झापाको शिवसताक्षी नगरपालिकाका स्थानीयले पटक/पटक उठाउँदै आएको दमकल आवश्यकताको मुद्दा शिवसताक्षी नगरपालिकाका नवनियुक्त नगर प्रमुख मेघहाङ्ग थोप्रा (रोषन) ले पहिलो निर्णयमै सम्बोधन गरेका छन्।
नगर प्रमुख पदको जिम्मेवारी सम्हालेकै दिन उनले यो निर्णय गरेका हुन्।
निर्वाचनताका मतदातालाई पनि उनले आफू निर्वाचित भएपछि दमकल खरिदको निर्णय पहिलो हुने बताएका थिए।
नगर प्रमुखको कार्यकक्षमा नगर प्रमुख थोप्राले आमनगरबासीले उठाएको विषय र नगरपालिकाको आवश्यकता अनुरूप दमकल खरिद गर्ने निर्णय भएको उनले सेतोपाटीलाई बताए।
उनले भने, ‘आर्थिक वर्ष ०७९–०८० बाट खर्च हुने गरी दमकल खरिदको निर्णय भएको छ।’
नेकपा एमाले लगायतका अन्य राजनीतिक दलले नगरमा दमकल खरिदको विषयलाई निर्वाचन घोषणा पत्रमै समेटेका थिए।
नगर प्रमुख थोप्राले भने, ‘आम जनसरोकारको विषयलाई पदभार ग्रहण भएकै दिन निर्णय गर्न पाँउदा गर्व लागेको छ।’
अन्य विषयलाई पनि क्रमैसंग अघि बढाइने उनले बताएका छन्।
शिवसताक्षीमा डेढ दशकको अवधिमा ७ जनाको वंश नै सखाप हुने गरी आगलागीमा परेर ज्यान गएको थियो। नगरमा दमकल नहुँदा कयौं घरहरू जलेर खरानी भएका थिए भने कयौं नगरबासीको धनमाल जलेर उठिबास भएको थियो।
साउनको पहिलो साता नै दमकल खरिदको प्रकृया अघि बढ्ने नगरका प्रमुख प्रशासकीय अधिकृत प्रकाश चौधरीले बताएका छन्।
नगर प्रमुख थोप्राले सो कार्यको लागि १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयमा हस्ताक्षर सहितको सिफारिस समेत गरेका छन्। मेयर थोप्राको यो सिफारिस पाँच वर्षको कार्यकालमा पहिलो हो।