नेकपा (माओवादी केन्द्र) का नेता शक्तिबहादुर बस्नेतले माओवादी पार्टी आफ्नै तागतमा निर्वाचनमा जाने बताएका छन्।
सेतोपाटीसँग कुराकानी गर्दै माओवादी केन्द्रका नेता बस्नेतले माओवादीलाई चुनावसँग डराएको भनेर गलत आरोप लगाइएको बताए।
आवश्यकताका आधारमा कतिपय ठाउँमा तालमेल हुनसक्ने भए पनि यस्तो नभई निर्वाचनमै नजाने भनेर आफूहरूले नभनेको उनको भनाइ छ।
‘तालमेलको विषयमा केन्द्रबाट बोलिराख्नै पर्दैन। कतिपय ठाउँमा त वडा कमिटीले आफैं तालेमल गरिरहेका हुन्छन्, पालिकाले समेत भन्न पर्दैन। हामीले गठबन्धनबिना चुनावै हुँदैन भनेका छैनौं,’ उनले भने,‘हामी मूलत: आफ्नै तागतमा भर परेर चुनावमा जान्छौं। बाँकी कुरा त कहीँकतै तालमेल हुन्छ होला, दलहरूको बीचमा। यो कुरा त्यहाँको स्थानीय विशेषता र आवश्यकताले निर्धाण गर्ने हो।’
स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तयारी उसले उठाउने एजेन्डाको विषयमा केन्द्रीत रहेर हामीले माओवादी केन्द्रका नेता बस्नेतसँग कुराकानी गरेका छौं।
स्थानीय तहको निर्वाचन नजिकिँदैछ, त्यसका लागि माओवादी केन्द्रले कस्तो तयारी गर्दैछ?
स्थानीय तहको निर्वाचनको तयारी नै अहिलेको पार्टी कामको विषय बनिरहेको छ। राष्ट्रिय राजनीतिको केन्द्रीय मुद्दा पनि स्थानीय तहको निर्वाचन बनिसक्यो। त्यसैले सबै पार्टीहरूको केन्द्रीय काम निर्वाचन बन्न पुगेको छ। स्वभावैले माओवादी पार्टीले पनि सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रीत गरिरहेको छ। त्यसअनुसार अहिले हामीले संगठनलाई व्यवस्थित गर्ने काम र निर्वाचनसँग सम्बन्धित तयारीका कामहरूलाई नै प्राथमिकतामा राखिरहेका छौं।
यो निर्वाचनमा माओवादी केन्द्रको एजेन्डा के हुन्छ?
संघीयता, समावेशीकरण, गणतन्त्र र आर्थिक सामाजिक रूपान्तरण माओवादीकै एजेन्डा हुन्। यो सबैलाई जानकारी छ। यो एजेन्डाको प्रभावकारी कार्यान्वयन हुन नसक्नुका पछाडि माओवादीको निर्णायक र नेतृत्वदायी भूमिका नहुनु हो भन्ने आज स्थापित भइसकेको छ। अझ यसो भनौं, संघीय प्रणाली माथि नै प्रश्न उठेको छ।
संघीय व्यवस्थाको उपज हो, स्थानीय तह। संघीय प्रणालीलाई थप सुदृढ गर्न स्थानीय सरकारको प्रभावकारिता बढाउन माओवादीको नेतृत्व आवश्यक मात्र होइन कि अनिवार्य छ भन्ने हाम्रो बुझाइ छ। संघीय प्रणालीको थप प्रभावकारिताको निम्ति अनि आर्थिक, सामाजिक रूपान्तरणका योजनाको कार्यान्वयनका लागि माओवादीको नेतृत्व चाहिएको छ। हामी यही बुझाइलाई जनताको बीचमा लिएर जान्छौं।
माओवादी पार्टी अनिर्णयको बन्दीजस्तो देखिएको छ। पार्टीको महाधिवेशन सकिएको तीन महिना बढी भइसक्यो। पदाधिकारी चयन हुन सकेको छैन। एमसिसीबारे आधिकारिक धारणा बनाउन सकेको छैन। यस्तो अवस्थामा कसरी आफ्ना कार्यकर्तालाई परिचालन गर्न सक्नुहुन्छ?
दलीय व्यवस्था भन्नासाथ दलहरूका बीचमा मतान्तर रहन्छन्। हरेक दलभित्र पनि बुझाइका विविधता रहन्छन्। तर बुझाइका विविधताको बीचमा पनि कामकारबाहीमा एकरूपता पार्टी निर्मणको सर्त हो। अहिले हामीकहाँ कम्तीमा पनि बुझाइमा यो वा त्यो रूपमा फरकपन देखिए पनि कामकारबाहीमा एकरूपताको संकल्प पार्टीले लिएको छ। हामीले कामकारबाहीमा एकरूप भएर जाने संकल्प गरेका छौं। यसले हाम्रो कामकारबाहीमा कुनै असर पार्दैन भन्ने हाम्रो विश्वास हो।
दोस्रो कुरा, पदाधिकारी नबनेपछि पार्टी बन्दैन भन्ने होइन। २०६४ मा माओवादी सबैभन्दा ठूलो भयो त्यो बेला पदाधिकारी प्रणाली थिएन। अध्यक्ष र केन्द्रीय समिति मात्रै थियो। त्यसकारण अहिले पदाधिकारी चाहिने हामी केही आकांक्षीलाई अलि बढी हो। सम्पूर्ण पार्टीलाई पदाधिकारी अनिवार्य सर्त होइन।
यसको प्रभाव त तलैसम्म पर्छ होला नि?
अहिले हामीले पार्टीमा पदाधिकारी बनाउनेभन्दा पनि निर्वाचनलाई प्राथमिकतामा राखेको हो। त्यसकारणले अहिले हामीले पदाधिकारीको चयनलाई स्थगित गरेका छौं। निर्वाचनपछि मात्र हामी यो एजेन्डामा प्रवेश गर्नेछौं। केन्द्रीय कमिटी बैठकमा हाम्रो एजेन्डा त थियो तर छलफलमा जानुभन्दा हामी पहिला के निष्कर्षमा पुग्यौं भने अहिले निर्वाचन हाम्रो प्राथमिकता हो। अहिले पदाधिकारी को हुने भन्ने छलफल गर्नु त्यति राम्रो हुँदैन भन्ने निष्कर्षमा पुग्यौं।
माओवादी पार्टी आफैं निर्वाचनमा जान डराएजस्तो छ। तालमेल र गठबन्धन मात्रै भन्छ। गठबन्धनको मात्रै साहरा लिन खोजेजस्तो देखिन्छ नि?
यो बुझाइ अलिकति फरक पर्यो। विशेष परिस्थितिले संघ र प्रदेशमा एउटा गठबन्धन जन्मिएको छ। यो गठबन्धन अझै केही समय जानुपर्नेछ। तर केन्द्र र प्रदेशमा एउटा प्रकारको गठबन्धन स्थानीय तहमा हुने प्रतिस्पर्धा हुँदा त्यसले केन्द्र र प्रदेशमा नकारात्मक असर नपारोस् भन्ने हो। त्यसैले सत्तारूढ दलबीच नै गठबन्धन बनाएर जाँदा राम्रो होला भनेर भएको हो। यसको मतलब गठबन्धनबिना माओवादी चुनावमा जाँदैन भनेर कसैले भन्छ भने त्यो गलत बुझाइ हो। माओवादी एक्लै निर्वाचनमा जान्छ, जाँदै आएको छ। अहिलेसम्म गर्दै आएको पनि छ। र माओवादीले आफ्नो कुरा दृढतापूर्वक लिन्छ। यो मुलुकको आर्थिक, सामाजिक परिवर्तनमा कहाँ समस्या परिरहेको छ? मुलुकमा आज जे-जस्ता अप्ठेरा छन् तिनको कारण के हो? भनेर भन्दा हामीले आफ्नो पनि समीक्षा गरेका छौं। हाम्रा कमजोरी कहाँ रहे, हामी त्यसको पनि समीक्षासहित जनतामा जान्छौं। मुलुकले बेहोरेका आजका अप्ठेराहरू कहाँ हुन भन्ने पहिचान पनि हामीले राम्रोसँग गरेका छौं। नीति र नेतृत्वको बीचमा अन्तरविरोध भइरहेको छ। संघीय व्यवस्थानै धरापमा पर्ने कुरा हामीले गरिराखेका छौं। त्यो संघीय व्यवस्थालाई जोगाउनको लागि, संघीय व्यवस्था प्राप्तिका लागि आन्दोलनको अगुवाइ गरिरहेका पार्टीले निर्वाचनमा विजय हासिल नगरे यी अप्ठ्याराहरू अझै थपिँदै जाने स्थिति छ। देशले यो कुरा बुझ्दै गएको छ।
दोस्रो कुरा, पहिलो दोस्रो पार्टीहरूले देश चलाउने जिम्मेवारी त पछिल्लो समयमा पाए। माओवादीले पनि कुनै बेला पायो। हरेक निर्वाचनमा नयाँ मतदाता थपिन्छन्। उनीहरूले कांग्रेस एमालेलाई परीक्षण गरिसकेका छन्। सायद उनीहरूले अब माओवादी परीक्षण गर्न बाँकी छ।
एमालेले सबै दल गठबन्धन बनाएर आउनु भनिरहेको छ। कांग्रेसका केही नेताहरूले माओवादीले हाम्रो मुख ताकिरहेका छन् भनेर भनिरहेको छ। तर तपाईंहरू गठबन्धन मात्रै भनिरहनुभएको छ। तपाईंहरू एक्लै हिँड्न डराइरहनुभएको छ नि?
तपाईं स्थानीय तहमा जानुभयो भने कसैले केही भन्नै पर्दैन। २०७४ को स्थानीय तहमा कतिपय ठाउँमा कांग्रेस र एमालेबीच कार्यगत एकता भयो। कतिपय ठाउँमा एमाले र माओवादीबीच तालमेल भयो होला कतिपय ठाउँमा माओवादी र कांग्रेसबीच तालमेल भए होलान्। त्यो विषयमा केन्द्रले बोलीराख्नै पर्दैन। कतिपय ठाउँमा त वडा कमिटीले आफैं तालेमल गरिरहेका हुन्छन्, पालिकाले समेत भन्न पर्दैन। हामीले गठबन्धनबिना चुनावै हुँदैन भनेर भनेका छैनौं। हामी मूलत: आफ्नै तागतमा भर परेर चुनावमा जान्छौं। बाँकी कुरा त कहीँ कतै तालमेल हुन्छ होला, दलहरूको बीचमा। यो कुरा त्यहाँको स्थानीय विशेषता र आवश्यकताले निर्धारण गर्ने हो।
गठबन्धन र तालमेलभन्दा पनि हामी एक्लै लड्नुपर्छ भनेर पनि तयारी गरिरहनुभएको छ?
माओवादीले यत्रो राज्यविरूद्ध लड्ने हिम्मत गर्यो। एउटा चुनावको सामना गर्न पनि डराउँछ होला र! माओवादी एक्लै चुनावमा लड्न जाने होइन कि नीति र नेतृत्वको अन्तरविरोधको हल गर्ने एजेन्डा लिएर समेत जान्छ। कसैले माने पनि नमाने पनि देश आज माओवादीले ‘इन्जिनियरिङ’ गरेको कोर्समा अगाडि बढिरहेको छ। संविधान सभा, लोकतान्त्रिक गणतन्त्र माओवादीको इन्जिनियरिङ हो। यो कसैलाई राम्रो लाग्ला/नलाग्ला तर माओवादीले इन्जिनियरिङ गरेको कोर्समा देश अघि बढेको छ तर नेतृत्व भने अर्कैको छ। आज सायद मुलुकमा राम्ररी विकास नहुनुको कारण पनि यही हो। संघीय लोकतान्त्रिक गणतन्त्रको महत्व माओवादीलाई राम्रोसँग थाहा छ। राज्य पुनर्संरचनाको अर्थ र महत्व के हो, यसको स्पिरिट के हो माओवादीले राम्रोसँग बुझेको छ।
जुन पार्टीले राज्य पुनर्संरचनाकै विरोध गरेका थिए। जुन पार्टीले यो संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशीकरणलाई सकारात्मक दृष्टिकोण राख्दैनन् भने संघीय लोकतान्त्रिक गणतन्त्रको स्पिरिटलाई सही ढंगले कार्यान्वयनको अपेक्षा कसरी गर्न सक्छौं।
त्यसैले आज देशले व्यहोरिराखेको यो अन्तरविरोधबारे हामी जनतालाई बुझाउँछौं। यो अन्तरविरोधको हल नगरिकन मुलुकले निकास पाउँदैन भन्ने तथ्यलाई लिएर हामी घर-घरमा जान्छौं। माओवादीको विजयको आधार यही हुन्छ। माओवादीले इमान्दारीपूर्वक भन्छ, हामीले कहाँ गल्ती गर्यौं र कसरी अघि बढ्न खोजेका छौं भनेर। आजका अप्ठेरा के हुन्, हामी यो कुरा जनताप्रति जवाफदेही पार्टी हुनुको नाताले इमान्दारीपूर्वक जनताको बीचमा राख्छौं। हामी कसरी अघि बढ्न खोजिरहेका छौं भन्ने कुरा पनि राख्छौं। देशले व्यहोर्न खोजेको अप्ठेरो कहाँ छ भनेर पनि राख्छौं। र फेरि एक पटक माओवादी नेतृत्व जरूरी छ। यही एजेन्डा लिएर हामी निर्वाचनमा जान्छौं। गठबन्धन सेकेन्डरी कुरा हो। स्थानीय तहमा दलहरूले आवश्यकताको आधारमा तालेमल गर्छन्। सकेसम्म संघ र प्रदेशको सरकार सञ्चालनमा असर नपरोस् भनेर हामीले गठबन्धनको कुरा गरेको हो। यसको मतलब कांग्रेस र माओवादीबीच प्रतिस्पर्धा नै हुँदैन भन्ने होइन। प्रतिस्पर्धामा हामी हाम्रो श्रेष्ठता सावित गर्छौं।
निर्वाचनमा कस्ता व्यक्तिलाई उमेदवार बनाउनुहुन्छ ?
स्थानीय तह भनेको स्थानीय सरकार हो भन्ने जिम्मेवारीवोध गरून् र ती उम्मेदवार जनताप्रति समर्पित होऊन् भन्ने हो। उनीहरूको योग्यता इमान्दारिता जवाफदेहीता र अनुभवबाट सावित गरेका व्यक्ति उम्मेदवार बनाउने योजना छ। कम्तीमा सुशासन, आर्थिक विकास, सामाजिक रूपान्तरण सामाजिक न्यायलाई स्थानीय सरकारले कार्यान्वयन गर्नुपर्छ। यो एजेन्डा कार्यान्वयन गर्न सक्ने उम्मेदवार नै हामी छनौट गर्छौं।
निर्वाचनको परिणाम कस्तो आउँछ भन्ने अनुमान गर्नुभएको छ?
अघिल्लो स्थानीय तहको निर्वाचनमा एमाले पहिलो पार्टी बन्यो। स्थानीय तहमा मात्रै होइन संघ र धेरै प्रदेशमा लामो समय एमाले नेतृत्वमा सरकार रह्यो। संघ, प्रदेश र स्थानीय तहमा एमालेको नेतृत्वमा मान्छेले जे-जस्ता अपेक्षा गरेका थिए, ती पूरा भएनन्। राजनीतिको च्याम्पियन माओवादी थियो। तर आर्थिक, सामाजिक रूपान्तरणको च्याम्पियन एमाले पो हो की भन्ने भ्रम मान्छेमा थियो। त्यो निवारण भएको छ। यो भ्रमको धेरै हदसम्म मान्छे मुक्त भएको छ।
आर्थिक, सामाजिक रूपान्तरणको क्षेत्रमा समस्या कहाँ पर्यो भने एजेन्डा एउटा पार्टीको भयो कार्यान्वयन अर्कोको भयो। यो नीति र नेतृत्वबीचको अन्तरविरोधको कारण मुलुक राम्ररी अगाडि बढ्न पाइरहेको छैन। आर्थिक, सामाजिक रूपान्तरणका योजना सही ढंगले कार्यान्वयन हुन पाइरहेका छैनन्। यो अन्तरविरोधको कुरा लिएर हामी जनतामा जान्छौं। जनसमुदायको ठूलो हिस्साले यसलाई महशुस गरिरहेको छ। यसकारण अबको निर्वाचनको परिणामलाई यसले विशेष अर्थ राख्छ भन्ने लाग्छ।