सत्तारूढ नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीमा व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना एमसिसी पारित गर्नुपर्ने दबाब बढेको छ।
एमसिसी संसदबाट पारित गर्न सत्तारूढ दलले सहयोग नगर्ने भएपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सँग सहकार्य गर्न नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा तयार भएपछि गठबन्धन जोगाउन माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गर्नुपर्ने दबाब बढाएका हुन्।
त्यसका लागि अहिले छलफलहरू भइरहेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए। व्याख्यात्मक टिप्पणीसहित एमसिसी कसरी पारित गर्न सकिन्छ भन्नेबारेमा शनिबार केही कानुन व्यवसायीले काम गरिरहेको स्रोतको दाबी छ।
'व्याख्यात्मक टिप्पणी गरेर संसदबाट पारित गरेपछि धेरै आशंका मेटिन्छन्। त्यसमा उठेका प्रश्नलाई सम्बोधन हुने गरी अंग्रेजी र नेपाली दुबै भाषामा दस्तावेज बनाइन्छ,' स्रोतले भन्यो,'यसलाई पूरक सन्धीको रूपमा लिइँदो रहेछ। भियना सन्धीले समेत पूरक सन्धीको परिकल्पना गरेको छ। यसको पक्ष राष्ट्र अमेरिका पनि छ।'
व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने प्रस्ताव केही समयअघि कांग्रेस महामन्त्री गगन थापाले शीर्ष नेताहरूको बैठकमा राखेका थिए।
एमसिसी पारित गर्दा यसअघि अर्थ मन्त्रालयले एमसिसीलाई सोधेका प्रश्न र उसले दिएका उत्तर पनि सँगै राख्ने र यसले अहिले उठेका आशंकाहरूको निरूपण हुने थापाको भनाइ थियो।
गत भदौमा सरकारलाई पठाएको जवाफमा एमसिसीले नेपाललाई गर्न लागेको सहयोग सैन्य क्षेत्रसँग सम्बन्धित नभएको, बिनाअवरोध निर्धारित समयमा कार्यान्वयन होस् भनेर संसदबाट पारित गर्ने व्यवस्था राखिएको, एमसिसी सम्झौताभन्दा नेपालको संविधान माथि रहेको र परियोजनाका लागि प्रयोग हुने जग्गामा नेपाल सरकारको स्वामित्व कायम हुने बताएको थियो।
एमसिसीले पठाएको यो जवाफ सम्झौतामा राखेर पारित गर्ने र दायाँबायाँ भए नेपालले सम्झौता खारेज गर्ने सक्ने महामन्त्री थापाको प्रस्ताव थियो।
त्यतिबेला माओवादी नेतृत्व परिस्थिति फेरिइसकेको भन्दै थापाको उक्त प्रस्तावमा सहमत भएको थिएन।
अहिले गठबन्धन भत्किएर राजनीतिक कोर्स नै परिवर्तन हुन लागेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि उक्त प्रस्तावमा अघि बढ्न तयार भएका छन्।
व्याख्यात्मक टिप्पणी सहितको प्रस्ताव शनिबार ३ बजेभन्दा पहिला नै तयार पारेर सहमति गर्न प्रयास भइरहेको गठबन्धन दलका एक नेताले बताए।
तीन बजे प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरूसँग छलफल गर्दैछन्। त्यतिबेलासम्म गठबन्धनमा रहेका दलहरू एमसिसीको लागि तयार नभए एमालेसँग निर्णायक वार्ता गर्न देउवाको तयारी छ।
'प्रचण्ड स्वयं यसका लागि त तयार हुनुभएको छ। उहाँ छिनछिनमै बदलिनुहुन्छ। पार्टीमा कसरी मनाउनुहुन्छ भन्ने हो,' ती नेताले भने,'माओवादीका प्रभावशाली नेताहरू वर्षमान पुन र अर्थमन्त्री समेत रहेका जनार्दन शर्मा समेत एमसिसी पारित गर्ने पक्षमा छन्। तर कार्यकर्तालाई सडकमा उतारेका कारण उहाँहरू बोल्न सक्नुभएको छैन।'
ती नेताको दाबी अनुसार आजै एमसिसी सम्झौताको व्याख्यात्मक टिप्पणीको प्रस्ताव तयार हुनेछ। उक्त प्रस्ताव आइतबारको प्रतिनिधि सभा बैठकमा पेस हुन्छ। त्यसपछि एमसिसी पारितको दिशामा जानेछ।