एक वर्षभन्दा बढी समयपछि बिहीबार संसद भवनमा भएको नेकपा एमाले र माओवादी केन्द्रबीचको पहिलो बैठक सुखद हुन सकेन।
यो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जोडका साथ उठाएका विषयले माओवादी केन्द्र सुरूमै झस्कियो।
ओलीले माओवादीसँग तीनवटा कुरा राखेका थिए।
एमाले उपाध्यक्ष विष्णु पौडेलका अनुसार नेकपा कायमै रहेका बेला पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफूमाथि लगाएको १९ पेजको आरोपपत्र फिर्ता लिनुपर्ने, सभामुख अग्नि सापकोटाले राजीनामा दिनुपर्ने र एमाले फुटाएर एकीकृत समाजवादीमा गएका १४ जनालाई हटाएको सूचना टाँस्नुपर्ने विषय अध्यक्ष ओलीले राखेका थिए।
‘हामीले आज माओवादीसँग राखेका यिनै तीनवटा कुरा हुन्,’ पौडेलेले सेतोापटीसँग भने।
नेकपाकालीन अवस्थामा २०७७ कात्तिकमा प्रचण्डले १९ पेजको प्रतिवेदन पेस गरेका थिए जसमा ओलीको चर्को आलोचना गरिएको थियो। ओली पक्षले त्यसलाई आरोपपत्र भनेको थियो। उक्त प्रतिवेदन फिर्ता लिन ओली पक्षले प्रचण्डलाई भने पनि उनले स्वीकारेका थिएनन्।
यो विषय चर्किँदै गएपछि ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए।
बिहीबारको बैठकमा आरोपपत्रको विषयमा कुरा राखिसकेपछि एमाले अध्यक्ष ओलीले आफूहरूले कारबाहीका लागि सिफारिस गरेका १४ जना सांसदको सूचना टाँस्नुपर्ने अडान राखे। त्यस्तो नगरे सभामुख सापकोटाले राजीनामा दिनुपर्ने उनले बताए।
ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच २०७७ पुस ५ यता ‘वान टु वान’ वार्ता भएको थिएन। बिहीबार ओली र प्रचण्डबीच सुरूमा वान-टु-वान भेट भयो।
संसद भवन नयाँबानेश्वरमा दुई अध्यक्षको भेटपछि दुवै पार्टीका नेताहरूसहितको बैठक बस्यो।
छलफल क्रममा माओवादी केन्द्रका मुख्य सचेतक देव गुरूङले ‘राष्ट्रघाती’ एमसिसीमा एमाले र माओवादी केन्द्र एकै ठाउँ उभिनुपर्ने कुरा राख्दै थिए। ओलीले गुरूङलाई बीचैमा रोकेर भने, ‘के को राष्ट्रघाती? त्यो बकवास कुरा हो। एमसिसी राष्ट्रघाती भएको भए मैले त्यसलाई संसदमा किन पेस गर्थें?'
ओलीले एमसिसीका विषयमा भनेका कुरा र उनले राखेका सर्तले आफूहरूलाई सुरूमै झस्काएको र एमाले-कांग्रेसबीच कुरा धेरै अघि बढेको अनुमान आफूहरूले लगाएको माओवादी केन्द्रका एक नेताले सेतोपाटीलाई बताए।
एमाले उपाध्यक्ष सुवास नेम्वाङले भने एमसिसीलाई माओवादीले नै अघि बढाएको प्रसंग आफूहरूले उठाएको बताए।
‘तपाईंहरूले नै यसलाई अघि बढाएको हो, सम्झौता गरेको हो। हिजो-अस्ति अमेरिकालाई चिठी लेखेको हो। अहिले यस्ता कुरा किन आइरहेका छन्, मलाई थाहा छैन भनेर अध्यक्षले भन्नुभयो,’ नेम्वाङले भने।
अध्यक्ष ओलीले राखेका कुरामा माओवादीले कुनै जवाफ नदिएको एमाले उपाध्यक्ष नेम्वाङले जानकारी दिए।
‘अध्यक्षको कुरा गम्भीरतासाथ सुन्न हामी आएका हौं। हामीबीच सार्थक छलफल होस् र सम्बन्ध अगाडि बढोस् भन्ने हामी चाहन्छौं,’ माओवादी नेताहरूलाई उद्धृत गर्दै नेम्वाङले भने।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीले एमसिसीलाई केन्द्रविन्दुमा राखेर छलफल गरेको बताए।
‘एमसिसीबारे छलफल गर्न संसद सुचारू हुनुपर्ने उहाँहरूले बताउनुभयो। त्यसका लागि १४ सांसदलाई कारबाही हुनुपर्यो या त सभामुखले राजीनामा दिनुपर्यो भन्नुभयो,’ उनले भने, ‘हामीले त एमसिसी अनुमोदन गर्नबाट असफल पारौं भनेको हो। उहाँहरूले एमसिसीबारे त्यस्तो भनेपछि हामीले मान्ने कुरा भएन।’