तीन दिन चलेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पार्टीका सदस्यहरूले नै आफू कुन समितिमा परियो वा परिएन थाहै नपाई अन्यौलबीच बिहीबार सकिएको छ।
बिहीबारको बैठकका दृश्य नजिकबाट नियाल्नेहरूले सजिलै भन्न सक्छन्, यति धेरै भद्रगोल अर्को कुनै पार्टीमा छैन।
आइतबार र सोमबारको बैठकपछि मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले जवाफ दिने कार्यक्रम थियो। तर मंगलबार र बुधबार बैठक बसेन।
बिहीबारको बैठकमा अध्यक्ष प्रचण्डले सुरूमा पार्टीमा उठेका जिज्ञासाहरूको जवाफ दिए। त्यसपछि उनले पोलिटब्युरो सदस्यहरूको नाम पढेर सुनाए। एक सय २५ जनाको नामावली पढेर सक्नासाथ पार्टीका केही नेताको नाम छुटेको भन्ने गुनासो हलबाट आएपछि प्रचण्डले फेरि अर्को सूची पढे।
त्यस क्रममा उनले आफूसँग यस्ता तीनवटा नामावली सूची भएको बताएका थिए। प्रचण्डले अर्को सूची पढेपछि हलबाट विरोध सुरू भयो।
केन्द्रीय सदस्य नरेन्द्र कुँवरले पोलिटब्युरो चयनको आधार के हो भन्दै प्रश्न गरेका थिए। उनले 'सधैंभरि किन यसरी हाम्रो अवमूल्यन गरिन्छ' भन्ने प्रश्नसमेत उठाए।
कर्णाली प्रदेशकी अध्यक्ष विमला केसीले नेतृत्वको टिमले तयारी गरेर मात्र नाम पेस गर्नुपर्ने बताइन्। उनले अध्यक्षलाई सचिवालयबाट पर्याप्त सहयोग नपुगेको हो कि भनेर सोधिन्।
हलबाट विरोधको चर्को स्वर आएपछि प्रचण्डले एक घन्टाका लागि बैठक स्थगित गरे। त्यसपछि उनले फटाफट नाम पढेका थिए। उनले नाम पढ्दै गर्दा पनि हल्ला जारी भएपछि 'अहिले नबोल्नू र पछि जिज्ञासा राख्नू' भने।
नामावली पढ्दा उनले केही नाम पटकपटक दोहोर्याएका थिए। 'कतिपय नाम दोहोरिएका छन्,' उनले भने, 'यसलाई त्यसरी नै बुझ्नुहोला।'
उनले अगाडि थपे, 'हिजो डायरीमा नाम टिपेको थिएँ। आज बिहान उठेर पनि थपेँ। त्यसैले यताउता परेको हुनसक्छ।'
जम्मा १ सय २५ सदस्य हुने भनिएको पोलिटब्युरोमा सूची पढ्दै जाँदा प्रचण्डले १ सय ५० जनाभन्दा बढीको नाम पढेका थिए। त्यसपछि उनले भने, 'नाम धेरै आएको भए पनि त्यसलाई व्यवस्थापन गर्न सकिन्छ।'
व्यवस्थापनको सूत्र पनि उनले तुरून्तै सम्झाए, '१ सय २५ जना पोलिटब्युरो सदस्य र अरू ३१ जना वैकल्पिक सदस्य राख्न सकिन्छ।'
हलबाट कसैले भन्यो, 'अध्यक्षले पढेका नाम १ सय ७५ पुगिसक्यो।'
प्रचण्डले तीनपटक पढेका नाम सुनेपछि जो कोही पनि अलमलिने पक्का थियो। उनी कुनै नाम दोहोर्याउँथे, कसैको छुटाउँथे। फेरि अर्कै सूची निकालेर पढ्थे।
नाम धेरै भएपछि वैकल्पिक पोलिटब्युरोमा व्यवस्थापन गरिने प्रचण्डको भनाइले धेरैलाई खिन्न बनायो। त्यसको छनक पाएका प्रचण्डले तुरून्तै भने, 'वैकल्पिक पोलिटब्युरोमा पर्नेहरूले कुनै हिनताबोध नगर्नु होला।'
त्यसपछि पूर्णकालीन र वैकल्पिक पोलिटब्युरो सदस्यमा तात्विक भिन्नता किन छैन भनेर सम्झाउन थाले, 'पोलिटब्युरो कमिटीमा पूर्ण र वैकल्पिक सदस्यको हैसियत एउटै हो। खाली वैधानिकता नपाउने भन्ने मात्रै हो। पार्टी विभाजनकै स्थितिमा पुग्दा मात्रै वैकल्पिकको महत्व नहुने हो। अरू बेला केही फरक छैन।'
त्यसपछि प्रचण्डले आफू पहिलोपटक वैकल्पिक सदस्य बन्दाको प्रसंग सुनाउँदै भने, 'म वैकल्पिक केन्द्रीय सदस्य बन्दा थोरै खुसी त भएको थिइनँ! त्यसैले यो वैकल्पिक भनेको पनि सामान्य होइन है!'
उनले यति भन्दा पनि हलबाट होहल्ला आइरह्यो।
त्यसपछि उनले नामहरू मिलाएर सर्कुलरमा पठाउने र कसैलाई अन्यायमा पर्न नदिने भन्दै तत्काललाई १ सय २५ सदस्यीय पोलिटब्युरो अनुमोदन गर्न आग्रह गरे।
हलले ताली बजायो र अनुमोदन भयो।
प्रचण्डले पटकपटक फरक पारेर सूची पढेको र १ सय २५ जना भन्दा धेरै नाम पढेकाले आफू पूर्ण पोलिटब्युरोमा परियो कि वैकल्पिकमा भन्ने धेरैलाई अन्यौल छ। अन्तिम सूची आउँदा प्रचण्डले कसको नाम राख्लान्, कसको फाल्लान् भन्ने पनि धेरैलाई भर छैन।
टालटुल पारेर पोलिटब्युरोको नाम टुंगो लगाएपछि स्थायी कमिटी टुंगो लगाउने पालो आयो। ४१ सदस्य रहने भनिएको स्थायी कमिटी पनि उनले घोषणा गर्न सकेनन्। उक्त कमिटीमा पुरानै १५ जना राख्ने र बाँकी पछि सर्कुलर गर्छु भनेर त्यसलाई पनि अनुमोदन गर्दिनुस् भन्दै हललाई ताली बजाउन लगाए।
पदाधिकारी घोषणा गर्ने बेला त प्रचण्डले झनै हँसाए।
'पदाधिकारीमा म अध्यक्ष भएँ। नारायणकाजीजी वरिष्ठ उपाध्यक्ष पक्कापक्कीजस्तै छ। हुन त महराजी र मातृकाजीले पनि चाहना राख्नुभएको छ। तर महराजीले नारायणकाजीजी पछि म हो भन्नुभएको छ,' उनले भने।
त्यसपछि उनले अन्य पदाधिकारीको नाम पनि आफूसँग तयार रहेको बताए। 'मसँग पदाधिकारीको नाम तयार छ। तर मलाई प्लिज अहिले भन्न नलगाउनुस्। म दुई-चार दिनमा सबैलाई खुसी हुने गरी भन्नेछु,' उनले भने।
यति भनेर प्रचण्डले फेरि हललाई ताली बजाउन लगाए।
हलले ताली बजायो अनि उनले राखेका र नराखेका सबै प्रस्ताव अनुमोदन भए।
पार्टी प्रवक्ता कृष्णबहादुर महराले बैठकले नारायणकाजी श्रेष्ठ र आफूलाई उपाध्यक्ष चयन गरेको बताएका छन्। प्रचण्डले भने उपाध्यक्षको नाम निर्णयार्थ पेस गरेका थिएनन्। श्रेष्ठ वरिष्ठ उपाध्यक्ष हुने पक्का रहेको र महरा उपाध्यक्ष बन्ने संकेत मात्रै प्रचण्डले गरेका थिए।
सिंगो केन्द्रीय कमिटीलाई प्रचण्डले यसरी अलमल्याइदिए, पोलिटब्युरो वा स्थायी कमिटीमा को परे वा को पर्ने हुन् भन्ने कसैले यकिनसाथ भन्न सक्ने स्थिति रहेन।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले अध्यक्ष र स्थायी कमिटीको टिमले बाँकी कमिटी चयन गर्ने बताए। उनले सहमतिका आधारमा नेतृत्व चयन गरिने भएकाले केही अलमल भएको र समय लागेको उल्लेख गरे।
कतिपय केन्द्रीय सदस्यले भने अध्यक्ष प्रचण्डले जानाजान नेताहरूलाई अलमलमा पारेको जिकिर गरे।
'अध्यक्षले १ सय २५ जनाको नाम पढ्न नसक्ने भन्ने होइन। उहाँले बैठकमा यस्तै गर्न खोज्नुभएको हो,' ती केन्द्रीय सदस्यले भने, 'यहाँ धेरै विवाद किन बढाउनु, बैठक कति लम्ब्याउनु भनेर उहाँले यस्तो गरेको होला। केन्द्रीय कमिटीको अधिकार आफूमा सार्नुभएको हो।'
प्रचण्डले बठ्याइँ गरेका हुन् वा उनी साँच्चै अलमलमा परेका हुन् यकिन छैन। जे भए पनि कतिपय नेता-कार्यकर्ता त्यसबाट धेरै असन्तुष्ट देखिए।
प्रज्ञा भवनको कार्यक्रमबाट निस्किँदै गरेका एक केन्द्रीय सदस्यले भने, 'हाम्रो पार्टीको बैठक त चुच्चे ढुंगो, उही टुंगो भनेजस्तो भयो। न अध्यक्षको कुनै तयारी रहेछ, न कसैले सहयोग गर्न सक्यो। यो त जग हँसाउने काम मात्रै भयो।'