नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपा परिसरमा व्यापक सुरक्षाकर्मी परिचालन गर्दा स्थानीय बासिन्दा र कांग्रेसकै नेता तथा कार्यकर्ताले सास्ती भोग्नुपरेको छ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा र गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाण पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा उपस्थित रहेकाले ठूलो संख्यामा नेपाल प्रहरी खटाइएका छन्, जुन अस्वभाविक देखिन्छ।
सानेपा चोकस्थित रिङ रोडबाट भित्र (कांग्रेस पार्टी कार्यालयतर्फ) जाने सडकको मुखमै बाक्लो संख्यामा प्रहरी खटाइएका छन्। उनीहरू कांग्रेस केन्द्रीय सदस्यहरूलाई नामलिष्ट भिडाएर मात्रै भित्र छिर्न दिएका छन्।
परिचय पत्र बोकेका सञ्चारकर्मीलाई पनि प्रहरीले रोकेको छैन। कांग्रेस पार्टी कार्यालय वरपर घर भएका स्थानीय बासिन्दा भने उक्त बाटो भएर हिँडडुल गर्दा केरकारमा पर्छन्।
आठौं अधिवेशनदेखि लगातार महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य रहेका टीकाराम खनाल दुई घन्टा सडकमा उभिएपछि केन्द्रीय कार्यालय सानेपाको आँगन टेक्न पाए।
‘सानेपामा पार्टी कार्यालय सरेपछि पहिलो पटक कार्यालय छिर्न यतिधेरै सास्ती खेपेँ। दुई घन्टा सडकमै उभिनुपर्यो,’ सेतोपाटीसँग कुराकानीका क्रममा उनले भने, ‘मैले कांग्रेस महासमिति सदस्य हुँ भनेर परिचय पत्र पनि देखाएँ, तर प्रहरीले भित्र छिर्न दिएनन्।’
प्रहरीले केन्द्रीय सदस्यबाहेक अरू कार्यालय छिर्न नमिल्ने भन्दै रोकेपछि उनले मुख्यसचिव कृष्णप्रसाद पौडेललाई गुहारे। ‘मुख्यसचिवलाई सूचना दिएपछि बल्ल कार्यालय छिर्न दिए,’ उनले भने।
खनालमात्र होइन, कांग्रेस हुम्लाका सभापति मोहनविक्रम सिंहलगायतलाई पनि प्रहरीले सडकमै रोकेको थियो। कांग्रेसको केन्द्रीय कार्यालय विधानअनुसार महामन्त्रीले सञ्चालन गर्छन्। महामन्त्री गगन थापालाई नै भेट्न आएका सभापति सिंह आफ्नै केन्द्रीय कार्यालय भनेका बेला छिर्न पाएनन्। महामन्त्री थापाको सचिवालयका व्यक्तिहरूले प्रहरीलाई भनेर उनीहरूलाई कार्यालय प्रवेश गराउनुपरेको थियो।
अछामका टीकारामका अनुसार कांग्रेस कार्यालयमा यस्तो सुरक्षाकर्मीको चेकजाँच भने दोस्रो पटक हो।
‘पहिले पार्टी कार्यालय बानेश्वरमा हुँदा २०५१ सालमा पनि यस्तै चेकजाँचमा परिएको थियो। त्यसबेला ३६/७४ मा कांग्रेस विभाजित हुँदा यस्तै तनाव थियो, पार्टी कार्यालय छिर्न दिएका थिएनन्,’ खनालले भने, ‘आज पनि सुरक्षाकर्मीलाई परिचय पत्र देखाउँदा आदेश यस्तै छ भित्र जान मिल्दैन भनेर रोकिरहे।’
खनाल ०३६ सालदेखि नेविसंघ हुँदै कांग्रेसमा क्रियाशील छन्।
लोकतान्त्रिक भनेको कांग्रेस कार्यालय छिर्न किन यति असजिलो भएको हो भन्ने प्रश्नमा उनले भने, ‘जुन तन्त्र आएपछि यस्तै हो! कांग्रेसका लागि जीवन दिएका हामीहरू कार्यालय छिर्नबाट रोकिँदा दु:ख लाग्छ। आफ्नै कार्यालय निषेध गर्नुपर्ने अवस्था किन पर्यो?’
काठमाडौं नैकापका शेखर बुढाथोकी पनि कांग्रेस कार्यालय छिर्न पाएनन्। उनका मामा कांग्रेस केन्द्रीय कार्यालयमा काम गर्छन्। ‘मामालाई भेट्नुपर्ने काम थियो, भित्र जान पाइएन। मामालाई नै बाहिर बोलाएको छु,’ उनले भने, ‘पहिलेपहिले यसरी प्रहरीले रोक्दैनथे, आज किन कडाइ गर्दैछन् थाहा छैन।’
प्रहरीले कांग्रेस कार्यालय नजिक सडक भएर हिँडडुल गर्ने स्थानीयबासिन्दालाई पनि कहाँ, के कामका लागि हिँडेको भन्दै केरकार गरेका थिए। यसमा स्थानीयहरूले भने विरोध गरेका छन्। ‘हाम्रो घर यहीँ छ, तर यो सडकमा हिँड्न प्रहरीले रोक्यो,’ एक स्थानीयले भने, ‘परिचय पत्र देखाऊ भन्छन्, घर भित्र बाहिर गर्दा, यहीँ छिमेकीकहाँ जाँदा पनि परिचय पत्र बोकेर हिँड्नुपर्ने?’
कांग्रेस केन्द्रीय कार्यालयअगाडि सोमबार नेता शेखर कोइराला पक्षका विद्यार्थीहरूले नाराबाजी गरेका थिए। भ्रातृ संस्थालाई पूर्णता दिनुपर्ने र सभापति देउवाको एकलौटी नमान्ने उनीहरूको भनाइ थियो।
सुरक्षा निकायले ती विद्यार्थीले आज पनि प्रदर्शन गर्न सक्ने भन्दै बिहानैदेखि सानेपा क्षेत्रमा कडाइ गरेको थियो। दिउँसो १ बजे केन्द्रीय समिति बैठक राखिए पनि त्यसअघिदेखि नै सानेपा क्षेत्रमा बाक्लो संख्यामा प्रहरी खटेका थिए।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले सभापति देउवा प्रधानमन्त्री पनि भएकोले सुरक्षा निकायले यथेष्ट सुरक्षा दिएको बताए।
‘सभापति देशको प्रधानमन्त्री पनि भएकोले सुरक्षा निकायले यथेष्ट सुरक्षा प्रदान गरेको हो। प्रधानमन्त्री जहाँ गयो त्यहीँ सुरक्षा दिने कार्य हुन्छ,’ सेतोपाटीको प्रश्नमा महतले भने, ‘सुरक्षा निकायलाई कसको के हैसियत छ भन्ने पनि थाहा हुन्न। कसको के जिम्मेवारी भन्ने पनि थाहा हुन्न। सुरक्षा मापदण्डअनुसार कडाइ गरिएको हुनुपर्छ। यसबाट कसैको हैसियत कम गर्न खोजेको भन्ने अर्थमा बुझ्नु हुँदैन।’
सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको एक सचिवालय सदस्यका अनुसार माथिको आदेशमा पार्टी कार्यालय क्षेत्रमा सुरक्षा बढाइएको होइन। ‘कसले भनेर हो कि सुरक्षा थ्रेड देखेर हो कि किन हो नेता/कार्यकर्तालाई पार्टी कार्यालय प्रवेशमा सुरक्षाकर्मीले अवरोध गरेको छ। यसबारे प्रधानमन्त्रीज्यूलाई जानकारी गराइन्छ,’ ती सदस्यले भने।
कांग्रेस केन्द्रीय कार्यालयमै काम गर्ने केही कर्मचारीलाई पनि कार्यालय आउजाउमा गर्दा प्रहरीले सोधपुछ गर्ने गरेको थियो। केन्द्रीय सदस्यका लिष्ट लिएर बसेका सुरक्षाकर्मीले चिनो लगाउँदै केन्द्रीय सदस्यहरूलाई भित्र जान दिएका थिए।
सबै तस्बिरहरू: प्रशन्न पोखरेल/सेतोपाटी।