पाँच वर्षअघि साउनमा रेनु दाहाललाई नगरप्रमुख (मेयर) का रूपमा पाएको भरतपुर महानगरपालिकाले पाँच महिनापछि पहिलो नगरसभा गरेको थियो।
पुस २१ मा भएको पहिलो नगरसभामा नीति तथा कार्यक्रममा मेयर दाहालले अघि सारेको एउटा नारा थियो– नगर्ने कुरा नभन्ने, भनेका कुरा गर्ने।
भरतपुर महानगरपालिकामा दाहालले नेतृत्व गरेको पाँच वर्ष पुग्नै लागेको छ। मेयरमा निर्वाचित भएपछि उनका प्रतिबद्धता कति पूरा भए भन्ने चासो धेरैलाई छ।
पाँच वर्षे कार्यकालको समीक्षापछि भरतपुर महानगरले सडक निर्माणमा ठूलो फड्को मारेको दाबी गरेको छ। मेयर दाहालले गत पुसमा भएको दसौँ तथा अन्तिम नगरसभाका क्रममा आफू नेतृत्वमा आएपछि ६१० किलोमिटर सडक कालोपत्रे भएको र ४५० किलोमिटर सडक ग्राभेल भएको बताएकी थिइन्।
संघीय सरकारको सहयोग र महानगरपालिकाको पहलमा बनिरहेको देशकै लामो ८८.६० किलोमिटर लामो महानगरीय रिङ रोड अर्थात चक्रपथलाई उनले ठूलो उपलव्धिका रूपमा लिएकी छन्। कुल ८ अर्ब २० करोड रुपैयाँ लागत रहने उक्त निर्माणलाई महानगरले गौरवको आयोजना भनेको छ।
‘सघन सहरी विकास तथा भवन निर्माण आयोजना’ मार्फत १० किलोमिटर, प्रदेश सरकारबाट ८.५५ किलोमिटर, सडक विभागबाट १० किलोमिटर र महानगरबाट १० किलोमिटर गरी अहिले ४०.५५ किलोमिटर चक्रपथ निर्माण कार्य भइरहेको छ। बाँकी ४८.०६५ किलोमिटर निर्माणका लागि स्रोत सुनिश्चितताको पहल भइरहेको जनाइएको छ।
दाहालले ५२ किलोमिटर लामो लिंक रोडको काम पनि अघि बढ्नुलाई महत्वपूर्ण उपलव्धि भनेकी छन्।
महानगरले भरतपुर अस्पतालमा महिला तथा ज्येष्ठ नागरिकलाई बहिरंग (ओपिडी) टिकट निःशुल्क गर्ने पहिलो निर्णय गरेको थियो। भरतपुर अस्पतालको कुरुवा घर, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, अन्तर्राष्ट्रिय स्तरको सिटी हल, पुल्चोक–गोन्द्राङ ६ लेन सडक बिस्तार, हुलाकी सडकको १९ किलोमिटर विस्तार र स्तरोन्नतिलाई मेयर दाहालले आफ्नो कार्यकालको महत्वपूर्ण उपलव्धिका रूपमा व्याख्या गर्ने गरेकी छन्।
यसैगरी भरतपुर–मेघौली–गोलाघाट सहायक राजमार्ग विस्तार, मेट्रो प्लाजा, महानगरको प्रशासनिक भवन, नारायणी नदीमा तटबन्ध, देवघाटमा बन्दै गरेको विद्युतीय शवदाह गृह र केन्द्रीय बस टर्मिनल मर्मतलाई उनले रूपान्तरणकारी आयोजनाका रूपमा प्रस्तुत गर्ने गरेकी छन्।
शिक्षा, कृषि, स्वास्थ्य, सुशासन, आन्तरिक आयलगायत क्षेत्रमा पनि उल्लेखनीय प्रगति भएको उनको जिकिर छ।
यी मध्ये ६ वटा आयोजना २०७५ सालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेका थिए। पाँच वटा आयोजना एकै दिन र एटटा अर्को दिन शिलान्यास गरेका थिए। शिलान्यास भएका मध्ये भरतपुर अस्पतालको कुरुवा घरमात्रै निर्माण पूरा भएको छ।
सिटी हल र ६ लेन सडकको शिलान्यास २०७७ माघमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।
महानगरको पहिलो नगरसभामा मेयर दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘महानगरको आवश्यकता र सम्भावनाको मसिनो आकलनसहित कम्तीमा २०–२५ वर्षको आवश्यकताको सम्बोधन गर्ने सोच र कार्यक्रमयुक्त एकीकृत योजना तर्जुमा गर्ने’ कुरा उल्लेख गरिएको थियो।
यसअनुसार महानगरले काम सुरु गरेको जानकारी गराउँदै दाहालले विज्ञ र विभिन्न मन्त्रालयका सचिवहरूसँग परामर्श प्रारम्भ भइसकेको र अविलम्ब दीर्घकालीन योजना तर्जुमा सुरु हुने बताएकी थिइन्।
‘नगर्ने कुरा नभन्ने र भनेको कुरा गर्ने हाम्रो प्रतिबद्धता भएकाले यो वर्ष सम्भव हुने योजनामात्रै हामीले पेश गरेका छौँ,’ पहिलो नगरसभामा उनले भनेकी थिइन्, ‘आगामी वर्षको नगरसभामा दीर्घकालीन एकीकृत योजनाका साथमा उपस्थिति हुने प्रतिबद्धता छ। अहिले हामी केही दीर्घकालीन सोच र योजनाहरूको पृष्ठभूमिमा तत्काल प्रारम्भ गर्नुपर्ने र गर्न सकिने अल्पकालीन नीति र कार्यक्रमहरूका साथ प्रस्तुत भएका छौँ।’
दाहालले भनेजस्तो २०–२५ वर्षको आवश्यकता सम्बोधन गर्ने एकीकृत योजना महानगरपालिकाले अहिलेसम्म बनाएको छैन। पहिलो आर्थिक वर्षमा सुरु गर्ने भनिएका कतिपय योजना अझै सुरु भएका छैनन्। केही योजना कार्यकालको अन्त्यतिर सुरु हुन थालेका छन्। महानगरले गौरवका आयोजना भन्ने गरेका कुनै पनि निर्माण कार्यकालको अन्तिमसम्ममा पनि पूरा भएको छैन।
आकाशे पुल र ट्राफिक लाइट कुरामै सीमित
पहिलो नगरसभामा प्रस्तुत योजनामा तीन स्थानमा आकासे पुल सोही वर्ष निर्माण सुरु गर्ने भनिएको थियो। ट्राफिक व्यवस्थापनका लागि संघ र प्रदेश सरकारको समन्वयमा अत्याधुनिक ट्राफिक नियन्त्रण कार्यालय भवन बनाउने र जनशक्ति व्यवस्था गर्ने, मुख्यमुख्य स्थानमा सिसिटिभी जडान गर्ने र ट्राफिक बत्ती राखेर यातायात सहज र सुरक्षित बनाउने भनिएको थियो।
पाँच वर्षमा यी कुनै पनि काम सुरु भएनन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन साँघुरो र अव्यवस्थित छ, जनशक्ति पनि कम छ। पहिले राखिएका सिसिटिभी क्यामेरा काम नलाग्ने भएका छन्। सिसिटीभी क्यामेरा नहुँदा अपराध अनुसन्धानका काममा समेत अप्ठेरो हुने गरेको प्रहरीको गुनासो छ।
जनसंख्या र सवारी साधनको चाप बढ्दै गए पनि पूर्वाधारको कमीले दुर्घटना बढेको ट्राफिक प्रहरीको भनाइ छ।
नारायणगढदेखि गोन्द्राङसम्मको सडक विस्तार गरेर ६ लेनको बनाउन थालिएका कारण बजार क्षेत्रमा आकासे पुल, ट्राफिक लाइट, सिसिटिभी क्यामेरा जडान लगायतका काम ‘बनाउने र भत्काउने गर्नुभन्दा सडक बिस्तार भएपछि एकै चोटी बनाउँदा पाको काम हुन्छ भन्ने भयो,’ मेयर दाहालले भनिन्, ‘ट्राफिक लाइट त नारायणगढमा एक पटक राखेर पनि झिकेका हौँ।’
न विमानस्थल स्तरोन्नति, न ल्यान्डफिल साइट निर्माण
नगरसभाले भरतपुर विमानस्थल विस्तारको सम्भावना तत्काल अध्ययन गर्ने, दीर्घकालीनरूपमा ठूला विमान सञ्चालनका लागि मेघौली विमानस्थल स्थापना गर्न सम्भाव्यता अध्ययनका लागि संघीय सरकारसँग समन्वय गरी प्रक्रिया अघि बढाउने भनेको थियो।
महानगरले भरतपुर विमानस्थल विस्तारको कुरा आफ्नो प्रतिष्ठासँग जोडेको थियो तर पाँच वर्षमा केही पनि काम भएन। मेघौली विमानस्थलको कुरा नै हरायो।
पहिलो नगरसभाले वडा नम्बर २ मा १५ बिघा जमिनमा अत्यधुनिक ल्यान्डफिल साइट बनाउने घोषणा गरेको थियो। महानगरबाट निस्किएको फोहोरबाट ऊर्जा उत्पादन गर्ने लक्ष्य लिइएको थियो। हालसम्ममा ल्यान्डफिल साइटको डिपिआर मात्रै बनेको छ।
उक्त नगरसभामा लायन्स चोकमा बहुउद्देश्यीय व्यापारिक भवन बनाउने, नारायणी नदीमा तटबन्धन गर्ने, वडा नम्बर २ मा मा अटोल्यान्ड बनाउने योजना अघि सारिएकोमा कार्यकालको अन्त्यतिर काम सुरु गर्ने तर्खर छ।
मेयर दाहालले भरतपुर विमानस्थलको विस्तारको काम सुरु नभए पनि आवश्यक प्रक्रिया सुरु भइसकेको बताइन्। ‘प्रक्रिया धेरै अघि बढिसकेको छ, भरतपुरमा रहेको सेनाको ब्यारेकका लागि अर्को ठाउँ दिने टुंगो लागेकोे छ,’ उनले भनिन्, ‘बाँकी प्रक्रिया पूरा गरेर विस्तारको काम सुरु भइहाल्छ।’
उनले ल्यन्डफिल साइट निर्माणको काम सुरु गर्न कोरियाली कम्पनीसँग छिट्टै सम्झौता हुने बताइन्। उनका अनुसार डिपिआर तयार भइसकेको छ र सम्झौता हुन बाँकी छ। सम्झौता संघीय सरकार र कोरियाली कम्पनी बीच हुनेछ।
रंगशाला निर्माण बन्द, विद्युतीय शवदाह गृह सुस्त
पहिलो नगरसभामा देवघाटमा विद्युतीय शवदाह गृह निर्माणको काम सुरु भइसकेको र शीघ्र सम्पन्न हुने भनिएको थियो। सघन सहरी तथा भवन निर्माण आयोजनाअन्तर्गत बनिरहेको शवदाह गृह अझै पूरा भएको छैन। काम हुँदै छ तर सुस्त छ।
शवदाह गृह निर्माणको काम २५ प्रतिशत सकिएको आयोजनाले जनाएको छ। डिजाइन परिवर्तन, नदीमा आएको बाढी र कोरोना महामारीलगायतका कारणले काम ढिलो भएको जनाइएको छ।
अहिले यो योजनाका ठेकेदार म्याद थप्ने दौडधुपमा छन्। यो आयोजना २०७५ साल माघमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शिलान्यास गरेका थिए।
पहिलो नगरसभा, २०७४/७५ मै सुविधासम्पन्न सभास्थल, सिटीहल, रंगशाला र मनोरञ्जन पार्क निर्माणका लागि डिपिआर स्वीकृत भएको र आर्थिक वर्ष २०७५/७६ मा निर्माण सुरु हुने भनिएको थियो। यी मध्ये सिटी हल केही ढिला गरी बन्न थालेको छ।
धुर्मुस सुन्तली फाउन्डेसनले महानगरसँग सम्झौता गरेर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन सुरु गरेको भए पनि गत साउनदेखि काम रोकिएको छ। आर्थिक अभावले काम रोकिएको फाउन्डेसनको भनाइ छ।
रंगशाला बनाउने क्रममा लागेको ऋण तिर्ने प्रक्रिया मन्त्रिपरिषद्को बैठकबाट मात्रै टुंग्याउन मिल्ने भएकाले निर्णय कुरिरहेको मेयर दाहालको भनाइ छ। ‘ऋण नभएको भए त महानगरले स्वामित्व लिएर काम अघि बढाइसक्थ्यो,’ उनले भनिन्, ‘मन्त्रिपरिषद्कै निर्णय चाहिने भएकाले कुरेर बसेका छौँ। चाँडै शुभ समाचार आउने आशा गरौँ।’
प्रचण्ड मार्ग अपूरो, रिङ रोड र लिंक रोडमा ढिलासुस्ती
महानगरपालिकाले निकै महत्व दिएको महानगरीय रिङ रोड र लिंक रोडको योजना पनि पहिलो नगरसभामै प्रस्तुत गरिएको थियो। यी योजनाहरू निर्माणको चरणमा छन् तर कामको गति सुस्त छ। पश्चिम चितवनमा बन्दै गरेको प्रचण्ड मार्ग पनि निकै सुस्त छ।
ठेकेदारले निर्माण सामग्री अभावलगायतका कारण देखाउँदै काममा ढिलाइ गरेकाले निर्धारित समयमा नसकिएको महानगर कार्यालयको भनाइ छ।
सघन सहरी विकास तथा भवन निर्माण आयोजना चितवनका अनुसार रिङ रोड, लिंक रोड, प्रचण्डमार्ग लगायतका योजनाहरू निर्माणमा प्याकेज एक र प्याकेज दुई गरेर २०७५ असारमा ठेक्का लगाइएकोमा दुई पटक म्याद थप भइसकेको छ।थप म्यादमा पनि काम सकिने सम्भावना छैन। ठेक्का सम्झौता यही चैतको २५ गते सकिँदैछ तर निर्माणको प्रगति करिब ७० प्रतिशत मात्रै छ।
प्रचण्ड मार्गको २० किलोमिटर सडकको करिब ५ किलोमिटर कालोपत्रे गर्न बाँकी छ। सुरुको नीति तथा कार्यक्रममा समावेश भएको निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको काम भने सन्तोषजनक देखिएको छ।
नारायणीमा तीन वटा पक्की पुल र रेलमार्गको सपना
पाँच वर्षअघिको नगरसभामा नवलपुरको गैँडाकोट जोड्ने गरी नारायणी नदीमा कम्तीमा तीन वटा पक्की पुल बनाउन संघीय सरकारसँग पहल गर्ने भनिएको थियो। चितवन र नवलपुर जोड्न नारायणी नदीमा एउटा मात्रै पुल छ। यहाँ अत्याधुनिक सिग्नेचर ब्रीज बन्ने भनिए पनि प्रक्रिया सुरु भएको छैन।
चिनियाँ कम्पनीले नारायणी नदीमा सिग्नेचर ब्रीज बनाउने तय भए पनि कोरोना महामारीका कारण समयमै कम्पनी आउन नसक्दा काममा असर परेको मेयर दाहालको भनाइ छ।
भरतपुर र तनहुँको देवघाट जोड्न त्रिशूली नदीमा बनाइँदै गरेको पुल केही महिनाअघि भाँचिएको थियो।
केरुङ–ठोरी रेलमार्ग सञ्चालन गर्न पहल गर्ने तथा पूर्व–पश्चिम रेलमार्ग सञ्चालन गरेर महानगरलाई आर्थिक हब बनाउने भनिएको थियो। देवघाटबाट मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरी धार्मिक, सांस्कृतिक पर्यटन विकास गर्ने र देवघाटदेखि त्रिवेणीसम्म पर्यटकीय जलमार्ग सञ्चालन गर्ने भनिएको थियो।
नारायणी नदीको किनारमा अन्तर्राष्ट्रिय स्तरको पार्क तथा मनोरञ्जन स्थल निर्माण गर्ने र नारायणी नदीको टापुको रूपमा रहेको नगरवनलाई महानगरमातहत ल्याएर बहुआयामिक लाभ लिने भनिएको थियो।
पाँच वर्षमा नारायणी नदी किनार ‘सि बिच मोडल’ मा विकास गर्ने भनिए पनि केही मिटर पैदल मार्ग बनाउने र नदीमा मोटर बोट चलाउन अनुमति दिने बाहेक कुनै पनि काम भएको छैन।
देशकै नमूना सहर बनाउने कल्पना
मेयर दाहालले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भरतपुरलाई देशकै नमूना र आधुनिक सुविधासम्पन्न सहर बनाउने कुरा उल्लेख गरिएको थियो। यस अन्तर्गत आकासे पुल, अत्याधुनिक ट्राफिक लाइट, भरतपुर विमानस्थलको स्तरोन्नति, मेघौली विमानस्थल सञ्चालन र विद्युतीय शवदाह गृह निर्माण प्राथमिकतामा थिए।
सहरी विकास गुरुयोजनासँग आबद्ध हुने गरी नगर यातायात गुरुयोजना निर्माण र कार्यान्वयन, छरिएर रहेका साना तथा मझौला उद्योग व्यवस्थित गर्न साना तथा मझौला उद्योग ग्राम स्थापना, चिनियाँ विश्वविद्यलयसँगको सम्झौतामा जेहनदार विद्यार्थीलाई छात्रवृति पनि प्राथमिकतामा थिए।
सबै सडकको नाम राखेर वैज्ञानिक घर नम्बर वितरण, ढल प्रशोधन केन्द्रसहित ढल निर्माण, एक वडा एक खेल मैदान, एक वडा एक उत्पादनजस्ता योजना अघि सारिएका थिए। सुरक्षित आवास पाउने संवैधानिक अधिकार सुनिश्चित गर्न गुरुयोजना तयार गरी सुकुम्बासीविहीन महानगरपालिका बनाउने लक्ष्य राखिएको थियो।
कर्णप्रिय लाग्ने अधिकांश योजनाहरू कार्यान्वयन भएकै छैनन्, भएका पनि अधिकांश अधुरा छन्। ठूला काम गर्न खोज्दा केही साना काम छुटेको हुनसक्ने मेयर दाहालको भनाइ छ। करिब डेढ वर्ष कोरोना महामारीका कारण काममा असर परेको पनि उनले बताइन्।
पाँच वर्षपछि पनि उही योजना
कार्यकालको अन्तिम आर्थिक २०७८/७९ का लागि गत असार १० गते प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा पनि पहिलो वर्षमा झैँ विमानस्थल, ल्यान्डफिल साइट, औद्योगिक ग्राम, मेट्रो प्लाजा, विद्युतीय शवदाह गृह, सिटीहल,, रिङरोड, लिंक रोड, क्रिकेट रंगशाला, वैज्ञानिक घर नम्बर लगायतका योजना समावेश छन्।
पहिलो नगरसभामा भनिएको ‘महानगरको एकीकृत सहरी विकास योजना’ तयार गर्ने कुरा अन्तिम नगरसभामा पनि समावेश छ।
यस वर्षको नीति तथा कार्यक्रममा धेरै चहलपहल हुने मालपोत चोकमा ओभर हेड ब्रीज बनाउने, स्मार्ट सडक बत्ती र स्मार्ट पार्किङको व्यवस्था गर्ने, स्वास्थ्य संस्थाबाट निस्कने फोहोरको व्यवस्थापन गर्न समन्वय गर्ने र फोहोर निर्मलीकरणका लागि आवश्यक उपकरणको व्यवस्था मिलाउने उल्लेख गरिएको छ। हालसम्म यीमध्ये कुनै पनि काम सुरु भएको छैन।
मेयर दाहालका अनुसार सडकहरूमा स्मार्ट लाइट जडान गर्ने काम सुरु भएको छ। किसानलाई दूध उत्पादनको अनुपातमा प्रतिलिटर तीन रुपैयाँ अनुदान, अति गरिब तथा विपन्न र एचआइभी संक्रमितको गुणस्तरीय उपचारका लागि स्वास्थ्य बीमामा अनुदान तथा भरतपुर अस्पतालमा सुविधासम्पन्न कुरुवा घर महानगरका उपलव्धि हुन्।
यसै गरी आपतकालीन कार्य सञ्चालन केन्द्र, वडा कार्यालयका भवन निर्माण, सरकारी विद्यालयमा भर्ना संख्या वृद्धि, युवा स्वयंसेवक शिक्षक परिचालन र भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान गठनजस्ता उपलव्धिमूलक काम भएको उनको भनाइ छ।
मेयर दाहालले महानगरमा सय शय्याको आयुर्वेद अस्पताल र तीन सय शय्याको शिक्षक अस्पताल स्थापना गर्न जग्गाको व्यवस्थापन भएको बताइन्। महानगरपालिकामा हालसम्म ४० वटा भन्दा बढी स्वास्थ्य संस्था स्थापना गरी सेवा प्रवाह गरिएको उनको भनाइ छ।
त्यस्तै करिब एक अर्ब रुपैयाँ लागतमा महानगरको प्रशासनिक भवन निर्माणको योजना अघि बढाएको उनले बताइन्। केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उक्त भवन शिलान्यास गरे।
यही चैत १६ गते अध्यक्ष प्रचण्डले करिब चार अर्ब रुपैयाँ खर्च हुने भनिएको नारायणी तटबन्ध योजना पनि शिलान्यास गरे। महानगरको पहिलो नीति तथा कार्यक्रममै यो योजना परेको थियो।
पाँच वर्षमा भरतपुर महानगरपालिकाले २३ वटा ऐन, ५ वटा नियमावली, १० वटा निर्देशिका, ६२ वटा कार्यविधि र १० वटा मापदण्ड तयार गरेर कार्यान्वयन गरेको छ। यो अवधिमा महानगरको न्यायिक शाखामा १५० भन्दा बढी मुद्दा दर्ता भएकोमा ५६ वटा फछ्र्योट भएका छन्।
भरतपुरको विकास अन्य महानगरपालिका दु्रतगतिमा अघि बढेको मेयर दाहालले दाबी छ। आफूले गरेको कामका कारण देशभर भरतपुरको चर्चा रहेको पनि उनको भनाइ छ।