निर्वाचन पोस्टमर्टम शृंखला- १०
वैशाख ३० गते चुनाव भएका देशभरिका ७५२ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। अब बाजुराको बुढीगंगा नगरपालिकाको मतपरिणाम आउन बाँकी छ।
यसपालिको चुनावी परिणामलाई हेर्ने हो भने ८१ प्रतिशत पालिकामा प्रमुख र अध्यक्ष नयाँ मान्छेले जितेका छन्। पाँच वर्षअघि मेयर र अध्यक्ष चुनिएकामध्ये १९ प्रतिशतलाई मात्रै जनताले दोस्रो कार्यकालका लागि चुनेका छन्।
यसपालिको चुनावमा दलहरूले झन्डै ४५ प्रतिशत पालिकामा पुराना मेयर र अध्यक्षलाई उम्मेदवार बनाएका थिए। अर्थात् ७५३ मध्ये ३४१ पालिकामा पहिलाकै मेयर र अध्यक्षले उम्मेदवारी दिएका थिए।
जनताले भने ५८ प्रतिशत उम्मेदवारलाई अस्वीकृत गरिदिएका छन्। अहिले १४२ पालिकामा मात्रै पुराना मेयर र अध्यक्ष दोहोरिएर विजयी भएका छन्।
स्थानीय सरकार नागरिकको घर-आँगनको सरकार हो। स्थानीय जनप्रतिनिधिका काम मतदाताले नजिकबाट सुक्ष्म ढंगले नियालिरहेका हुन्छन्। दोहोरिएर चुनाव लडेकामध्ये ठूलो संख्यामा उम्मेदवार पराजित हुनुबाट अघिल्लो पटक निर्वाचित भएका जनप्रतिनिधिको कामसँग जनता सन्तुष्ट नभएको देखिन्छ।
असन्तुष्ट मतदाताले अधिकांश ठाउँमा अघिल्लो पटक मत दिएको पार्टीलाई हराएर अर्को पार्टीलाई जिताएका छन्। त्यसले गर्दा मुख्य दुई दल नेपाली कांग्रेस र एमालेले अघिल्लो पटक जितेका अधिकांश पालिकामा हारेका छन्। तर नयाँ पालिकामा जितेका छन्।
यसपटक स्थानीय निर्वाचनमा नेकपा एमालेले अघिल्लो पटक जितेका सबैभन्दा धेरै पालिका गुमाएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले अघिल्लोपटक जितेका पालिका गुमाउनेमा क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ दल बनेका छन्।
२०७४ सालमा एमालेले २९४ पालिकामा जितेको थियो। यसपालि उसले तीमध्ये २ सय ३ पालिकामा पराजय व्यहोरेको छ। ९१ पालिकामा भने दोस्रो पटक जित हासिल गरेको छ। तर एमालेले यो पटक ११४ नयाँ पालिकामा जितेको छ। त्यसैले उसले जितेका जम्मा पालिकाको संख्या २०५ पुगेको छ।

नेपाली कांग्रेसले २०७४ सालमा २६६ पालिका जितेको थियो। तीमध्ये यसपालि १३७ पालिका हारेको छ भने १२९ पालिका दोहोर्याएर जितेको छ। नेपाली कांग्रेसले १९२ नयाँ पालिका जितेर सबैभन्दा धेरै ३२९ पालिका जित्ने दल बनेको छ।

तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) ले भने आफूले २०७४ सालमा जितेका बहुमत पालिकामा जित हासिल गरेको छ। पाँच वर्षअघि माओवादी केन्द्रले १०६ पालिका जितेको थियो। यसपाली तीमध्ये ५६ पालिकामा दोस्रो पटक जितेको छ भने ५० पालिका गुमाएको छ। तर उसले यसपालि ६५ नयाँ पालिकामा जित निकालेको छ।

जनता समाजवादी पार्टी (तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी)ले पनि २०७४ मा जितेका २४ पालिका प्रमुख/अध्यक्ष गुमाएको छ। अघिल्लोपटक ३६ प्रमुख/अध्यक्ष (नयाँ शक्तिसहित) जितेको उसले यसपटक ३० पालिका मात्र जितेको छ। १० वटा पालिकामा दोहोर्याएर चुनाव जितेको जसपाले यसपटक २० पालिकामा नयाँ नेतृत्व पाएको छ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (तत्कालीन राजपा) ले यसपटक १६ पालिका जितेको छ। २०७४ सालमा जितेका २५ मध्ये २१ पालिका गुमाएको छ। पुराना जम्मा ४ पालिका जितेको लोसपाले १२ वटा नयाँ पालिकामा जित निकालेको छ।
एमालेबाट छुट्टिएर गठन भएको एकीकृत समाजवादीले २० पालिका जितेको छ। अन्य ३१ पालिकामा भने नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेमकिपा तथा स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अघिल्लो चुनावमा जितेका ५ पालिकामामध्ये ४ पालिका गुमाएको छ। पुरानो एउटा र नयाँ ३ वटा सहित ४ पालिका राप्रपाले जितेको छ।
यस्तै राष्ट्रिय जनमोर्चाले अघिल्लो पटक जितेका २ पालिका गुमाउँदा एउटा दोहोर्यायो र ३ वटा नयाँ पालिकामा जित निकालेको छ।
यसअघि जितेको पालिका नगुमाउने एकमात्र दल नेपाल मजदुर किसान पार्टी रह्यो। उसले अघिल्लो चुनावमा पनि भक्तपुर नगरपालिका जितेको थियो भने यसपालि पनि उक्त विरासत जोगायो।
यसपालि १३ जना स्वतन्त्र उम्मेदवार विजयी हुँदा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले ४ वटा पालिकामा प्रमुख पद जितेको छ। यस्तै सिके राउत नेतृत्वको जनमत पार्टी २ पालिकामा प्रमुख पद जित्दा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी र विवेकशील साझा पार्टीले १-१ पालिका प्रमुख पद जितेका छन्। उनीहरू सबैले नयाँ पालिकामा जितेका हुन्।
यी पनि पढ्नुस्: