सत्तारूढ नेकपा (माओवादी केन्द्र)ले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गर्ने निर्णय गरेको छ।
आइतबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यको बैठकले एमसिसी पास गर्न निर्णय गरेको नेता शक्तिबहादुर बस्नेतले जानकारी दिए।
माओवादी केन्द्रले यो निर्णयसँगै संसदमा टेबल भएको एमसिसी पारित हुने दिशामा गएको छ।
एमसिसीका कारण सत्तारूढ गठबन्धन नै भत्किने अवस्था बनेपछि दलहरूले अन्तर्राष्ट्रिय प्रचलनमा रहेको 'इन्टरप्रेटिभ डिक्लेरेसन' (व्याख्यात्मक घोषणा) मार्फत् एमसिसीमा उठेका चासो सम्बोधन गर्ने बाटो खोजेका हुन्।
माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरूबीच शनिबार पनि एमसिसीबारे छलफल भएको थियो। यी दुई पार्टीका दोस्रो तहका नेताहरूले नै व्याख्यात्मक टिप्पणीसहितको प्रस्ताव पारित गर्न पार्टी नेतृत्वलाई सकारात्मक बनाएका हुन्।
व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने प्रस्ताव केही समयअघि कांग्रेस महामन्त्री गगन थापाले शीर्ष नेताहरूको बैठकमा राखेका थिए।
एमसिसी पारित गर्दा यसअघि अर्थ मन्त्रालयले एमसिसीलाई सोधेका प्रश्न र उसले दिएका उत्तर पनि सँगै राख्ने र यसले अहिले उठेका आशंकाहरूको निरूपण हुने थापाको भनाइ थियो।
गत भदौमा सरकारलाई पठाएको जवाफमा एमसिसीले नेपाललाई गर्न लागेको सहयोग सैन्य क्षेत्रसँग सम्बन्धित नभएको, बिनाअवरोध निर्धारित समयमा कार्यान्वयन होस् भनेर संसदबाट पारित गर्ने व्यवस्था राखिएको, एमसिसी सम्झौताभन्दा नेपालको संविधान माथि रहेको र परियोजनाका लागि प्रयोग हुने जग्गामा नेपाल सरकारको स्वामित्व कायम हुने बताएको थियो।