निर्वाचन पोस्टमर्टम शृंखला- ९
२०७८ फागुन २८ मा वीरगन्ज महानगरपालिकाका तत्कालीन मेयर विजय सरावगी नेकपा एमाले प्रवेश गरे।
उनीसँगै २०७४ मा जितेका केही वडा अध्यक्ष र वडा अध्यक्षमा दोस्रो भएकाहरूसमेत एमालेमा गए।
वैशाख ३० गते हुने चुनावको उम्मेदवारी दर्ता गर्ने दिनसम्म त ४ जना वहालवाला वडा अध्यक्ष र २०७४ को चुनावमा दोस्रो भएका पाँच जना एमालेबाट वडा अध्यक्ष उम्मेदवार बने।
बहालवाला मेयर नै एमालेतिर गएपछि धेरैको अनुमान थियो- अब वीरगन्जमा जनता समाजावादी पार्टी (जसपा)कमजोर भयो।
एकातिर पार्टी विभाजन, अर्कातिर मेयर र वडा अध्यक्ष अनि वडाका प्रभावशाली नेताको एमाले प्रवेश। यसको असर जसपाले वीरगन्जको मेयर मात्र होइन वडा तहसम्म नै भोग्नु पर्ने हुन सक्थ्यो।
वैशाख ३० गते भएको चुनावको परिणाम भने त्यस्तो देखिएन। जसपाले वीरगन्जको मेयर भारी मतान्तरले जित्यो। मेयरसँगै वडा अध्यक्ष पनि पाँच वर्षअघि भन्दा बढायो।
पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित जसपा सांसद प्रदीप यादव भने आफूले चुनावअघि पनि पार्टी कमजोर भयो भन्ने नठानेको दाबी गर्छन्।
'मलाई हाम्रो पार्टीको संगठनमा विश्वास थियो। त्यसैले म आत्तिएको थिइनँ किनकि जो-जो एमालेमा गएका थिए उनीहरूको संगठन थिएन,' यादवले भने,'तल्लो तहका जनतामा पार्टीको पकड बलियो छ, उनीहरूसँग पार्टी जोडिएको छ। हामीले त्यसकै आधारमा जित्ने हो।'
निर्वाचनअघि सेतोपाटी टिम वीरगन्ज पुग्दा पनि यादवले यस्तै दाबी गरेका थिए। उनले पार्टीले २०७४ भन्दा यसपालि राम्रो गर्ने दाबी गरेका थिए। नतिजाले पनि त्यही देखाएको छ।
जसपाले वीरगन्जका १३ वडा जितेको छ। २०७४ मा उसले १२ वडा जितेको थियो। मेयरमा पनि यसपटक जसपाले फराकिलो मतान्तरले जितेको छ। त्यो बेला २१ सय मतान्तरले जितेको जसपाले यसपटक २२ हजार भन्दा धेरै मतान्तरले जितेको छ।
वीरगन्जको मेयरमा जसपाले सत्ता गठबन्धनको साथ पाएको थियो। वीरगन्ज महानगरमा जसपा र कांग्रेस एक अर्काका प्रतिस्पर्धी हुन्। कांग्रेसको समेत भोट आउने भएपछि उसले नजित्ने भन्ने नै थिएन।
कांग्रेसबाट असहयोग भयो र त्यो मत अन्यत्र गएको अवस्थामा मेयर गुम्ने हो कि भन्ने चिन्ता यादवलाई लागेको थियो। त्यसैले उनी सुरूमा गठबन्धनको पक्षमा थिएनन्।
'हामी, कांग्रेस र एमाले एक्लाएक्लै लड्दा हामी नै बलियो हो। तर कांग्रेसले भोट दिएन भने के हो, के हो भन्नेसमेत लागेको थियो,' उनले भने,'कांग्रेसमा पार्टीभित्रै त अन्तरघात धेरै हुन्छ अर्को पार्टीमा सबै भोट जान्छ भनेर अपेक्षा पनि थिएन। तर हामीले कांग्रेसको राम्रै भोट पायौं।'
जसपाले वीरगन्ज महानगरका ३२ वडामा पाएको मत र मेयरले पाएको मतलाई आधार मान्ने हो भने उसले अरू पार्टीको भोट पाएको प्रष्ट हुन्छ। जसपाका वडाध्यक्षहरूले २५ हजार ६ सय ७४ मत पाएका छन्। जसपाबाट निर्वाचित मेयर राजेशमान सिंहले भने ४६ हजार २ सय १५ मत पाएका छन्। नेपाली कांग्रेसले पनि सबै वडामा गरी २५ हजार ४ सय २० मत पाएको छ। यसबाट प्रष्ट हुन्छ, बहुसंख्यक कांग्रेसी मत जसपामा गएको छ।
महानगरमा कमजोर रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को भने धेरै मत एमालेमै गएको यादवको भनाइ छ।
जसपाले यति धेरै मत ल्याउनुको अर्को कारण राजेशमान सिंह आफैं पनि हुन्। उनी व्यक्तिगत रूपमा लोकप्रिय छन्। अर्कोतिर उनकै कारण वीरगन्जमा रहेको ७ देखि ८ हजार पहाडिया भोट पाएको जसपाको विश्लेषण छ।
राजेशमान २०७८ चैत ७ गते मात्रै जसपा प्रवेश गरेका हुन्। त्योभन्दा पहिला उनी एमाले प्रवेश गर्ने तयारीमा थिए तर एमाले अध्यक्ष केपी शर्मा ओलीको रोजाइमा सरावगी परेपछि राजेशमानले जसपातिर लागेका हुन्।
कुनैबेला राजेशमान र प्रदीप यादव वीरगन्जमा एक-अर्काका दुश्मनजस्तै थिए। राजेशमानलाई पार्टी चाहिएको अनि जसपालाई जित्ने उम्मेदवार चाहिएको अवस्थामा उनीहरू एउटै पार्टीमा अटाउन सम्भव भयो। उनीहरूको मिलन पनि जसपा वीरगन्जमा बलियो हुने अर्को कारण हो।
वीरगन्ज महानगर आफ्नो भागमा नपरेपछि सुरूमा त्यहाँका कांग्रेस नेता-कार्यकर्ता आक्रोशित बनेका थिए। उनीहरूलाई मनाउन निकै कठिन भएको यादवको अनुभव छ।
'मैले अब हुने संघीय चुनावसम्मको गठबन्धनमा मिल्न पर्छ कि पर्दैन? अनि त्यो बेलामा हाम्रो सहयोग चाहिन्छ कि चाहिँदैन भनेर उनीहरूलाई मनाएँ। अर्कोतिर उपमेयरमा हामीले कांग्रेसलाई समर्थन गर्ने कुरा पनि थियो,' यादवले भने,'एकातिर एमाले अध्यक्ष ओली वीरगन्ज ओहोरदोहोर, अर्कातिर सत्ता गठबन्धनका कोही नेता पनि वीरगन्ज नआउँदा हामी आत्तिएका थियौं। म आफैंले गठबन्धनका नेताहरूलाई वीरगन्ज ल्याउन पटक-पटक प्रयास गरें तर सकिनँ।'
२०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम (हालको जसपा)ले पर्साका तीन क्षेत्रमा प्रतिनिधि सभा सदस्य जितेको थियो भने तत्कालीन राजपाले १ स्थानमा जितेको थियो। त्यो बेलामा यी दुई पार्टीको तालमेल भएको थियो। तर पार्टी एकता अनि फेरि विभाजन हुँदा पर्साबाट निर्वाचित सांसद विमल श्रीवास्तवले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) रोजे भने हरिनारायण रौनियार निलम्बनमा छन्। अहिले पर्सामा जसपाको तर्फबाट संघीय सांसद प्रदीप यादव मात्रै छन्। हुन त मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि वीरगन्जकै हुन्। तर उनको संगठनमा बलियो प्रभाव छैन। अर्कोतिर पदीय मर्यादाले पनि उनलाई निर्वाचनमा खट्न सम्भव भएन्।
जसपाले विगतमा पर्साका वीरगन्ज महानगरसँगै अन्य तीन पालिका जितेको थियो। यसपटक पनि त्यो संख्या घटाएको छैन। पालिकाहरू भने फेरिएका छन्।
मधेस प्रदेशको एकमात्र महानगर भएकाले पनि वीरगन्जमा सबै दलको प्रतिष्ठा जोडिएको छ। जसपाले दुई पटक लगातार मेयर जितेर आफ्नो विरासत जोगाएको छ।
वीरगन्जमा जसपाको पकड भएको धेरै समय भएको छैन।
२०६४ को संविधान सभामा समेत पर्साका ५ क्षेत्रमा एउटामा मात्रै विजय हासिल गरेको थियो। २०७० मा उसले एउटा क्षेत्र पनि जितेन। एउटा क्षेत्रमा मात्रै जसपा दोस्रो भयो।
२०७२ मा भएको तेस्रो मधेस आन्दोलनपछि भने वीरगन्जमा जसपा उदाएको हो। तत्कालीन संघीय समाजवादी फोरमका तर्फबाट यादवले नै वीरगन्ज आन्दोलनको नेतृत्व गरेका थिए। त्यही आन्दोलनको लिगेसीले नै जसपालाई वीरगन्जमा टिकाएको छ।
'२०६८मा दोस्रो पटक पार्टी विभाजन हुँदा पर्सा जिल्ला कमिटीमा म मात्रै थिएँ। त्यसपछि मैले सबैतिर संगठनको लागि काम गरें। दोस्रो संविधान सभामा हाम्रो नतिजा राम्रो आएन,' उनले भने,'संविधान जारी गर्दै गर्दा हामीले मधेस आन्दोलनलाई एउटा उचाइ दिन सफल भयौं। म आफैं त्यो आन्दोलन झन्डै मारिएको थिएँ। हामीले जनतालाई कुरा बुझाउन सफल भएका छौं।'
स्थानीय तहको निर्वाचनमा वीरगन्जका मतदातासँग कुरा गर्दासमेत गरिब, मजदुर, किसान तथा सीमान्त समुदायका मानिस जसपाकै पक्षमा रहेको पाएका थियौं। उनीहरूले खुलेरै आफूहरू जसपा भएको र उसकै उम्मेदवारलई भोट दिने बताएका थिए। त्यो बेलामा उनीहरूले प्रदीप यादव, राजेशमान सिंह र मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको नाम समेत लिएका थिए।
राजेशमानले मेयरको सपथ लिने क्रममा समेत प्रदीप यादव र पिंकी यादवकै कारणले आफ्नो जित सम्भव भएको बताएका छन्। पिंकी २०७४ मा जसपाको तर्फबाट उपमेयरको उम्मेदवार बनेकी थिइन्। उनी झन्डै ११ सय मतले हारेकी थिइन्। उनी प्रदीप यादवकी श्रीमतीसमेत हुन्।
'हामीले अहिले पनि दुःखमा परेका जनतालाई जसरी पनि सहयोग गरेका छौं। दैनिकी सहज बनाउन अझै सकिएको छैन। त्यसका लागि पनि पहल गरिरहेका छौं,' यादवले भने,'उनीहरूलाई प्रशासनले दुःख दियो भने म काठमाडौं भए पनि गइहाल्छु। मलाई कतिले प्रोटोकल मिलाउन नसक्ने नेता भन्छन्। मैले भन्ने गरेको छु, जनताले जिताउँदा प्रोटोकल हुने हो नत्र कहाँ पुगिन्छ कहाँ!'
यी पनि पढ्नुस्: