सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)ले संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसीसम्बन्धी सम्झौताको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।
सोमबार बिजुली बजारस्थित प्रुडेन्सियल कलेजमा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
उनले आफ्नो पार्टीका सबै सांसद र मन्त्रीहरूले एमसिसीको विपक्षमा मतदान गर्ने बताए। एकीकृत समाजवादीले पहिलो पटक एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।
‘यसमा स्वविवेक प्रयोग गर्ने भन्ने हुन्न। सबै सांसद र मन्त्रीहरूले विपक्षमा मतदान गर्नुहुन्छ,’ खतिवडाले भने,‘अरू पार्टीलाई पनि हामी विपक्षमा मतदान गर्न आग्रह गर्छौं।’
सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गरेपछि सरकार के गर्नुहुन्छ त भन्ने प्रश्नमा प्रवक्ता खतिवडाले भने- हामीलाई सरकारभन्दा राष्ट्रियता ठूलो छ।
एकीकृत समाजवादीका उपमहासचिव गंगाधर तुलाधरले पनि अहिलेलाई एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय भएको बताए।
यसैबीच महासचिव बेदुराम भुसालले जारी गरेको वक्तव्यमा नेकपा (एकीकृत समाजवादी) एमसिसी सम्बन्धी प्रस्तावको विपक्षमा रहने निर्णय गरेको भनिएको छ।
‘मिति २०७८ फागुन ८ गते प्रतिनिधि सभामा पेस गरिएको एमसिसी सम्बन्धी प्रस्तावको विपक्षमा रहने,’ विज्ञप्तिमा भनिएको छ।
एमसिसीबारे एकीकृत समाजवादीमा विभिन्न धार छन्। आइतबार सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीले संसदमा एमसिसी टेबल गर्दा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नाराबाजी गरेका थिए।
एमसिसीमा मतदानका बेला अनुपस्थित हुने, सांसदले स्वविवेकमा निर्णय गर्ने र विपक्षमा मतदान गर्नेबारे एकीकृत समाजवादीमा मतभेद छ।
उपमहासचिव तुलाधरले अहिलेलाई विपक्षमा मतदान गर्ने निर्णय भएको बताए।