साविक नेकपा सचिवालयका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच आइतबार भेट भएको छ।
सर्वोच्च अदालतले २०७७ फागुन २३ गते नेकपा भंग गरिदिएपछि प्रचण्ड र नारायणकाजी नेकपा माओवादी केन्द्रमा छन् भने खनाल र नेपालले नेकपा एकीकृत समाजवादी (एस) गठन गरेका छन्। वामदेव गौतम नेकपा एकता अभियानमा छन्।
नेकपाकालीन सचिवालयका ९ सदस्यमध्ये एमाले अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू विष्णु पौडेल र रामबहादुर थापा एकातिर छन्।
हात्तीवनमा आइतबार पाँच नेताबीच भएको कुराकानीबारे हामीले नेकपा समाजवादीका नेता झलनाथ खनालसँग संक्षिप्त कुराकानी गरेका छौं।
नेकपाकालीन सचिवालयका पाँच नेताको भेटमा के विषयमा कुराकानी भयो?
हामी आज एकछिन बस्यौं। देशको वर्तमान स्थितिका बारेमा कुरा गर्यौं। स्थानीय तहको निर्वाचनको समीक्षा गर्यौं। गठबन्धन सहकार्यका बारेमा, देशको स्वाधीनताका बारेमा, देशका सामु भइरहेका संकटका बारेमा, देशको कम्युनिस्ट आन्दोलनका बारेमा र मुलुकलाई समाजवादतर्फ लैजाने सम्भावनाहरूका बारेमा हामीले छलफल गर्यौं। आज धेरै लामो समय बसिएन, एकैछिन बसेका हौं। अब बसाइलाई निरन्तरता दिने भनेर छुट्यौं।
तपाईंहरू र माओवादी केन्द्रको बीचमा पार्टी एकता गर्न सकिन्छ कि भनेर छलफल भएको छ भनिएको छ, हो कि होइन?
हामी चुनावपछि आज मात्रै बसेका हौं। चुनावभन्दा अगाडि बस्न सकिएन। आजको बसाइ सुरूआत मात्रै हो। सम्भावनाहरू त अनन्त हुन्छन्। ती सम्भावनाहरूलाई समेत ध्यानमा राखेर आगामी बैठकमा छलफल गर्छौं।
कम्तीमा पाँच नेता एक ठाउँमा रहने, त्यति नसके एउटै एजेन्डामा जाने गरी सहमति गर्दै हुनुहुन्छ?
हाम्रोबीचमा खासै त्यस्तो आधारभूत भिन्नता पहिले पनि थिएन र अहिले पनि छैन। अहिले परिस्थितिले कसरी यस्तो गर्यो भनेर हामीले विस्तृतमा छलफल गर्नुपर्छ। म त सुरूदेखि नै वामपन्थी एकताको पक्षमा छु। त्यसलाई कहाँबाट कसरी अघि बढाउनुपर्छ भनेर हामी छलफल गर्छौं।
आजको भेटबाट के सन्देश दिन खोज्नुभएको हो त?
वाम नेताहरूको भेट हुन थाल्नु भनेको शुभ संकेत हो नि।
यहाँले पटक पटक कांग्रेसबाट गठबन्धनमा घात भयो भनिरहनुभएको छ। तपाईंले यो गठबन्धन सँगै अगाडि जालाजस्तो नदेख्नुभएको हो?
अहिले गठबन्धनका बारेमा हामीले अन्यथा केही सोचेकै छैनौं। गठबन्धन छँदैछ। तर सँगै हिजोका अनुभवबाट पनि हामीले सिकेर जानुपर्छ। गठबन्धनका सम्भावनाहरूलाई अझै विस्तृतीकरण कसरी गर्न सकिन्छ, त्यसलाई विचार गरेर जानुपर्छ। मुख्य कुरा भनेको यो देश, जनता र राष्ट्रको स्वाधीनता र यो राष्ट्रको प्रगति समाजवादतर्फको समृद्धि हो। त्यसलाई केन्द्र बिन्दुमा राखेर सोच्नुपर्छ भन्नेमा हामी सहमत छौं।
वाम एकता आजको मुख्य आवश्यकता हो भन्नेमा तपाई अझैं अडिग हुनुहुन्छ?
मैले त एक पटक होइन, दर्जनौं पटक बोलिसकेको छु।
यसका लागि एमाले तयार हुन्छ?
अहिले हामी पाँच जना मात्रै बस्यौं। हेरौं भोलि के हुन्छ। अहिले नै हामी किन निष्कर्षमा पुग्ने र?