नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी सदस्यको बैठक सकिएको छ। असार १९ गतेदेखि सुरू भएको बैठक दुई दिन रोकिएर बिहीबार सकिएको हो।
माओवादीको यो बैठकले स्थायी समिति, पोलिटब्युरो र पदाधिकारी टुंग्याउने अपेक्षा गरिएको थियो।
बैठकको एजेन्डामा पनि यो विषय समेटिएको थियो। बैठकको अन्तिम दिन भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लन्ठ्याङलुन्ठुङ पारामा बैठक सकेका छन्।
बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नमा प्रचण्डले जवाफ दिने कार्यक्रम थियो।
दिउँसो प्रचण्डले पार्टीको पोलिटब्युरो १२५ सदस्यीय हुने बताएका थिए। पोलिटब्युरोमा रहनेहरूको नामावली उनले दुई पटक पढ्दा पनि गोलमाल भएको थियो।
त्यसपछि बैठक एक घन्टाका लागि स्थगित भयो। फेरि सुरू भएको बैठकमा प्रचण्डले तेस्रो पटक पोलिटब्युरो सदस्यको नाम पढे। उनले १५० जना बढीको नाम पढेका थिए।
पोलिटब्युरोको संख्याभन्दा नाम धेरै भएको कुरा उठेपछि उनले बाँकीलाई वैकल्पिक पोलिटब्युरो सदस्य बनाउने बताएका थिए।
‘वैकल्पिकमा परें भनेर कसैले चित्त सानो नबनाउनु होला। सबैको हैसियत बराबर हो। कहिलेकाहीँ पार्टी फुट्दा चाहिने वैधानिक काममा बाहेक वैकल्पिकले सबै भूमिका पाउँछन्,’ प्रचण्डले भने।
उनले हिजो र अस्ति आफू हतारमा भएकाले डायरीमा टिपेका नामहरू केही दोहोरिएको र केही छुटेको स्पष्टिकरण दिए।
उनले स्थायी कमिटी ४१ सदस्यीय हुने बताए। त्यसमा १५ जना पहिलेकै स्थायी कमिटी सदस्य रहने र बाँकीको टुंगो आफूले दुई-चार दिनमा लगाएर सर्कुलर पठाउने बताए।
उनको कुरालाई हलले ताली बजाएर स्वीकृत गर्यो।
धेरैको चासो रहेको पदाधिकारी पनि प्रचण्डले टुंग्याएनन्। उनले पदाधिकारी कति जना हुने भन्ने पनि जानकारी दिएनन्। को-को पदाधिकारी हुने भन्नेचाहिँ आफूलाई थाहा भएको उनले बताए।
‘वरिष्ठ उपाध्यक्ष त नारायणकाजी श्रेष्ठ भइहाल्नुभयो। त्यसमा पनि मातृका यादवजीले विरोध गर्न सक्नुहुन्छ। तर अरूको विरोध हुँदैन होला,’ प्रचण्डले भने,‘म अहिले पनि सबैको नाम भन्नसक्छु तर अहिले मलाई नाम भन्न नलगाउनुस् प्लिज!’
दुई-चार दिनमा सबैको अनुहार उज्यालो हुने गरी पदाधिकारीको नाम टुंग्याउने प्रचण्डले बताए।
‘म सबैको अनुहार उज्यालो हुने गरी नाम टुंगो लगाउँछु। अहिलेलाई यसलाई पास गर्न ताली बजाइदिनुस्,’ प्रचण्डले भने।
त्यसपछि हलबाट पररर ताली बज्यो। योसँगै माओवादी केन्द्रीय कमिटी बैठक सकियो।