प्रधानमन्त्री शेरबहादुर देउवाले बरिष्ठ अधिवक्ता गोविन्द बन्दीलाई कानुन मन्त्री बनाउन सिफारिस गरेका छन्।
राष्ट्रपति कार्यालयका स्रोतका अनुसार बन्दीलाई मन्त्री नियुक्त गर्न गरिएको सिफारिस राष्ट्रपति कार्यालयमा पुगिसकेको छ।
‘आजै सपथको तयारी छ,’ स्रोतले भन्यो।
सेतोपाटीसँग कुरा गर्दै बन्दीले आफू कानुन मन्त्री बन्न लागेको बताए।
‘प्रधानमन्त्री देउवाको सिफारिसमा गठबन्धनको तर्फबाट म मन्त्री बन्न लागेको हो। आजै सपथ हुन्छ,’ बन्दीले भने।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालनिकट बन्दीले पछिल्लो समय एमसिसी परियोजना पारित गर्दा १२ बुँदे व्याख्यात्मक घोषणा तयार पार्न महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसअघि पनि उनले अहिलेको सरकार बन्ने बेलामा कानुनी परामर्शमा महत्वपूर्ण भूमिका खेलेका थिए।
सांसद नरहेका बन्दीलाई देउवाले ६ महिनाका लागि मन्त्री बनाउन लागेका हुन्। संविधानमा गैरसांसद ६ महिना मन्त्री बन्न सक्ने व्यवस्था छ।
एकीकृत समाजवादीका एक पदाधिकारीले बन्दी आफ्नो पार्टीको तर्फबाट मात्र नभई गठबन्धनकै तर्फबाट मन्त्री बन्न लागेको बताए।
बन्दी कानुन मन्त्री बने अहिलेका मन्त्री दिलेन्द्र बडुको जिम्मेवारी फेरबदल हुने भएको छ। बडुले भने अहिलेसम्म आफूलाई यसबारे कुनै जानकारी नभएको बताए।
बालुवाटार स्रोतका अनुसार अहिले खाली रहेका रक्षा र वाणिज्यमध्ये बडुलाई एउटामा पठाउने तयारी भइरहेको बताएको छ।