सरकारी कर्मचारीहरूलाई कार्यालय समयमै भेट्न त मुस्किल हुन्छ, ललितपुरका मेयर चिरिबाबु महर्जनले भने हामीलाई बेलुकी ६ बजे आफ्नै कार्यालयमा समय दिएका थिए।
'तपाईंहरूको यति बजेसम्म काम गर्ने भनेर समय-सीमा हुँदैन?'
यो प्रश्नमा ६४ वर्षीय महर्जन मुसुक्क हाँसे र भने, 'मेयरको काम पनि तपाईंहरूको जस्तै हो। कहिले बिहान ७–८ बजे नै कार्यक्रममा हिँड्नुपर्छ, कहिले साँझसम्म काम भइरहन्छ। आजै बिहान ७ बजे घरबाट हिँडेको, भर्खर अफिस आइपुगेँ। आज आफू ढिला आएकोले कति त मेयर गइसक्नुभयो भनेर घर फर्किनुभयो होला। नत्र यहाँ जहिल्यै आउँदा मान्छेको भीड हुन्थ्यो।'
उनलाई काम गर्न मनपर्ने पनि १०–५ को कार्यालय समयअघि र पछि नै रहेछ, भने, 'दिनभर मान्छे भेट्दा र कार्यक्रममै समय जान्छ। त्यही भएर बिहान-बेलुकी मलाई सोच्न र काम गर्न सजिलो लाग्छ। तर यहाँ अबेरसम्म बत्ती बलेको देखेपछि मेयर माथि नै छन् भन्ने थाहा पाएर वरिपरिका मान्छे आइहाल्छन्।'
उनको दिनचर्यापछि हामीले मेयरका रूपमा पाँचवर्षे कार्यकालको अनुभव बुझ्न खोज्यौं।
२०७४ सालमा अघिल्लो स्थानीय तहको निर्वाचन हुँदा नेपाली कांग्रेसका उम्मेदवार महर्जनलाई चुनाव जित्न हम्मे परेको थियो। केही दिनसम्म उनी एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारभन्दा पछाडि थिए। कडा प्रतिस्पर्धाबीच ३२३ मतान्तरले महर्जन विजयी भए।
उनी सुरूआती दिनमा काम गर्न गाह्रो भएको अनुभव साट्छन्, भन्छन्, 'स्थानीय सरकार ऐन बनेको थिएन। कर्मचारीले शासन चलाएको अवस्था थियो। छ-सात महिना अन्यौल भए पनि बजेट पारित भएपछि सजिलो भयो।'
महानगरपालिकाले काम सुरू गर्दा २०७२ को भुइँचालोले भत्काएका घर अनि सम्पदाका काम थाती थिए। महानगरले त्यसैलाई प्राथमिकतामा राखेर काम गर्यो। त्यसयता पाँचवर्षे अन्तरालमा ललितपुरको देगु तलेजु, नरसिंह मन्दिर, बालकुमारी, रूद्रायणी, बुंगमतीको मच्छिन्द्रनाथ लगायत मन्दिर निर्माण गर्यो। २९ वटा वडामा ७७ फल्चा पुनर्निर्माण गर्यो।
सम्पदा क्षेत्र निर्माण गर्दा टेन्डर नगरियोस् भनेर सजग भएकाले निर्देशिका जारी गर्न पहल गरेको महर्जन बताउँछन्।
'गुणस्तर कायम राख्न टेन्डर नगरी स्थानीय उपभोक्ता समितिले नै बनाउन पाउनुपर्छ भनेर मैले लबी गरेँ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसअनुसार निर्देशिका जारी गर्नुभयो,' उनले भने, 'त्यो निर्देशिकाअनुसार ०७२ सालमा बिग्रिएका सम्पदा पुनर्निर्माण गर्दा दस करोड रूपैयाँसम्मलाई टेन्डर गर्नुपर्दैन भनेर निर्देशन गरिएको थियो।'
सम्पदा क्षेत्रमध्ये आफूले सबभन्दा राम्रो काम पाटनको भीमसेन मन्दिरमा गरेजस्तो उनलाई लाग्छ। त्यो मन्दिर जिर्णोद्धार गर्न सुरूमा नेपालले भारत सरकारसँग अनुरोध गरेको थियो। त्यसको प्रक्रियामा धेरै समय घर्किइसकेको थियो। मन्दिर जीर्ण भएर वरिपरिका घरलाई जोखिम हुने चुनौतीबीच मेयर महर्जनले भारतीय राजदूतसँग कुरा गरे।
'पैसा जारी गर्न समय लाग्ने भनेपछि नेपाल सरकारसँग अनुमति लिएर हामीले नै जिर्णोद्धार गर्ने स्वीकृति लियौं। चन्दा उठाएर भए पनि हामीले त्यो मन्दिर गुणस्तरको बनाएका छौं,' उनले भने।
जीवित सम्पदा शताब्दी पुरूष सत्यमोहन जोशीको सयौं जन्मोत्सव धूमधामसँग मनाउनु, उनको नाममा हुलाक टिकट, सिक्का र किताबहरू निकाल्नु र उनलाई निजी गाडी व्यवस्था गर्नु पनि आफ्नो कार्यकालमा भएको उल्लेखनीय काम उनी मान्छन्।
ललितपुर महानगरपालिकाले अन्य पालिकाको तुलनामा गरेको फरक काम भनेको साइकल लेन हो। नेपाल साइकल सोसाइटीको सहकार्यमा ललितपुर क्षेत्रमा महानगरले ३२ किलोमिटर साइकल लेन बनाइसकेको छ। सडकका आकार धेरै ठाउँमा सानो भएकाले अन्तर्राष्ट्रिय स्तरको भने बनाउन सकेको छैन। चक्रपथको १५.८ किलोमिटर सडकमा दुवैतिर अन्तर्राष्ट्रिय स्तरको साइकल लेन बनाउन महानगरले टेन्डर दिइसकेको छ। त्यस्तै ठाउँठाउँमा सय वटाजति साइकल स्ट्यान्ड पनि निर्माण गरिसकेको छ।
लेन बने पनि प्रयोग भएको त देखिन्न नि! किन होला?
हाम्रो प्रश्नमा महर्जनले भने, 'बनाए पनि हामीले त्यति धेरै प्रचार गर्न सकेका छैनौं। त्यसमाथि हाम्रो देशमा साइकलको कुनै ऐन नभएकाले अलि गाह्रो भइरहेको छ।'
महानगरले गरेको अर्को उदाहरणीय काम पार्क–बगैंचा र पोखरीमा हो। साना ठाउँ सदुपयोग गरेर पार्क बनाउनुका साथै महानगरले पुल्चोक, जाउलाखेल क्षेत्रका सरकारी भवनमा लगाइएका अग्ला पर्खाल भत्काएको छ। यसले भित्रको हरियाली बाहिरका मान्छेले पनि देख्ने वातावरण मिलेको छ।
त्यसपछि महर्जनले हामीलाई महानगरले गरेको स्मार्ट प्रविधिका कामबारे बताए।
महानगरले आफ्नो कार्यभार सुरू गर्दाताकै ठाउँठाउँमा स्मार्ट बत्ती जडान थालेको थियो। अहिलेसम्म ६६९ वटा पोलमा बत्ती जडान गरिसक्यो। दोस्रो चरणमा एक हजार एक सय ५० बत्ती जडान हुँदैछ र तेस्रो चरणमा थप बत्ती जोडिनेछ। बत्ती नभएकै कारण दुर्घटनामा मान्छेको मृत्यु हुने समस्या महानगरले कम गर्न खोज्दैछ। अहिले स्मार्ट ट्राफिक लाइट पनि जडान हुँदैछ।
पाटन क्षेत्रमा वर्षाको समयमा पानी जम्ने समस्या छ। हिति (ढुंगेधारा) हरूमा पनि सडकका पानी जम्छन्। समाधानका लागि २.८ किलोमिटर ट्रकलाइन प्रोजेक्ट महानगरले सुरू गरेको छ। यसमार्फत जमेको पानी पाइपबाट सोसेर अन्तै पठाइन्छ।
'अहिले यसको काम लगभग सकिइसक्यो। अब आउने वर्षामा पहिलेजस्तो पानी जम्ने समस्या नहोला,' महर्जनले भने।
आफ्नो कार्यकालमा निर्वाचन घोषणापत्रमा उल्लिखित ९० प्रतिशत काम पूरा गरेको मेयर महर्जनको भनाइ छ। घोषणापत्रमा उल्लेख नभएका ट्रकलाइन प्रोजेक्ट, साइकल लेन लगायत विभिन्न काम पनि गरेको उनी दाबी गर्छन्। तर कतिपय काम पूरा गर्न नसकेको आरोप पनि उनीमाथि छ।
घोषणापत्रमा उनले मेट्रो रेल र फ्लाइओभरको सपना स्थानीयलाई देखाएका थिए। त्यसैगरी विद्युत, टेलिफोन लगायत तार भूमिगत गर्ने पनि उल्लेख थियो।
केही समयअघि महानगरले पुल्चोकदेखि थापाथलीसम्म १.४ किलोमिटर फ्लाइओभरको अध्ययन गरेको रहेछ। जापान सहयोग नियोग (जाइका) ले माइतीघरदेखि त्रिपुरेश्वरसम्म अध्ययन गर्दा पाटनका निम्ति पनि फ्लाइओभर जोड्ने ठाउँ राखेको थियो।
'तर त्रिपुरेश्वरमा सेनाको जग्गा पर्ने र हाम्रोमा पनि स्थानीयको केही घर पर्ने भएकाले त्यो काम अहिले थाती छ। त्यही पनि १.४ किलोमिटरको फ्लाइओभर बनाउनै चार अर्ब लाग्ने रहेछ। बहुवर्षीय योजनामा नसकिने त होइन। त्यही भएर अहिले हामीले नगर्ने भनेका छैनौं र सुरू पनि गरिहालेका छैनौं,' उनले भने।
यताको बाटोमा फ्लाइओभरको काम थाती भए पनि सातदोबाटो, चापागाउँ र एकान्तकुनामा भने फ्लाइओभर राख्न टेन्डर भइसकेको उनले बताए।
मेट्रो रेलको सपना भने ललितपुरको नभई काठमाडौंको भएको महर्जन बताउँछन्। काठमाडौंले चक्रपथमा मेट्रो राख्ने भनेपछि ललितपुर पनि चक्रपथमा पर्ने भयो। त्यही भएर त्यो सपनासँग आफू पनि जोडिएको उनले बताए।
'मेट्रो ठूलो प्रोजेक्ट हो। इङ्ल्यान्डमा दुई सय वर्षअघि आयो। फ्रान्समा जता हेरे पनि मेट्रो छ। यातायात समस्या समाधान गर्न ढिलोचाँडो मेट्रो चाहिन्छ नै। मेट्रो संघीय सरकारको पनि ठूलो प्रोजेक्ट हो। उसले पहल गर्छ भने हामी सहायता दिन्छौं,' उनले भने।
सार्वजनिक यातायातका लागि ललितपुरको आफ्नै गुरूयोजना छ। धेरै ठाउँमा महानगरले एकतर्फी बाटो बनाएको छ। इन्धनको समस्या हटाउन साझासँग सहकार्य गरेर विद्युतीय बस चलाउन लागेको छ जुन भित्री सहरमा चल्नेछ। यसबाट पर्यटकले ७२ घन्टाको समय-टिकटमा सहरको कुनाकुना घुम्न पाउनेछन्।
विद्युतीय तार भूमिगत गर्ने काम भने काठमाडौंले विश्व बैंकको सहयोगमा सुरू गरेको छ। ललितपुरमा पनि गर्नेवाला छ। त्यो काम सुरू नहुन्जेल तारहरू कम देखियोस् भनेर मुठा मुठा पारेर राख्ने पहल भएको उनी बताउँछन्।
मेयर महर्जन आफ्नो सहरलाई 'स्मार्ट सिटी' बनाउन चाहन्छन्। तर सहर स्मार्ट बनाउने चक्करमा घर भत्काएर, बाटो ठूलो पारेर नहुनेमा उनी सजग छन्। भित्रको पुरानो सहरलाई पुरानै ढाँचामा संरक्षण गरेर बाहिरी भागमा सहरीकरण गर्ने सोच छ।
यस्ता विविध विषयमा कुरा गरिसकेपछि हामीले उनलाई सोध्यौं, 'फेरि चुनाव उठ्दै हुनुहुन्छ?'
उनले सोझो उत्तर दिएनन्, घुमाउरो पारामा भने, 'गएको पाँच वर्षमा हामीले धेरै काम गर्यौं। अझै धेरै काम पूरा गर्न बाँकी छ। अर्को पाँच वर्ष थपिने हो भने धेरै गर्न सक्छौं।'
महर्जनले आफ्नो पार्टी नेपाली कांग्रेसबाट मेयरको टिकट पाइसकेका छैनन्। उनलाई आफूले नै टिकट पाउने विश्वास भने छ।
'टिकट लिन दौडधुप गर्ने धेरै छन्। तर मै पहिलो हुन्छु होला,' उनले भने।
हुन पनि उनलाई पहिलो हुने लत लागेको छ। कक्षा १ देखि १० सम्म कक्षामा सधैं प्रथम भए। एमकमसम्मको पढाइमा कहिल्यै फेल भएनन्। जुनै चुनाव जितेका छन्। तीनपटक त निर्वाचन लडेर वडाध्यक्ष भए। त्यसपछि ज्यापू समाजमा पनि निर्वाचित भएर अध्यक्ष भए।
कानुनअनुसार मेयर पदमा एउटै व्यक्तिले दुईपटकसम्म उम्मेदवारी दिन पाउँछन्। आफ्नो कार्यकालमा चित्तबुझ्दो काम गरेकाले त्यो अवसर आफूले नै पाउनेमा उनी आशावादी छन्।
यसरी जीवनमा कहिल्यै फेल नभएका चिरिबाबु महर्जन आफूले गरेको काममा पनि सधैं 'पास' हुन चाहन्छन्।
'कहिलेकाहीँ आफूले भनेजस्तो भएन भने नि!'
हाम्रो प्रश्न खस्न नपाउँदै उनले जवाफ दिए, 'एकदम रिस उठ्छ।'
उनले अगाडि भने, 'मलाई कुनै कुरामा झेली गर्नु छैन। कसैसँग मैले रिजल्ट खोजेको छु तर उसले काम नगरेको वा विभिन्न बहाना बनाएको पाएँ भने मलाई एकदम रिस उठ्छ। यहाँका कर्मचारीलाई थाहा छ, चिरिबाबुले रिजल्ट खोज्छ भनेर। त्यही भएर कसैलाई केही काम दिएँ भने ऊ परिणाम दिन लागिपर्छ।'
परिणाम खोज्ने क्रममा महर्जनले धेरै जनासँग रिसिइबी पनि साँधेका छन्।
एकपटक उनले ललितपुर क्षेत्रमा दाहसंस्कार गर्न धेरै रूख खर्च हुने देखे। उनले विद्युतीय दाहसंस्कार निम्ति उपकरण राख्न शंखमुलमा जग्गा किने। त्यो ठाउँमा धेरैले अवैध रूपमा घर बनाएका छन्। ती मान्छेले महानगरको यो कामको विरोध गरे।
मेयर भने उनीहरूसँग बाझे, 'सनातनदेखि मान्छे जलाउने शंखमुलजस्तो ठाउँमा तपाईंहरू बस्न आएर हुन्छ?'
अन्त्यमा ती मान्छेले महानगरविरूद्ध मुद्दा हाले। यस्ता अनेकन मुद्दा उनले झेलिरहेका छन्।
महानगर अगाडिकै समय् फल्चा बनाउने काम रोक्का गर्न लालीगुराँस सहकारीले हालेका सातवटा मुद्दाबाट उनी भर्खरै मुक्त भएका छन्। त्यहाँ अहिले फल्चा बनेर उद्घाटन भइसक्यो।
'मलाई मुद्दासँग डर लाग्दैन। गल्ती गर्नबाट डर लाग्छ,' महर्जनले भने, 'मेक नो मिस्टेक भन्छन् नि! आफूले गल्ती गरेन भने यस्ता सयौं मुद्दा जितिन्छ।'
हाम्रो कुराकानी सकिँदा साढे ७ कटिसकेको थियो। बिहानदेखि साँझसम्म कार्यालयको काम गर्दा आफ्नो निजी जीवनका लागि भने उनलाई समय कम हुन्छ। तर श्रीमतीले आफ्नो व्यस्तता बुझ्ने महर्जन बताउँछन्।
रैथाने घर पुल्चोक भए पनि उनी अहिले परिवारसँग बखुन्डोलमा बस्छन्। किसान परिवारका उनले धान फल्ने खेतमा 'महर्जन अपार्टमेन्ट' बनाएका छन्। त्यसको सबै काम पहिला महर्जन आफूले हेर्थे। अहिले व्यस्तताका कारण उनकी श्रीमती मिश्रीले हेर्छिन्।
शिक्षण पेसाबाट अवकाश लिएकी मिश्रीले घरसँगै महर्जनको सामाजिक सञ्जालको जिम्मेवारी पनि सम्हाल्ने गर्छिन्।
'मेरो सामाजिक सञ्जाल पनि उहाँले नै चलाउनुहुन्छ। त्यहाँ आएका फिडब्याक र प्रतिक्रिया उहाँले नोट गरेर राख्नुहुन्छ,' उनले भने, 'नोटमध्ये महत्वपूर्ण कुरालाई इमेल, सामाजिक सञ्जाल वा कतिलाई फोन गरेर जवाफ दिन्छु।'
कतिपयले 'फलानो ठाउँमा यस्तो समस्या छ' भनेर उनको नम्बरमा फोन वा म्यासेज गरेको महर्जनलाई झनै मन पर्ने रहेछ। त्यसबाहेक उनी फुर्सदको समय आफ्नो ठाउँमा के–कस्तो समस्या छ भनेर चक्कर पनि लगाउँछन्।
एकपटक काठमाडौं क्षेत्रमा ढलमा खसेर सानी बालिकाको मृत्यु भएको खबरले उनलाई रातभर सताएछ। त्यो बेला काठमाडौंका मेयरले निकै गाली खाएका थिए। त्यस्तो दुर्घटना हुने ठाउँ आफ्नो नगरमा कहाँ–कहाँ छ भनेर उनले त्यसपछिका तीन बिहान चक्कर लगाएछन्।
उनी भन्छन्, 'अरूको गल्तीबाट आफूले धेरै सिक्न सकिन्छ।'
पहिले पहिले महर्जन निकै हिँड्थे। बिहान बिहान दगुर्थे र व्यायाम गर्थे। कोरोना महामारी बेला उनी संक्रमित भएर अस्पतालै बस्नुपर्ने अवस्था आयो। त्यसको दीर्घकालीन असरले आजकल हिँड्दा छिट्टै थकाई लाग्छ उनलाई। त्यही भएर आजकल कम हिँड्छन्।
'हिँड्दा मान्छेको टोल अनि दैलोमै पुगेर समस्या देखे–सुनेजस्तै हुने रहेछ। अहिले त्यो क्रम रोकिए पनि कतै केही समस्या पर्यो भने गाडीमा आवतजावत गर्छु,' उनले भने।