नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव गंगालाल तुलाधरले गठबन्धन नभए पनि आफ्नै तागतमा पार्टीले चुनाव लड्ने दाबी गरेका छन्।
सेतोपाटीसँग भिडिओ कुरा गर्दै उपमहासचिव तुलाधरले आफूहरू २-४ वर्षमा एमालेभन्दा ठूलो पार्टी हुने दाबी गरे।
‘अहिले केपी ओलीले हामी केही पनि होइन, चोइटिएर गएका हुन् भनेर भन्ने गरेको छन्। हाम्रै गठबन्धनका कतिपय साथीले हियाउने र खेद्ने काम भइरहेको छ। त्यसले केही भएको छैन,’ उनले भने, ‘हाम्रो कार्यकर्तामा झन इख पलाएको छ। हाम्रो सक्रियता बढाएको छ। हामी ठूलो हुनुपर्छ भन्ने बनाएको छ। हेरिराख्नु होला, २-४ वर्षमा एमालेभन्दा हामी ठूलो पार्टी बन्छौ बन्छौ। गठबन्धन नभए पनि हामी आफ्नो तागतमा चुनाव लड्छौ।’
आफूहरूमा कुनै हिनताबोध नरहेको बरू सानदार विजयउत्सव मनाउने तयारीमा रहेको बताए।
गठबन्धन कायम हुन्छ कि, भनेर एमाले अध्यक्ष केपी शर्मा ओली डराएको तुलाधरको जिकिर छ।
‘गठबन्धन कायम भएन भने के चुनावै नगर्ने त? गठबन्धन बनाएर जाँदा प्रतिगमनलाई पत्तासाफ गर्न सकिन्छ। यो कुराको सुनिश्चतताको लागि हामी अग्रगमनकी एक ठाउँमा हुनपर्यो भनेको हो,’ उनले भने, ‘हाम्रो उद्धेश्य एमालेलाई पत्तासाथ पार्नेनै हो। तर अहिले गठबन्धनको कुरा धेरै नगरौं कि जस्तो लाग्छ। किनकि, गठबन्धन हाम्रो कारणले मात्र बन्ने होइन र?'
गठबन्धनको कुरा गर्दा डराएजस्तो भएको भन्दै उनले गठबन्धन नगर्दा आकासै खस्छ भन्ने नसोचेको समेत उनले बताए।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीको तयारी, यसले उठाएको एजेण्डाबारे हामीले सो पार्टीका उपमहासचिव गंगालाल तुलाधरसँग भिडिओ कुराकानी गरेका छौं। यस कुराकानीका मुख्य अंशहरु यसप्रकार छन्।
- नेकपा एकीकृत समाजवादीको निर्वाचन तयारीको सम्बन्धमा भर्खरै हामीले पार्टीको केन्द्रीय कमिटीको बैठक सकेका छौ। केन्द्रीय कमिटीको तेस्रो बैठकले वैशाखमा हुने स्थानीय तहको निर्वाचन र त्यसपछि हुने निर्वाचनको बारेमा समेत छलफल गरेको छ। अब हामी स्थानीय तहको निर्वाचनमा केन्द्रीत भएर लाग्छौं।
- वैशाख ३० मा हुने निर्वाचनमा केन्द्रीत भएर छलफल गर्दा ७ सय ५३ स्थानीय तह र ६ हजार ७ सय ४३ वडामा कसरी हामी एक्लै जित्न सकिन्छ भनेर हामीले विभिन्न कोणबाट छलफल गर्यौं। त्यसको निम्ति मत माग्न जनताको घर घरमा पुग्ने र जनताको मन जितेर पार्टीको पक्षमा व्यापक मतदातालाई आकर्षित गर्नेनै अहिलेको हाम्रो रणनीति हुनेछ।
- हाम्रो पार्टी समाजवादी लक्ष्य लिएर अगाडि बढेको छ। समृद्ध नेपाल सुखी नेपालको अवधारणा लिएका छौ। एमालेका अध्यक्ष केपी ओलीजीको दम्भ, घमण्ड, दक्षिणपन्थी, अवसरवादी, विसर्जनवादी सोच र मैँ हुँ भन्ने प्रवृत्तिले हामी त्यो पार्टीमा बस्न नसकेको कुरा मुल रुपमा जनतालाई बताउनुपर्छ। होइन भने त्यो पार्टी र हाम्रो फरक जनताले देख्दैनन्।
- नेकपा एमाले र सूर्यमा भोट हालिरहेका ठूलो मतदाताको संख्या छ। अघिल्लो निर्वाचनमा धेरै ठाउँमा एमालेले विजय प्राप्त गर्यो। अब अहिले आएर तिनै मतदाता विभाजित हुन परेको छ। विभाजित मतदाताको मनोविज्ञान बुझेर हामीले हाम्रो पक्षमा ल्याउन धेरै कोशिस गर्नुपर्छ।
- केपी ओली प्रतिगमनकारी हुँदै गए। केपी ओली दक्षीणपन्थी हुँदै गए। केपी ओली अवसरवादी हुँदै गए। केपी ओलीले समाजवादको दिशामा एक इन्च पनि काम गर्न सकेनन् भनेर हामी जनतालाई भन्छौं। अहिले सम्पूर्ण रूपमा केपी ओलीको गुटलाई परास्त गरेर हामीले जित्न आवश्यक छ भन्ने खालको सन्देश लिएर जान्छौं।
- केपी ओली गलत भएको कारणले उनी तलका मान्छेहरु सही हुन जरूरी भएन। ठूलो संख्यामा एमालेले पालिकास्तरमा वर्चश्व हुनेगरी जितेको थियो। त्यसैले ‘आइ लभ यु केपी बा’ भन्नेहरू जति मासुभातमा संलग्न भएर गए। त्यसको निम्ति धेरै भ्रष्टचार गर्नुपर्ने खालको स्थिति बन्यो।
धेरै पैसा कमाउन पर्ने खालको स्थिति बन्यो। हिजो पनि केपी ओलीले हामीलाई धुलिसात गरेकै थिए। टिकट बाढ्दा पनि माधव नेपाल, झलनाथ खनाल पक्षका मान्छेलाई ढिम्किन समेत दिएका थिएनन्।
ठूलो संख्यामा केपी ओलीले आफ्ना मान्छेलाई टिकट दिएका थिए। ती मध्ये एक हातले राम्रो पनि गरेका होलान्। तर अधिकांश असाध्यै भ्रष्ट सावित भएका छन्। जनताको बिचमा अलोकप्रिय सावित भएका छन्। जनता भनेका जिवित भगवान हुन्। उनीहरूले दुधको दुध पानीको पानी छुट्ट्याउन सक्छन्। माउ नै भ्रष्ट भएपछि बच्चाहरु भ्रष्टचारी नहुने कुरै भएन।
- हाम्रो मूल मुद्दा भनेको ५ वर्षसम्म एमालेले नेतृत्व गर्दा बर्बाद गर्यो त्यसलाई परास्त गर्नुपर्छ भन्नेनै हो। ठूलो पार्टीमा विद्रोह गरेर आउँदा विद्रोह गरेर आउने कम हुन्छन्। तर पनि १५ सय १ जना प्रतिनिधिले ठूलो चुनौती मोलेर आउनुभएको हो। नआउनेले हामी पार्टीमा आएनौं तर चुनावको बेलामा मुख खोल्छौं भनेका छन्। यो ठूलो पङ्ती छ।
- भदौ ९ गते निर्वाचन आयोगमा पार्टी दर्ता गरेर पाएको उत्साह झन बढेको छ। ५ सय पालिकामा कमिटी बनिसककेका छन्। दैनिक यो संख्या बढेको छ। ७६ जिल्लामा हाम्रा कमिटी बनिरहेका छन्। ६ हजार ७ सय ४३ वडामा हामी पुग्ने हो। त्योमध्ये ५ हजार वडामा पुगिसकेका छौं।
- लोकतान्त्रिक पार्टी हुनुको नाताले निर्वाचन महाउत्सव हो। पार्टी सानो हुनु चुनौती होला तर एमाले गुटभन्दा ठूलो पार्टी बनाउने अभियान सुरू भएको छ। एमालेमा पहिरो गएको गयै छ। पार्टी छोडेर दैनिक जसो आइरहेका छन्। ६ महिनाको बिचमा यतिको भएका छौं। यो पार्टी कत्रो भन्ने त चुनावमा जनताले अनुमोदन गरेपछि देखिहाल्छन्।
- गठबन्धन बनाउने प्रयास हुनै छैन। कांग्रेसका केही उत्ताउला साथीले भनेर गठबन्धन नहुने भन्ने हुँदैन। कांग्रेस सहभागि भएन भने पनि वाम लोकतान्त्रिक गठबन्धन हुन्छ। त्यस्तो नभएमा वाम गठबन्धन हुन्छ।