सरकारी कार्यालय पुगेका प्रायः सेवाग्राहीको एउटै गुनासो हुन्छ–फाइल बोकेर कोठा चहार्दा चहार्दा हैरान भइयो!
कोठा चहार्दैमा हप्तौं बित्ने गरेको गुनासो गर्ने सेवाग्राही सरकारी कार्यालयमा प्रशस्तै भेटिन्छन्।
यसपालि स्थानीय निर्वाचनअघि भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार बनेका सबैको मुख्य मुद्दा यसैको अन्त्य गर्ने थियो। गठबन्धनबाट मेयरको उम्मेदवार रेनु दाहाल, एमालेका विजय सुवेदी र विवेकशील साझा पार्टीका प्रवीन काफ्लेले आफ्नो प्रतिबद्धता पत्रमा महानगरपालिकाका सेवाहरूलाई डिजिटल बनाउने र सेवाग्राहीलाई सरकारी कामबाट खुसी बनाउने उल्लेख गरेका थिए।
दोश्रो पटक मेयरमा निर्वाचित भएपछि मेयर रेनु दाहालले अनलाइन भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको घोषणा गरेकी छन्। साथै उनले अब महानगरका सेवाग्राहीले फाइल बोकेर कोठाकोठा चहार्नुपर्ने बाध्यता पनि हट्ने दाबी गरेकी छन्।
यी दुवै कार्यक्रमको सुरूआत महानगरले मंगलबारदेखि गरेको छ।
मेयर दाहालका अनुसार अबदेखि महानगरबासीले घरमै बसेर कर तिर्न सक्नेछन्। मंगलबारदेखि सुरू अनलाइन भुक्तानी प्रणालीमार्फत अब भरतपुर महानगमा तिर्ने राजस्व, कर, दस्तुर लगायत सबै शुल्क अनलाइन प्रणालीबाट सजिलै तिर्न सकिने उनले बताइन्।
यो प्रणालिमार्फत घरबाहल, सम्पत्ती र व्यवसाय कर तिर्न कोही पनि कार्यालय धाउनु नपर्ने प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले बताए।
‘हामीले महानगरपालिकाको वेबसाइटमा एउटा लिंक राखेका छौं। त्यसमा गएर सामान्य प्रक्रियाबाट कर बुझाउन सकिन्छ,’ उनले भने, ‘सेवाग्राही कार्यालय आउनै पर्दैन। उहाँहरूले रसिद पनि अनलाइनबाटै प्राप्त गर्नुहुन्छ।’
आफूले तिर्नुपर्ने कर मूल्यांकन गरिसकेपछि सेवाग्राहीले आफूले प्रयोग गरिरहेको अनलाइन पेमेन्ट गेटवे प्रणालीबाट कर तिर्न सक्नेछन्। अहिले इ–सेवा, खल्ती, कनेक्ट आइपिएसमार्फत भुक्तानी गर्न सकिने सुवेदीले बताए।
वडाहरूबाट पाउनुपर्ने सिफारिसहरू पनि अनलाइनबाटै प्राप्त गर्न सक्ने व्यवस्था महानगरपालिकाले गरेको उनले बताए।
‘हामीले महानगरबाट कस्ता सेवा, कसरी लिन सकिन्छ भन्ने जानकारी रहेको डिजिटल नागरिक बडापत्र पनि वेबसाइटमा राखेका छौं। यसमा महानगरका सबै शाखा, महाशाखाबाट दिइने सेवा सुविधाको विवरण उल्लेख छ,’ सुवेदीले भने, ‘सेवाग्राहीले यो हेरेर अनलाइनबाटै सेवा लिन सक्नुहुन्छ।’
महानगरबाट सेवा लिन अब सेवाग्राहीले अनलाइनबाटै दर्ता गर्न सक्ने पनि उनले बताए। यसका लागि प्रणाली बनिसकेको र कर्मचारीहरूलाई तालिम दिएर केही दिनमै पूर्ण रूपमा सेवा दिन थालिने सुवेदीले बताए।
मेयर दाहालले कार्यालय आउनै पर्ने सेवाग्राहीहरूलाई अबबाट कोठाकोठा चहार्नुपर्ने सास्तीबाट मुक्त बनाउने बताइन्।
‘हामी सकेसम्म सेवाग्राहीले घरमै बसेर सेवा लिन सकून् भनेर लागेका छौं। तर कतिपय कामका लागि कार्यालय नै आउनुपर्ने हुन्छ। त्यस्ता सेवाग्राहीका लागि हामीले सहज रूपमा सेवा दिने व्यवस्था मिलाएका छौं,’ उनले भनिन्।
उनका अनुसार महानगरपालिकाले मुख्य कार्यालयअगाडि सेवाग्राही विश्राम कक्ष सञ्चालनमा ल्याएको छ।
‘अब सेवाग्राही सिधै यो कक्षमा पुग्नुहुन्छ। उहाँहरूले आफ्नो फाइल यहाँका कर्मचारीलाई दिनुहुन्छ। हामीले यहाँ एसी, कुर्सी, इन्टरनेट, पिउने पानी लगायत सुविधा उपलब्ध गराएका छौं। उहाँहरू त्यहीँ बस्नुहुन्छ। उहाँको फाइल लिएर कोठा चहार्ने काम कर्मचारीहरूले गर्नुहुन्छ,’ दाहालले भनिन्।
महानगर कार्यालय आएका सेवाग्राही खुसी भएर फर्किऊन् भन्ने सोचका साथ विश्राम कक्ष सञ्चालनमा ल्याइएको उनले बताइन्।
‘महानगरका काममा झन्झट हुने, फाइलहरू घुमिराख्ने गुनासो सेवाग्राहीबाट आइराख्छ। हाम्रो उद्देश्य यो झन्झटबाट मुक्त गर्नु नै हो,’ उनले भनिन्, ‘रातारात जादुको छडी जस्तो त नहोला तर हामीले सुरू गरेका छौं। यसलाई हामी कडाइका साथ पालना गर्छौं। सकेसम्म हामी जनतालाई प्रत्यक्ष अनुभूति हुनेगरी काम गर्छौं।’
उनले महानगरमा भएका कर्मचारीलाई दक्ष बनाउने र नयाँ कर्मचारी थपेर योजनाहरूलाई प्रभावकारी बनाउने बताइन्।
प्रमुख प्रशासकीय अधिकृत सुवेदीले यो कक्षबाट सेवाग्राहीले आवश्यक परामर्श पनि पाउने बताए। यसका लागि आवश्यक कर्मचारी व्यवस्थापन गर्न समस्या नरहेको उनको भनाइ छ।
‘भएका कर्मचारीको क्षमता विकास गरेर डिजिटल सेवादेखि नागरिक सेवा कक्ष सञ्चालन गर्न सकिन्छ,’ उनले भने, ‘यो सुशासन कायम गर्ने, नागरिकमैत्री शासन सञ्चालन गर्ने अभ्यास हो। हामीले आरम्भ गरेका छौं।’
तत्कालै सबै सेवाग्राही डिजिटल सेवामा जान सक्ने अवस्था नभए पनि बिस्तारै यसको प्रभावकारिता बढ्दै जाने र यसले महानगरमा हुने ढिलासुस्ती तथा भीड हट्ने उनले बताए। यसको कार्यान्वनका लागि २९ वटा वडाको टोल सुधार समितिमार्फत कार्यविधि निर्माण गरी तालिम प्रदान गरिने सुवेदीले जानकारी दिए।
मेयर दाहालले सेवाग्राहीलाई छिटो, छरितो र सहज रूपमा सेवा उपलब्ध गराउन महानगरले सक्दो प्रयास गर्ने बताइन्। महानगरपालिका कार्यालयलाई पेपरलेस बनाउने योजनामा आफू लागेको उनले बताइन्।
‘अनलाइन प्रणालीले भरतपुरलाई सुशासनको बाटोमा हिँड्न सहयोग गर्छ,’ उनले भनिन्, ‘स्मार्ट सिटी निर्माण बन्न जनप्रतिनिधि, कर्मचारी तथा आम जनता स्मार्ट हुन आवश्यक पर्छ।’
भरतपुरका उपमेयर चित्रसेन अधिकारीले महानगरका योजनाहरू कार्यान्वनका लागि सबै पक्षको चासो आवश्यक पर्ने बताए।
सबै तस्बिरहरूः राजेश घिमिरे/सेतोपाटी