भनाइ छ।
'अहिले ५ दलको गठबन्धन छ। ५ दलको गठबन्धनमै समझदारी गरेर अघि बढ्ने र त्यही समझदारीबाट कहीँ/कहीँ कुनै/कुनै दल सिटको तालमेल गर्छन् भने त्योसम्म गरेर अघि बढ्नु नै उचित हुन्छ,' उनले भने,'चुनावी तालमेल बेग्लै कुरा हो तर मोर्चाबन्दी बेग्लै हो। मोर्चा बन्ने कुरा हामीसँग आइपुगेका पनि छैनन्।'
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले बनाउने भनेको समाजवादी मोर्चा, सत्ता गठबन्धनले निर्वाचनमा कसरी तालमेल गर्छ र जसपाको विभाजनलगायत विषयमा जसपा अध्यक्ष उपेन्द्र यादवसँग हामीले भिडिओ कुराकानी गरेका छौं।
यस कुराकानीका मुख्य अंशहरू:
-समाजवादी धार बेग्लै हो, कम्युनिष्टहरूको धार बेग्लै हो। समाजवादीहरू समानता, लोकतन्त्र, सामाजिक न्याय र समानुपातिक प्रतिनिधित्व सहितको कुरा गर्छन्। कम्युनिष्टहरू सर्वहारा अधिनायकत्वको कुरा गर्छन्। उहाँहरू नयाँ जनवाद या जनवादको कुरा गर्दै हुनुहुन्छ।
-अर्को मोर्चा बनाउने कुरामा हाम्रो त्यस्तो छलफल भएको छैन। त्यसको लक्ष्य र उद्देश्य हेर्नुपर्छ। त्यो कुरा हाम्रो पार्टीलाई उचित लाग्यो भने त्यो लक्ष्य प्राप्तिका लागि आवश्यक ठान्यो भने हाम्रो सहभागिता हुनसक्छ। नत्र भने केही कम्युनिष्ट पार्टी मिलेर समाजवादी केन्द्र बनाउने कुरा त्यो कम्युनिष्टको कुरा हो। उहाँहरूले बनाउनुहोला त्यो कुनै नयाँ कुरा होइन।
-त्यो कहाँ बन्दैछ भनेर हामीलाई थाहा छैन। यसो अनलाइनमा कता-कता सुनिन्छ। समाजवादी केन्द्र निर्माणमा हाम्रो पार्टीको नाम लिनु त के भयो र? अहिले हामी सत्ता गठबन्धनको निरन्तरताको पक्षमा छौं। कतिपय ठाउँमा गठबन्धनमा लड्ने अनि कतिपय ठाउँमा गठबन्धनभित्रका दलहरू एक आपसमा समन्वय गरेर लड्न सकिन्छ।
-अहिलेको गठबन्धनलाई नै हामीले प्राथमिकतामा राखेका छौं। हुन त मान्छेले शंका-उपशंका अनेक गरिरहेका छन्। दुविधा पनि भइरहेकै छ। तर पनि गठबन्धन कायम गरेर निर्वाचनमा जाने हाम्रो तर्फबाट प्रयत्न रहन्छ।
-स्थानीय निर्वाचनमा हामीलाई सबैभन्दा धेरै धोका जनकपुरमा भएको हो। जनकपुरमा गठबन्धन हामीसँग भए पनि प्रचार गर्ने र भोट अर्कैतिर हाल्ने काम भयो। त्यो खुलेआम भयो। जुन कुरा परिणामले पनि देखाएको छ। यस किसिमको गठबन्धनले मान्छेमा अविश्वास देखाउँछ। ती कमीकमजोरीलाई सच्याएर मात्र अघि बढ्न सक्ने हो। जहाँ-जहाँ हामीले साथ दियौं। त्यहाँ राम्रोसँग साथ दिएको हो। हामीलाई साथ दिने ठाउँमा त्यस्तो भएन।
-पछिल्लो समय एमालेसँग खासै छलफल भएको छैन। स्थानीय निर्वाचनपछि एकपटक एमाले अध्यक्षसँग भेट भएको हो। त्यो भेट पनि लामो समयपछि भएको हो। राजनीतिक तहमा एमालेसँग छलफल अघि बढेको छैन।
-यसपालि पार्टी विभाजन भएको होइन, पार्टी एउटै छ। पार्टीमा रहनुभएका बाबुराम भट्टराईले अर्को पार्टी खोल्छु भन्नुभएको छ। पार्टी खोल्ने स्वतन्त्रता सबैमा छ। त्यत्ति भएको हो। हाम्रो पार्टी विभाजन भएको छैन। विदा त मागेर उहाँ नै जानुभएको हो। म अर्कै पार्टी खोल्छु अर्कै दिशा बाटो हिँड्छु भनेर उहाँ नै जानुभयो। हामीले त घोक्र्याएर हटाएको होइन।
-म त शोषित, पीडित जनताको लागि लड्ने हो। लड्दै पनि आइरहेको हो। त्यहाँभन्दा ठूलो महत्वकांक्षा अरू केही छैन। मधेसबाट आउने मान्छे अराष्ट्रिय हुने, गोरखाबाट आउने मान्छे राष्ट्रिय हुने यो परिभाषा कहाँबाट आयो मलाई थाहा छैन। हाम्रो पार्टी राष्ट्रिय नै हो। हामी देशैभरि छौं।
-हाम्रो पार्टीबाट छुट्टिएर जानेहरूले बनाएको पार्टीमा पनि उहाँहरूकै कार्यशैलीमा प्रश्न उठाइएको छ। उहाँहरूको कार्यशैलीप्रति उहाँहरूकै कार्यकर्ताले चित्त बुझाएका छैनन्।
-हामीले पार्टीलाई एकलौटी ढंगले चलाएको भए हामी सकिन्थ्यौं र हामीबाट चोइटिएर गएकाहरू शक्तिशाली हुने थिए। तर गएकाहरूको त नामोनिशान छैन। त्यसैले त्यो गलत हो। महन्थजीहरू अहिले पछुताइरहनुभएको छ। ठूलो दुर्घटना र नोक्सानी भयो भनिरहनुभएको छ। म अहिले पनि कमजोरी सच्याएर सँगै अघि बढौं भनिरहेको छु।
-मैले आलोचना र प्रश्नलाई स्वागत गर्छु। हाम्रो पार्टीमा कसैले मेरा कमजोरी देखायो भने त्योभन्दा राम्रो मित्र र सहयोगी को हुन्छ! कसैले गल्ती र कमीकमजोरी देखाइदिएन भने म त सही बाटो पक्रिनै सक्दिनँ। त्यस्तो देखाउने साथीहरूलाई हृदयदेखि स्वागत गर्छु र सँगै लिएर हिँड्छु।
-मेरो पछि धेरै नेताहरू छन्। यो मुलुक चलाउने र पार्टी चलाउने नेताहरू उत्पादन भएका छन्। अब यो चिन्ता छैन। उत्तराधिकारी सिस्टम पार्टीमा हुँदैन। चुनावपछि महाधिवेशन हुन्छ। त्यहाँ चुनाव हुन्छ। त्यसले नेता चयन गर्छ। उत्तराधिकारी त राजतन्त्रमा हुन्छ। अहिलेदेखि नै उत्तराधिकारी तोकेर हुन्छ? उहिले जंगबहादुरले तोकेका थिए। मपछि मेरो पार्टीमा थुप्रै नेताहरू छन्। सधैं मैले नै थाम्ने होइन।