सरकारले संसदमा प्रस्तुत गरेको एमसीसी सम्झौता अनुमोदन भएको छ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधिसभाको आईतबार बसेको दोस्रो बैठकले व्याख्यात्मक घोषणासहित सो प्रस्ताव अनुमोदन गरेको हो।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सो प्रस्ताव पारित गरियोस् भनि प्रस्ताव गरेका थिए। त्यसलाई निर्णयार्थ सभामुख अग्नीप्रसाद सापकोटाले प्रस्तुत गरे भने सांसदहरुको बहुमतले सो प्रस्तावलाई संसदबाट अनुमोदन गरिएको हो।
यसअघि सो प्रस्तावसम्बन्धि व्याख्यात्मक घोषणा प्रस्तावमाथिको छलफलमा भाग लिँदै सत्तारुढ दलका सांसदहरुले सो सम्झौतामाथिको आशंका व्याख्यात्मक घोषणामा समेटिएको उल्लेख गर्दै अव ढुक्कसँग पास गर्न उपयुक्त हुने धारणा राखेका थिए।
यसको विरोध गर्ने सांसदले सो व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गर्ने प्रावधान नभएको भन्दै आपत्ति जनाएका थिए।
नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवालले सो प्रस्ताव पारित गर्नेहरुलाई देशद्रोही भएको आरोप लगाए। कांग्रेस सांसद गगनकुमार थापाले सो सम्झौतामा एउटा पनि राष्ट्रघात भए आफू मर्न तयार हुने चेतावनी दिए।
एमालेका सांसद भीम रावलले सो सम्झौता राष्ट्रघाती भएको भन्दै पारित गर्न नहुने अडान दोहोर्याए। कांग्रेस सचेतक पुष्पा भुसालले व्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गर्ने प्रस्ताव ल्याएको भन्दै सरकारलाई र सत्तारुढ दलका नेताहरुलाई धन्यवाद दिइन्।
प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १८ गते अपरान्ह २ बजेका लागि बोलाइएको छ ।
हेर्नुहोस् तस्बिरहरू














