तीन दशकअघिको समाज, त्यो पनि शिक्षाको उज्यालो खासै नपुगेको मध्यपश्चिमको पहाडी जिल्ला दैलेख। गोमता विकको घर त दैलेखको पनि दुर्गम तत्कालिन आठबिस गाविसमा पर्थ्यो।
पुरूषवादी र छुवाछुतको जातिवादी चिन्तनले समाज ग्रस्त थियो। त्यही समाजमा उनी थिइन् महिला त्यसमाथि विश्वकर्मा।
समयसँगै गाउँ आठबिस नगरपालिकामा बदलिएको छ। समाज बदल्न गोमताले भने धेरै कष्ट झेल्नुपर्यो।
२०४९ सालमा अठार वर्षको उमेरमा चाहना विपरीत उनको बिहे भयो। बिहेका चलनमध्ये एउटा थियो, उमेर पुगेकी ठानिने केटीलाई जबर्जस्ती नै भए पनि केटाको घरमा लगेर एक रात राख्ने र भोलिपल्ट सिन्दुर हालेर बिहे भएको मान्ने।
गोमता त्यो उमेरमा बिहे गर्न इच्छुक थिइनन्। जसरी भए पनि बिहे त भइगयो। उनी सानै उमेरदेखि हक्की स्वभावकी थिइन्। इच्छाविपरीतको बिहेले उनको मनमा विद्रोह उमार्यो। आफ्नो विहे अस्वीकार गर्ने सोचाइ नआए पनि समाजमा चलेका विकृतिविरुद्ध संघर्ष गर्ने अठोट लिइन्।
त्यो समय कस्तो थियो भने महिलाहरू धेरै सन्तान जन्माउँथे। सन्तान जन्माउनुलाई भगवानको प्रसाद हात थाप्नु हो भन्ने ठान्थे। सातआठ जना छोराछोरी हुनु सामान्य कुरा थियो। दश जनासम्म जन्माउनेहरू पनि थिए। गोमताले यही मान्यताविरुद्ध संघर्षमा उभिने विचार गरिन्।
उनको पहिलो सन्तानको जन्म २०५३ सालमा भयो, दुई वर्षपछि अर्को। उनले अब थप सन्तान नजन्माउने भनेर घरपरिवार, साथीसंगी र गाउँका महिलालाई सुनाइन्। निर्णयमा उनका श्रीमान् पनि सहमत भए।
‘दुई वटामात्र बच्चा हुँदा पालनपोषण र पढाइमा सजिलो हुन्छ। खर्च धान्न सकिन्छ भनेर श्रीमानलाई सम्झाएँ,’ उनले भनिन्, ‘मैले दुई सन्तानमात्र जन्माउने भनेको कुरा घरमा र छरछिमेकमा मन परेन।’
उनका अनुसार यो निर्णय महिलाले धेरै सन्तान जन्माउनु पर्ने बाध्यात्मक अवस्थाका विरुद्धको विद्रोह थियो। उनी आफ्नो जस्तो बिहेको चलनको विपक्षमा उभिइन्। नभन्दै केही वर्षमा गाउँमा त्यस्तो प्रथा हरायो।
गोमता त्यो समयको प्रशासनिक संरचना अनुसार जिल्लाको इलाका नम्बर १० र ११ मा सक्रिय भइन्। ती इलाकाका महिलाहरूसँग भेटघाट गर्ने र समूह बनाउने काम गरिन्। तिनै समूहमार्फत उनले महिलाहरूमा व्यक्तिगत सफाइबारे चेतना फैलाउने काम गरिन्।
दिन बित्दै जाँदा कामको प्रचार भयो। गोमतालाई केही गैरसरकारी संस्थाहरूले साथ दिए। उनलाई गोष्ठी र कार्यक्रमहरूका कहिले दैलेख सदरमुकाम, कहिले सुर्खेत त कहिले नेपालगन्ज, कहिले धनगढी त कहिले कञ्चनपुर बोलाउन थाले।
त्यो समय उनको गाउँबाट दैलेख सदरमुकाम पुग्न १७ कोस हिँड्नु पर्थ्यो, गाडीको सुविधा थिएन। सधैँ साथी हुने कुरा पनि भएन। गाउँमा भने 'आइमाइ भएर एक्लै कहाँ कहाँ जान्छे' भन्दै कुरा काट्नेहरू थिए। किनभने समाज महिलालाई एक्लै हिँड्ने, आफ्नो र अर्काको बारेमा बोल्ने अधिकार छ भन्ने मान्दैनथ्यो। उनी भने गाउँलेले जति कुरा काटे पनि डराइनन्। गोमतालाई उनका श्रीमानले भने पूरा साथ दिए।
उनले भनिन्, ‘एक्लै हिँड्दा समाजमा कुरा काट्ने धेरै हुन्थे। आइमाईमान्छे एक्लै कताकता हिँडेकी भन्थे तर मेरा श्रीमानले सधैँ साथ दिनुभयो। अरूको वास्ता गरिनँ।’
सामाजिक संस्थाहरूको साथ पाएपछि गोमताको आत्मविश्वास बलियो हुँदै गयो। उनले महिलामाथि महिनावारीमा छुवाछुत गर्ने र छाउगोठमा बस्नु पर्ने कुप्रथाविरुद्ध अभियान चलाइन्।
महिनावारी भएकी महिलालाई छोइएमा चोखो हुनु पर्छ भन्दै पूजा गर्ने समुदायको बाहुल्य रहेको गाउँमा दलित समुदायकी एक महिलाले महिनावारी नबार्ने अभियान चलाउनु सहज काम थिएन।
‘हाम्रोतिर महिनावारीमा महिला घरको भुइँतलासम्म पनि जान नमिल्ने थियो। मैले महिनावारी नबार्ने निधो गरेर घरमा भनेँ। घरमै र छरछिमेकमा म बहिष्कारमा परेँ,’ उनले भनिन्, ‘मैले पाँच वर्षसम्म भैँसीको दूध खान पाइनँ। मैले छोएको त अरूले किन खान्थे र!’
गाउँका केही पढेलेखका व्यक्तिहरूले उनको समर्थन गरेका थिए। गोमताले महिनावारीमा हुने छुवाछुत विरुद्धको अभियान बढाउँदै लगिन्।
त्यसको परिणामबारे उनले भनिन्, ‘अहिले गाउँमा अलग्गै बसेर महिनावारी बार्नु पर्दैन। अहिलेको युवा पुस्ताले त महिनावारीको वास्ता पनि गर्दैन।’
गोमताले छाउगोठ भत्काएर त्यहाँ शौचालय बनाउने अभियान चलाइन्। यसमा उनलाई झन् कठिन भयो। छाउगोठ भत्काउने कामको धेरैले विरोध गरे। घरनजिकै शौचालय बनाउनु त झन अनौठो मानियो।
‘मैले छुइछाना (छाउगोठ) भत्काउँदै ट्वाइलेट (शौचालय) बनाउने अभियान थालेँ। यो काम महिनावारी हुँदा अलग बसाल्ने परिवारसँग मेरो विद्रोह थियो,’ उनले भनिन्, ‘यो काम मेरै घरबाट सुरु गरेँर। त्यसपछि मेरो वडाका घरहरूमा गरेँ। बिस्तारै गाविसभर अभियान चलाएँ।’
गोमताका अनुसार त्यो अभियानका समय उनलाई केहीले गाउँबाट निकाल्ने योजना समेत बनाए। तर, यतिन्जेलमा उनलाई साथ दिने संघसंस्था र स्थानीयबासीहरूको संख्या पनि निकै थियो। उनी गाउँनिकाला हुनु परेन।
गोमताले सबैभन्दा पहिले आफ्नो घरको छाउगोठ भत्काइन् र खाल्डोवाला शौचालय बनाइन्। घरनजिकै शौचालय बनेको गाउँमा कसैलाई मन परेन तर उनले छिमेक हुँदै गाउँभरि आफ्नो अभियान फैलाइन्।
केही छाउगोठ भत्काइए। कुरा बुझाउँदै गए पछि धेरै छाउगोठमा शौचालय बने। अहिले घरघरै शौचालय छन्।
यस काममा गोमतालाई ‘महिला सशक्तीकरण’ नामको एक गैरसरकारी संस्थाले साथ दिएको थियो। सोही संस्थाले केही सामग्री अनुदानमा दिन थालेपछि गाउँमा धमाधम शौचालयहरू बने।
२०५४ को स्थानीय निकाय निर्वाचनमा उनका श्रीमानले वडा सदस्य निर्वाचित भएका थिए। उनले श्रीमानलाई साथ दिइन् तर पार्टीमा लागिनन्।
उनी सामाजिक काममा मात्रै धेरै लामो समय लागिनन्। करिब चार वर्ष उनी विद्रोही सामाजिक अभियानीको परिचय बनाएर सक्रिय रहिन्।
गोमता २०६० सालमा नेकपा एमालेबाट राजनीतिमा आइन्। त्यसपछि पार्टीका कमिटीबाट अघि बढिन्। त्यही वर्ष एमालेको वडा कमिटी उपाध्यक्ष भइन्। त्यसपछि इलाका कमिटी उपाध्यक्ष, क्षेत्रीय कमिटी हुँदै लगातार तीन कार्यकाल जिल्ला कमिटी सदस्य भइन्। अहिले प्रदेश कमिटी सदस्य छिन्।
स्थानीय तह निर्वाचन, २०७४ मा गोमतालाई पार्टीले आठबिस नगरपालिकाको उपमेयर पदमा उम्मेदवार बनायो तर उनी नेपाली कांग्रेसका उम्मेदवारसँग ४२ मतले पराजित भइन्।
गोमताका अनुसार स्थानीय निर्वाचन, २०७९ मा पनि पार्टीले उनलाई उम्मेदवार बनाउन चाहेको थियो तर उनले स्थानीय तहमा रुचि देखाइनन्।
उनले भनिन्, ‘मलाई पार्टीले टिकट नदिएको होइन। नयाँ पिँढीका महिला राजनीतिज्ञका लागि ठाउँ छाड्ने विचारले म उम्मेदवार नहुने निर्णय गरेँ।’
उनले पार्टीले अवसर दिए ‘माथिल्लो पोस्ट’ मा जाऊँला भन्ने सोचेकी छन्।
भन्छिन्, ‘म मेरा लागि होइन, समाजका लागि राजनीतिमार्फत उपयुक्त पदमा जान चाहन्छु। पार्टी अवसर दियो भने जाऊँला।’
गोमता राजनीतिसँगै सामाजिक काममा पनि निरन्तर लागेकी छन्। उनका अनुसार राजनीति भन्नु नै सामाजिक काम हो। समाजमा व्याप्त कुरीति न्यूनीकरण गर्दै उन्नत समाज निर्माणका लागि सक्रिय हुनु र केही योगदान गर्नु उनको मुख्य ध्येय हो।